सुन तस्करीका ६ रहस्य

आइतबार, ३० बैशाख २०७५, ०५ : १२ केपी ढुंगाना
सुन तस्करीका ६ रहस्य

दुबई हुँदै हवाईमार्गबाट नेपाल आएर त्रिभुवन विमानस्थलमा कार्यरत विमान कम्पनीका सहयोगीमार्फत् बाहिरिएको साढे ३३ किलो सुन र त्यसको जालो दुई महिनायता नेपालमा चर्चाको शिखरमा छ । नेपालमा सुन तस्करी नौलो घटना हुन छाडेको धेरै भइसकेको छ । प्रहरी अधिकारी र भन्सारका कर्मचारी जोडिनु पनि नौलो घटना थिएन । विमानस्थलमा आवतजावत गर्ने हवाई कम्पनीका कामदार, तस्कर र सुरक्षा निकायका अधिकारीको त्रिपक्षीय जालो भने यस पटक उदेकलाग्ने गरी उदांगियो ।

सुन तस्करीसँग जोडिएर भएको सनम शाक्यको हत्याको अनुसन्धानको नेतृत्व गर्ने र फिल्डमा खटिने अधिकारीलाई समेत अभियुक्त बनाउँदै मुद्दा दायर हुँदा आश्चर्य र आशंकाको तह ह्वात्तै बढ्यो । सुन तस्करीका पटके अभियुक्त, कहलिएका सुन व्यापारीदेखि राजनीतिज्ञसमेत गरी ६३ जनाको नाम सहितको अभियोग पत्र दर्ता भएपछि अहिले मोरङ जिल्ला अदालतमा बयान सकिएर थुनछेकको क्रम जारी छ ।

सनम शाक्य हत्या र सुन तस्करीको अनुसन्धानका लागि मन्त्रिपरिषद्ले नै निर्णय गरेर गठन गरेको विशेष छानबिन समितिले अनुसन्धान अदालतमा पुग्नुअगाडि अनुसन्धानको सारसंक्षेप सार्वजनिक गर्ने प्रतिबद्धता गरिएको थियो तर त्यो पूरा हुन सकेन । अभियोग पत्र दर्ता भयो तर समितिको अनुसन्धान अझै जारी छ ।

अनुसन्धान कति बलियो छ, त्यसको लेखाजोखा गर्ने एक मात्र आधार अदालतमा दर्ता भएको अभियोग पत्रको विवरण र दाबी मात्र हुन् । यसलाई नियाल्दा साढे ३३ किलो सुन तस्करी र हत्या अुनसन्धानमा धेरै रहस्य देखिएका छन् ।

१. तस्करीको सुन कसको ?
कहिलेदेखि सुन तस्करी हुन थालेको हो ? कति परिणामसम्म तस्करी भयो । तस्करीमा कसको संलग्नता कति हो भन्ने सबै खोतलखातल भए पनि तस्करी भएर नेपाल भित्रिएको सुन कसको थियो ? यी प्रश्नमा अभियोग पत्र मौन छ । राप्रपाका नेता समेत रहेका भुजुङ गुरुङले बयानमा मोहनकुमार अग्रवालको लगानीमा बैंककबाट थाई एयरलाइन्स हुँदै सुन त्रिभुवन विमानस्थल काठमाडौंसम्म ल्याएको उल्लेख छ ।

सुन कसको थियो भन्ने नाम खुलाउने उनी एक मात्र प्रतिवादी हुन् । अभियोग पत्रको १६ औं नम्बरमा अग्रवाललाई समेत प्रतिवादी बनाइएको छ । तर सुनको मालिकबारे कहीँकतै उल्लेख गरिएको छैन ।

संगठित रुपमा चलिरहेको सुन तस्करीको जालो राजनीतिक तहसम्म पनि नजोडिएको हैन । सुनको मालिकबारे मौन रहेको अभियोग पत्रले अनुसन्धान तस्करीको मूल स्रोतको साटो टापटिपमा लागेको त हैन ? सस्पेन्स कायम छ ।

२. कसले लुट्यो सुन ?
दुई महिना लगाएर गरिएको अनुसन्धानमा सुन लुटिएको हो या हैन समेत खुलाउन सकेको छैन । पक्राउ परेका अभियुक्तहरुले समेत सुन लुटिएको थियो या थिएन खुलाएका छैनन् । सबैको बयानमा विमानस्थलबाट सुन बाहिर निकालेर अनामनगरमा रहेको सुन गोदाममा सानु बनले लैजानेक्रममा सुन लुटिएको भनेको सुनेको मात्र उल्लेख छ ।

