स्वस्थ बन्ने कसरत

आइतबार, ०२ असोज २०७३, ११ : ०७ सन्जिना श्रेष्ठ, सृजना खड्का र हिमाल लम्साल , Kathmandu
स्वस्थ बन्ने कसरत

वातावरणीय प्रदूषण, व्यस्त जीवनशैली, जथाभावी खानपान र व्यायामको कमीले विभिन्न स्वास्थ्य समस्या निम्तिन्छन् । हाल शहरवासीहरू आफ्नो स्वास्थ्यप्रति निकै सजग र चिन्तित देखिएका छन् । खुला ठाउँमा शारीरिक कसरत, योग, ध्यान, नृत्य, जुम्बा गर्नेहरू थुप्रै भेटिन्छन् । अग्र्यानिक खानाको शहरमा व्यापक खोजी भइरहेको छ । सन्जिना श्रेष्ठ, सृजना खड्का र हिमाल लम्सालले स्वास्थ्यसचेत शहरवासीको दिनचर्या अवलोकन गरेका छन् ।

कोही रूखका हाँगामा झुण्डिएर कसरत गरिरहेका छन् । कोही रूखको आडमा उठबस गरिरहेका छन् । कोही त समूहमा एकैपटक जोड–तोडले हाँसिरहेका छन् । कोही दौडिरहेका छन् भने कोही नाचिरहेका छन् । नजिकैको खुला चौरमा व्याडमन्टिन पनि खेलिरहेकै छन् । योग गर्नेहरूको जमात पनि ठूलै छ ।    
यो दृश्य पशुपति परिसरको जंगलमा रहेको विश्वरूपा मन्दिर वरपरको हो । झिसमिसेमै यहाँ आउने मान्छेहरूको नियमित गतिविधि यस्तै हुन्छ । दिनभर व्यस्त रहने शहरवासी बिहानको केही समय पशुपति जंगलमा बिताउँछन् । स्वास्थ्यप्रति उनीहरू सचेत हुँदै गइरहेका छन् ।
उता, ललितपुरस्थित यूएन पार्कमा पनि बिहान यस्तै दृश्य देखिन्छन् । यहाँ धेरैजसो मान्छेहरू नाचिरहेका हुन्छन् । खुला आकाशमुनि उनीहरू म्युजिक बजाएर जुम्बा र एरोबिकको मज्जा लिइहरका हुन्छन् । चुपचाप ध्यान र योगमा मस्त हुनेहरू पनि छन् । काठमाडौँमा बढेको प्रदूषण र खुला स्थानको अभावका कारण धेरै मान्छेहरूको रोजाइमा पशुपतिको जंगल, यूएन पार्क, शंखपार्क, टुँडिखेल, भृकुटीमण्डपजस्ता क्षेत्र पर्छन् ।

एकाबिहानै टुँडिखेलमा पुग्ने जो कोहीलाई लाग्न सक्छ– यहाँ ठूलै खेलकुद प्रतियोगिता वा मेला–महोत्सव चलिरहेको छ । झुण्ड–झुण्डमा कोही दौडिरहेका छन् । कोही संगीतको तालमा कम्मर मर्काइरहेका छन् । कोही समूहमा बसेर योग र ध्यानमा मग्न देखिन्छन् । युवाहरू फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टनमा रमाइरहेका छन् । सबैको ध्याउन्न एउटै छ– ‘कसरी स्वस्थ रहने ?’ यसै भीडमा भेटिएकी सफ्टटेनिस खेलाडी रेखा तुलाधार भन्छिन्, ‘अब हरेक व्यक्ति खेलाडी भइसके ।’ आफ्नो स्वास्थ्यप्रति चिन्ता गर्नेहरू बढेको तथ्य खोज्ने हो भने एक बिहान टुँडिखेल आउन सुझाउँछिन् उनी ।
०००
झिसमिसे बिहानै भक्तपुरको सिद्धपोखरी वरिपरि ‘मर्निङ वाक’ गर्नेहरू धेरै भेटिन्छन् । कोही दौडिरहेका हुन्छन् । कोही तन्किरहेका हुन्छन् । कोही उफ्रिँदै हुन्छन् । सबै आआफ्नै तरिकाले असिनपसिन हुन्छन् । विगत १५ वर्षदेखि यहाँ मर्निङ वाक आउने भक्तपुर, दूधपाटीकी हिना श्रेष्ठका अनुसार दैनिक दुई सयजना जति मान्छे सिद्धपोखरीमा मर्निङ वाक आउँछन् । भक्तपुरको कमलपोखरी पनि व्यायामप्रेमीहरूको आकर्षक गन्तव्य बनेको छ । यहाँ मर्निङ वाक गरिरहेका सुशान्त नायोजू भन्छन्, ‘बिहान त पोखरी परिसरमा खुट्टा टेक्ने ठाउँ हुँदैन ।’
अबको केही दिनमै नेपालको पहिलो योग जिल्ला घोषणा तयारी भइरहेको भक्तपुरमा योग र ध्यान गर्नेहरूको त के कमी ? बिहान यहाँका पार्क, सडक छेउ, रूखमुनि, जंगल, घरको आँगन सबैतिर मान्छेहरू योग गरिरहेका भेटिन्छन् । योग र ध्यानको सहजीकरणका लागि खुलेका दर्जनौँ संघसंस्थाको अगुवाइमा यहाँ अभियानकै रूपमा यस्ता बिहानी कर्म सधैँ भइरहेका हुन्छन् ।

