बिहाबारी पचासपारि

बुधबार, १५ बैशाख २०७३, ०७ : १८
बिहाबारी पचासपारि

दुई लोकप्रिय कलाकार राजेश हमाल र मिथिला शर्माले पाको उमेरमा घरजम गर्ने पक्का भएको छ। बिहे गर्ने सही उमेर कुन हो? सायद यो प्रश्न आफैँमा त्रुटिपूर्ण छ। विवाह पनि प्रेमकै स्वरूप हो। प्रेममा उमेरको हदबन्दी लागू हुँदैन भने बिहेमा पनि त्यो लागू नहुने रहेछ। पाको उमेरमा व्यक्तिलाई झन् बढी सहारा र साथको खाँचो हुन्छ। यस्तो उमेरमा एक्लो व्यक्ति उदासी र रुग्णताबाट व्यथित हुन्छ। जीवनको परिपक्व कालखण्डमा जीवनसाथीको अँगालोमा बाँधिएका केही व्यक्तिका कहानी प्रस्तुत गर्दै छन्, धनबहादुर खड्का।

अभिनेता राजेश हमालले २५ वर्षदेखि सामना गर्दै आएको एउटा ‘अनिवार्य प्रश्न'को बुधवार साँझ औपचारिक रूपमै अन्त्य भयो। विराटनगरकी मधु भट्टराईसँगको प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्ने प्रक्रियामा रहेका उनले बुधवार औपचारिक घोषणा गरे। ५० वर्षको उमेरसम्म एकल जीवन बिताएका राजेशले दुई वर्षअघि मात्रै विवाहको सोचमा रहेको बताउँदा धेरै आश्चर्यमा परेका थिए। किनभने, विवाह गर्ने रहरको उमेर यत्तिकै बिताएका उनले विवाह गर्लान् भन्ने धेरैलाई लागेको थिएन।
प्रेममा उनी यसअघि पनि परेका थिए। तर, विवाहमा परिणत हुन सकेनन् ती। यसबारे केही समयअघि शुक्रवारसँगको कुराकानीमा उनले भनेका थिए, ‘आइ लभ यू' भन्ने तीन शब्द जीवनमा कहिल्यै उच्चारण गर्न सकिएन।' बुधवार साँझ यी तीन शब्द उच्चारण गरेर उनले प्रेमिका मधुलाई जीवनमा निम्त्याए। बुधवार दिउँसो शुक्रवारसँगको कुराकानीमा विवाहको योजना सुनाउँदै उनले भने, ‘आजको साँझ मैले अहिलेसम्म उच्चारण नगरेका यिनै तीन शब्दका लागि पनि हो।' उनी चाहन्छन्, बुधवार उच्चारित शब्दको गुञ्जन मधुको मानसपलटमा आजीवन गुञ्जिरहोस्। उनले भने, ‘आगामी दिनमा यी शब्दको उच्चारण जरुरी नहोस्, महसुस भइरहोस्।'
राजेश यी तीन शब्दको उच्चारणअघि केही धकाए। यी तीन शब्दलाई मुस्कानसहित मधुले स्विकारेपछि राजेशको अनुहारमा आभा छाएको थियो। केही साथीभाइ र पत्रकारको जमघटमा उनले मधुलाई हुनेवाला बुहारीका लागि भन्दै राजेशकी आमाले छोडेकोे चिनो प्रदान गरेका थिए। ‘विवाह जेठको ९/१० गतेतिर हुनेछ भने २४ गते रिसेप्सन पार्टी राखेको छु,' हमालले भने।
‘भनिन्छ नि– जोडी स्वर्गमै तय हुन्छ,' राजेशले मधुसँग विवाहको टुंगो लाग्नुअघि शुक्रवारसँग भनेका थिए, ‘जीवनसाथी भनेको सोचेर वा रोजेर पाइने कुरा होइन रहेछ।' विवाहको टुंगो लागेपछि उनले भने, ‘विवाह गरिने रहेनछ, भइदिँदो रहेछ!' उनले आफ्नो पाको उमेरको विवाहलाई सामाजिक परिधिले निम्त्याउने आवश्यकताका रूपमा हेरेका छन्। लामो समयसम्म एउटा ‘पर्सनल स्पेस' राखेका उनी हुनेवाला जीवनसंगिनीले पनि त्यो कायम राखिदिऊन् भन्ने चाहन्छन्। बिहेको मिति नजिकिँदै गर्दा राजेशका मनमा फरक खालका भावना छचल्किरहेका छन्। उनले भने, ‘चिनजान पुरानै हो तर सम्बन्धले नयाँ मोड लिइरहँदा मनमा नयाँ कुरा तरंगित भइरहेका छन्।'
उनको गाढा माया त यसअघि पनि तीनजनासँग बसेको थियो। अल्लारे उमेरमा पोल्यान्डकी एउटी केटीलाई राजेशको चुम्बकजस्तो व्यक्तित्वले तानेको थियो। तेह्र वर्षको अल्लारे राजेशसँग चौध वर्षकी अल्लारे केटीले प्रेमप्रस्ताव राखेकी थिइन्। उनीहरूले एक महिना एउटै शिक्षण शिविरमा सँगै बिताए। उसले हात समाउँदा राजेश रोमाञ्चित हुन्थे। राजेशको कमिज लगाएर ऊ आनन्दित हुन्थी। तर, यो प्रेम त टुसाउनसम्म पनि पाएन। केटी पोल्यान्ड फर्की, राजेश रुस पुगे।
