बच्चाप्रेमी अजय

शुक्रबार, १४ असोज २०७३, १० : ४७ शुक्रवार , Kathmandu
बच्चाप्रेमी अजय

चाँडै नै रिलिज हुने फिल्म ‘शिवाय’ का कारण अजय देवगन आजभोलि चर्चामा छन् । उनको वास्तविक नाम विशाल वीरु देवगन हो । घरपरिवारले भने उनलाई प्रेमले राजु भन्छ । हालै, उनले भारतको चौथो ठूलो सम्मान पद्मश्री पाए । २४ वर्षयता उनी बलिउडमा सक्रिय छन् ।
१६ वर्षको उमेरमा अजयको पहिलो फिल्म रिलिज भएको थियो । फिल्मको नाम थियो– ‘प्यारी बहना’ । सन् १९८५ मा आएको फिल्ममा उनी मिथुन चक्रवर्तीको युवा भूमिकामा देखिएका थिए ।
अजयका बुबा वीरु देवगन बलिउडका परिचित स्टन्ट कोरियोग्राफर हुन् । अजयको मुख्य भूमिका रहेको डेब्यू फिल्म ‘फूल और कांटे’ मा उनका बुबा नै स्टन्ट र एक्सन कोरियोग्राफर थिए । वीरु निर्माता, निर्देशक र लेखक पनि हुन् । सन् १९९९ मा आएको फिल्म ‘हिन्दुस्तान की कसम’ का निर्देशक वीरु थिए । अजयकी आमा वीणा चाहिँ निर्मात्री हुन् । अजयको एउटा भाइ पनि छन्, अनिल देवगन । उनले ‘राजु चाचा’ लगायत फिल्म निर्देशन गरेका छन् ।
अजय र काजोलको प्रेमकथा फिल्म ‘हलचल’ को सेटमा सुरु भएको थियो । भनिन्छ, पहिलो पटक भेट्दा अजय नबोलेको देख्दा काजोल छक्क परेकी थिइन् । एक अन्तर्वार्तामा उनले भनेकी थिइन्– ‘त्यतिखेर म अलमल्ल परँे । यो मान्छेसँग कसरी काम गर्ने होला ? भन्ने लाग्यो ।’ फिल्म ‘हलचल’मा मात्रै होइन ‘इश्क’, ‘प्यार तो होना ही था’, ‘दिल क्या करे’, राजु चाचा’ र ‘हम’ लगायत फिल्ममा यो जोडीले सँगै काम ग¥यो ।
सन् १९९५ मा रिलिज ब्लकबस्टर फिल्म ‘करन–अर्जुन’ मा पहिला करनको भूमिकाका लागि अजयलाई प्रस्ताव गरिएको थियो । तर, अजयले त्यो प्रस्ताव स्वीकार गरेनन् । पछि यो भूमिका सलमानले गरे ।
फिल्म ‘फूल और कांटे’ मा अजयको इन्ट्री दुई मोटरसाइकलमा स्टन्ट गर्दै भएको थियो । यो स्टन्टको धेरै चर्चा भयो । सन् २०१२ मा फिल्म ‘सन अफ सरदार’ मा अजयले स्टन्ट फेरि दोहो¥याए । यसपटक चाहिँ मोटरसाइकलका ठाउँमा घोडा थिए ।
अजय अभिनेता होइन, निर्देशक बन्न चाहन्थे । उनले निर्देशक शेखर कपुरसँग सह–निर्देशकका रूपमा काम गरे । यसै क्रममा उनको भेट कुकू कोहलीसँग भयो । त्यतिखेर फिल्म ‘फूल और कांटे’ बनाउने सोचमा रहेका कुकूले अजयलाई फिल्ममा प्रस्ताव गरे । फिल्म सुपरहिट भयो र एक्सन हिरोका रूपमा उनी परिचित भए ।
अजयले दुईपटक फिल्मफेयरको बेस्ट एक्टरको अवार्ड जितेका छन् । सन् १९९८ मा आएको फिल्म ‘जख्म’ र सन् २००२ मा रिलिज ‘दी लिजेन्ड अफ भगत सिंह’ का लागि उनले राष्ट्रिय अवार्ड जितेका छन् ।
अजय फिल्मी पार्टीमा कमै देखिन्छन् । आफूलाई पार्टीहरूमा रुचि नभएको उनले एक अन्तर्वार्तामा बताएका थिए । काम सकिनैबित्तिकै उनी घर पुगेर बच्चाहरूसँग खेल्न रुचाउँछन् । बच्चाप्रति विशेष लगाव राख्ने अजयले उनीहरूलाई नै ध्यानमा राखेर फिल्म ‘राजु चाचा’ र ‘ टुनपुर का सुपरहिरो’ बनाएका थिए । तर, दुइटै फिल्मले खासै चर्चा बटुलेनन् ।

 

Leave A Comment