स्वास्थ्य सचेत शहरवासी
शहरमा अचेल स्वास्थ्यको चिन्ता गर्नेहरू बढेका छन् । सेकेन्ड–सेकेन्डको हिसाब राख्न व्यस्त शहरवासीहरू बिहान व्यायाम गर्छन् । मर्निङ वाकमा निक्लन्छन् । योग गर्छन् । ध्यान गर्छन् । जिम र जुम्बा जान्छन् । साउना बाथ लिन्छन् । ‘अग्र्यानिक भोजन’ गर्छन् । घ्यूकुमारीको पात चुस्छन् । ग्रिन टी र स्लिम टी लिन्छन् । धेरै थोक गर्छन् । बिहान यस्ता ‘हेल्थ कन्सस’ मान्छेहरूको भीड धेरैतिर देख्न सकिन्छ ।
पशुपति क्षेत्रको जंगलमा भेटिएका ४८ वर्षीय सीताराम ढुंगेललाई शरीर स्वस्थ राख्ने चिन्ता छ । भन्छन्, ‘बिहान ढिलोसम्म सुत्दा पूरै आलस्य हुने, मोटाउने, सुगर बढ्ने, प्रेसर हुने डरले नियमित यहाँ आएर एक्सरसाइज गर्छु ।’ जंगल परिसरमै पेटको व्यायाम गरिरहेका बानेश्वरका सुवर्ण कोइरालालाई भुँडी घटाउनु छ । यसका लागि उनी डेढदेखि दुई घण्टा जंगलमै बिताउँछन् । ‘केही वर्षअघिसम्म सडक छेउछाउमै मर्निङ वाक गर्थें,’ उनले भने, ‘वातावरण प्रदूषण र भीडभाडले सडक छेउछाउमा मर्निङ वाक गर्न नसकिने भइसक्यो । त्यही भएर यो जंगलमा आएर आनन्द लिन्छु । धेरै मान्छेहरूले व्यायाम गरिरहेको देख्दा थप ऊर्जा मिल्छ ।’
गौशालाका शिवकुमार श्रेष्ठ शान्त र हरियालीको मज्जा लिँदै बिहानको अभ्यास गर्न यहाँ आउँछन् । नयाँ बानेश्वरदेखि नियमित रूपमा पशुपति परिसर पुग्ने गर्छन्, धुलिखेल क्याम्पसका प्रमुख सागर तिवारी । ‘ब्याडमिन्टन खेल्न यहाँ आउने गरेको छु,’ उनी भन्छन्, ‘योभन्दा राम्रो कसरत अरू हुन सक्दैन ।’
जीवन विज्ञान नामक संस्थाले हरेक दिन यूएन पार्कलाई संगीतमय बनाइरहेको हुन्छ । यहाँ जुम्बा गर्न आउने ४५ वर्षीया सृजना कार्की भन्छिन्, ‘मोटोपनका कारण सुगर बढेपछि यहाँ आएकी हुँ । छ महिनादेखि जुम्बा डान्स गर्दैछु । सुगर कन्ट्रोलमा आइसकेको छ ।’ बढ्दो उमेरसँगै रोग बल्झिने डरले उनी जुम्बा गर्न कसैगरी नछोड्ने बताउँछिन् ।
२४ वर्षीया सोफिया प्रधानलाई कुनै स्वास्थ्य समस्या नभए पनि बिहानै पार्कमा केले डो¥याउँछ ? उनले भनिन्, ‘फिट देखिन र स्वस्थ रहन ।’ एक्लै मर्निङ वाक गर्न अल्छी लागेपछि उनी अचेल पार्कमा जम्मा हुने समूहमा मिसिएर व्यायाम गर्छिन् । उनका अनुसार यो पार्कमा उनीजस्ता युवायुवतीदेखि ५०–६० वर्षका मान्छेहरू समेत नाच्न आउँछन् ।
यही पार्कको एउटा कुनामा योग गरिरहेका ५५ वर्षीय हरिकृष्ण सुवेदीले भने, ‘रूखको छेउमा बसेर योग गर्दा शरीरमा छुट्टै ऊर्जा मिल्दो रहेछ ।’ बढ्दै गएको रक्तचाप योगकै कारण अहिले नियन्त्रणमा आएको उनले बताए । सुवेदीले आफूसँगै श्रीमती गोमालाई पनि नियमित पार्कमा ल्याउन थालेका छन् ।
३४ वर्षकी एनी राई यूएन पार्कमै नियमित रूपमा एरोबिक गर्छिन् । एरोबिक उनले पहिला क्लबमा सिकेकी हुन् । तर, अहिले उनी पार्कको हरियालीमा एरोबिक गर्न रुचाउँछिन् । परिवारका अन्य सदस्यलाई सुगर देखिएपछि आफूलाई पनि लाग्न सक्ने आशंकामा मेरिना महर्जन हेल्थ कन्सस छिन् । उनी विगत पाँच वर्षदेखि व्यायाम र योग गर्न पार्कमा आउँछिन् ।
खुला ठाउँमा मात्र होइन, घरभित्र खोलिएका व्यायाम सेन्टरमा पनि मान्छेहरूको घुँइचो हुन्छ । आफ्नो स्वास्थ्यप्रति चिन्ता गर्नेहरू बढेको बताउँछन्, काठमाडौँ, जोरपाटीको छहारी डान्स सेन्टरका इन्स्ट्रक्टर प्रेम श्रेष्ठ । उनका अनुसार क्लबमा बिहान ५ देखि ८ बजेसम्म जुम्बाका लागि लगभग दुई सयजना महिला–पुरुष आउँछन् । ‘अझ पछिल्लो समय त गृहिणीहरू आफ्नो स्वास्थ्यप्रति सजग भइरहेका छन्,’ उनी भन्छन्, ‘बिहान अल्छी गरेर सुत्नुभन्दा व्यायाम र नृत्य ग¥यो भने शरीर फिट रहन्छ भन्ने कुरा धेरैले बुझेका छन् ।’ उनका अनुसार क्लबमा केही समय नृत्य सिकेकाहरू खुला स्थानमा गएर समेत नियमित नाच्छन् ।
काठमाडौँ, सिनामंगलस्थित ओयस्टर फिटनेस सेन्टरकी इन्स्ट्रक्टर रेखा सुनुवार राई भन्छिन्, ‘स्वस्थ रहन खोज्नेहरूको संख्या बढ्दै जानु राम्रो कुरा हो । तर, व्यायाम र आहारबिहारको सन्तुलन मिलाउन भने जान्नैपर्छ ।’ जुम्बा डान्स गर्दा तरिका मिलेन भने कहिलेकाहीँ मांसपेशी च्यातिने र खुट्टा मर्किने समस्यासमेत देखिन सक्छ । उनका अनुसार मोटोपन, सुगर, ब्लडप्रेसरलगायत समस्याको समाधानका लागि जुम्बा डान्स निकै प्रभावकारी छ ।
काठमाडौँ, अनामनगरका राजु श्रेष्ठ सप्लायर्सको काम गर्छन् । व्यस्त दैनिकीकै कारण तौल बढेपछि उनले चिकित्सकको परामर्शमा बिहान–बिहान व्यायाम थालेका हुन् । छ महिनामा १२ किलो तौल घटाउन उनी कसरी सफल भए ? ‘बिहान नियमित साइक्लिङ गर्छु । ब्याडमिन्टन र फुटबल खेल्छु । जे भेट्यो त्यही खान कम गरेको छु,’ उनले भने, ‘मोटो शरीर रोगको भारी हो भन्ने बुझियो । बिहानको कसरतले दिनभर काममा स्फूर्ति पनि ल्याउँछ ।’
धेरैको रोजाइ योग र ध्यान
टँुडिखेलको पूर्वी गेट छेउको खुला चौरमा केही मान्छे स्पिकर घन्काउँदै नाचिरहेका छन् । कहिले हाँस्छन् । कहिले रुन्छन् । भुइँमा ओछ्याइएको म्याटमा पल्टेर थरीथरी आसनमा शरीरलाई चलायमान राख्न खोज्दैछन् । कपालभाँती, अनुलोमविलोम, प्राणायाम र योगमा अभ्यस्त उनीहरू कतिबेला कस्तो खाले व्यायाम गर्छन् ? यसै भन्न सकिन्न ।
