‘सफलताका लागि अठोट जरुरी’

शुक्रबार, २४ भदौ २०७३, १० : ०३ दिलीप पौडेल , Kathmandu
‘सफलताका लागि अठोट जरुरी’

फिजियोथेरापी अध्ययन गरेका काठमाडौँका ३४ वर्षीय आश्रय रञ्जितकार अहिले वाइनको उत्पादन र बजार प्रवद्र्धनमा व्यस्त छन् । उपत्यकाका रैथाने रञ्जितकारको परिवारले वनमा पाइने चुत्रो र एँेसेलुको प्रयोग गरेर संखुवासभामा वाइन उद्योग सञ्चालन गरेको छ । हिन्वा वाइन उत्पादन गर्ने मकालु वाइन इन्डस्ट्रिजका निर्देशक रञ्जितकारसँग शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः

स्कुले जीवनमा के बन्ने लक्ष्य थियो ?
डाक्टर बन्ने ।

यसअघि कुन पेशामा आबद्ध हुनुहुन्थ्यो ?
भारतमा फिजिकल थेरापी पढेर आएपछि तीन वर्ष मेडिकेयर अस्पतालमा काम गरेँ ।

स्वास्थ्य अध्ययन गरेको व्यक्ति कसरी वाइन उद्योगमा आउनुभयो ?
पारिवारिक दबाबले । हजुरबुबाले सुरु गरेको व्यवसायलाई निरन्तरता दिन यो क्षेत्रमा प्रवेश गरेँ ।

कति प्रकारका उत्पादन छन् ?
दुई थरीका । रेड र ह्वाइट वाइन छन् ।

कुन–कुन स्वादमा छन् ?
ऐँसेलु र चुत्रोको स्वादमा छन् ।
 
ब्रान्डको नाम हिन्वा कसरी राख्नुभयो ?
संखुवासभा हाम्रो मावली गाउँ हो । त्यहाँ रहेको हिन्वा खोलाको नामबाट नै वाइनको नाम राखेका हौँ ।

बजार कस्तो छ ?
निकै प्रतिस्पर्धा छ । तर, बजार दिनानुदिन बढिरहेको छ ।

तपाईंको उत्पादन कुन वर्ग लक्षित छ ?
मुख्य गरी मध्यम वर्गीय परिवारलाई नै लक्षित गरेका छौँ । पुरुषहरूले हार्ड ड्रिंक गर्ने भएकाले महिलाहरूले धेरै मन पराउँछन् ।
 
विदेश निर्यात गर्ने तयारी कस्तो छ ?
नेपाली उपभोक्ताले गुलियो स्वादमा मन पराउने भएकाले त्यसलाई नै ध्यान दिएका छौँ । विदेश निर्यात गर्न ड्राई वाइन आवश्यक छ । त्यसका लागि पनि पहल भइरहेको छ ।

उत्पादन कति हुन्छ ?
वार्षिक साढे तीन लाख बोतल ।

कच्चा पदार्थको अवस्था ?
वनमा पाइने जडीबुटी प्रयोग गर्ने उद्योगको मुख्य समस्या कच्चा पदार्थ हो । अरू फलफूलजस्तो छैन ।  वनमा पाइने चुत्रो, ऐँसेलु चाहेको बेलामा किन्छु भनेर पाइँदैन ।

तपाईंका नयाँ योजना के–के छन् ?
वनमा पाइने जडीबुटीको अतिरिक्त फलफूलबाट पनि वाइन उत्पादन गर्नुपर्छ भनेर लागेका छौँ ।

मदिराप्रति नेपाली उपभोक्ताको रुचि कस्तो छ ?
पहिलाभन्दा धेरै फरक छ । नेपाली समाजमा वाइन कल्चरको विकास हुँदै गएको छ । आधुनिक समाजमा महिलाहरूले पनि वाइन सेवन गर्न थालेका छन् । मध्यम वर्गीय परिवारमा हाम्रो वाइन रोजाइ बन्दै गएको छ ।

मदिरा प्रयोगले धेरै मान्छे बिग्रिए भन्छन् नि ?
म मदिराको पारखी हुँ । तर, लिमिटमा प्रयोग गर्छु र रमाइलो गर्छु । कुनै पनि वस्तुको उपभोगमा सन्तुलन कायम भएन भने त्यसले असर गर्छ । मात्राभन्दा धेरै प्रयोग गरे खानाले पनि असर गर्छ । लिमिटमा प्रयोग गरे स्वास्थ्यको लागि पनि फाइदाजनक छ । हामीले उत्पादन गरेको वाइनको साइड इफेक्ट छैन । त्यसैले वाइनमा महिलाहरू धेरै आकर्षित छन् ।

नीतिगत समस्या के छन् ?
करमा अझै सहुलियत भए सजिलो हुन्थ्यो । स्वदेशी उद्योगलाई सरकारले प्रोत्साहन गर्नुप¥यो ।

व्यावसायिक वातावरण कस्तो छ ?
मुलुकको राजनीतिक अवस्थाले उद्योगधन्दा सञ्चालन गर्न कठिन छ । सरकारले लगानीको वातावरण सिर्जना गरे मुुलुकको आर्थिक समृद्धिको लागि सघाउ पुग्थ्यो । राजनीतिक अस्थिरता हटाउनुपर्छ ।

तपाईंको रुचि ?
मलाई ट्रेकिङ गर्न मन पर्छ ।
 
गीत÷संगीतप्रति कत्तिको रुचि छ ?
संगीतमा नरम्ने को होला र ? म्युजिक सुन्ने, मुभी हेर्ने गर्छु ।

तपाईंको प्रेरणाको स्रोत को हो ?
मेरी आमा ।

बिहे गर्नु भएको छ ?
छैन ।

कहिले गर्ने ?
तत्काललाई सोच बनाएको छैन ।

मागी विवाह गर्ने कि प्रेम विवाह  ?
मागी बिहे गर्न गाह्रै हुन्छ होला ।

युवाहरूलाई सुझाव ?
स्वदेशमै काम गर्नुपर्छ भन्ने दृढ अठोट लिएर काम सुरु गरे पक्कै सफल भइन्छ । सफलताका लागि अठोट जरुरी छ । जे गरे पनि कामलाई सानो–ठूलो भन्नु हुँदैन । मेहनत गरेर काम गर्नुपर्छ ।

 

Leave A Comment