‘कायरा’ र ‘ब्ल्याक’ विवाद : चोरेरै हैरान

आइतबार, २४ असार २०७५, ०४ : ४४ शुक्रवार
‘कायरा’ र ‘ब्ल्याक’ विवाद : चोरेरै हैरान

निरन्तर फिल्म असफल भएपछि आर्यन सिग्देल आफैँ निर्माताका रुपमा उदाए फिल्म ‘कायरा’मार्फत् । निर्माताका रुपमा पहिलो फिल्म राम्रो बनेको भन्दै उनी उत्साहित पनि थिए तर फिल्म रिलिज नहुँदै ढुंगा लाग्यो उनलाई । 

फिल्मको ट्रेलर रिलिज भएसँगै चर्चित उपन्यासकार सुबिन भट्टराईले फिल्म निर्माण समूहले अनुमति नै नलिई आफ्नो फेसबुक स्टाटसलाई फिल्मी सम्वाद बनाएको सामाजिक सञ्जालमार्फत् आरोप लगाए ।
आँचल शर्मा अभिनित फिल्म ‘ब्ल्याक’को अवस्था पनि उस्तै रह्यो । यो फिल्म पनि रिलिज हुनुअगाडि नै विवादमा तानियो । विवादमा तानिनुको प्रकरण उही ‘कायरा’ जस्तै हो । यो फिल्म ट्रेलर रिलिज भएसँगै उपन्यासकार भट्टराईले फेरि आफ्नो सृजना अनुमति नै नलिई प्रयोग गरेको आरोप लगाए ।

नेपाली फिल्ममा अनधिकृतरूपमा गीत र गीतका लाइन प्रयोग भएको विवाद हुँदै आए पनि उपन्यास र फेसबुक स्टाटसबाट उधारो डायलग चोरिएको विवाद त्यत्ति सुनिएको थिएन, त्यो पनि ट्रेलर रिलिज भएलगत्तै । यी दुई घटनाले भने फिल्मभित्रका अन्य विकृत पाटोसमेत सार्वजनिक भयो ।

उपन्यासकार भट्टराईको दाबीअनुसार उनले सन् २०१७ अप्रिल १९ मा फेसबुकमा लेखेका थिए– पूरा हुन् या अधुरा हुन्, सपना त सपनै हो । देख्न छाड्नु हुन्न ।’ ठीक यही स्टाटसलाई फिल्ममा हिरोले बोल्छ र हल्का मोडिफाइड छ । ‘कायरा’ फिल्मको ट्रेलरमा आर्यनले भनेका छन्, ‘पूरा हुन् या अधुरा सपना त सपनै हो । देख्न छाड्नु हुँदैन ।’

सुबिनले यो आफ्नो स्टाटस भएको दाबी गर्छन् भने फिल्मका नायक तथा निर्माता आर्यन सिग्देल भने स्टाटससँग मिल्नु संयोग मात्र रहेको दाबी गर्छन् । ‘संयोगवश सुबिनजीको स्टाटससँग डायलग मिल्न गएछ तर चोरिएको होइन,’ उनले भने, ‘म स्वयं स्क्रिप्ट राइटरसँग बसेर फिल्मका डायलगहरु लेखिएका हुन् ।’

उनले स्वस्फूर्त रूपमा डायलग लेखिएको दाबी गरे पनि तर्कमा दम देखिन्न । यसमा सुबिनको तर्क छ, ‘केही तलमाथि नभइकन पनि सृजना हुनसक्छ र ?’  यसमा सिग्देलको मत छ, ‘त्यो सामान्य बोलीचालीको भाषामा प्रयोग हुने वाक्य नै हो ।’

फिल्म ‘ब्ल्याक’को ट्रेलरमा डाइलग छ, ‘हामी दुवैबीच प्रेम थियो या थिएन थाहा थिएन, तर केही त थियो जुन प्रेमजस्तै मीठो थियो ।’

यो डायलग सुबिनको बेस्टसेलर पुस्तक ‘मनसुन’ को पाना नम्बर ७३ मा छ । 
‘ब्ल्याक’ का निर्देशक प्रदीप श्रेष्ठका अनुसार फेसबुकमा अन्य कसैले लेखेको स्टाटस मन परेर फिल्मको ट्रेलरमा राखिएको बताए । 

‘त्यो भट्टराईको ‘मनसुन’ पुस्तकको हो भन्ने मलाई थाहा थिएन,’ उनले भने, ‘यसका लागि म सुबिनजीलाई ‘एक्स्ट्रिमली सरी’ भन्न चाहन्छु ।’