यसको चाँजोपाँचो मुक्ति योग ध्यान प्रतिष्ठानले मिलाउँछ । ‘बिरामी नभई कोही कसरत गर्नै आउँदैनन्,’ प्रतिष्ठानका शिक्षक रञ्जना श्रेष्ठले भनिन्, ‘रोग लाग्नै नदिन के गर्ने ? कसैले सोच्दैनन् ।’ उनका अनुसार फेरिँदो जीवनशैलीसँगै स्वास्थ्य समस्या पनि धेरै छन् । मान्छेहरूसँग पैसा छ । जस्तोसुकै खाना खान पछि पर्दैनन् । जसले गर्दा रोगको खानी भइरहेका हुन्छन् मान्छेहरू ।
नेपाल प्रहरीले चलाएको हेल्थ क्लबमा धाउनेहरू बढेका छन् । क्लबका व्यवस्थापक बुद्धिबहादुर गुरुङका अनुसार पौडी खेल्न सिजनमा दैनिक सात सयजना, जिममा ६० जना, सावना–जकुजीका लागि ५० जना जति मान्छे आउँछन् । शरीरलाई फिट तथा स्वस्थ राख्न सर्वसाधारण धेरै सर्तक भएको उनी बताउँछन् ।
भक्तपुरका बाबुराम कार्की शरीरको अत्यावश्यकमध्येको एउटा आयाम योग पनि हो भन्छन् । ११ वर्षदेखि योग गर्दै आएका उनी धेरै वर्षसम्म स्वस्थ जीवनयापन गर्ने हो भने नियमित रूपमा योग गर्न सुझाउँछन् । उनी भन्छन्, ‘योगले जीवनको ढाँचा नै परिवर्तन गरिदिन्छ ।’
वीर अस्पतालमा कार्यरत डा. भाष्कर कायस्थले योगलाई स्वस्थ रहन गरिने पुरानो पद्धति भन्दै यसलाई वैकल्पिक उपचार पद्धतिका रूपमा लिने गरिएको बताए । ‘योग र आसनले स्वास्थ्यमा निकै फाइदा पु¥याउँछ,’ उनको ठम्याइ छ, ‘तर, योग गर्दा सावधानी अपनाउनुपर्छ । घाँटी वा ढाडमा समस्या भएकाहरूले योग गर्दा ख्याल गरेनन् भने प्यारालाइसिस समेत हुनसक्छ ।’  
पोषणविद् डा. अरुणा उप्रेतीले शहरमा मानिसहरूले खानपानमा ध्यान नपु¥याउँदा विभिन्न किसिमको स्वास्थ्य समस्या देखा परेको बताइन् । घरेलु खानेकुरामा जोड दिन सकेको खण्डमा स्वस्थ जीवनयापन गर्न सकिने उनको भनाइ छ । भन्छिन्, ‘बिहान दुई घण्टा मर्निङ वाक गर्ने तर खानपानमा ध्यान नपु¥याउने हो भने त्यो व्यायामको कुनै अर्थ हुँदैन ।’ स्वस्थ जीवनशैलीका लागि सुरुमा आफ्नो आनीबानीमा परिवर्तन ल्याउनुपर्नेमा उनी जोड दिन्छिन् ।
खानपानमा सचेतना
शहरवासी आफ्नो आहारबिहारमा पनि स्वास्थ्यकै चिन्ता गर्दैछन् । उनीहरू अग्र्यानिक खानाको खोजीमा हुन्छन् । काठमाडौँ, कोटेश्वरका पुष्कर खरेल अचेल खानपानमा निकै सतर्क छन् । ‘पहिला स्वास्थ्यमा खासै वास्तै गरिएन,’ उनले भने, ‘सुगरले भेटेपछि सकभर सन्तुलन मिलाएर खाने गरेको छु ।’ अचेल उनी दैनिक डेढ घण्टा व्यायामको साथै एक गिलास ‘एलोभेरा’को जुस सेवन गर्छन् । ‘हिजोआज दुईचार वर्ष धेरै बाँचिन्छ जस्तो अनुभव हुँदैछ,’ उनले भने ।
कोटेश्वरकै लक्ष्मण चौलागाईं ‘खिन्तेकाका’ पनि ब्लडप्रेसर र ग्यास्ट्रिकले पिरोलेपछि सजग भएका छन् । ‘स्वस्थ भइन्छ भनेर नियमित ग्रिन टी पिउँछु,’ उनले भने, ‘जे पायो त्यही खान पनि छाडियो । कसरत पनि धेरै गरिन्छ ।’
‘स्वास्थ्य नै धन हो’ भन्ने उक्ति धेरैले मनन गर्न खोजेको देखिन्छ । भक्तपुरकी इन्दिरा दाहाल भन्छिन्, ‘अफिसको काममा जतिसुकै व्यस्त भए पनि करेसाबारीका लागि जहिल्यै समय छुट्याउँछु । आफैँले उब्जाएको तरकारी खानुमा बेग्लै मज्जा छ । शारीरिक कसरत पनि हुन्छ ।’ भक्तपुरमा आफैँले उब्जाएको ताजा तरकारी खान खोज्नेहरू धेरै भेटिन्छन् ।
कोटेश्वरका भीमबहादुर मगराती अग्र्यानिक खाद्यान्न तथा तरकारी पाउनै गाह्रो हुने बताउँछन । ‘बजारमा अग्र्यानिक भनेर धेरै प्रचारप्रसार गर्छन् । तर, वास्तविक अग्र्यानिक भने भेट्टाउनै मुश्किल छ,’ उनी भन्छन्, ‘जंगलमा पाइने जिम्बु, निउरो र सिस्नोको पाउडरबाहेक अरू चिज अग्र्यानिक भनेर विश्वास गर्नै सकिन्न ।’
जानकारहरू सुझाउँछन्, बजारमा अग्र्यानिक भनिएका चिजवस्तु वास्तवमा अग्र्यानिक नहुन सक्छ । वरिष्ठ बालीविज्ञ भोलामानसिंह बस्नेतका अनुसार उच्च स्तरीय प्रयोगशालामा सयौँ परीक्षणले मात्रै अग्र्यानिक निक्र्यौल गर्न सम्भव भएकाले हचुवामा घोषणा गरिएको अग्र्यानिकमा विश्वास गर्न सकिन्न । ‘केमिकलको प्रयोगविना सामान्य तरकारी आफँैले उत्पादन गर्न सकिने भएकाले अग्र्यानिकका लागि कतै भौँतारिनै पर्दैन,’ उनले भने ।
आयुर्वेदतिर पनि धेरैको आकर्षण छ । आयुर्वेद विषयका प्राध्यापक डा.चन्द्रराज सापकोटा यसलाई खुशीको खबर ठान्छन् । ‘स्वास्थ्यप्रति बढेको सचेतनाका कारण आयुर्वेदप्रति धेरै मान्छे आकर्षित भएका छन्,’ उनी भन्छन्, ‘यो खुशीको कुरा हो । तर, चिकित्सकको परामर्शविना हचुवामा गरिने आयुर्वेदिक उपचारले यो पद्धतिकै बदनाम हुनेतर्फ सचेत हुनुपर्छ ।’ उनका अनुसार आयुर्वेदले स्वास्थ्यलाई फाइदा गर्छ तर रोगले ग्रसित भइराखेकालाई निको पार्ने होइन ।
‘होल बडी’ चेकअप
स्वास्थ्यप्रतिको सचेतना बढेको आकलन ‘होल बडी’ चेकअप गराउनेको संख्याबाट पनि गर्न सकिन्छ । रोग लाग्नुअघि नै शरीरको अवस्था के छ ? त्यो पत्ता लाउन भनेर होल बडी चेकअप गराउने हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुकी डा. गीता शाक्यका अनुसार नियमितजसो होल बडी चेकअप गराउनेहरू बढेका छन् । होल बडी चेकअपमा विशेष गरी किड्नी, कलेजो, युरिक एसिड, महिलाको ट्युमर, पुरुषको प्रोस्ट्रेट ग्ल्यान्डको जाँच हुन्छ । ‘यो भनेको स्वास्थ्य सजगता बढ्दै गएको हो,’ उनले भनिन्, ‘तर, केही रोगको लक्षण देखियो भने होल बडी चेकअप गरेकै हो भनेर चुप बस्नु हुँदैन । तुरुन्त चिकित्सकको सल्लाह लिइहाल्नुपर्छ ।’


