कवि चन्द्र घिमिरेको दोस्रो कवितासंग्रह ‘काठको बाकस’ हालसालै प्रकाशनमा आएको छ । कुनै बेला कविता नलेख्ने घोषणा गरेका उनी दुई दशकपछि पुनः कविताकर्ममा फर्किएका छन् । यही सेरोफेरोमा रहेर घिमिरेसँग प्रवीण बानियाँले गरेको कुराकानीः
नयाँ कवितासंग्रह बजारमा आएको छ । पाठकबाट के, कस्ता प्रतिक्रिया पाइरहनुभएको छ ?
‘काठको बाकस’ कवितासंग्रहमाथि पाएका प्रतिक्रियाबाट उत्साहित छु । यस संग्रहमाथि अहिलेसम्म छापिएका समीक्षा तथा टीका–टिप्पणीले मेरो विश्वास बढाएका छन् । सुनिन्छ, नेपाली बजारमा आफ्नो गुट वा सिन्डिकेटबाट मात्रै किताबको चर्चा हुने गर्छ । पहुँचवालाले नाम चलेका दैनिक पत्रपत्रिकालाई प्रयोग गरेर चर्चा गराउँछन् भन्ने पनि सुन्निछ । प्रकाशक स्वयंले पनि फिल्मी शैलीमा पुस्तकको प्रमोसन गर्ने गरेको देखिन्छ । यी सबैबीच ‘काठको बाकस’ आफ्नै बलमा उभिएको छ भन्ने लागेको छ ।
‘काठको बाकस’मा कस्ता कविता छन् ?
मेरो अघिल्लो संग्रह ‘डन्ट टच मी ओ कविताहरू’ पुराना कविताहरूको संगालो थियो । ४० कै दशकदेखिका कविता त्यसमा थिए । यसपटक पछिल्ला तीन वर्षमा लेखिएका कविता यसमा छन् । यी म कोलकता रहँदा–बस्दा लेखेका कविता हुन् । त्यसैगरी मैले निकै चर्चा कमाएको भूमिका ‘मेनिफेस्टो’ शीर्षकमा लेखेको छु । कविताबारे मेरो धारणा त्यसमा छ । कवितामाथि वैचारिक बहस उठाउन मैले लेखेको हुँ । त्यसै अवधारणाअनुसार कविता समावेश छन् । यस संग्रहमा मान्छेका वा समाजले भोगिरहेका पात्रहरू देखापर्छन् ।
जागिरको सिलसिलामा तपाईं भारत पनि बस्नुभयो । त्यहाँ रहँदाको कविताकर्म कस्तो रह्यो ?
म भारतको कोलकतामा २०१२ देखि २०१६ सम्म ४ वर्ष नेपालको महावाणिज्यदूत भएर खटिएको थिएँ । कोलकता आफैँ भारतको बौद्धिक राजधानी भएकाले सघन रूपमा लेखक–बुद्धिजीविहरूसँग नजिकिने अवसर मिल्यो । बंगाली साहित्यका टैगोरपछिको पुस्ताका लिजेन्ड स्व. सुनील बन्दोपाध्याय, अहिलेका चर्चित बंगाली कवि जय गोस्वामीसँग राम्रो संगत रह्यो । हिन्दी साहित्यका अर्का शिखर कवि केदारनाथ सिंह लगायतसँगको संगतले कविताकर्ममा मजलज ग¥यो । भारत बसाइको सबैभन्दा उल्लेखनीय पक्ष ‘काठको बाकस’का सबैजसो कविता त्यहीँ लेखिएका हुन् । थुप्रै लेख–निबन्ध त्यहीँ लेखँ । केही अरू किताब लेखनका प्लटहरू लिएर देश फर्केको छु ।
कविता लेखनका विषय र प्रवृत्तिका हिसाबले त्यहाँ र यहाँ के–के भिन्नता छन् ?
भारत निकै विविधता भएको मुलुक हो । लेखनका लागि जमिनमुनि असंख्य प्लटहरू लुकेका छन्, लुकेको तेलखानीजस्तो । लेखकहरू त्यो अन्वेषण गर्दै लेख्छन् । लेखन विषयका हिसाबले हामीकहाँ स्टक अलि सीमित छ जस्तो लाग्छ । प्रवृत्तिको कुरा गर्दा हामी अरूभन्दा निकै ढिला छौं । अरूले ६० वा ७० कै दशकमा प्रयोग गरेका कुराको चर्चा यहाँ अहिले आएर हुन्छ । विट्स जेनेरेसन अथवा उत्तर आधुनिकताको बहस हामीकहाँ कति ढिलोगरी आयो, त्यो हामीले देखेकै हो ।
कुनै बेला कविता नलेख्ने कसम खाएर पछि पुनः आफ्नै कसम तोड्दै कविताकर्ममा पर्किनुभयो । यौटा कविले कवितै नलेख्ने कसम किन खानुपरेको ?
कविभित्र एउटा कवि बारबार मर्छ र पुनः जन्मन्छ । हामी कविहरू हरदम कहाँ लेख्छौँ र ? तर, मेरो केसमा त्यसबेला नहुनु भएको थियो । लामो समयसम्म कवि म¥यो । घोषणा गरेरै म¥यो, घोषणा गरेरै आत्महत्या गरेजस्तो । यो किन भो ? म आफूले पनि जान्न खोजेको विषय हो । यसबारे कुनैबेला म बताउँला÷लेखौँला ।
हामीकहाँ पठन संस्कृति कमजोर छ भनिन्छ । यहाँ लेखकहरू नै पढ्दैनन् भन्ने स्वर चर्को छ । नेपाल र अन्य देशको पठन संस्कृतिबीच के फरक पाउनुहुन्छ ?
हो, यो साँचो हो । आज पनि सित्तैमा किताब दओस् भन्ने लेखकहरू बग्रेल्ती छन् । आजको दिनमा म दाबीका साथ भन्छु कि, पढ्ने पुस्ता युवा पुस्ता नै हो । लेखक भएपछि पढ्न पुगेजस्तो गर्ने प्रवृत्तिमा हामी रमेका छौँ । लेखक समाज पटक्कै नपढ्ने र नपढीकनै अरूको कृतिमाथि आलोचना गर्छ । सबैभन्दा जोडको हाँसो त त्यो बेला उठ्छ जब कि, विश्वविद्यालयमा पढाउनेले झनै पढेका हुँदैनन् । तर, नयाँ पुस्ताका पाठक ज्यादै सचेत र विज्ञ छन् ।
Leave A Comment