टिकट

शनिबार, २३ बैशाख २०७४, ११ : ५१ ईश्वर दाहाल , Kathmandu
टिकट

हजुरआमा हाम्रा लागि हजुराँ थिन् । कुप्री परेकी हजुराँ लट्ठी टेकेर बडो मुश्किलले बाहिर–भित्र गर्थिन् । कसैले ‘सञ्चै हुनुहन्छ आमै ?’ भनेर सोध्यो भने हजुराँ भन्थिन्, ‘के सञ्चो ? के बिसञ्चो ? टिकस आउन लागेको मान्छेलाई, आराम हुँदो रैनछ बाबु । जीउमा फूलले छोए पनि सास्ती हुँदो रछ ।’ हजुराँ हरेक दिन टिकसको कुरा गर्थिन् । जीउ उल्कै गल्यो भने टिकसलाई झन् सम्झिन्थिन् र झर्काे मान्दै भन्थिन्, ‘कस्ता कस्ता दिन उमेरकालाई टिकस आउँछ । मिति पुगिसकेकोलाई भने किन टिकस नआ होला । ए भगवान् मलाई टिकस पठाउन बिस्र्याै कि क्या हो ?’ एक दिन भगवान्ले हजुराँको गुनासो सुनेछन् क्यार । हजुराँलाई टिकस आयो । हाम्री हजुराँ र गाउँलेकी जेठी बजैले चोला बिसाइन् । बाल्यकालमा अन्य टिकट मैले सुनिनँ ।
स्कुल सकेर शहर छिरेपछि मेरा पाइला–पाइलामा टिकट ठेस लाग्न आइपुग्यो । गाउँमा खासै मतलबको विषय नरहेको टिकट शहरमा दैनिकचर्या बन्न पुग्यो । मःमः पसलमा मःमः खाने लाइनमा टिकट । ग्यास पसलमा ग्यासको पालो कुर्न पनि टिकट । पेट्रोल पम्पमा तेल हाल्न पनि टिकट । अस्पतालमा टिकट । फिल्म हलमा टिकट । मानौँ, शहरको प्राण टिकटमा अडिएको छ ।
जहाँ टिकट छ, त्यहाँ तीव्र तँछाडमछाड छ । जहाँ टिकट छ, त्यहाँ आकर्षण छ । टिकटको लाइनमा उभिएका नेपालीहरूको उत्साह, ऊर्जा र हतारो हेर्दा यस्तो लाग्छ, नेपाली जाति हदैसम्मको सक्रिय जाति हो ।
हिजोआज स्थानीय तह निर्वाचनले टिकट सन्दर्भलाई गाउँ, टोल, समाज र राष्ट्रको केन्द्रमा पु¥याएको छ । टिकट बाँड्ने र लिनेहरूको रस्साकस्सी चर्चाको केन्द्रमा छ । टिकट संघर्षसँगै पुराना खाता र हिसाबकिताबहरू पल्टिएका छन् । कतै वर्षाैंवर्ष पार्टीको झोला बोकेको टीठलाग्दो दर्दको कथा सुनिन्छ । कतै भूमिगत कालको संघर्ष र कष्ट सुनिन्छ । कतै लोकप्रियताको गीत बजेको छ । कतै कार्यकर्तामा पकड रहेको संगीत घन्किरहेको छ । यिनै फेहरिस्त र जोडघटाउको बीचमा कसको आँखामा सपना छ ? कसको दिमागमा योजना छ ? भन्ने कतै सुनिँदैन । मानौँ, नेपाली राजनीतिले सपना र योजनालाई तिलाञ्जली दिइसकेको छ ।
स्थानीय तहको टिकट चटारोसँग मेरो कुनै लेनादेना थिएन । तर, संयोगवश टिकट चटारोसँग जोडिएँ । एक बिहान गाउँबाट पूर्व हेडमास्टरले फोन गरेर भने ‘ए केटा म भोलि काठमाडौँ आउँदैछु । एकदुई दिन तेरा कोठाँ बस्नुपर्ला । के छ स्थिति ?’ मैले सहर्ष स्विकारेँ । गुरु हामीले जानेदेखि नै मास्टर कम, नेता बढी थिए । त्यसमाथि मास्टरहरूको जिल्ला नेता भएपछि उनी स्कुलमा भन्दा बढी जिल्लातिरै व्यस्त हुन्थे । जसको परिणाम हाम्रो स्कुलले हरेक एसएलसीमा सयकडा दश प्रतिशतमात्र उत्तीर्ण रिजल्ट निकाल्थ्यो । स्कुलको रिजल्ट ओरालो लागे पनि गुरुको राजनीति चाहिँ उकालो लागिरह्यो । मास्टरी जागिरमा पेन्सन पकाएपछि गुरु सम्पूर्ण रूपमा राजनीतिमा होमिए ।
