खेलाडीको भेषमा ‘मानव तस्करी’ (पूर्ण विवरणसहित)

आइतबार, २६ भदौ २०७३, १० : ५० शुक्रवार , Kathmandu
खेलाडीको भेषमा ‘मानव तस्करी’ (पूर्ण विवरणसहित)

खेलाडी जब विदेशमा खेल्न जान्छ, उसले सिंगै देश र देशको प्रतिष्ठाको प्रतिनिधित्व गर्छ । क्रिकेट नेपालमा उँभो लाग्दै गरेको खेल हो । तर, विभिन्न विवादका कारण यसको प्रगतिमा अवरोध पुगिरहेकै बेला लाखौँ नेपाली क्रिकेटप्रेमीलाई दुःखी बनाउने खबर आयो– क्रिकेट खेलाडीका आवरणमा ‘मानव तस्करी’ भइरहेको छ । दुई महिनाअघि जापानमा क्रिकेट खेल्न भनी लगिएका नौजना तथाकथित खेलाडीको अहिलेसम्म अत्तोपत्तो छैन । उसो त विदेशमा पुगेपछि खेलाडी भाग्ने र लुक्ने नेपाली रोग पुरानै हो । क्रिकेट खेलाडीका भेषमा जापान पुग्ने को हुन् ? उनीहरूलाई जापान पु¥याउने को हुन् ? कसरी पु¥याइए जापान ? अम्मर जिसीको खोजीनिती ।
नेपाली खेलकुद जगत्मा ‘भाग्ने–भगाउने’ चलन नौलो होइन । खेल खेल्न विदेश गएका खेलाडीहरू स्वदेश नफर्किने रोग पुरानै हो । विदेशमा हुने प्रतियोगिताको मौका छोपेर गैरखेलाडीले समेत यो चलनको फाइदा लिइरहेकै हुन् । खेलाडीको आवरणमा हुने मानव तस्करीको पछिल्लो निशाना बन्यो, क्रिकेट । भर्खर उँभो लाग्दै गरेको नेपाली क्रिकेट यसका नेतृत्वकर्ताहरूको खिचातानीले अधोगति लिन अभिशप्त भइरहेको छ । नेपाली क्रिकेटका हर्ताकर्ताका कर्तुतले अन्तर्राष्ट्रिय स्तरमै लज्जित हुनुपर्ने अवस्था पनि आयो । अझ यतिबेला ‘जापान काण्ड’ का कारण नेपाली क्रिकेटका समर्थक, प्रशंसक र शुभचिन्तकहरू मर्माहत छन् ।
जापान काण्ड
‘होन्डा कप मैत्रीपूर्ण क्रिकेट’ खेल्न भन्दै सातजना क्रिकेट खेलाडीलाई अघि लाएर १८ जनाको एक टोली जापान उड्यो । ‘वेस्ट काठमान्डू एफसी’ नामक क्लबमार्फत जापान गएको भनिएको यो टोली पाँच दिन जापानमा रह्यो । जापानको सानो सिटीमा स्थानीय क्लबसँग तीनटा म्याच खेल्यो । दुइटा जित्यो । फर्कंदा टोलीमा सातजना खेलाडी र दुईजना ‘अफिसियल’ मात्र थिए । बाँकी उतै ‘भागे, भगाइए’ । दुई महिना बित्न लागिसक्यो, ती नौजनाको अत्तोपत्तो छैन । सुरुमा १५ दिनको भिसा पाएका उनीहरू यतिबेलासम्म गैरकानुनी रूपमा जापानको कुनै कुनामा लुकिसके ।
सिनियर राष्ट्रिय टिमका पूर्वसदस्य सिद्धान्त लोहनीलाई कप्तान बनाएर टोलीलाई जापान लगिएको थियो । वेस्ट काठमान्डू एफसीका अध्यक्ष सुन्दर थापा र निलम्बित क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का सचिव किरण राणा टोली नेता बनेका थिए ।
घटना विवरण
किरणको जिम्मामा सातजना खेलाडी छनोट गरिएको थियो । सिनियर राष्ट्रिय टोलीका पूर्वसदस्य सिद्धान्त, अन्डर १९ टिमका प्रेम तामाङ, सौरभ खनाल, रामनरेश गिरी, फैजल रहमान, अमित श्रेष्ठ र राष्ट्रिय स्तरका खेलाडी सोनु तामाङ जापान गएका थिए । बाँकी नौजनालाई क्लबस्तरका खेलाडी भनेर भिसा दिलाएर जापान लगिएको थियो ।

