रुद्र शाह र पृथ्वीपति शाहसम्बन्धी अशुद्धि

शुक्रबार, ३१ भदौ २०७३, ०९ : ५७ प्रा. दिनेशराज पन्त , Kathmandu
रुद्र शाह र पृथ्वीपति शाहसम्बन्धी अशुद्धि

गोरखाका राजा कृष्ण शाहको पालामा वि.सं. १७१६ श्रावण ३ गते सारिएको चौरपञ्चाशिका पाइएको छ । यताबाट कृष्ण शाह वि.सं. १७१६ श्रावण ३ गतेसम्म त राजाको रूपमा अवश्यै थिए भन्ने स्पष्ट हुन्छ । कृष्ण शाहका छोरा रुद्र शाहको पालामा लिगलिगकोटमा कालुले किल्लाको खापा बनाई राखेको वि.सं. १७३० फाल्गुन ५ गतेको शिलालेख पाइएको छ । यताबाट रुद्र शाह वि.सं. १७३० फाल्गुन ५ गतेसम्म राजाको रूपमा अवश्यै थिए भन्ने स्पष्ट हुन्छ । वि.सं. २०३१ मा काठमाडौँबाट संशोधन–मण्डलद्वारा प्रकाशित पूर्णिमा ३१ पूर्णाङ्कमा छापिएको दिनेशराज पन्तको डम्बर शाहको राज्यकालमा एक विचार भन्ने लेखमा (त्यस पूर्णाङ्कको १८१ पृष्ठमा), वि.सं. २०३२ मा प्रकाशित पूर्णिमा ३३ पूर्णाङ्कमा छापिएको दिनेशराज पन्तको गोरखाली राजाहरूका राज्यकाल भन्ने लेखमा (त्यस पूर्णाङ्कका २८, ३१, ३४ पृष्ठमा ), पूर्णिमा ३३ पूर्णाङ्कमा छापिएको दिनेशराज पन्तको शुभराज्याभिषेकको अवसरमा प्रकाशित फ्याक्ट्स् अबाउट नेपाल्मा रहेका अतथ्य कुरा भन्ने लेखमा (त्यस पूर्णाङ्कको ४१ पृष्ठमा), वि.सं. २०४१ मा काठमाडौँबाट दिनेशराज पन्तद्वारा प्रकाशित दिनेशराज पन्तको गोरखाको इतिहास पहिलो भागका १२७, १३०, १३७, १४२ पृष्ठमा तथा वि.सं. २०४५ मा दिनेशराज पन्तद्वारा प्रकाशित दिनेशराज पन्तको गोरखाको इतिहास तेस्रो भागका ६८५, ६९४–६९५ पृष्ठमा यस विषयमा सप्रमाण लेखिएको छ । यसो भए तापनि अशुद्ध कुराको प्रचार पनि भइरहेको छ । वि.सं. २०७० मा गोरखाबाट विष्णुप्रसाद खनालद्वारा प्रकाशित विष्णुप्रसाद खनालको गोरखा दरबार एक संक्षिप्त चिनारी श्री गोरखनाथ कालीचरित्रको दोस्रो संस्करणको ७ पृष्ठमा रुद्र शाह वि.सं. १७०७–१७२८, पृथ्वीपति शाह वि.सं. १७२८–१७७३ भनी लेखिएको छ । यसरी यहाँ रुद्र शाह र पृथ्वीपति शाह दुवैको राज्यकाल बिगारिएको छ ।

Leave A Comment