‘व्यायाम स्वस्थ रहने औजार हो’
डाक्टरको सल्लाह
डा. धुव्र सिंह, फिजिसियन
पछिल्लो समय स्वास्थ्यप्रति सजग हुनेहरू बढेको पाइन्छ । नेपालमा बढ्दो वातावरण प्रदूषण, स्थानको अभाव, समयलाई सही व्यवस्थापन गर्न नसकेका कारण पनि शारीरिक अभ्यास कम हुने गर्छ । अल्छी मानिसलाई यो बहाना बन्ने गरेको छ ।
हरेक वर्गका लागि सबैभन्दा उपयुक्त व्यायाम भनेको जगिङ हो । अहिलेको समयमा कुपोषण हुनेहरू कम छन् । खाना ज्यादा भएर समस्या हुनेहरू धेरै छन् । सन्तुलन मिलाउन जान्दैनन् । शरीरमा विभिन्न किसिमका रोगहरू लाग्नुको मुख्य कारण भनेको व्यायामको कमी हो । सुगर, ब्लडप्रेसर, युरिक एसिड, मोटोपनलाई नियन्त्रण गर्ने सबैभन्दा ठूलो उपाय भनेको नै व्यायाम हो । व्यायामले तनावसमेत हटाउन मद्दत गर्छ । यो स्वस्थ रहने महŒवपूर्ण औजार हो । उच्च रक्तचाप, चिनी रोग, युरिक एसिड लगायतका बिरामीले डाक्टरको सल्लाहअनुसार उपयुक्त व्यायाम गर्र्नुपर्छ, जसबाट उनीहरूलाई नकारात्मक असर नपरोस् । जे मन लाग्यो त्यही गरेर व्यायाम गर्नु उचित होइन ।

