अभिषेक चौबेको निर्देशनमा बनेको ‘उडता पंजाब’ धेरै कारणले बहसमा आयो । प्रदर्शनभन्दा पहिले भएको पाइरेसी, अश्लीलता र नाममा जोडिएको ‘पंजाब’ शब्द बहसका मुख्य कारण हुन् जसले चलचित्रलाई १३ पटकसम्म सेन्सर गर्नुपर्ने ठाउँमा पु¥यायो । सेन्सर बोर्डले पास नगर्दा नगर्दै पनि अदालतले पास गरिदिएपछि अन्ततः चलचित्र प्रदर्शन भयो ।
दिल्लीका मुख्यमन्त्री केजरीवालदेखि पंजाबका मुख्यमन्त्री बादल र भारतीय जनता दलसमेत बहस वा विवादमा मिसिए । सतहमा हेर्दा विवादको मुख्य विषय चलचित्रले पंजाबको बेइज्जत गरेको भन्नेमा देखिन्छ तर यसका जराहरू भारतीय राजनीतिको गहिराइसम्म पुगेको कुरा कसैबाट छिपेको छैन । आसन्न विधानसभाको चुनावलाई चलचित्रले प्रभाव पार्छ भन्ने डर पंजाब सरकारलाई छ । भाजपाका नेताहरूको आरोप छ, ‘चलचित्रमा केजरीवालको लगानी छ र उनी यस चलचित्रमार्फत गलत प्रकारको राजनीति गर्न थालेका छन् ।’ निर्माताहरूले यसको खण्डन गरेका छन् ।
अरविन्द केजरीवालले चलचित्र हेरेपछि तत्कालै यसको प्रशंसा गर्दै ट्वीटरमा लेखे, ‘पंजाबका बादलहरूले ‘उडता पंजाब’अवश्य हेरून् र थाहा पाऊन् कि राज्यलाई उनीहरूले कस्तो हालतको बनाइदिएका छन् ।’ पंजाबमा आम आदमी पार्टीले लागुऔषध दुव्र्यसनीलाई सन् २०१७ को विधानसभा चुनावका लागि महŒवपूर्ण मुद्दा बनाएको छ ।
चलचित्रमा चार चरित्रहरू मुख्य भूमिकामा छन् । यिनीहरूले तीनटा फरकफरक कथा भन्छन् । कथाहरू प्रायः असंलग्न छन् । एउटा कथाको पात्रले अर्को कथाको पात्रलाई चिन्दैन । ड्रग्सले यिनीहरूलाई जोड्छ र यसैले गर्दा उनीहरू सबैको जीवन कहालीलाग्दो देखिन्छ । मानौँ पंजाब लागुपदार्थको नशामा नराम्रोसँग सल्किसकेको छ । चलचित्रले पंजाबको बेइज्जत ग¥यो भनेर तर्क गर्नुको मूल कारण यही हो ।
प्रहरी अधिकारी सरताज सिंह (दिलजीत) ले पंजाबको भयावह अवस्था त्यतिबेला मात्रै बोध गर्छ जब आफ्नै किशोरावस्थाको भाइ बल्ली दुव्र्यसनमा पर्छ । भाइको उपचारका लागि अस्पताल पुगेपछि डाक्टर प्रीत साहनी (करिना) सँग उसको भेट हुन्छ । प्रहरीको बर्दी लगाएर दुव्र्यसनी भाइको उपचारका लागि अस्पताल आएको दिलजीतसँग ऊ रिसाउँछे । तर, भाइको बर्बादीबाट आत्तिएको दिलजीत र ऊ लागुऔषध कारोबारको भण्डाफोर गर्ने अभियानमा सहमत हुन्छन् । पछि नशाको अभावमा करिब बहुलाएको बिल्लीले करिनालाई छुरी हानेर त्रासद अवस्थामा पु¥याउँछ । दिलजीतले अन्ततः हिंसाको बाटो समात्छ ।
निर्माण समूहका अनुसार टनी सिंह (शाहिद कपुर) को कथा वास्तविकताबाट टिपिएको हो । पंजाबको एक लोकप्रिय गायकले दुव्र्यसनकै कारण आफ्नो गायकी र मनोबल गुमाउनु परेको थियो । त्यही चरित्रलाई पुनर्निर्माण गरेर बनाइएको टनी सिंहको ‘रक म्युजिक’मा सिंगो पंजाब झुम्छ । उसलाई रुचाउने पंजाबी युवाहरू पाश्चात्य संगीतसँगै लागुपदार्थको नशामा झुमिरहेका छन् । व्यापारीले उसलाई स्टार बन्न सघाएका छन् र उसले व्यापारीहरूलाई धन कमाउनका लागि सघाएको छ । पछि उसले पश्चात्ताप गर्छ र उक्त समूहसँग विद्रोह गर्छ ।