रामसुर बुढा, सञ्जीव बुढा, रोमी सराङ्कोटी राना, सूर्य बानिया, नरेश बुढा, सुन्दरकुमार वली, श्यामकुमार पुन, डेन्डी शेर्पा र लक्ष्मण छन्त्याल खेलाडीको आवरणमा जापान छिरेका हुन् । टिकट फिक्स्ड भइसकेका प्रकाश बानिया अन्तिम समयमा नगएको सम्बन्धित ट्राभल एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार जुलाई २० मा फर्किने टिकट थियो । १८ जनामध्ये नौजनामात्र जहाज चढेकाले बाँकी नौजनाको टिकट भोलिपल्ट ‘अटोमेटिक क्यान्सिल’ भएको ट्राभल एजेन्सीको रेकर्डमा देखिन्छ ।

टोली गत जुलाई १५ मा ड्रागन एयरअन्तर्गतको क्याथे प्यासेफिकमार्फत हङकङ ट्रान्जिट पारेर जापानको टोकियोस्थित नारिता विमानस्थलमा अवतरण भएको थियो । सबैलाई राष्ट्रिय टोलीसँग मिल्दोजुल्दो ‘वेस्ट काठमान्डू एफसी नेपाल’ अंकित जर्सी लगाउन दिइएको थियो । टोलीमा सामेल खेलाडीहरूका अनुसार नारिता एयरपोर्टमै केही व्यक्ति हराइसकेका थिए । त्यहाँबाट करिब अढाई अण्टा टाढा सानो सिटीस्थित होटलमा पुग्दासम्म नौजनामध्ये श्यामकुमार पुन र रोमी सराङ्कोटी राना मात्र बाँकी थिए । टिम पु¥याउनका लागि पहिलो म्याचमा पुन र रानालाई पनि खेलाडी बनाइएको थियो । दोस्रो र तेस्रो गेममा खेलाडी नपुगेर किरण आफैँ र जापानमै रहेका पूर्वक्रिकेटर राजकुमार प्रधान र केही नेपालीलाई समेत खेलाइएको थियो । फर्कने बेला ती दुईजना पनि बेपत्ता भइहालेको खेलाडीहरूले बताएका छन् ।
घटना सार्वजनिक भएपछि नेपालमा व्यापक विरोध भयो । क्रिकेट खेलाडी संघ महासचिव रहेका सिनियर राष्ट्रिय टिमका कप्तान पारस खड्काले विज्ञप्ति नै जारी गरे । क्रिकेट समर्थकहरूले विरोधस्वरूप ¥याली निकाले । क्रिकेटर पारस लगायतले छानबिनको माग गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा निवेदन समेत दिए । राखेपले शैलेश कर्माचार्यको नेतृत्वमा डीएम बस्नेत र नारायण अर्याल सदस्य रहेको छानबिन समिति गठन ग¥यो ।
छानबिन समितिले अहिलेसम्म ‘खास उपलब्धि’ हासिल गर्न नसकेको जनाएको छ । समितिका एक सदस्यका अनुसार जापानी नागरिक होन्डा सानको आडमा एक भारतीयसमेत यो ‘चलखेल’मा सामेल थिए । वेस्ट काठमान्डू फुटबल क्लबलाई एफसी जोडेर फुटबल र क्रिकेट क्लब भनेर व्याख्या गर्दै यो सबै प्रक्रिया मिलाएको जनाउँदै छानबिन समितिका ती सदस्यले भने, ‘यसमा ठूलो चलखेल भएकै हो । प्रमाणित गराएर कारबाही गराउन भने सकिएला÷नसकिएला ।’
निरीह छानबिन समिति