रुसबाट उड्न थालेकोे प्रेमको चंगा पञ्जाब युनिभर्सिटीकी एक सुन्दरीकहाँ पुगेर अल्झियो। उनी पनि राजेशको आकर्षणमा फसिन्। राजेशभन्दा तीन ब्याचमात्रै जेठी ती बोल्ड सुन्दरीको प्रेम प्रस्तावलाई राजेशले नाइँ भन्न सकेनन्। खुब फिल गरे राजेशले उनीसँगको प्रेम। प्रेममा चुर्लुम्म नै डुबेभन्दा पनि हुन्छ। तैपनि बिहे हुन सकेन। कन्या पक्ष हतारमा भए पनि वर पक्षलाई कुनै चटारो थिएन। पढाइ बीचैमा रोकेर बिहे गर्न राजेश स्वयम् पनि तयार थिएनन्।
राजेशकी तेस्री प्रेमिका पनि विदेशी नै थिइन्। उनीसँंग भेट हुँदा राजेश घोर द्विविधामा थिए। कलाकार बन्ने उनको चाहनालाई आमाबुवाले अनुमोदन गरिदिएका थिएनन्। त्यही द्विविधाको बेला राजेशको जीवनमा पसेकी ती केटीले उनको मनमा आत्मविश्वास जगाइन्। आफूले रोजेको करिअर अर्थात् अभिनयप्रति परिवारको नकारात्मक मौनताले पीडित राजेशको जीवनमा ‘टर्निङ प्वाइन्ट' बन्यो, यो प्रेम। तर, यो प्रेम पनि बिहेमा परिणत हुन सकेन।
तीनचोटि प्रेमको गहिराइसम्म पुगेका राजेश त्यसपछि कतिसँग आकर्षित भए होलान्, कति राजेशसँग आकर्षित भए होलान्। तर, सूचीकृत गर्न योग्य ती तीन प्रेमिकामात्रै ठहरिए। गहिरो प्रेमपछि ट्र्याजिडी भोगिसकेका राजेश प्रेम र बिहेको कुरामा लामो समय त्यति सकारात्मक हुन सकेनन्। तर, एउटा पार्टीमा मधु भट्टराईलाई भेटेपछि राजेशलाई प्रेमको सौन्दर्य र आवश्यकता पुनः बोध भयो। वियोगान्त तीन प्रेम कहानीबाट पाठ सिक्दै चौथो प्रेम कहानी संयोगान्त बनाए।
mithila
राजेश वैवाहिक जीवनमा प्रवेश गरिरहँदा फिल्म अभिनेत्रीका रूपमा उस्तै उचाइ बनाएकी मिथिला शर्माले पनि ५० वर्षपछिको उमेर युगल बिताउने निर्णय सार्वजनिक गरेकी छिन्। भूतपूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरासँग यही वर्ष लगन जुराउने उनको योजना छ। मिथिलाले जीवनको बाटोमा यहाँसम्म एक्लै पुग्नका कारण राजेशसँग मिल्दैनन्। ५० वर्षको उमेरसम्म अविवाहित रहँदा र अब विवाहका लागि तयार हुँदा पनि विवाहको दृष्टिकोणमा रौँ जति पनि परिवर्तन भएको छैन। विवाह गर्ने रहरको उमेर करिअर बनाउनमै केन्द्रीत गरिन् उनले। जीवनसाथीलाई लिएर उनले बनाएको दृष्टिकोणसँग सहमति जनाउने पनि नभेटिएको उनको कुराबाट प्रस्टिन्थ्यो। तर, उनले विगत उप्काउन चाहिनन्। विवाहप्रतिको दृष्टिकोण भने विगत र वर्तमानमा समेत समान रहेको बताइन्, ‘जीवनसाथी साथी नै हुनुपर्छ भन्ने मेरो मान्यता थियो।'
पुरुष–महिला वा श्रीमान्–श्रीमतीका बीचमा यो समाजले कोरेको रेखा मिथिलालाई स्वीकार्य थिएन। श्रीमान्–श्रीमतीको असमान नाता होइन, जीवनसाथीको समान नाता जोड्न चाहन्थिन् उनी। र, त्यो चाहना ५० कटेपछि मात्रै पूरा हुँदैछ।
बोहरालाई उनले पहिल्यैदेखि चिनेकी थिइन्। उनको मित्रतापूर्ण व्यवहार मिथिलालाई मन पर्थ्याे। तर, उनले बोहरासँग यस्तो सम्बन्ध जोड्ने कहिल्यै सोचिनन्। जब बोहराको तर्फबाट कुरा आयो, उनी सकारात्मक भइन्। पहिलोपल्ट उनले विवाहका फाइदा/बेफाइदा केलाइन्। उनलाई विवाह गर्न उपयुक्त लाग्यो र निर्णय लिइन्।
 