सोमबार शुक्रवारसँगको कुराकानीमा श्रेष्ठले गल्ती सच्याउन भट्टराईसँग कुराकानी भइसकेको बताए । उनले राम्रो लागेर फिल्मको ट्रेलरमा वाक्य प्रयोग गरिए पनि फिल्ममा भने प्रयोग नगरिएको दाबी गरे । फिल्म ‘ब्ल्याक’ को टोली डाइलग मिल्न जानु संयोग मात्र हो भन्ने ढिपीमा अड्किएन । उनीहरुले मंगलबार भट्टराईलाई भेटेर गल्तीप्रति माफी माग्दै क्रेडिट दिने सहमति गरे ।

‘उहाँहरु मंगलबार आउनुभएर माफी माग्नुभयो,’ भट्टराईले भने, ‘डायलग फिल्ममा प्रयोग गरेको खण्डमा क्रेडिट दिने सहमति भयो ।’

फिल्म ‘ब्ल्याक’ ले स्रष्टाको सृजनाको कदर गर्दै सहमति गरे पनि ‘कायरा’ टोली भने अझै संयोग मात्रै हो भन्ने ढिपीमै देखियो ।

आर्यन दाबी गर्छन्, ‘सुबिनजीको फेसबुक स्टाटस हेरेर हाम्रो फिल्ममा डायलग राखिएकै होइन ।’
उता सुबिन ‘कायरा’ टोलीको व्यवहारबाट दुःखी छन् भने ‘ब्ल्याक’ले देखाएको सक्रियतामा खुसी छन् ।
‘यत्तिको चर्चा होला भन्ने लागेको थिएन, स्रष्टाको आवाज पनि सुनिन थालिएछ, खुसी लाग्यो,’ उनले भने, ‘तर ‘कायरा’ टोलीले अझै रेस्पोन्स गरेको छैन । कमजोरी हुनसक्छ । स्वीकार्नु ठूलो कुरा हो ।’

 

‘हैरान बनाएपछि चुप बस्न सकिनँ’

सुबिन भट्टराई

सामाजिक सञ्जालमा एकपछि अर्को फिल्मलाई चोरीको आरोप लगाइरहनुभएको छ । हो चैं के ?
फेसबुकमा लेखेको स्टाटस अनि मेरो उपन्यासका लाइन अनुमति नै नलिई जस्ताको तस्तै फिल्ममा राखेको भेटेपछि बाध्य भएर सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेको हुँ । अत्ति भएपछि चुप बस्नै सकिनँ ।

कसले के चोरे ?
‘कायरा’ फिल्मले फेसबुकमा सन् २०१७ मा राखेको स्टाटस ट्रेलरमा राखेछ । ‘ब्ल्याक’को ट्रेलरमा ‘मनसुन’ उपन्यासको एक लाइन राखेछ ।

‘कायरा’का निर्माताले चर्चाका लागि गलत आरोप लगाएको हो भने नि, मिल्नु संयोग हुन सक्दैन ?
एक शब्द तलमाथि नभइकन पनि सृजना हुनसक्छ र ? अनुमतिबिना अर्काको सृजना चोर्ने अनि उल्टो आरोप लगाउने ? यसैले चित्त दुखाइरहेको छ ।

‘ब्ल्याक’का निर्देशकले शुक्रवारसँग गल्ती भयो छलफल गर्छाैं भने केही पहल भएको छ ?
अँ छलफल भयो । उहाँहरुले माफी माग्नुभयो र फिल्ममा डायलग प्रयोग गरे क्रेडिट दिने सहमति भयो । 

एक लाइन त लिएका रहेछन् । यसमा यत्रो आपत्ति जनाउनुपर्ने के छ र ?
पकेट मारेर सय रुपैयाँ लिएको त हो नि ! हजार लिएको छु र भन्न मिल्छ ? अर्काको सामान जति लिए पनि चोरी नै हो । उहाँहरुले मेरो सृजना बिनाअनुमति व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्नुभयो । त्यो चोरी नै हुन्छ । 

‘कायरा’बारे फेसबुकमा लेख्दा यस अगाडि पनि धेरैले अनुमति नलिई सृजना राखे भन्नुभएको थियो । क–कस्ले गरे यस्तो ?
पुरानो कुरा खोतल्दिन तर यस्ता घटना धेरै छन् । चलचित्र क्षेत्रमा धेरैले मुर्गा बनाएका छन् मलाई । शोषण गरेका छन् । समय आएपछि सार्वजनिक गर्छु । सहँदा–सहँदा सकिएन । त्यही भएर बोलेको हो । ट्रेलरमैराखेका छन् भने फिल्मभरिमा कति प्रयोग गरेका होलान् ? 