‘भोजन र व्यायामको तालमेल जरुरी छ’
प्रतिष्ठा महर्जन, फिजियोथेरापिस्ट
मोटोपन आजको भोलि नै घटाउन खोज्ने प्रवृत्ति स्वास्थ्यको लागि निकै घातक हुन्छ । वर्षाैंदेखि भएको समस्या एकछिनमै निवारण गर्न खोज्नु पक्कै राम्रो होइन । जसले स्वास्थ्यमै नकारात्मक असर परिरहेको हुन्छ । अचेल फिटनेस सेन्टर तथा क्लबहरू च्याउसरी खुलेका छन् । तर, उनीहरूले दिने सेवा सुविधा कस्तो छ ? भनेर निरीक्षण गर्ने संयन्त्र छैन । जसले जनताकै स्वास्थ्यमा खेलबाड हुने जोखिम उच्च छ । जनता आफैँ सचेत हुनुपर्छ । आफू जाने फिटनेस सेन्टरमा दक्ष प्रशिक्षक र पेशागत रूपमा सञ्चालन गरिएको छ वा छैन भनेर पत्ता लगाउनुपर्छ । हचुवामा गरिने अभ्यासले पछि पछुतो हुन सक्छ । स्वास्थ्यका लागि भोजन र व्यायामको तालमेल जरुरी छ । आजभोलि एरोबिक गर्दासम्म दुब्लाउने, तर छाडेसँगै मोटाउने ट्रेन्ड देखिएको छ । यो सन्तुलन मिलाउन नसकेर नै हो । कसरत गर्नुअघि वार्मअप र कसरत गरेपछि कुलडाउन गर्न आवश्यक छ । जोशले उफ्रेर र धेरै तौल उचालेर मात्रै कसरत हुँदैन ।