मेरी जेन (आलिया भट्ट)को कथा पनि कम्ती रोचक छैन । बिहारमा जन्मिएकी यस किशोरीको सपना हकी खेलाडी बन्ने थियो तर गरिबीका कारण कामको खोजीमा पंजाब पुग्छे । खेतमा मजदुरी गर्ने क्रममा करोडौँ मूल्य पर्ने लागुऔषध हेरोइनको एउटा पोको फेला पारेपछि त्यसलाई बेच्न खोज्छे । यो थाहा भएपछि अन्जानमै ऊ ड्रग माफियाको फन्दामा पर्छे र उसमाथि अत्याचारका शृंखला सुरु हुन्छन् । गिरोहको चंगुलबाट उम्किनका लागि गरेको उसको संघर्ष अविस्मरणीय छ । तर, चलचित्रभरि उसले आफ्नो नाम भन्दिन । गोवाको समुदी तटमा पुगेर उसले नाम त भन्छे तर उक्त नाम न बिहारी संस्कृतिसँग मिल्छ, न पंजाबीसँग नै मिल्छ । एक समीक्षकले लेखेका छन्, ‘मान्छेको नामसँग सरोकार नराख, उसको अवस्थालाई हेर, जसमा ऊ फँसेकी छ । ऊ बिहार वा पंजाबकी मात्रै होइन, संसारको जुनसुकै ठाउँकी युवती हुन सक्छे, उसको नाम जेसुकै हुन सक्छ जसले आफ्नो सपना पूरा गर्न नसकेर कुण्ठित हुनु परेको छ र ड्रग्स माफियाहरूको चंगुलमा परी जीवन बर्बाद गर्नु परेको छ ।’
प्रहरी अधिकृतदेखि ठूलठूला सेलिब्रिटी हुँदै सामान्य गाउँले युवायुवतीलाई पनि नछोड्ने यो चंगुल वास्तवमा के हो ? दुव्र्यसनमा रम्नु व्यक्तिको समस्या हो कि समाज वा राज्य व्यवस्था पनि यसमा दोषी छ ?
केजरीवाल र भाजपाको लडाइँ हेर्दा यो निजी मामिला मात्रै होइन भन्ने नै देखिन्छ । निजी मामिला मात्रै हुन्थ्यो भने न त चलचित्रकै कारण भारतीय जनता पार्टी डराउनुपर्ने अवस्था आउँथ्यो न त केजरीवालले यसको प्रचार र प्रशंसा नै गर्थे । पंजाबका मुख्यमन्त्रीलाई चलचित्र हेर्नका लागि सुझाव दिने त झन् प्रश्नै आउँदैनथ्यो । यिनीहरूले आपसमा लगाएको लाञ्छना सुन्दा यस्तो लाग्छ, यति खतरनाक दुव्र्यसनको व्यापारलाई मलजल गर्ने काम राज्यको नीतिले गर्छ र राज्य यसका लागि जिम्मेवार हुन्छ ।
तर, राज्यले लागुपदार्थ दुव्र्यसनलाई न्यूनीकरण गर्ने नीति किन बनाउँदैन ? वा त्यसको कार्यान्वयन किन गर्दैन ? यसले हजारौँ परिवारलाई नरकमा हाल्छ भन्ने राज्यलाई थाहा हुँदैन ? अवश्यै हुन्छ । तर, राज्य यसलाई रोक्न नसक्ने ठाउँमा पुगिसकेको हुन सक्छ । यस्तो अवैध व्यापार गर्नेहरूसँग सम्पत्ति प्रशस्त हुन्छ । राजनीतिक पार्टीहरूलाई कार्यकर्ता पाल्न र चुनाव जित्नका लागि जुन खर्च चाहिन्छ, त्यो यस्तै कालो धन जम्मा गर्नेबाट प्राप्त हुने हो । सरकार बनाउने, नीति बनाउने र लागू गर्ने राजनीतिक पार्टी नै कालो धनबाट चलेका ठाउँमा उसले आफ्ना अन्नदाताको कुभलो कसरी गरोस् ?
रविन्दर सिंहले लेखेका छन्, ‘पंजाबमा ड्रग्सका कारण बर्सेनि हुँदै आएका सयौँ मृत्यु, एड्स र हेपाटाइटिस सीका घटना वा हालैका वर्षमा जफत गरिएका हजारौँ किलोग्राम लागुपदार्थले पंजाब सरकारलाई चिन्तित बनाउन सकेन तर यही विषयमा बनेको ‘उडता पंजाब’ चलचित्रले अचानक सरकारको निद्रा उडाइदियो ।’ निद्रा नउडोस् पनि किन? मानिसहरूले यस्ता विषयमा सोच्न थाले भने कुरा निकै गम्भीर बन्न सक्छ र चलचित्रले दर्शकलाई सोच्न प्रेरित गरेको छ ।
Leave A Comment