नाम जुधेर हैरान

सोमबार, २६ भदौ २०७४, ०९ : २० शुक्रवार
नाम जुधेर हैरान

नाम जुध्दा हुने हैरानी कस्तो हुन्छ भन्ने थाहा पाउनु छ भने वर्षा राउतलाई सोधे हुन्छ । ‘नाइँ नभन्नू ल ४’ की डेब्यु अभिनेत्री वर्षा राउत आफ्नो नाम अर्की वर्षा राउतसँग बारम्बार जुध्दा हैरान हुने गरेकी छन् । वर्षाले भरखरै पनि नामले दिएको पीडा फेसबुकमै ओकलिन् ।
नेपाली फिल्म उद्योगमा अहिले दुई जना वर्षा राउत छन् । एउटी ‘नाइँ नभन्नू ल ४’ खेलेकी वर्षा र अर्की ‘काफल पाक्यो’ खेलेकी वर्षा । अझ थरतिर नजाँदा वर्षा सिवाकोटीको नामले पनि बेलाबखत झुक्याउने गरेको छ ।
हालै भने ‘काफल पाक्यो’ अभिनेत्री वर्षाको समाचारमा अर्की वर्षाको नाम जोडिएपछि वर्षाले फेसबुकमा गुनासो गरिन् । ‘काफल पाक्यो’ खेल्ने वर्षाका पिता बर्दिबासमा एमालेबाट मेयरका उम्मेदवार छन् तर धेरै अनलाइनले दुइटी वर्षालाई नचिनेर राजनीतिसँग साइनो नै नभएकी वर्षालाई राजनीतिमा जोडेर समाचार प्रकाशित गरिदिने गरेका छन् । जसमा फोटो त उनको छ तर पिताको फोटो भने अर्की वर्षाको । अत्ति भएपछि वर्षाले लेखेकी छिन्, ‘हुँदाहुँदा पत्रकारले मेरो बुबा नै परिवर्तन गरिदिए, यस्तो पनि गर्ने ?’
विचरी वर्षा ! दुःख गरेर नाम त कमाइन् तर अहिले त्यही नाम पनि अर्कोसँग जुधेर निल्नु न ओकल्नु भएको  छ ।

 

Leave A Comment