व्यायाम गर्दा ध्यान दिऊँ
अजित शर्मा
इन्स्ट्रक्टर, ओएस्टर स्पा एन्ड फिटनेस क्लब
आरामदायी जीवन बिताउँदा शरीर अस्वस्थ हुने नै भयो । शरीर मोटाउँदै जाँदा उच्च रक्तचाप, मधुमेह, नसा, हाडजोर्नी, मुटु रोग आम रूपमा देखिन थालेको छ । कामको व्यस्तता, मानसिक तनाव र व्यायामको कमीले समस्या थपिइरहेका छन् । यसबाट जोगिन भनेर मान्छेहरू मर्निङ वाकमा जान र व्यायाम गर्न थालेका छन् । व्यायाम गर्दा केही कुरामा ध्यान दिन जरुरी छ ।

   व्यायाम गर्नुअघि शरीरलाई ‘वार्मअप’ गर्नुपर्छ । त्यसपछि    टाउकोदेखि खुट्टासम्मको शरीरको भागलाई तन्काउँनुपर्छ । जसलाई स्ट्रेचिङ भनिन्छ । स्ट्रेचिङले शरीरको लचकता बढाउने र तन्तुहरूमा चोटपटक लाग्ने जोखिम कम गर्छ । यसले रक्तसञ्चार पनि राम्रो बनाउँछ ।