छानबिन समितिका सदस्यहरू नै भन्छन्, ‘यो समिति त यसो औपचारिकता मात्र हो ।’ समितिले अहिलेसम्म जापान उडेकाहरूको विवरणसमेत प्राप्त गर्न सकेको छैन । जापानी दूतावासले विवरण दिन अस्वीकार गरेको समितिले जनाएको छ । ‘तोकिएको १५ दिन पु¥याएर भेटेका जति विवरण खुलाएर एउटा प्रतिवेदन दिने हो,’ समिति संयोजक कर्माचार्यले भने, ‘सर्वेन्द्र खनालको जिम्मा नलाई केही होलाजस्तो छैन ।’ उनले नाम लिएका सर्वेन्द्र खनाल महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी हुन् । फुटबलमा हुने म्याच–फिक्सिङमा प्रभावकारी कारबाहीमा उत्रेको भनेर खनाललाई यतिबेला क्रिकेट सम्बद्धहरूले पनि सम्झिरहेका छन् । क्रिकेटका फ्यानहरूले समेत खनाललाई कारबाहीको जिम्मा लिन सामाजिक सञ्जालमार्फत आग्रह गरिरहेका छन् । उता, छानबिन समितिमाथि नै प्रश्न उठाउन थालिएको छ । ‘छानबिन समितिलाई नै किन्न सक्ने ठूलो सम्भावना छ,’ क्रिकेटसम्बद्ध संस्थाका एक पदाधिकारीले भने । जापान जानका लागि गैरखेलाडीहरूबाट लाखौँ रुपैयाँ संकलन गरेको हुन सक्ने अनुमान गरिएको छ ।
मानव तस्करीजस्तो गम्भीर घटनामा राज्यका जिम्मेवार निकायहरू यही छानबिन समितिलाई देखाएर पन्छिन खोजिरहेका छन् । युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता चूडामणि पौडेल छानबिन समितिलाई पर्खेर बसेका छन् । ‘राखेपलाई निर्देशन दियौँ, त्यही निर्देशनका आधारमा छानबिन समिति बन्यो, समितिको प्रतिवेदनले हेरौँ के भन्छ ?’ उनले भने, ‘यो भन्दा थप बोल्न मिल्दैन ।’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट छानबिन समितिले वास्तविकता पत्ता लगाएरै छाड्नेमा विश्वस्त छन् । ‘यो केस पुलिसलाई जिम्मा दिन आवश्यक छैन,’ उनी भन्छन्, ‘नीतिगत तवरमै कडाइ नभए यस्ता घटना रोक्न गाह्रो छ ।’ उनका अनुसार खेलकुद ऐनमा राखेपको सिफारिसमा मात्र विदेश खेल्न जाने व्यवस्था भए पनि कसैले त्यसलाई मानेकै छैनन् । उनी नक्कली खेलाडी लुकेको थाहा पाउन मुस्किल पर्ने बताउँछन् । ‘सक्कली लुके पो सबैतिर हल्ला हुन्छ,’ उनी भन्छन्, ‘नक्कली बनाएर लगिएकाहरू लुकेको, लुकाएको थाहै हुँदैन ।’
सुरुमा व्यापक विरोधमा उत्रेका क्रिकेटर पारस खड्का पनि अहिले केही नबोल्ने बताउँछन् । ‘हामीले दिएको निवेदनपछि छानबिन समिति बनेको छ,’ उनले भने, ‘समितिले निष्पक्ष छानबिन गर्ला भन्ने अपेक्षा गरौँ ।’
यो घटनालाई अस्तित्वको लडाइँका रूपमा व्याख्या गर्नेहरू पनि छन् । जापान गएका क्यान सचिव किरण राणा आफूलाई सिध्याउन विरोधीहरूले यो घटना उचालिरहेको बताउँछन् । ‘पारस खड्का र भावना घिमिरेहरूले बढी उचाले,’ उनी भन्छन्, ‘उनीहरू हामीलाई कसरी हुन्छ सक्ने र आफू सफल भएको देखाउने योजनामा छन् ।’
उता, क्यानबाट राजीनामा दिइसकेकी भावना घिमिरे यो घटनाबारे केही थाहा नभएको बताउँछिन् । तर, उनी यो घटनालाई देखाएर आफू सफल साबित हुन खोज्छिन् । ‘मैले छोड्नेबित्तिकै यस्तो गम्भीर घटना भयो,’ उनले भनिन्, ‘म हुँदासम्म यस्तो कसैले गर्न पाएको थिएन ।’