दुई सेलिब्रिटीका सुखद अनुभव
hari-bansha
सेलिब्रिटी भएपछि आफूले गर्ने कर्मले समाजमा पार्ने प्रभावको ख्याल गर्नुपर्छ। पाको उमेरमा गरिने विवाहप्रति नेपाली समाज त्यति सकरात्मक थिएन पनि। चर्चित हास्यव्यंग्य कलाकार हरिवंश आचार्यले तीन वर्षअघि जीवनसंगिनी गुमाएपछि एक्लो महसुस गरे। भन्छन्, ‘मान्छे सामाजिक प्राणी भएकाले उसले साथ र सहयोगको अपेक्षा गर्छ।' जीवनसंगिनीको साथ र सहयोगले अभ्यस्त भएको उनको जीवनशैली खलबलियो। उनले जीवनमा नजिकको साथीको अभाव खट्केको अनुभव गर्न थाले। तर, सामाजिक संरचनाका कारण उनले एकैपटक आँट्न सकेनन्। सबैको सल्लाहमा आफ्नो मन बलियो बनाउँदै रमिला पाठकसँग विवाह गर्ने निर्णय गरे। अहिले आएर उनलाई लाग्छ– राम्रो गरिएछ। भन्छन्, ‘विवाह नगरेको भए म जीवनभर कुण्ठित र निराश रहन्थेँ।'
जीवनको दोस्रो ‘इनिङ'मा साथ दिन आइपुगेकी रमिलाले गर्दा जीवन व्यवस्थित भएको हरिवंश बताउँछन्। ‘मेरो जीवन सामान्य अवस्थामा फर्केको छ,' उनी भन्छन्, ‘घरबार एकदमै सुव्यवस्थित छ।' उनको निष्कर्ष छ– ‘दुबोलाई पनि हुर्किन प्रेम चाहिन्छ, मान्छेलाई त झन् चाहिन्छ।'
krishna-dharawasi
साहित्यकार कृष्ण धरावासीले पनि पाको उमेरमा आएर मञ्जु विमलीसँग दोस्रो विवाह गरेका हुन्। आफ्नो पहिलो विवाहलाई रहरको विवाह र दोस्रो विवाहलाई आवश्यकताका विवाह भन्छन् उनी। ‘किनभने बुढेसकालमा साथीको आवश्यकता पर्छ। सीताजीको मृत्युपछि मेरो जीवन बेसहारा भएको थियो,'उनले भने, ‘एक्लोपनले मलाई डिप्रेसनतिर धकेलिरहेको थियो।' सोही अनुभूतिलाई समेटर किताब लेख्ने तयारी गरिरहेको उनले बताए।
पिरती बन्धनमा पाका नेता
मोहनविक्रम सिंह र दुर्गा पौडेल
नेपाली कम्युनिस्ट आन्दोलनका एक चर्चित पात्र हुन्, मोहनविक्रम सिंह। राजनीतिका कारणमात्र होइन, प्रेम, यौन र विवाहका कारण पनि उनी चर्चित छन्।
नेकपा (मसाल)को विभाजनको कारण सिंहको प्रेम प्रसंग पनि थियो। त्यस समय जलजलासँग उनी प्रेमसम्बन्धमा थिए। जलजला उपनामकी कार्यकर्ता विद्या ढकालसँगको प्रेम सम्बन्धलाई पनि सिंहको कारबाहीको एउटा कारण बनाइएको थियो। सिंहमाथि कारबाहीको आरोपपत्र अखिल नेपाल महिला संघकी अध्यक्षका हैसियतले हाल एकीकृत माओवादीकी पोलिटब्युरो सदस्य उर्मिला अर्यालले तयार पारेकी थिइन्। पार्टीले कारबाही गरेर सिंहको स्थानमा मोहन वैद्यलाई महामन्त्री बनाएको थियो। त्यसपछि सिंहले नेकपा (मशाल) गठन गरेका थिए।
सिंहले नै ढकालको जलजला उपनाम राखिदिएका थिए। ढकालको दिल्लीमा बस दुर्घटनामा निधन भएको थियो। पहिलो पत्नी शान्तालाई पनि जलजलाकै कारण छोडेका थिए उनले। सिंहको ‘जलजला' नामको उपन्यास पनि प्रकाशनको तयारीमा छ।
जलजलाको निधनपछि एक्लिएका सिंहको अन्य महिलासँग नाम जोडिए पनि २०५७ सालमा ६५ वर्षको उमेरमा उनले दुर्गा पौडेलसँग लगनगाँठो कसे। पार्टीमा दुवैको विवाहको विषयमा विवाद पनि भएको थियो। अनमेल विवाह हुने भन्दै त्यसको विरोध गर्नेहरूको केन्द्रमा बहुमत पुगेपछि सिंहले महामन्त्रीबाट राजीनामा दिएका थिए। पौडेल हाल संविधानसभा सदस्य छिन्।
 
