राणा प्रधानमन्त्रीसम्बन्धी अशुद्धि

शनिबार, ०८ असोज २०७३, ११ : ३३ शुक्रवार , Kathmandu
राणा प्रधानमन्त्रीसम्बन्धी अशुद्धि

राणा प्रधानमन्त्री जङ्गबहादुरले प्रधानमन्त्री पद छोडेपछि वि.सं.  १९१३ श्रावण १८ गते उनका भाइ बमबहादुर प्रधानमन्त्री भए । बमबहादुरको वि.सं. १९१४ ज्येष्ठ १४ गते मृत्यु भएपछि जङ्गबहादुर फेरि प्रधानमन्त्री भए । जङ्गबहादुरको वि.सं. १९३३ फाल्गुन १६ गते मृत्यु भएपछि उनका भाइ रणोद्दीपसिंह प्रधानमन्त्री भए । रणोद्दीप सिंह वि.सं. १९४२ मार्ग ९ गते मारिएपछि उनका कान्छा भाइ धीरशमशेरका जेठा छोरा वीरशमशेर प्रधानमन्त्री भए । वीरशमशेरको वि.सं. १९५७ फाल्गुन २३ गते मृत्यु भएपछि उनका भाइ देवशमशेर प्रधानमन्त्री भए । जङ्गबहादुर, बमबहादुर, रणोद्दीपसिंह, वीरशमशेर, देवशमशेर प्रधानमन्त्री भए । यसरी देवशमशेर पाँचौँ राणा प्रधानमन्त्री हुन आउँछन् । वि.सं. २०३० मा ललितपुरबाट मदन पुरस्कार गुठीद्वारा प्रकाशित नेपाली ५८ पूर्णाङ्कका १९–२६ पृष्ठमा छापिएको नयराज पन्तको प्रधानमन्त्री बमबहादुर र श्री ३ रणोद्दीप सिंहको विषयमा केही कुरा भन्ने लेखमा, वि.सं. २०३२ मा काठमाडौँबाट संशोधन–मण्डलद्वारा प्रकाशित पूर्णिमा ३३ पूर्णाङ्कमा छापिएको दिनेशराज पन्तको शुभराज्याभिषेकको अवसरमा प्रकाशित फ्याक्ट्स् अबाउट् नेपाल्मा रहेका अतथ्य कुरा भन्ने लेखमा (त्यस पूर्णाङ्कका ४३–४७ पृष्ठमा), वि.सं. २०३५ मा प्रकाशित पूर्णिमा ४० पूर्णाङ्कमा छापिएको नयराज पन्तको श्री ३ महाराज पद्मशमशेरका कुरा भन्ने लेखमा (त्यस पूर्णाङ्कका १८२–१८३ पृष्ठमा), वि.सं. २०३६ मा काठमाडौँबाट नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित प्रज्ञा २७ पूर्णाङ्कमा छापिएको नयराज पन्तको जङ्गबहादुरको अङ्ग्रेजसँगको षाड्गुण्य भन्ने लेखमा (त्यस पूर्णाङ्कको ९५ पृष्ठमा) तथा वि.सं.  २०७० मा काठमाडौँबाट ज्ञानगुन साहित्य प्रतिष्ठानद्वारा प्रकाशित महेशराज पन्तको नयराज पन्तको दृष्टिमा श्री ३ जङ्गबहादुर राणाका १०, ४५–४८, १०७–१०८ पृष्ठमा यस विषयमा सप्रमाण लेखिएको छ । यसो भए तापनि अशुद्ध कुराको प्रचार पनि भइरहेछ । काठमाडौँबाट नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित वि.सं. २०७३ भाद्र १७ गतेको नागरिक ८ वर्ष १३३ अङ्कको ७ पृष्ठमा छापिएको गीता कोइरालाको इतिहासले चिरिक्क चिमोट्दा भन्ने लेखमा जङ्गबहादुर, रणोद्दीप र वीर समसेरपछाडि नेपालमा चौथो राणा प्रधानमन्त्रीका रूपमा देव समसेर आए भनी लेखिएको छ । यहाँ बमबहादुरको नाम छुटाइएको छ र देवशमशेरलाई पाँचौँ भन्नुपर्नेमा चौथो भनी अशुद्ध पारिएको छ ।
प्रा. दिनेशराज पन्त        

 

Leave A Comment