गुरु आइपुगे । छटपटी र तनावमा देखिन्थे । गुरुलाई गाउँपालिका वडाध्यक्षको टिकट चाहिएको थियो । गाउँ र जिल्लामा गुरुले हुनेसम्म गरेछन् । तर, टिकटको पासा आफ्नोतर्फ नपल्टने पक्का भएपछि केन्द्रमा हारगुहार गर्न काठमाडौँ आएका रहेछन् । गुरु तीन दिनजति काठमाडौँ बसे । चिनजान भएका नेताको दैलो चहारे । आफ्ना गुटका नेताहरूसँग बिलौना गरे । गुरु कहिले चहकिलो त कहिले मलिन अनुहार लिएर कोठामा आइपुग्थे । घर फर्किने अघिल्लो राति कोठमा आउँदा भने गुरुको मुहारमा चमक थियो । प्रफुल्ल गुरुले भने, ‘हेर् केटा, अब चाहिँ टिकट पक्का भो । अब इन्द्रेको बाउ चन्द्रेले पनि रोक्न सक्दैन । चुनाव जसरी पनि जित्नुपर्छ । मैले चुनाव जित्ने भनेको तिमर्कै साथ र सहयोगले हो । यताको चाँडै बिदा मिलाएर छिट्टै गाँउतिर झर्नुपरो ।’ मैले गुरु आज्ञालाई स्वीकार गर्दै हुन्छ भनेँ ।
टिकट पाएका गुरुदेव बिहानी बसको टिकट काटेर गाउँ झरे । गुरु गाउँ पुगेको ३६ घण्टा बितेको थियो कि थिएन, श्यामप्रसाद काका टुप्लुक्क मेरो कोठामा आइपुगे । श्याम काका र हेड सर दाँवली हुन् । अझ एउटै राजनीतिक विचार र संगठनमा संगठित भएका । उनीहरूको दोस्ती बडो गज्जबको थियो ।
श्याम काका पनि टिकटकै लागि राजधानी आएका रहेछन् । आफ्नो व्यथा सुनाए, ‘रत्नजीले (हेडसर) ले निकै अप्ठ्यारो पारे । उनी त मास्टर भएर जागिर खाए । मैले त यही राजनीतिमै जिन्दगी बिताएँ । जाबो वडाको टिकट मलाई छाड्देऊ न त भन्दा मरे मानेनन् । काठमाडौँ नै आएर हारगुहार गरेछन् । मरता क्या न करता भएर म पनि यसो नेतालाई भेटौँ भनेर आको ।’
काकाको व्यथा सुनेपछि हेडसरसँग भेट भएको कुरा उहाँलाई सुनाउन मनासिब लागेन । काकाको कुरालाई होमा हो मिलाएर सुनिरहेँ । काका पनि दुई दिन नेतासँगको भेटघाटमा व्यस्त बने । काकाका नेता पनि तिनै थिए, जोसँग हेडसरले भेटघाट गरेका थिए । घर फर्किने अघिल्लो रात काका पनि उसैगरी उज्यालिएर आए, जसरी हेडसर आएका थिए । काकाको बुझाइमा टिकट उनको पोल्टामा पक्का आइसकेको थियो । काकाले भने, ‘चुनाव त लगभग लड्ने पक्का भो । लडेर मात्र भएन । जित्नुपरो । जिताउने तिमर्ले नै हो । गाउँ झर्ने चाँजो मिला ।’ मैले काकाको भनाइमा पूर्ण स्वीकृति जनाएँ । सायद यसै गरी हेडसर र काकाका नेताहरूले टिकटको विषयमा स्वीकृति जनाएका होलान् ।

 

 

Leave A Comment