यसमा मृतक शाक्यकी प्रेमिका भनिएकी निशा सेन ठकुरीको बयानमा सुन लुट्ने योजनाबारे उल्लेख छ । उनले बयानमा रमेश श्रेष्ठ, रोशन श्रेष्ठ र आकाश लामाले सुन लुट्ने योजना बनाएको खुलाएकी छन् तर रमेश, रोशन र आकाशको भूमिकातिर अनुसन्धान प्रवेश नै गरेको छैन । सुन लुटिएको हो या हैन समेत खुलाउन अनुसन्धान असक्षम छ । 

३. मामा भनिएका प्रहरी को हुन् ?
सुन तस्करीमा गोरे भन्ने चूडामणि उप्रेतीलाई सघाएको भन्दै पूर्व डिआइजी गोविन्द निरौला, बहालवाला एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल, डिएसपी सञ्जयबहादुर राउत, हवल्दार अम्बरबहादुर थापा र प्रहरी जवान विष्णुबहादुर खड्का हिरासतमा छन् । यी सबै तस्करीका अभियुक्तसमेत हुन् । उनीहरु सुन तस्करीमा संलग्न रहेको निष्कर्ष प्रहरी जवान खड्काको बयान र गोरेको डेरामा फेला परेको रजिस्टरलाई बनाइएको छ ।

अभियोग पत्रमा उल्लेख भएअनुसार रजिस्टरमा कसैको नाम उल्लेख छैन । रकम दिएको व्यक्तिको नाम डिआइजी मामा, एसएसपी मामा, एसपी मामा, डिएसपी मामा र एसएसपी मायाको ड्राइभर उल्लेख छ । रजिस्टरमा रहेको कोड नेम कसको हो भन्ने एसएसपी खत्रीको चालकसमेत रहेका खड्काले बयानमा डिआइजी मामा भन्ने व्यक्ति निरौला, एसएसपी मामा भनेको खत्री, एसपी मामा भनेको खनाल सर र डिएसपी मामा भनेको राउत रहेको खुलाएका छन् ।

अनुसन्धान समितीसँगकाे बयानमा काेड नेम खुलाएका खड्काले अदालतकाे बयानमा यी कसैलाइ नचिन्ने र प्रहरीले थर्काएर बयान दिन लगाएकाे भन्दै बयान फेरी सकेका छन् ।

जुन समयमा साढे ३३ किलो सुन तस्करी भएर विमानस्थलबाट बाहिरियो यी कुनै पनि प्रहरी अधिकारी विमानस्थलको सुरक्षा जिम्मेवारीमा थिएनन् । उनीहरु कार्यरत रहेको समयमा विमानस्थलबाट भएको सुन तस्करीबारे अभियोग पत्रमा केही उल्लेख छैन ।

अभियोग पत्रमा पक्राउ परेका पूर्व र बहालवाला चार प्रहरी पहिला पनि गोरेसँग मिलेर तस्करी गरेको अभियोगमा पक्राउ परेका हुन् या हराएको भनिएको साढे ३३ किलो सुनमा पक्राउ भएका हुन्, त्यो खुल्दैन । अनुसन्धानमा सरकारी साक्षी बनाइएको प्रहरी जवान खड्काको बयानबाहेक कोड नेम पक्राउ परेकाहरुकै नाम हो भन्ने दोस्रो प्रमाण मिसिलमा संलग्न देखिन्न ।

बयानमा संलग्न खड्काको बयानमा एसएसपी खत्री र निरौला विमानस्थलमा खटिँदा कसरी सुन तस्करलाई सघाउँथे भन्ने उल्लेख छ । तर यही साढे ३३ किलोको तस्करीमा सघाएको हो या अन्य तस्करीमा सघाएको हो भन्ने खुल्दैन । पक्राउ परेका विमानका कर्मचारीको बयानमा साढे ३३ किलो सुन तस्करीमा पक्राउ परेका पूर्व र बहालवाला प्रहरीको भूमिका उल्लेख छैन ।

