'झुर' फिल्मको नक्कली सेलिब्रेसन

बिहिबार, ३१ जेठ २०७५, ०७ : ०३ अनिल यादव
'झुर' फिल्मको नक्कली सेलिब्रेसन

तस्बिर : केकी अधिकारीको फेसबुकबाट

लण्डनमा खिचिएको फिल्म ‘लिलिबिली’ का दृश्य जति भव्य थिए, फिल्म भने त्यति भव्य थिएन । विभिन्न हिन्दी फिल्मका टुक्राटाक्री जोडेर बनेको यस फिल्मले समीक्षकहरुबाट पनि ताली होइन, गाली नै खायो । गत चैतमा रिलिज भएको यो फिल्मको न पटकथा अब्बल थियो, न निर्देशकीय पाटो । व्यापारिक हिसाबले पनि फिल्म औसतकै सूचीमा पर्यो। 

फिल्म र व्यापार जस्तोसुकै होस्, यसले फिल्मका निर्देशक मिलन चाम्सलाई भने केही फरक पारेन । फिल्म अवार्डहरुमा उनकै फिल्मको दबदबा भयो । उनी उत्कृष्ट निर्देशक दरिए । र, यत्तिमै पनि अड्किएन उनको 'झुर' फिल्मको यात्रा । अन्तमा फिल्म युनिटले विभिन्न हलमा ५१ दिन मनाएको भन्दै सेलिब्रेसन समेत गर्यो ।

व्यापार अब्बल भएको दाबी गरिए पनि यो फिल्मको खास कलेक्सन कति हो निर्माण पक्षले सार्वजनिक गरेको छैन । फिल्मले ५१ दिन मनाउँदा निर्माण पक्ष र कलाकारको मुहारमा जुन प्रकृतिको हर्ष देखिनुपर्ने हो त्यो समेत फिक्का थियो । यसले जति हल्ला गरे पनि ‘लिलिबिली’को व्यापार ‘चिल्लीबिल्ली’ रहेको देखायो ।

पछिल्लो समय नेपाली फिल्म वृत्तमा ‘लिलिबिली’जस्तै अधिकांश फिल्म समीक्षा र व्यापारका हिसाबले ‘झुर’ साबित भए तर अचम्मको कुरा तिनै फिल्मको सेलिब्रेसन भने तामझामपूर्ण र भव्यतापूर्ण थियो । 

दर्शकलाई नक्कली सफलता देखाउन फिल्मकर्मीहरुले यस्तो तामझाम गर्ने गरेको फिल्म समीक्षक दीपेन्द्र लामाको मत छ । ‘आफ्नो नराम्रो फिल्मलाई पनि अवार्ड आयोजकसँग मिलेर अवार्ड हात पार्ने र जबरजस्ती हलमा ५१ दिन मनाउनेजस्ता प्रवृत्तिका पछाडि फिल्मकर्मीका अनेक स्वार्थ लुकेका हुन्छन्,’ फिल्म निर्देशकसमेत रहेका लामा भन्छन्, ‘नयाँ सम्भावित लगानीकर्तालाई आकर्षित र ओभरसिज मार्केटमा फिल्म बेच्नका लागि उनीहरु फिल्म सफल भएको नक्कली हल्ला गर्ने गर्छन् ।’

फिल्म ‘शत्रुगते’कै कुरा गरौँ न ! हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला लगायत कलाकारको अभिनय रहेको यो फिल्मलाई समीक्षकहरुले हरिवंशको अहिलेसम्मकै 'झुर' फिल्मको कोटीमा राखे । तैपनि फिल्मले हलमा दर्शकको राम्रो साथ पायो । ८ हलमा ५१ दिन कटायो ।

‘झुर’ भनिएको फिल्मले ५१ दिन कटाएको हर्षमा निर्माण पक्षले ललितपुरमा कार्यक्रम गरेर ५१ दिन मनाउन सघाएको भन्दै हल सञ्चालक, वितरक र सञ्चारकर्मीलाई धन्यवाद दिँदै मायाको चिनोसमेत बाँडे । फिल्म निर्माणमा संलग्न समूहले व्यापारको आँकडा देखाउँदै समीक्षकहरुलाई गिज्याए पनि ।  

फिल्म समीक्षकहरुले यस फिल्मको पटकथा र प्रस्तुति केहीलाई पनि ‘पर्फेक्ट’ भनेका थिएनन् । ‘शत्रु गतेको कथा त घिसिपिटी छ नै, प्रस्तुति पनि बासी छ, नवीनताको सुगन्ध छैन । फिल्म रमाइलो छ तर राम्रो छैन,’ फिल्मप्रति समीक्षक गोकर्ण गौतमको यस्तो टिप्पणी थियो ।   

