ऊर्जाशील ‘ऊर्जा’

बुधबार, ०८ असार २०७३, ११ : ४३ गोपाल दाहाल , Kathmandu
ऊर्जाशील ‘ऊर्जा’


ब्यान्डको नाम हो, ‘ऊर्जा’ । विभिन्न ब्यान्डमा काम गरिसकेका अनुभवीहरूको नयाँ टिम हो यो ब्यान्ड । त्यसो त ऊर्जा नामको पुरानो ब्यान्ड पनि थियो तर अहिले निष्कृय बनेको छ । त्यही ब्यान्डका केही सदस्यसहित अन्य ब्यान्डका सदस्य मिलेर यसलाई नयाँ ब्यान्ड स्थापना गरे तर नाम के राख्ने भन्ने अन्योल भयो ।
कहिले ‘सुमिरन’, कहिले ‘कृतज्ञ’ त कहिले ‘ब्रदरहुड’जस्ता नाम राख्ने तयारी गरे ब्यान्ड सदस्यले । तर, सबैसँग सल्लाह गर्दा निष्कृय बनेको पुरानो ब्यान्ड ‘ऊर्जा’ नै राख्ने निर्णय भयो । ब्यान्डको लक्ष्य पनि मिल्ने भएकाले ‘ऊर्जा’ नाम राख्नु नै ठीक लाग्यो सबैलाई ।
ब्यान्डका भोकलिस्ट प्रशान्त शर्मा लामो समयदेखि संगीत क्षेत्रमा छन् । ‘भूमि ब्यान्ड’मा पाँच वर्ष गाएका प्रशान्त पछिल्लो समय धरानको ‘आउटसाइडर ब्यान्ड’मा सक्रिय थिए । आउटसाइडरका भोकलिस्ट प्रशान्त एक्कासी ब्यान्ड छाडेर ऊर्जामा सक्रिय भएका हुन् । पुरानो ऊर्जा ब्यान्डमा आबद्ध प्रशान्तकै दाजु रोशन शर्मा केही वर्षयता व्यावसायिक संगीतमा सक्रिय थिए । नेपालमा एकमात्र चतुरंगी बाजा बजाउने रोशनले धेरै नेपाली गीतमा आफ्नो कला देखाएका छन् । एक वर्षअघि काठमाडौँको संगीतकर्म छाडेर धरान फर्किएका उनी अहिले ऊर्जालाई पुनर्जीवन दिँदैछन् । भन्छन्, ‘आठ वर्ष काठमाडौँमा काम गर्दा नाम र दाम भयो तर आत्मसन्तुष्टि भएन । त्यसैले सबै छाडेर आत्मसन्तुष्टिका लागि यता लागेको हुँ ।’
रोशन र प्रशान्त ब्यान्ड स्थापनाका लागि सुरुदेखि नै सक्रिय भएर लागेका थिए । घरमा सानैदेखि सांगीतिक माहोल भएकाले पनि आफूहरूलाई संगीत क्षेत्रमा अघि बढ्न सहज भएको दुवैको भनाइ छ । ‘ह्वाइट ब्यान्ड’बाट आएका सुवास पौडेल नयाँ उर्जामा वेसिस्ट छन् भने पुरानो ऊर्जाकै दिलिप ओडारी नयाँ उर्जामा रिदममा छन् । झापा बिर्तामोडका उनी गितार मायस्ट्रो प्रतियोगितामा टपटेन पुगेका थिए । उनीहरूले उमेश पण्डितलाई बाँसुरी र रेकर्डिङमा छानेका छन् । यसरी ऊर्जाले नयाँ उर्जा पाएको छ ।
ऊर्जाले इन्स्टुमेन्ल र ट्याक दुवैलाई एकैसाथ अगाडि बढाउँदै छ । फ्युजन, रक एन्ड रोल, स्लो रक, ज्याज, पंक रक, लोक सबै किसिमको संगीतमा काम गर्ने योजना छ ऊर्जाको । भारतमा संगीतको ज्ञान लिएर फर्केका चतुरंगीवादक रोशन ब्यान्डमा चतुरंगी र गितार बजाउँछन् । नेपालकै एक मात्र चतुरंगीवादक भएकाले रोशन यो ब्यान्डका ‘प्लस प्वाइन्ट’ हुन् । भोकलिस्ट प्रशान्त भन्छन्, ‘अरू ब्यान्डमा चतुरंगी बजाउने कोही छैन । ज्ञान र अनुभवले खारिनु भएको उहाँ हाम्रो ब्यान्डको खम्बा हुनुहुन्छ ।’
ब्यान्डले ‘क पुरी क’ र ‘आँखाआँखा’ गीतको भिडियो पनि बनाएको छ । ब्यान्डलाई भर्सटाइल बनाउने कोसिस गरिरहेका उनीहरूले धुनमा पनि काम गर्ने तयारी गरिरहेका छन् । अरू, संगीतकर्मीसँग पनि सहयोग लिएर अघि बढ्ने योजना रहेको प्रशान्त बताउँछन् ।
विभिन्न ब्यान्डमा अनुभव बटुलिसकेका ब्यान्डका सदस्य ऊर्जालाई नामजस्तै दर्शक, स्रोतामाझ ऊर्जा दिने गीतसंगीत पस्किने तयारीमा छन् । उनीहरूले देशमा भइरहेका विकृति विसंगति, ढिलासुस्तीविरुद्ध गीत तयार पारिरहेका छन् । तिनै गीत गाएर नेपालीलाई जगाउने र देशको विकृतिलाई हटाउन संगीतमार्फत थोरै भए पनि योगदान पु¥याउने योजना छ उनीहरूको । भोकलिस्ट प्रशान्त भन्छन्, ‘संगीतलाई मनोरञ्जनसँगै जनचेतना जगाउने काममा प्रयोग गर्ने लक्ष्यले नै ऊर्जा ब्यान्ड स्थापना गरेका हौँ ।’

 

 

 

Leave A Comment