४. अरुको कोड नेम, सञ्जेल चैँ भाञ्जा नै ?
सुन तस्करीमा संलग्न नरहेको तर त्यसैसँग जोडिएर भएको सनम शाक्य हत्या अनुसन्धानमा संलग्न एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई समेत अभियुक्त बनाइएको छ । 
सञ्जेलको हकमा गोरेसँग पहिलादेखि सम्बन्ध र सम्पर्क रहेको आधारमा टेकेर तस्करीमा समेत संलग्न रहेको दाबी छ । अभियोग पत्रमा गोरेले सम्पर्कमा रहेका सबै प्रहरीलाई मामा भनेर बोलाउने गरेको उल्लेख छ । सञ्जेललाई गोरेले मामा भनेकै हकमा दुवै जनाबीच मामा–भाञ्जाको सम्बन्ध रहेको भन्दै तस्करीमा उनको संलग्नताको पुष्टिको प्रयास गरिएको छ । यो आफैंमा विरोधाभाषपूर्ण प्रमाण देखिन्छ ।

५. निर्देशन दिने एआइजी खै ?
काठमाडौँ उपत्यकाका तीन जिल्ला कार्यक्षेत्र भएको महाशाखाका प्रहरी अनुसन्धानमा लागि मोरङ जानु, जाने आदेश दिनु नै अपराध रहेको अभियोग पत्रमा तर्क गरिएको छ ।

अभियुक्त पक्राउका लागि गोरेबाट आएको पैसाको अफरबारे प्रहरी प्रधान कार्यालयको नेतृत्वलाई समेत जानकारी दिएर पक्राउको मनसायले डिल गर्नुलाई मनसाय खराब भनिएको छ । एसएसपी लोहनीको कसुर कार्यक्षेत्रबाहिर आफ्नो प्रहरी कर्मचारी खटाउनु, डिल गर्दा नरोक्नु, शव फेला परेको स्थानभन्दा अन्यत्र मुचुल्का गर्न सहमति दिनु उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयका तात्कालीन कामु प्रमुख बमबहादुर भण्डारीको अनुमतिमा कार्यक्षेत्र बाहिर खटिएको, पक्राउको मनसायले गोरेको पैसाको प्रस्ताव स्वीकार गरेको विवरण सार्वजनिक भए पनि अभियोग पत्र यो पाटोबारे मौन छ ।

निर्देशन दिएकै आधारमा दिवेश अभियुक्त बन्दा उनलाई निर्देशन दिनेले कसरी उन्मुक्ति पाए ? एकै प्रकृतिको कारणमा फरक व्यवहार किन ? त्यो रहस्य खुलेको छैन । कार्यक्षेत्र बाहिर प्रहरी खटाउनु प्रहरी ऐन अनुसारको विभागीय कारबाहीको क्षेत्र हो कि जघन्य अपराध हो ? यो प्रकरणले नयाँ बहस ल्याएको छ ।

६. यत्ति प्रमाणले थेग्दा अभियोग ?
जति बलियो कानुन समातिन्छ, त्यसले त्यत्ति नै बलियो प्रमाण र आधार माग्छ । सुन तस्करीलाई यसअगाडि राजश्व छलेको अभियोगमा भन्सार कार्यालयले नै मुद्दा प्रक्रिया अगाडि बढाउने गरेको थियो ।

अहिले संगठित अपराध ऐन टेकिएको छ । यस अगाडिका यस्तै प्रकृतिको मुद्दामा संगठित अपराध ऐनले मौखिम बयान, विश्लेषण र आशंकालाई मूल प्रमाण स्वीकार गरेको देखिदैन । मौखिक बयानलाई सहायक प्रमाणको रुपमा स्वीकार गर्दा यस अगाडिका यस्तै घटनाका अधिकांश अभियुक्त सामान्य धरौटीमा मुक्त भएका आदेशहरु अदालतमा छन् ।

साढे ३३ किलो सुन तस्करीमा अभियुक्त बनाइएकाहरुविरुद्ध पेस गरिएका प्रमाणको सूचीमा पक्राउ अभियुक्तको बयान, गोरेको डेरामा फेला पारिएको डायरी र त्यसमा उल्लेख विवरण नै हावी छ । के यत्ति प्रमाणले यत्रो तस्करीमा संलग्न अभियुक्तको अभियोग पुष्टिको भार थेग्न सक्ला  !
 

Leave A Comment