नेपाली क्रिकेटका जानकारहरू क्यानले पनि लिखित रूपमै गैरखेलाडी सिफारिस गरेको हुन सक्ने आशंका गर्छन् । निर्वाचित क्यानका महासचिव अशोक प्याकुरेल यसलाई नकार्छन् । भन्छन्, ‘वेस्ट काठमान्डू क्लबले नै सबै जिम्मा लिएको देखिन्छ । किरणजी व्यक्तिगत हैसियतले जानुभएको हो । जापान क्रिकेट एसोसिएसनले निम्ता गरेको भने देखिन्छ ।’
वेस्ट काठमान्डू एफसीका अध्यक्ष सुन्दर थापाले छानबिन समितिलाई जवाफ दिइसकेकाले यसबारे थप नबोल्ने बताए । तर, छानबिन समितिका सदस्य डीएम बस्नेतले थापाबाट लिखित जवाफ नआएको जानकारी दिँदै भने, ‘उहाँले मौखिक रूपमा ‘आफूले क्लबका कागजात राम्रोसँग नहेरी हस्ताक्षर गरेको’ बताउनुभएको छ ।’
क्यानका प्रमुख कार्यसञ्चालन अधिकृत छुम्बी लामा यसबारे अध्ययन भइरहेको बताउँछन् । ‘यसमा उनीहरूले क्यानको कुनै लिखित कागजात पेश गरे÷नगरेको बुझ्दैछौँ,’ उनले भने, ‘हामी (प्रशासन) र पदाधिकारीले छुट्टाछुट्टै लेटरप्पाड प्रयोग गर्ने भएकाले अहिले यसै भन्न सकिन्न ।’ उनका अनुसार कम्प्युटराइज्ड लेटरप्याड प्रशासनले र हस्तलिखित लेटरप्याड पदाधिकारीले प्रयोग गर्छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जापान खेल्न गएको बारे खेलाडीसँग लिखित स्पष्टीकरण सोध्न प्रशिक्षक जगत टमाटालाई निर्देशन दिएको थियो । ‘केहीसँग सोधिसकेँ,’ प्रशिक्षक टमाटाले भने, ‘केहीसँग सोध्न बाँकी छ ।’ जापान जानुअघि नै खेलाडीहरूलाई सजग गराएको समेत उनले बताए । ‘राम्रोसँग बुझेर जाओ है भनेको थिएँ,’ उनले भने, ‘यस्तो घटना होला भन्ने सोचिएको थिएन ।’
‘हामीलाई झुक्याइयो’
जापान गएर फर्केका खेलाडीले आफूहरूलाई झुक्याएर जापान लगिएको बताएका छन् । ‘सुरुमा बंगलादेश र भारतलगायत देशका नाम चलेका खेलाडीसँग खेल्न पाइन्छ भनियो,’ एक खेलाडीले भने, ‘उता पुगिसकेपछि भिसा दिएन भनियो । लोकल क्लबसँग खेलाएर झारा टारियो ।’ केही खेलाडीले नेपालको एयरपोर्टमा सबै जम्मा हुँदा नै शंका गर्न थालिसकेका रहेछन् । ‘क्लबका भनिएका सबै नचिनेका अनुहार देख्दा शंका लागिसकेको थियो,’ एक खेलाडीले भने, ‘किरण दाइका भरमा गयौँ ।’ खेलाडीहरू सुन्दर थापादेखि पनि रुष्ट देखिए । ‘उनको व्यवहार देखेर साह्रै रिस उठेको थियो,’ एक खेलाडीले भने, ‘हामीलाई ‘मिसयुज’ गर्न खोजेकै रहेछन् भने कसैलाई छाड्नुहुन्न ।’
जापानमा कप्तान भएर गएका सिद्धान्त यो घटनाबाट दुःखी भएको बताउँछन् । ‘यस्तो थाहा भएको भए जाँदैनथ्यौँ,’ उनले भने, ‘यो घटनाबाट दुःखी छौँ । निष्पक्ष छानबिन होस् ।’ अर्का खेलाडी फैजलले पनि घटनाबाट चकित भएको बताए । खेलाडी अमित श्रेष्ठ भन्छन्, ‘हामी गयौँ, खेल्यौँ । एक–एक सय डलर पायौँ । अरू त केही थाहा छैन । हामीसँग गएका नौजना नफर्केकै हुन् ।’ अर्का खेलाडी प्रेम तामाङ भन्छन्, ‘यो घटना हरेक खेलाडीका लागि दुःखको कुरा हो । यसको छानबिन गरियोस् ।’ अन्य खेलाडीहरूले पनि यस्तै खाले प्रतिक्रिया दिए ।