    कुनै पनि व्यायाम गर्दा हाम्रो ढाडको बढी प्रयोग हुन्छ । त्यसैले ढाडको एक्सरसाइजलाई पनि ध्यान दिनुपर्छ ।

    व्यायाम गर्नुअघि एक लिटर पानी पिउनुपर्छ । व्यायाम गर्दा त्यो पानी पसिना बनेर शरीरबाट बाहिरिन्छ । यसबाहेक दैनिक चार लिटर पानी पिउनुपर्छ ।

    बिहान खाली पेटमा व्यायाम गर्नु हुँदैन । व्यायामअघि दूध, फलफूल तथा सातु खानुपर्छ ।

   व्यायाममा श्वासप्रश्वासको ठूलो महŒव हुन्छ । व्यायाम बढ्दै जाँदा मसलले अक्सिजनको माग गर्छ । सास लिने र फाल्ने तरिका नमिले पनि शरीरलाई हानि पुग्छ । सास तान्ने र फाल्ने विषयमा पनि उचित ज्ञान हुनुपर्छ ।

   बिहान एकैपटक धेरै दौडनु वा कडा व्यायाम गर्नु हुँदैन । बिस्तारै गर्दै जानुपर्छ । क्रमिक रूपमा मात्रा बढाउन सकिन्छ ।

   हचुवाका भरमा जे पायो त्यही ग¥यो भने व्यायामले हानि गर्छ । जसका कारण शरीर भद्दा हुनेमात्र होइन, ज्यानकै जोखिम पनि हुन सक्छ । उचित तरिकाले व्यायाम नगर्दा हाड खिइने, नसा च्यापिने, हाड मर्किनेजस्ता समस्या आउँछन् । व्यायामसँगै भोजन र आराम पनि सन्तुलित हुनैपर्छ ।

 

Leave A Comment