त्यसैगरी दक्षिण भारतीय फिल्म ‘मुम्बई एक्सप्रेस’बाट कपी गरिएको फिल्म ‘कोहलपुर एक्सप्रेस’को टिमले समेत फिल्मको व्यापार भव्य भएको भन्दै केक काट्यो । एक करोडको ग्रस कलेक्सन टेकेको भन्दै फिल्म युनिटले केक काटेर सेलिब्रेसन गर्यो । तर यो फिल्मले पनि समीक्षकबाट राम्रो प्रतिक्रिया भने पाएको थिएन । 

फिल्म हेरेपछि समीक्षक लेनिन बन्जाडेको टिप्पणी थियो, ‘कोहलपुर एक्सप्रेस’ पार्टपुर्जा बिग्रिएर थन्किएको बसलाई सस्तो रंगरोगन गरेर डिलक्स बनाउने प्रयास हो तर कमजोर लेखन र निर्देशनले फिल्म डिलक्स बस होइन, लोकल बसमा परिणत भएको छ ।’

सबै फिल्मकर्मीलाई आफूले निर्माण गरेको फिल्म राम्रो नै लाग्ने समीक्षक लामाको तर्क छ । ‘आफूले बनाएको फिल्म कसले पो नराम्रो भन्छ र ? अझ अरुको कथा कपी गरेर फिल्म बनाउनेसँग इमान्दारिता अपेक्षा कसरी गर्ने ?, ’ उनको प्रश्न छ । 

फिल्म फोटोकपी रहेको पुष्टि भए पनि यसकी निर्मात्री तथा नायिका केकी अधिकारीमा यसको कुनै पश्चाताप देखिएन । उनी 'फोटोकपी हैन, प्रभावित मात्र हो' भन्दै कमजोरी ढाकछोपमै खटिइन् । तर फिल्मले सोचेजस्तो व्यापार भने गर्न सकेन । 

यस्तै हालसालै रिलिज भएको भुतको कथामा आधारित फिल्म ‘सुनकेसरी’लाई पनि समीक्षकले असफल प्रयास भनिरहेका छन् । समीक्षकले मात्रै होइन दर्शकबाट पनि यो फिल्मले सोचेअनुरुप साथ र प्रशंसा पाएको छैन । फिल्मले डराउने भन्दा बढी हँसाएको प्रतिक्रिया आइरहेको छ । तैपनि फिल्म युनिटले भने फिल्मले भव्य व्यापार गरेको भन्दै सामाजिक सञ्जालमा डटेर प्रचार गरिरहेका छन् । र, हलबाट फिल्म उत्रिने समय भइसक्दा पनि यो क्रम रोकिएको छैन ।

नेपालमा फिल्म समीक्षाको प्रभाव पहिलेभन्दा अहिले बढेको भए पनि यसले फिल्मको व्यापारमै ठूलो असर भने गर्ने अवस्था नरहेको समीक्षक लामाको तर्क छ ।  ‘आम दर्शकलाई अझै पनि फिल्म समीक्षाको महत्व थाहा छैन । फिल्म समीक्षा पढेर फिल्म हल पुग्ने दर्शकको संख्या सीमित नै छ,’ उनी भन्छन्, ‘फिल्म लिटरेसीको कमीले गर्दा हामी कुवाको भ्यागुताजस्तो भएका छौं । विश्वका फिल्म ट्रेन्डसँग परिचित नहुँदा नेपालमै बन्ने झुर फिल्म दर्शकलाई उत्कृष्ट लागिरहेको छ । आफ्नै वरिपरिका चीजलाई नै राम्रो ठान्ने, संसार ठान्ने भ्रम तोडिन जरुरी छ ।’ 

लामाको नजरमा हलमा पुग्ने दर्शकको संख्याकै आधारमा फिल्मलाई उत्कृष्ट मापन गर्नु गलत हो । ‘जसरी पिज्जा मीठो नलाग्नेले पनि कहिलेकाहीँ भोक लागेको बेला ‘हुन्छ खाऊँ न त’ भनेर खान्छ नि, दर्शकले पनि कहिलेकाहीँ फिल्म त्यस्तै मनोविज्ञानबाट हेरेको हुन सक्छ । फिल्म हेरिदिँदैमा दर्शकले फिल्म मन पराएको निष्कर्ष निकाल्न मिल्दैन,’ उनले भने । 
 

Leave A Comment