‘जेलमा झोला बनाउन सिकेँ’

शुक्रबार, ०७ असोज २०७३, १२ : १३ शुक्रवार , Kathmandu
‘जेलमा झोला बनाउन सिकेँ’

जेलबाट छुटेपछि बलिउड अभिनेता सञ्जय दत्त आफ्नो परिवारसँग समय व्यतीत गरिरहेका छन् । उनी फिल्ममा फर्कने तयारीमा पनि छन् । उनले एक भारतीय मिडियासँग आफ्नो जेल अनुभव साटेका छन्ः

म जेलमा हुँदा मेरी श्रीमती मान्यताले मेरा लागि जति गरिन्, उनका लागि मैले त्यसको सानो अंश पनि गरे जस्तो लाग्दैन । उनकै कारण मैले जीवनमा श्रीमतीको महŒव महसुस गरेँ । उनले मलाई एउटा घर दिइन्, दुई सुन्दर सन्तान दिइन् र जीवनको कठिनतम समयमा साथ दिइन् । यति मात्र होइन, उनले दुःखको समयमा मलाई पनि बलियो बनाइन् । मैले बच्चाहरूलाई जेलमा आउने स्वीकृति दिइनँ । तर, म घर आइसकेपछि उनीहरू असाध्यै खुशी छन् । उनीहरू मदेखि डराउँदैनन् । किनकि, म उनीहरूलाई धेरै अनुशासनमा राख्न खोज्दिनँ । म यति मात्र चाहन्छु– मेरा बच्चाहरू असल मानिस बनून् ।  
जेलमा मैले भगवद् गीता, रामायण र पुराण पढेँ । मराठी भाषा पनि सिकेँ । व्यायामका लागि त्यहाँ बाल्टिन र डोरी प्रयोग गर्थें । मैले जेलमा कागजको झोला बनाउन सिकेँ । यसबाहेक त्यहाँ रेडियो स्टेसनमा पनि काम गरेँ । जेलको नाटक मण्डलीमा रहेका ६०÷७० जना कैदीलाई अभिनय गर्न सिकाएँ ।
जेलमा हुने अधिकांश कैदी पेशेवर हुँदैनन् । उनीहरू त परिस्थितिवश गल्तीले अपराधमा संलग्न हुन्छन् । मैले पनि गल्ती गरेको थिएँ । मैले जिम्मेदार हुनुपथ्र्यो तर त्यतिखेर म युवा थिएँ । मैले आफ्नो गल्तीको सजाय भोगिसकेँ र त्यहाँबाट अगाडि बढिसकेँ । अहिले पछुतो लाग्छ, त्यतिखेर मैले आफ्ना आमाबुबाको भनाइ किन मानिनँ होला । उहाँहरूले भन्नुभएको थियो– ‘पक्राउ परेपछि कानुनको पालना गर ।’ मैले मानिनँ । तर, म सजायबाट पनि भागिनँ । अहिले सजाय काटेर इज्जतसाथ बाहिर आएको छु ।
मैले जेलमा विशेष सुविधा पाएका कुरा पनि नउठेका होइनन् । जसमा पेरोल पनि पर्छ । यो मुद्दा उठ्दाताका मैले १८ महिनाको सजाय काटिसकेको थिएँ । त्यसैले म यो सुविधा लिन सक्थेँ । हरेक दिन हजारौँ कैदी पेरोलमा बाहिर आउँछन् र हजारौँ जेलमा फिर्ता हुन्छन् । उनीहरूबारे कोही केही भन्दैनन् । तर, मैले पेरोलको सुविधा लिँदा सबैको चासोको विषय बन्यो । यो स्टारडम पनि दुईधारे तरबारजस्तै हो । मैले सबै परिस्थितिको सामना गरेँ र अब त्यो समय पछाडि छुटिसकेको छ ।
जेलको रेडियो स्टेसनमा मेरो भेट जिशान र डा. समीरसँग भयो । उनीहरू प्रतिभाशाली मान्छे हुन् । तर, अहिले सजाय भोगिरहेका छन् । उनीहरूले मलाई एउटा आइडिया सुनाए । मैले त्यस आइडियालाई स्क्रिप्टमा बदल्न उनीहरूलाई प्रोत्साहित गरेँ । उनीहरूले लेखेको स्क्रिप्ट मैले साजिद–फरिहादलाई दिइसकेँ । यस फिल्मलाई उनीहरूले मेरा लागि निर्देशन गर्नेछन् । स्क्रिप्ट फाइनल भएपछि कलाकारको छनोट गर्नेछौँ । फिल्ममा हामी युवा कलाकारलाई लिनेछौँ ।
२५ फेबु्रअरीका दिन जेलबाट बाहिर निस्कँदा मेरो बायोपिक बनाइरहेका निर्देशक राजु हिरानीले एउटा सट लिए । म त्यतिखेर अचम्ममा परेको थिएँ । के सट लिइयो भनेर मलाई थाहै भएन । मलाई त यो पनि थाहा छैन कि फिल्ममा म छु कि छुइनँ । डिसेम्बरमा सुरु हुने फिल्मका लागि राजु अहिले पनि काम गरिरहेका छन् । उनीसँग मेरो नौ सय घण्टाको कुराकानी रेकर्ड छ । जसबाट उनलाई साढे दुई घण्टाको फिल्म बनाउनु छ । फिल्मको पहिलो ड्राफ्ट तयार नहुँदासम्म उनी मसँग कुरा गर्न चाहन्नन् ।

Leave A Comment