मोहनचन्द्र अधिकारी र बालकुमारी खनाल
झापा विद्रोहका चर्चित नेता मोहनचन्द्र अधिकारीले ५४ वर्षको उमेरमा बालकुमारी खनालसँग विवाह गरे। युवावय जेलमा बिताएका अधिकारीले बहुदल आएपछि विवाह गरेका हुन्। १८ वर्ष जेल जीवन बिताएका उनको भैरहवा जेलमा हुँदा खनालसँग प्रेम भएको थियो। उनी शिक्षक आन्दोलनको क्रममा २०४२ सालमा जेल परेकी थिइन्। त्यस समयमा भैरहवा जेलमा एक्लो महिला बन्दीको रुपमा रहेकी खनाललाई प्रशासनले तेस्रो श्रेणीको सिदा दिएपछि राजबन्दीका रूपमा रहेका अधिकारीले आफ्नो खाना दिने गर्थे। अधिकारीले भित्रैभित्र खनाललाई मन पराइसकेका थिए। अधिकारी र खनालबीच २०४७ माघ २४ गते विवाह भएको थियो। नेता झलनाथ खनालले कन्यादान गरेका थिए।
 
स्वनाम साथी र किरण गौतम
लामो समयदेखि राजनीतिमा सक्रिय रहेका स्वनाम साथीको गत वर्ष फरक कारण चर्चामा रहे। ६४ वर्षे स्वनामले आफूभन्दा आधा उमेरकी किरण गौतमसँग विवाह गरेका थिए।
दाङकी ३६ वर्षीया गौतम पेशाले वैकल्पिक ऊर्जाकी इन्जिनियर हुन्। ऊर्जा मन्त्रालयअन्तर्गत कार्यरत छिन्। राजनीतिमा सक्रिय रहेका दुवै एक दशकदेखि लिभिङ टुगेदरमा रहेका थिए। उनीहरूको विषयमा पार्टीभित्र उजुरी पनि परेको थियो। स्वनामले पार्टीसँग अनुमति लिएर गौतमसँग विवाह गरेका हुन्। एकीकृत माओवादी मुख्यालयमा दुवैले जनवादी विवाह गरेका थिए।
 