भाग्ने–भगाउने पुरानो चलन
नेपाली खेलकुदमा सबैभन्दा बढी भाग्ने र भगाउने गेम भनेर मार्सल आट्र्सलाई लिइन्छ । त्यसमा पनि तेक्वान्दो अग्रस्थानमा रहने गरेको छ । केही समयअघि मात्र इन्टरनेसनल तेक्वान्दो फेडरेसन, नेपालका उपाध्यक्ष चेतनराज गिरीलाई काठमाडौँ प्रहरीले यही केसमा पक्राउ गरेको थियो । खेलाडीको भेषमा बेलायतलगायत देश लैजाने भनेर लाखौँ असुलेर नपठाएको भन्दै पीडितहरूले प्रहरीलाई उजुरी दिएका थिए ।
मार्सल आट्र्स अन्तर्गतका खेलका कयौँ संस्था दर्ता गरिएका छन् । यी संस्थालाई यस्तै काममा प्रयोग गरिने बताइन्छ । काठमाडौँ, बागबजारतिर रहेका प्रेसहरूमा खेलाडीको नक्कली प्रमाणपत्र छपाउनेहरू प्रशस्तै देख्न पाइन्छ ।
विदेशमा भाग्ने वा पलायन हुने खेलाडीहरूमा एथ्लेटिक्स, ब्याडमिन्टन, फुटबल, भारोत्तोलन, सुटिङलगायत लगभग सबै खेलका छन् । सबैभन्दा धेरै नेपाली खेलाडी दक्षिण कोरियाबाट नफर्केको देखिन्छ । अमेरिका, जापान र बेलायत पनि खेलका नाममा भाग्ने–भगाउनेहरूको आकर्षणमा पर्छन् । भाग्ने–भगाउने नेपाली चलनकै कारण यी देशमा नेपाली खेलाडीलाई हेर्ने दृष्टिकोण नै खराब बनिसकेको अनुभव खेलाडीहरूको  छ ।

‘मैले खेलाडीको मात्र जिम्मा लिने हो’
किरण राणा, सचिव
क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)
जापानमा भएको चाहिँ के हो ?
सुन्दर थापाजी र म एनआरटीको सदस्य छौँ । एनआरटीकै मिटिङका बेला उहाँले जापानमा क्लबस्तरको क्रिकेट आयोजना गर्न लागेको भन्नुभयो । नेसनल, इन्टरनेसनल गेम खेलिसकेका, राम्रो सम्भावना भएका खेलाडीलाई चान्स दिनुप¥यो भन्ने सुझाव मैले दिएँ । राष्ट्रिय टिममा नपरेर चित्त दुखाइरहेका र भविष्यमा राम्रो गर्न सक्ने खेलाडीको करिअरमा सपोर्ट पुगोस् भन्ने चाहना हो । यही आग्रहमा उहाँले सातजना खेलाडी छनोट गर्ने जिम्मा मलाई दिनुभयो । थप खेलाडी उहाँले क्लबबाटै लाने भन्ने कुरा भयो । भिसा लाग्यो । गयौँ । तीनटा म्याच खेलियो, दुइटा जितियो । र, नेपाल आइयो । नेपालमा नसोचेको हल्ला भइदियो ।
यो हल्लामात्र हो र ?
म र मेरो टिम निर्वाचित क्यानविरुद्ध लागेकाहरूले धेरै हल्ला फैलाए । गलत भएकै हो भने छानबिन समितिले पत्ता लगाउला । म त्यहाँ खेलाडीको सुरक्षाका लागि गएको थिएँ । खराब काम गरेर पैसा कमाउनुपर्ने आवश्यकता मलाई छैन ।  
त्यही काममा त्यति नै अवधिका लागि आउने भनेर १८ जना जानुभयो । आउने बेला नौजना आउँदा गलत भयो भन्ने लागेन ?