फिल्महरुमा आफ्नो सृजना प्रयोग भएको कसरी थाहा पाउनुहुन्छ ?
मैले हेरेर चाल पाएको हैन । पाठकहरुले थाहा पाएर म्यासेज पठाउँछन् ।

अबको बाटो के हो ?
प्रतिलिपि अधिकारमा के कस्तो व्यवस्था छ त्योबारे बुझ्दैछु । अब कानुनी बाटो नै समात्छु ।

अनुमति नलिई अर्काको सृजना प्रयोग किन गर्छन् होला ?
खै ! म पनि छक्क पर्छु यसैमा । आवश्यक परे अनुमति लिए भइहाल्ने विषय हो । पहिला त हेलचेक्र्याइँ गरेझैँ लाग्थ्यो तर अहिले जस्ताको तस्तै राखेकाले हेपेको अनुभव भयो । मेरो सृजना लुटेको अनुभव भयो र बोल्न थालेँ ।
 

‘जानीजानी गरेको गल्ती होइन’

प्रदीप श्रेष्ठ
निर्देशक (ब्ल्याक)

मैले त्यो डायलग कसैले फेसबुकमा लेखेको भेटेको थिएँ । मन परेर स्क्रिन सट गरेको थिएँ । ट्रेलरमा राख्दा उपयुक्त होला भनेर राखियो तर फिल्ममा कतै राखिएको छैन । त्यो डायलग सुबिन भट्टराईको ‘मनसुन’ पुस्तकबाट थियो भन्ने कुरा मलाई थाहा थिएन । यसका लागि म सुबिनजीलाई ‘एक्स्ट्रिमली सरी’ भन्न चाहन्छु । सुबिनजीसँग भेट्न खोजिरहेको छु ।गल्ती भएकोमा माफी माग्छु तर नियतवश चोरेको होइन । 

सुबिनजीको पुस्तकमा राखिएको डायलग भन्ने थाहा भएको भए सोध्थँे । थाहा नभएरै हो । फेरि मैले ट्रेलर रिलिज हुनुअघि धेरैलाई देखाएँ, कसैले यो डायलग ‘मनसुन’मा छ भनेर सम्झाएन । नत्र हाल्दिन थिएँ तर फिल्ममा सुबिनजीको कुनै पनि डायलग राखेको छैन । 

यो पनि जानीजानी गरेको गल्ती होइन । साँच्ची भन्नुपर्दा मैले अहिलेसम्म त्यो किताब पनि पढेको छैन । तर अब फेसबुकमा राखेको स्टाटस कपी गर्नुअघि सचेत हुनुपर्ने देखियो । यो घटनाले पाठ सिकायो । 


‘गलत आरोप लाग्यो, डायलग हाम्रै हो’

आर्यन सिग्देल,
निर्माता÷अभिनेता (कायरा)

संयोगवश सुबिनजीले स्टाटससँग डायलग मिल्न गएछ तर चोरिएको होइन । म स्वयं स्क्रिप्ट राइटरसँग बसेर फिल्मका डायलगहरु लेखिएका हुन् । जुन डायलग उहाँले चोरिएको भन्नुभएको छ, मेरो विचारमा त्यो सामान्य बोलिचालीको भाषामा प्रयोग हुने वाक्य नै हो । 

उहाँकै स्टाटसमुनि धेरैले उहाँलाई त्यसरी कमेन्ट पनि गर्नुभएको छ । ११ शब्दको डायलग मिल्दा उहाँले यसरी क्लेम गर्नु पनि उचित होइन कि ? 
फेसबुकमा त धेरैले मीठामीठा कुरा लेखिरहेका हुन्छन् । झन् प्रेमका बारेमा लेख्ने÷नबोल्ने को होला र ? कसैले ‘म तिमीलाई माया गर्छु’ भन्ने डायलग राख्यो भने त्यसलाई चोरिएको भन्ने त ? 
प्रेमका विषयमा धेरै डायलग बोलिचालीमा प्रयोग हुने गर्छन् । त्यसैले म फेरि पनि भन्छु, सुबिनजीको फेसबुक स्टाटस हेरेर हाम्रो फिल्ममा डायलग राखिएकै होइन । 

Leave A Comment