लस एन्जलसमा ‘नेपथ्य’

बुधबार, १५ असार २०७३, १२ : २१ शुक्रवार , Kathmandu
लस एन्जलसमा ‘नेपथ्य’

पछिल्लो समयमा नेपाली ब्यान्ड ‘नेपथ्य’ स्वदेशी र विदेशी स्टेजमा वारम्बार छाइरहेको छ । यही क्रममा ब्यान्डले शनिबार अमेरिकाको लसएन्जलसमा समेत कन्सर्ट दिएको छ । बर्नम हलमा भएको कन्सर्टमा प्राविधिक वाधा उत्पन्न भए पनि ब्यान्डले आफ्नो प्रस्तुतिमा आँच आउन दिएन ।
कार्यक्रममा ‘नेपथ्य’ले गाउँदागाउँदै अचानक अडियो सिस्टम बन्द भयो । सम्पूर्ण इन्स्ट्र्युमेन्ट बन्द भए पनि गीतका स्वर रोकिएन । प्राविधिक गडबडी नसकुन्जेल ‘नेपथ्य’का गायक अमृत गुरुङ, उनका ब्यान्ड सदस्यहरु र दर्शकले नै गीतलाई निरन्तर गाइरहे ।
त्यो समय नेपथ्यले ‘गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ’ गाइरहेको थियो । त्यसमा श्रोताले पनि साथ दिइरहेका थिए । सम्पूर्ण सिस्टम बन्द भए पनि मुख्य गायक अमृत गुरुङको माइकबाट निस्केको आवाजकै भरमा गायक र दर्शक मिलेर कार्यक्रमलाई तीन मिनेटसम्म निरन्तरता दिएका थिए ।
कार्यक्रमपछि फेसबुकमार्फत् गायक अमृतले लस एन्जलसका श्रोता दर्शकप्रति आभार प्रकट गरे । ‘हाम्रा शुभचिन्तक श्रोताप्रति ऋणी छौं । प्राविधिक गडबडीका बाबजूद आज लस एन्जलसमा तपाइहरुले देखाउनुभएको सद्भावप्रति हामी कृतज्ञ छौं । मुरी मुरी धन्यवाद ।’
स्थानीय समय अनुसार साँझ आठ बजेर ४० मिनेटमा सुरु भएको कन्सर्टको सुरुवात नेपथ्यले  ‘भेँडाको उनजस्तो’ गीतबाट गरेका थिए । त्यसपछि ब्यान्डले आफ्ना सदाबहादर हिट गीतहरु गाउँदै कन्सर्टलाई दुई घन्टासम्म जागरुक बनायो ।
नेपथ्यले लसएन्जलस कन्सर्ट सिध्याएलगत्तै अमेरिकाकै अर्को कन्सर्टको तयारी थालेको छ । कार्यक्रमका निम्ति ब्यान्डले अमेरिकाको पश्चिमी तटबाट पूर्वी तटतर्फको यात्रा गर्ने भएको छ । आगामी जुलाई २ मा एटलान्टाको सेन्टर स्टेजमा कन्सर्टको निम्ति ब्यान्ड जर्जियातर्फ लाग्ने छ । त्यसै सहरमा आयोजना हुन लागेको एएनए –एसोसिएसन अफ नेप्लिज इन द अमेरिकाज्) सम्मेलनकै क्रममा नेपथ्यले त्यहाँ गीत सुनाउन लागेको हो ।

 

Leave A Comment