यसबारे सुन्दरजीलाई पनि सोधँे । उहाँले ‘आफन्तलाई भेटघाट गर्दै, घुमघाम गरेर केही दिनमा फर्कन्छन्’ भनेको हुनाले होला भन्ने सोचियो । आफ्नो कामबाहेक थप सोचिएन ।
यदि गलत भएकै रहेछ भने जिम्मेवारी तपाईंले पनि लिनुपर्ने होला नि ?
अरूको जिम्मेवारी मैले किन लिन्छु ? मैले खेलाडीको मात्र जिम्मेवारी लिने हो । सातजना खेलाडी खेले, आए । अरू थाहा छैन ।
सुन्दरजीलाई चिन्नुहुन्छ । उहाँको क्लब वेस्ट काठमान्डू एफसीबारे पनि थाहा थियो होला नि ?
त्यति थाहा थिएन । एफसी भनेको फुटबल र क्रिकेट भन्ने बुझियो । उहाँले नै यो सबै प्रक्रिया मिलाउनुभएको हो । मैले खेलाडीको कोअर्डिनेसन मात्र गरेको हुँ ।
क्यानमार्फत पनि भिसाका लागि एप्लाई गरेको हो ?
होइन । क्लबबाट सुन्दरजीले नै सबै प्रोसेस गर्नुभयो । यस्तो शंका थियो भने दूतावासले भिसा किन दियो ? यो सब मैले नसोचेको भइरहेको छ । तथ्य बाहिर आओस् । यसै गरी, मेरो मानमर्दन हुँदै जाने हो भने म सम्मानित अदालत जान्छु । नेपाली क्रिकेटमा मेरो २५ वर्षको योगदानलाई मेटाउन खोजिँदै छ ।  
अहिले राखेप वा क्यान कसैले यसबारे सोधपुछ गरेनन् ?
क्यानबाट दिवाकर दाइले सोध्नुभएको थियो । मैले थाहा भएजति भनिदिएँ । अरूले सोधेका छैनन् । बरु मैले यो हल्ला चलेदेखि जापानकै क्रिकेट एसोसियसनका सीईओ एलेक्सलाई मेलमार्फत भनेँ, ‘नफर्केकाहरूलाई सेक्युरिटी लाएरै भए पनि फिर्ता गर्नुस् ।’उनले होन्डासँग कुरा गर्छु मात्र भने । होन्डा भनेका ७० वर्षजतिका जापानी नागरिक र आयोजक हुन् । उनै होन्डा र सीईओ एलेक्सकै निम्तामा हामी त्यहाँ गएका थियौँ । भिसा नपाएका कारण भारत र बंगलादेशका खेलाडी गएनन् । सोचेजस्तो गेम नभएकै हो ।
टिम नपुगेर तपाईंले पनि खेल्नुपरेको थियो, हैन ?
म, राजकुमार प्रधान र त्यहीँ भएको एक नेपालीले पनि खेल्यौँ । मैले एउटा म्याचमा म्यान अफ दी म्याच पनि पाएँ । तर, सार्वजनिक गर्न मन लागेन । क्लबबाट गएका भनिएका खेलाडीलाई खेलाएर जित्न सक्ने अवस्था नभएपछि हामीले खेल्नुप¥यो ।
...................
