भिसा लागेपछि

सोमबार, १० असोज २०७३, १० : ५१ ईश्वर दाहाल , Kathmandu
भिसा लागेपछि

केटो पर्नुसम्म छक्क परिरहेको थियो । उसलाई बेलाबेलामा त सपना पो देखिरा’छु कि जस्तो लाग्न थालेको थियो । ड्याडीको वर्तमान रूप उसका लागि कल्पनातीत थियो । ड्याडी यो औधी मायालु छन् भन्ने उसलाई विश्वास नै हुन सकिरहेको थिएन । बाल्यकालमा ड्याडीले गरेको माया उसले बिर्सिसकेको थियो । अर्थात्, बिर्सनु स्वाभाविक थियो । किनकि, किशोरकाल र युवाकालमा आमाबाउले गरेको माया खासै यादगार हुँदैन । पाँच कक्षापछिका वर्षहरूबाट ड्याडी भयंकर रूपमा प्रस्तुत हुन थाले । जुन कुरा उसले बिर्साैं भने पनि बिर्सन सक्दैन ।
पहाडबाट काठमाडौँ जागिर खान झरेका उसका ड्याडीले काठमाडौँ एउटा घर जोडे । ऊ र भाइ यतै जन्मिए । दुई  छोराको पढाइका लागि ड्याडीले कुनै कसर बाँकी राखेनन् । नाम चलेका स्कुलमा भर्ना गरिदिए । होम ट्युसनको प्रवन्ध मिलाए । के कसरी छोराहरूको पढाइ अब्बल हुन्छ, उनले जाने र भ्याएजति गरे । चार कक्षासम्म केटो सधँै फस्ट भयो । छोरो फस्ट हुनुसँगै ड्याडीको छाती पनि नाङ्लाजत्रै हुन्थ्यो । कक्षामा सधँै फस्ट हुनुपर्छ । ड्याडीको यही एकसूत्रीय माग थियो । चार सकेर पाँचमा पुग्दा उसले ड्याडीको माग पूरा गर्न सकेन । तेस्रो भयो । पाँच कक्षाबाट सुरु भएको यो सिलसिला कक्षा बाह्रसम्म पुग्यो । अर्थात्, बाह्र कक्षासम्म आइपुग्दा पनि उसले ड्याडीको माग पूरा गर्न सकेन । ड्याडीको नजरमा ऊ निकम्मा दरियो । केटोले गरिखान्छ भन्ने विश्वास ड्याडीलाई पटक्कै थिएन ।
बाह्र सकेपछि केटोले चमत्कार ग¥यो । उसलाई अमेरिकाको भिसा लाग्यो । अमेरिकाको भिसाले ड्याडी विश्वस्त बने, अब छोराले गरिखान्छ । खरिखाने छोरोप्रति ड्याडी मायालु भएर प्रस्तुत भए । वर्षाैंसम्म खुम्चिएको ड्याडीको छाती फेरि नाङ्लोजत्रो भएर फैलियो । बदलिएका ड्याडी देखेर उसलाई पत्याउन समेत मुस्किल भइरहेको थियो । उसले स्कुले प्रतियोगिताबाट फुटबलको ट्रफी लिएर आउँथ्यो । तर, ड्याडीले कहिल्यै बाल दिएनन् । फुटबलको मैदानमा लडेर जीउभरि चोट हुन्थ्यो तर ड्याडीले कहिल्यै सुमसुम्याएनन् । लुकीलुकी गिटार प्य्राक्टिस गथ्र्याे र गिटारिस्ट भएर टोकन अफ लभ बोकेर आउँथ्यो । तर, ड्याडीका लागि यो कुनै कामको कुरा थिएन । पढ्न पनि त उसले मेहनत गरेकै हो । इक्जामको समयमा रातभर नसुती नसुती पढ्थ्यो । तर, जति पढे पनि ऊ फस्ट भएन । फस्ट नभई ड्याडीको संसारमा ऊ अब्बल ठहरिएन । त्यत्रो मेहनत गर्दा ड्याडीको मन पग्लिएको थिएन । जाबो तीन महिना कन्सलट्यान्सी धाएर ल्याएको