लाक्पाका प्रिय १० सुर

शनिबार, ०१ साउन २०७३, ०२ : ११ शुक्रवार , Kathmandu
लाक्पाका प्रिय १० सुर

गायक लाक्पा शेर्पा एक समयका निकै चर्चित गायक हुन् । शेर्पाले आफूलाई मन पर्ने आफ्ना पाँच र अरूका पाँच गीत शुक्रवारलाई बताएका छन् ।

आफ्ना पाँच

झस्केर दुख्छ यो मुटु मेरो
यो गीतको कम्पोजिसन, आरोह–अवरोह खूब मन पर्छ । मञ्जु शर्माको शब्द र मदन दीपबिमको संगीत रहेको यो गीत मैले छ महिना अभ्यास गरेर २०४६ सालतिर रेकर्ड गराएको थिएँ । मलाई परिचित गराउने गीत पनि हो यो ।

ए नि लै लै बुढापाकाहरू
पूर्वेली लोकभाकाको यो गीतको शब्द पनि स्तरीय लाग्छ । यथार्थ कुरा छ गीतमा । रमण घिमिरेको शब्द र मदन दीपबिमको संगीत रहेको यो गीत धेरैले मन पराए । अहिले पनि कतिले झस्केर दुख्छ भन्दा यो गीत राम्रो पनि भन्छन् । आफैँ पनि सुन्छु बेलाबेलामा ।

मोती दिएर आँशु बटुलेँ
दार्जिलिङमा साहित्यकार प्रकाश कोविदसँग भेट भइरहन्थ्यो । उहाँको यो शब्दले मन छोयो । मायालाई राम्रोसँग वर्णन गरिएको छ गीतमा । आफ्नै मन छुन्छ यो गीतले । मदन दीपविमले राम्रो संगीत दिनुभएको छ यसमा । प्रकाश कोविदको निधनपछि उहाँको चिहानमा यही गीतका शब्द लेखिएका छन् ‘मोती दिएर आँसु बटुलो हार भएन जीत, हाँगाबाट खसेको फूलले भुल्न सकेन प्रीत ।’

नमरी बाँचे दैवले साँचे
रमण घिमिरेको शब्द र मदन दीपविमकै संगीत रहेको यो गीतले जीवनचक्रको वर्णन गरेको छ । आशा जगाउने खालको गीतका शब्द पनि दमदार छन् । यो गीतको शब्द संगीत जति राम्रो छ मैले चाहिँ त्यति राम्रो गर्न सकेँ जस्तो लागेको छैन । म कतै चुकेँ कि जस्तो लाग्छ । तर, गीत सबैले मन पराए आफैँलाई पनि जीवन दर्शन सिकाउँछ यो गीतले ।

थाहा छैन मलाई
वीरेन्द्र पाठकको शब्द र शिलाबहादुर मोक्तानको संगीत रहेको यो गीतले जिन्दगीमा माया प्रेमको महŒव दर्शाएको छ । उमेरमा माया प्रेमका कुरा स्वाभाविक हुन्छ । त्यही कुरा गीतले भनेको छ । आफ्नो पनि बँैस थियो, गीतले भने जस्तै अवस्था थियो । अहिले पनि यो गीतले त्यही बँैस सम्झाइदिन्छ ।

अरूका पाँच

जीवनदेखि धेरै नै धेरै नै थाकेर
नारायण गोपालले गाउनुभएको यो गीत मीठो मात्र होइन, सांगीतिक हिसाबले उत्कृष्ट गीत हो । त्यो ट्र्याक नभएको बेला कसरी गाउनुभयो जस्तो लाग्छ । अहिलेका नयाँ गायकलाई त म यही गीत उदाहरण दिँदै यो राम्रोसँग गाउन सके गायक बन्न सक्छौ भन्छु ।

गाजलु ती ठूलाठूला आँखा
गुलाम अलीले गाउनुभएको यो गीतको मिठासै बेग्लै छ । उहाँले गाउँदा नेपाली शब्दहरू कताकता नमिले जस्ता लागे पनि उहाँको गायकीले सबैलाई छोपेको छ । आलाप राम्रो गर्नु भएको छ । यो मलाई मन पर्ने गीत हो । बेलाबेलामा सुन्छु ।

नमान लाज
फिल्म ‘माइतीघर’मा प्रेमध्वज प्रधानले गाउनुभएको यो गीत पनि मलाई मन पर्ने गीत हो । जति सुन्यो उति रोमान्टिक लाग्छ । सदाबहार गीत भन्छु म यसलाई । यो गीत जति सुन्यो उति आनन्द लाग्छ ।

टाढाटाढा जानु छ साथी
बच्चु कैलाशले गाउनुभएको यो गीत अहिले निकै व्यावहारिक लाग्छ । गीत सुन्छु, आफूसँगै पढेका साथीहरूलाई सम्झिन्छु । पुराना दिनहरूको याद आउँछन् । कोही साथी कहाँ पुगे कोही कहाँ । त्यही झझल्को दिलाउँछ यो गीतले । निकै राम्रो गीत लाग्छ यो ।

चौतारीमा बसेर रुन पाऊँ
अरुणा लामाले गाउनुभएका अधिकांश गीत मन पर्छन् । त्यसमध्ये पनि यो गीत निकै मार्मिक लाग्छ । मैले संघर्ष गर्दाताका उहाँले धेरै सहयोग गर्नुभयो । उहाँले कार्यक्रममा ‘ए कान्छा’ गीत गाउन पनि दिनुभयो । यो गीत जति सुने पनि धीत मर्दैन ।
 
 

 

Leave A Comment