शेरबहादुर देउवा र आरजु राणा
जीवनको ५० औँ वसन्तको हाराहारीमा लगनगाँठो कस्ने नेतामा शेरबहादुर देउवा पनि पर्छन्। गृहमन्त्री भएको चार वर्षपछि ४८ वर्षको उमेरमा उनले आरजु राणासँग बिहे गरेका थिए। अमेरिकामा अध्ययनको क्रममा राणासँग देउवाको पहिलो भेट भएको थियो।
 
बलबहादुर केसी र रिना केसी
कांग्रेस नेता बलबहादुर केसीको पनि पाको उमेरमा बिहे भएको हो। उनले राजनीतिमा सक्रिय रिना केसीसँग २०५९ सालमा विवाह गरेका हुन्। लामो समयको प्रेमसम्बन्धपछि उनीहरू एक भएका हुन्। रिना कांग्रेसको भगिनी संगठन नेपाल महिला संघको केन्द्रीय सदस्य छिन्।
 
प्रदीप गिरी र भारती सिलवाल
चिन्तक तथा बौद्धिक नेता प्रदीप गिरीले एकल जीवनको अध्याय समाप्त पारेको धेरै भएको छैन। चार वर्षयता उनी भारती सिलवालसँग जीवनयात्रा गरिरहेका छन्। यो जोडीले औपचारिक रूपमा विवाह भने गरिसकेको छैन।
बुढेसकालमा तातो–न्यानो चाहिन्छ
risal– भैरव रिसाल, वरिष्ठ पत्रकार
बुढेसकालमा विवाह गर्नेका व्यक्तिअनुसार फरक–फरक कारण हुन सक्छन्। उमेर नाघेपछि विवाह गर्नेको मुद्दा उठ्छन्, पत्रिकामा छापिन्छन् तर ५० वर्ष कटे पनि विवाह नगर्नेहरूको संख्या पनि ठूलो छ। यो खोजीको विषय बनेको छैन। जस्तो, अहिले उमेर ढल्किएपछि विवाह गर्ने सेलिब्रिटीहरूको चर्चा छ तर सर्वसाधारणको चर्चा छैन। अहिले राजेश हमाल, मिथिला शर्माको विवाह हुने चर्चा छ।
विवाह नगरी बस्छु भनेर परिवारप्रति समर्पित हुनेहरूले पनि अभिभावकको शेषपछि घरव्यवहारबाट निराश भएर वा अरूको देखेर विवाह गरेका छन्। ५० वर्ष नाघेकाहरू यौन इच्छा पूरा गर्न भन्दा पनि विपरीत लिंगीको तातो–न्यानोका लागि विवाह गर्छन् जस्तो लाग्छ। बालक र वृद्धलाई अर्काको शरीरको तातो–न्यानो अत्यन्त जरुरी हुँदो रहेछ।
हाम्रो समाजमा श्रीमान्–श्रीमतीबाहेक उमेरवाला विपरीत लिंगी एउटै ओछ्यानमा सुत्ने चलन छैन। काठमाडौँजस्तो चिसो ठाउँमा बस्नेहरूलाई अर्को मान्छेको तातोले सहयोग गर्छ। अघिल्लो पुष–माघमा मलाई छालाको एलर्जी हुँदा घामको तातो सारै मन पर्‍यो। उमेर ढल्किंदै जाँदा चिसोमा तातो र तातोमा चिसो खोज्दो रहेछ शरीरले। भनिन्छ नि– चिसोबाट बच्न रुई, फुई र दुई चाहिन्छ। ‘बूढाको स्वास्नी नमरोस्, केटाकेटीको आमा नमरोस्' भन्ने उखानै छ। यो उखानले महिलालाई अपमान गरे जस्तो लाग्ला तर बुढेसकालमा पुरुषलाई बढी समस्या हुँदोरहेछ। बुढेसकालमा महिलाको अत्यन्त कम विवाह हुन्छ तर लोग्नेमान्छेको बढी विवाह हुने गरेको देखिन्छ। वृद्धावस्थामा विपरीत लिंगीको साथ अझ बढी चाहिन्छ। त्यसैले वृद्धवृद्धाबीच विवाह हुनुपर्छ। (कुराकानीमा आधारित)

Leave A Comment