भिसाले ड्याडीलाई एक सय असी डिग्रीमा घुमाइदियो । भिसा लागेको दिनमै ड्याडीले घरमा पार्टी दिए । ड्याडीका साथीहरूले अमेरिकाको नाममा मटन ज्युनार गरे । मद्यपान पनि गरे । पहिला पहिला पनि घरमा ‘ड्याडी पार्टी’ हुन्थ्यो । ऊ त्यो पार्टीको तमासेसम्म बन्न पाउँदैनथ्यो । गरिनखाने छोरालाई गरिखाने बाउले छेउमै ढिम्कन दिँदैनथे । तर, भिसा पार्टीमा भने ऊ गरिखाने भयो । पार्टीमा आएका अंकलहरूले पनि उसलाई खास माने । उसको पढाइको, सामथ्र्यको र मेहनतको चर्चा गरे ।
पार्टी सकिएपछि भिसा लाग्यो भनेर उसले फेसबुकको वालमा लेख्यो । केही मिनेटमै कमेन्टको ओइरो लाग्यो । उसले कति राम्रा कुरा कैयौँ पटक सोचेर फेसबुकमा लेख्थ्यो । तर, कमेन्टका लागि साथीलाई फोर्स लाउनुपथ्र्यो । आज भिसा सूचना एकाएक हिट भयो । त्यतिमात्र कहाँ हो र ? उसको फेसबुकबाट उसको फोटो डाउनलोट गरेर अंकल, आन्टी, ठूलाबा, सानीमा र दाइहरूले फोटोमुनि बधाइ लेखेर पोस्ट गर्न समेत भ्याए ।
भोलिपल्टबाट त ड्याडीलाई शुभकामनाको ओइरो आउन थाल्यो । ड्याडीलाई फोन उठाउन नै भ्याइ नभ्याइ भयो । उसको भिसाले आफन्तहरूमा उत्साहको सञ्चार गरेको थियो । एउटी ममी मात्र अति उत्साहित थिइनन् । सन्तान सात समुन्द्र पारि पुग्ने पीडाले उनलाई कताकता अत्याइरहेको थियो ।
अचम्म त के भयो भने एलिसाले समेत उसलाई फ्रेन्ड रिक्वेस्ट पठाई । एलिसा उसको क्लासमेट थिई । एक रात उसले च्याटबाट एलिसालाई प्रपोज ठोक्यो । एलिसाले उसलाई ब्लक ठोकी । त्यसपछिबाट एलिसा मात्र होइन, एलिसाका ग्याङका प्रज्ञा, सजना र दिव्यालगायत बोल्न नै छाडे । उसले एलिसाको मन पगाल्न कति पापड बेल्यो । तर, प्रेमको मुना मरे पलाएन । भिसा सूचना जारी भएपछि एलिसाले नै दोस्तीको हात अगाडि बढाई । हुँदाहुँदा उसको इनबक्स एलिसाहरूको म्यासेजले भरियो । बाफ रे बाफ, भिसाको कमाल !
छिमेकी आन्टी पनि ऊसँग मीठो गरी बोल्न थालिन् । रासनपसले अंकलले पनि ऊ पसलमा पुग्दा हार्दिकता देखाउन थाले । साथीहरूको माझमा पनि उसको हिरोइजम देखियो । घरमा प्रायः आउँदै नआउने नातेदारहरूको पनि आवतजावत बाक्लिन थाल्यो । मानौँ, भिसाले आफन्तहरूबीच सुमधुर सम्बन्धको मार्ग प्रशस्त गरिदियो ।
आफ्नो जिरो हैसियतलाई केही दिनमै हिरो बनाउने भिसा केटोको लागि कमाल हुनु अन्यथा थिएन । ऊ भिसा सम्झिएर कृतज्ञ भयो । जसरी भगवान सम्झिएर आस्तिकहरू हुने गर्छन् । तपाईं पनि परिवारको माया, आफन्तको आकर्षण, साथीभाइको सद्भाव र समाजको प्रतिष्ठा चाहनुहुन्छ भने भिसा लगाउनुस् । यो जत्तिको अचूक उपाय अरू कुनै छैन ।

Leave A Comment