 ‘पछुतो लागिरहेको छ’
जापानबाट फर्केका एक क्रिकेट खेलाडी
किरण (राणा) दाइबाट जापान जानका लागि हामीलाई प्रस्ताव आएको हो । खाली भएका बेला ‘इन्टरनेसनल म्याच’को प्रस्ताव आयो भने कसले नाइँ भन्ला ? नेसनल गेम खेलेका सर्टिफिकेटहरू र पासपोर्ट किरण दाइलाई बुझायौँ । भिसा आएपछि आतेजाते टिकट फिक्स्ड भयो । वेस्ट काठमान्डू एफसी नामको क्लबले जापान लान लागेको भनियो । क्लबबारे केही थाहा थिएन । एफसी भनेको फुटबल एन्ड क्रिकेट हो भन्ने हामी सबैलाई बुझाइएको थियो । क्लबको नाम लेखिएको नेसनल टिमसँग मिल्दोजुल्दो जर्सी लगाउन दिइएको थियो ।
जुलाई १५ मा उड्नका लागि एयरपोर्टमा जम्मा भयौँ । सातजना मात्र चिनेका खेलाडी थियौँ । बाँकी किरण दाइलाई बाहेक कसैलाई चिनेनौँ । सबैले जर्सी लगाएका थिए । खेलाडी भए त चिन्नुपर्ने जस्तो लाग्यो । हामी सबै अलमल्ल प¥यौँ । सुन्दर थापा भन्ने मान्छेलाई उतै गइसकेपछि चिनेका हौँ । हामीलाई त्यतिबेलै हल्का शंका लागिसकेको थियो । खासखुस पनि गरियो । तर, केही बोल्न सकिएन । गेमका बेला अफिसियल–सफिसियल भनेर धेरैजना लान्छन् भन्ने सुनेकाले त्यस्तै होलान् भन्ने सोच्यौँ । यसरी डरलाग्दो काम गर्छन् भन्ने थाहा थिएन । प्लेन चढियो । हामी साथीहरूले फोटो पनि खिच्यौँ । नचिनेका ती मान्छेहरू हामीले फोटो खिच्दा आफू नदेखिन खोज्थे ।
हङकङ ट्रान्जिट पारेर जापानको नारिता नामक एयरपोर्ट पुगियो । एयरपोर्टबाट साढे दुई घण्टाजति लामो बसयात्रा गरियो । बीचबीचमा आफन्तकोमा जान्छन् भन्दै मान्छेहरू झार्दै लगियो । केही त एयरपोर्टबाट उता जाने गाडीमै चढेनन् । होटलमा पुग्दासम्म ती नौजनामध्ये दुईजना मात्र बाँकी थिए ।  
पाँच दिन बसियो । तीनटा म्याच खेलियो । पहिलो म्याचमा ती दुईजनाले पनि खेले । एकजना त क्रिकेट हल्का खेल्न जान्ने जस्तै थियो । अर्काे चाहिँ ब्याट पनि समाउन नजान्ने रहेछ । त्यस्तासँग जोडी बाँधेर खेल्नुपर्दा लाज लाग्यो । पहिलो म्याच हा¥यौँ । दोस्रो म्याचदेखि किरण दाइ आफैँ खेल्न थाल्नुभयो । त्यसपछि जित्न थाल्यौँ । राजकुमार प्रधान दाइ र उहाँसँग आएको अर्को एक नेपाली पनि खेलाएर टिम पु¥याइएको थियो ।
बचेका दुईजना पनि लास्ट गेम सकिएपछि खै कता पो हराए । फर्कने बेलामा नौजना मात्र थियौँ । यताबाट जाने बेला ओहोरदोहोर टिकट काटेर गएका हामी फर्कंदा उनीहरूलाई नदेख्दा अचम्म लाग्यो । हल्का सोध्न खोज्यौँ पनि । ‘घुमघाम गरेर फर्कन्छन् अरे’ भन्दै टार्न खोजियो । यता आइसकेको केही हप्तापछि पो यस्तो हल्ला भएर चकित भइयो । किन खेल्न गइएछ नि भन्दै पछुतो लागिरहेको छ ।
यो घटनाको छानबिन हुनुपर्छ । देशको बेइज्जती हुने काम गर्ने जो कोहीलाई कारबाही गर्नुपर्छ भन्ने हामी सबै केटाहरूको भनाइ हो । किनभने, भर्खर ‘अप’ हुन लागेको नेपाली क्रिकेट यस्ता कामले ‘डाउन’ हुने डर भयो । उसै त राजनीति र स्वार्थवालाहरूले बबाल मच्चाइरहेका छन् । त्यसमाथि हामी खेलाडीका नाममा धन्दा भयो भने सबैलाई घाटा हुन्छ ।

‘नरोएको दिन थिएन’
सन् २००७ मा गेम खेल्न जापान गएर नफर्केका एक खेलाडी
