सुन्दरी बन्न युवतीको लस्कर

सोमबार, २४ जेठ २०७३, ०२ : ४४ शुक्रवार
सुन्दरी बन्न युवतीको लस्कर

युवतीहरूको सौन्दर्य प्रतियोगिता अर्थात् ब्युटी प्याजेन्ट धेरै हुने शहर हो धरान । कलेज, इन्स्टिच्युट, जातीयदेखि ठूला सौन्दर्य प्रतियोगितासम्म हुने धरानमा यसपटक पनि सुन्दरी बन्न चाहने युवतीहरूको लस्कर लागेको छ । युवतीहरूसँगै यस्ता प्रतियोगिता आयोजना गर्ने आयोजककै प्रतिस्पर्धासमेत देखिएको छ ।


मिस पूर्वाञ्चलको अडिसन जेठ ३ गते होटल रत्नइनमा भइरहँदा टेस्टी–टेस्टी मिस एसएलसीको अन्तिम तयारी हुँदै थियो । जेठ ४ गते सिद्धि नेवाःपरिषद्मा एसएलसी दिएर बसेका किशोरीलाई लक्ष्य गरी मिस एसएलसीको अडिसन भयो । त्यही बेला रत्नइनमा एसएलसी दिएर बसेकैलाई लक्षित गरेर अर्को अडिसन हुँदैथियो, युनिभर्सल आइकन । सौन्दर्य प्रतियोगिताका लागि भएका यी गतिविधिमा युवतीहरूभन्दा आयोजकको प्रतिस्पर्धा बढी देखियो ।


धरान जेसिजको आयोजना र भूतपूर्व अध्यक्ष क्लबको संयोजना भइरहेको टेस्टी–टेस्टी मिस एसएलसीमा ३१ जना किशोरी सहभागी छन् । फारम भर्ने ४० भन्दा बढीबाट छानिएका उनीहरूलाई आयोजकले व्यक्तित्व र नेतृत्व विकासको प्रशिक्षण दिइरहेको कार्यक्रमकी सञ्चार संयोजक सञ्जु राई (सुमित्रा)ले बताइन् । सहभागीहरूलाई क्याटवाक, ¥याम्पवाकसहित आधारभूत पत्रकारिता, लाइफ स्किल, उद्घोषणकला, प्रभावकारी भाषणकला, बेसिक मेकअप, विपद् व्यवस्थापन, सेल्फ डिफेन्स, टाइम म्यानेजमेन्ट, फोटोसेसन, प्राथमिक उपचार कार्य, मोटिभेसनलगायत १६ वटा व्यावहारिक तालिम दिइने र शैक्षिक, पर्यटकीय र औद्योगिक क्षेत्रको भ्रमण गराइने संयोजक राईले बताइन् । जेठ २८को फाइनलमा प्रथम हुनेले मिस एसएलसी–२०७३ को उपाधिसँगै, क्राउन, ट्रफी, प्रमाणपत्र, नगद, काठमाडौँमा आयोजना हुने मिस टिनमा सहभागी हुने अवसरसँगै कक्षा ११ र १२ सम्म धरान–४ स्थित धरान उच्च मा.विमा निःशुल्क छात्रवृत्ति पाउने धरान जेसिजका अध्यक्ष अतुलदीप श्रेष्ठले बताए ।
एसएलसी दिएकै विद्यार्थीबीच टप युनिभर्सल एकेडेमीले आयोजना गरेको युनिभर्सल आइकनमा गायन र नृत्यको एकल प्रतियोगिता हुँदै  छ । अडिसनमा सहभागी ८० मध्ये ३० जना छनोट गरेर आयोजकले व्यक्तित्व विकास, गायन, नृत्य, पर्यटनको प्रशिक्षण दिइरहेको आयोजकको दाबी छ । जेठ २२मा हुने फाइनलमा प्रथम हुनेले नगद १० हजारसहित छात्रवृत्ति पाउने बताइएको छ ।


यता मिस पूर्वाञ्चलको आयोजक सिल्भर इन्टरटेन्मेन्टले फेसबुक पेजमार्फत आह्वान गर्दा सयभन्दा बढी युवतीले फारम भरे । त्यसो त आयोजकले एउटा अडिसनपछि सहभागीको खोजीमा कलेज अभियान चलायो । धरान र काठमाडौँ अडिसनबाट छानिएकालाई कोरियोग्राफर प्रियारानी लामाले प्रशिक्षण दिइरहेकी छिन् । सहभागीहरूलाई व्यक्तित्व विकास, सामाजिक सेवा, पर्यटनजस्ता विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ । फाइनलमा प्रथम हुनेले मिस पूर्वाञ्चलको ताजसहित स्कुटी र विभिन्न पुरस्कार पाउने इभेन्ट म्यानेजर सौरभ श्रेष्ठले बताए । सिल्भर इन्टरटेन्मेन्टका निर्देशक दीपक बनेपाली एकैपटक धेरै प्रतियोगिता हुँदा प्रतिस्पर्धाजस्तो देखिए पनि लक्षित समूह फरक भएकाले खासै प्रतिस्पर्धा नहुने बताउँछन् । सुरुमा मिस पूर्वाञ्चलले जेठ २८मा फाइनल प्रतिस्पर्धा गर्ने चर्चा थियो तर त्यही मितिमा मिस एसएलसीको आयोजकले फाइनलका लागि धरान सभागृह बुक गरायो । त्यसपछि मिस पूर्वाञ्चल भने असार ११ गते हुने भएको छ ।

Leave A Comment