खेलाडीहरू विदेशमा भाग्ने गरेको हल्का–हल्का सुनेको थिएँ । पैसा कमाउने सपना थियो । नेपालमा खेलेर बाँच्न सकिन्छ भन्ने उतिबेला लाग्थेन । विश्व च्याम्पियनसिप खेल्न जाँदा म जापानमा भागेँ । साह्रै दुःख भोगेँ ।
एकजना सिनियर खेलाडी दिदीबाहेक त्यहाँ मेरो कोही थिएन । एक महिनाको भिसा सकिएपछि म ‘इल्लिगल’ भएँ । बाहिर निस्कन पाइन्थेनँ । काम खोज्न कहाँ जानु ? गुजारा टार्नै सकिएन । रातदिन रोएर बिताइयो । छ महिनाजति बसेँ । नरोएको दिन थिएन । विदेश सोचेजस्तो रहेनछ भन्ने बुझेँ ।
भेटिएका नेपालीहरूलाई भनेर अध्यागमनमा सम्पर्क भयो । केके प्रक्रिया मिलाएर पठाइदिनुभयो । नेपाल फर्केपछि खुशी भएँ । आफ्नो देशमा जस्तो कहाँ हुन्थ्यो र ? यहाँ गेम खेलेको, सबैतिर प्रशंसा पाएको, समाचार आएको विगत सम्झेँ । यही खेलमा केही गर्छु भन्ने आँट फेरि पलायो । अहिले खेलेर जीवन गुजारिरहेको छु । विगत बिर्सन चाहन्छु । त्यो विगतका कारण अहिलेको करिअरमा बाधा पुग्ला कि भन्ने डर पो लाग्छ ।
खेलाडी भाग्ने मात्र नभएर अहिले गैरखेलाडीलाई पनि खेलाडीको भेषमा भगाउँछन् भनेको सुन्दा दुःख लाग्छ । यसले देशकै बदनाम गरिरहेको छ । असली खेलाडी यसबाट मर्कामा परिरहेका छन् ।
यहाँको सिस्टम नै खराब छ । यत्रो वर्ष खेलिसकेका हामीलाई राष्ट्रिय खेलकुद परिषद्ले एउटा सिफारिस पत्र माग्दा केके भनेर टार्छ । सकभर दिनै नपरोस् भन्ने चाहन्छ । तर, गैरखेलाडीहरूले त्यस्ता कयौँ प्रमाणपत्र बोकेर मज्जाले विदेश उडिरहेको सुन्दा र देख्दा साह्रै चित्त दुख्छ । नेपालको खेलकुद सुधार्ने हो भने यो सिस्टम नै बदल्नुपर्छ । गलत मान्छेलाई कारबाही गर्नुपर्छ । खेलाडीलाई प्रोत्साहन गर्नुपर्छ ।

वेस्ट काठमान्डू एफसीका तर्फबाट
जापान जान जुलाई १५ को हवाई टिकट बुक गरेकाहरूकोे विवरण
क्रसं    नम                   हैसियत                हाल
१.    किरणशमशेर राणा    क्यानका सचिव    जापानबाट फर्केर हाल अमेरिकामा  
२.    सुन्दर थापा          वेस्ट काठमाडौँ एफसीका अध्यक्ष    नेपालमा
३.    सिद्धान्त लोहनी     सिनियर राष्ट्रिय टिमका पूर्वसदस्य    नेपालमा
४.    फैजल रहमान       यू–१९ राष्ट्रिय टिमका सदस्य    नेपालमा
५.    रामनरेश गिरी      यू–१९ राष्ट्रिय टिमका सदस्य    नेपालमा
६.    प्रेम तामाङ          यू–१९ राष्ट्रिय टिमका सदस्य    नेपालमा
७.    अमित श्रेष्ठ         यू–१९ राष्ट्रिय टिमका सदस्य    नेपालमा
८.    सौरभ खनाल        यू–१९ राष्ट्रिय टिमका सदस्य    नेपालमा
९.    सोनु तामाङ           राष्ट्रिय खेलाडी    नेपालमा
१०.    डेन्डी शेर्पा    ...    जापानमा
११.    रोमी सराङ्कोटी राना    ...    जापानमा
१२.    सञ्जीव बुढा    ...    जापानमा
१३.    श्यामकुमार पुन    ...    जापानमा
१४.    सुजन बानिया    ...    जापानमा
१५.    रामसुर बुढा    ...    जापानमा
१६.    लक्ष्मण छन्त्याल    ...    जापानमा
१७.    नरेश बुढा    ...    जापानमा
१८.    सुन्दरकुमार वली    ...    जापानमा

१९.    प्रकाश बानिया (अन्तिम समयमा टिकट क्यान्सिल गरेका)     ...    नेपालमा
(ट्राभल एजेन्सीले दिएको विवरणमा आधारित)  

 

 

 

Leave A Comment