लुगाले लफडा

आइतबार, १० भदौ २०७५, ०३ : २४ पुष्पा थपलिया
लुगाले लफडा

यतिखेर अद्र्धनग्न भन्ने शब्द निकै चर्चामा छ । बलात्कारीलाई फाँसीको सजाय माग गर्दै करिब २० जना महिलाले माइतीघर मण्डलामा अद्र्धनग्न (पेटीकोट) आन्दोलन गरेपछि यसको चर्चा चुलिएको हो । मुलुकी संहिताको विरोधमा नग्न प्रदर्शन गरेको भन्दै प्रहरीले सिंहदरबार अगाडिबाट जितिन लिम्बु पक्राउ परे । 

यही बेला जिल्ला प्रशासन कार्यालय कास्कीले कार्यालयमा अाउने सेवाग्रहीलाइ मर्यादित पाेशाक लगाएर अाउन सूचना नै जारी गरेकाे छ । 

प्रदर्शनमा प्रहरीको हस्तक्षेपपछि त्यस्तो शैलीको विरोध प्रदर्शन सही हो या गलत बहस जारी रहेकै बेला गायिका समृद्धि राईलाई प्रहरीले नै ‘कपडा छोटो भयो’ भन्दै कार्यालय प्रवेश नगराई फर्काएको घटना सार्वजनिक भयो ।

लेन मिचेको आरोपमा ट्राफिकले चिट काटिदिएपछि कक्षा लिन र जरिवाना तिरेर लाइसेन्स लिन उनी मंगलबार महानगरीय ट्राफिक प्रहरी महाशाखाको कार्यालय पुग्दा यस्तो घटना भएको हो । 
राईले आपत्ति नै जनाउनुपर्ने छोटो कपडा लगाएकी थिइननन् । वन पिसमा रहेकी उनको पोसाक छोटो भएको भन्दै उनलाई महाशाखा कार्यालय प्रवेशमा रोक्ने व्यक्ति ट्राफिक थिइन् । पछि उनले वन पिसको तल रेनकोटको ट्राउजर लगाएर महाशाखा छिरेकी थिइन् ।

उनी महाशाखाको कार्यालयमा छिरेपछि भित्र हाफ पाइन्टमा हिँडिरहेका युवा देखेपछि उनले भिडियो खिचिन् । भिडियो खिचेको देखेपछि ट्राफिकले उनलाई रोक्दै एसपीकोमा पु¥याएका थिए । एसपीकोमा पुगेपछि कुरा मिल्यो । ती एसपीले राईलाई रोक्ने ट्राफिकलाई उल्टो सम्झाए  ।

राईलाई रोक्ने ट्राफिक प्रहरीले ‘पहिला एक युवतीलाई छाड्दा छोटो लुगा लगाएकालाई किन छाडेको भनेर गाली खाएको’ बताउँदा ती एसपीले ‘हैन, हैन’ भनेका थिए ।

‘मीठो बोली भएका एसपी रहेछन्, रिस खुब उठेको थियो,’ राईले भनिन्, ‘यस्तो नियम हैन भनेकाले लाइसेन्स लिएर फर्किएँ ।’

राईलाई रोक्ने ती महिला ट्राफिकले कार्यालय प्रवेशमा नयाँ ड्रेस कोड लागू भएको बताएकी थिइन् तर महाशाखाका प्रमुख एसएसपी वशन्त पन्तले भने त्यस्तो कुनै ड्रेस कोड लागू नगरिएको र महाशाखामा मंगलबार भएको घटनाबारे जानकारी नभएको दाबीसमेत गरे ।

तपाईंकोमा ड्रेस कोड लागू भएको हो भन्ने ‘शुक्रवार’को जिज्ञासामा उनले भने ‘कसले भन्यो त्यस्तो नचाहिने कुरा ?’

‘कुर्ता–सुरुवाल लाएर आऊ भन्दै फर्काए’
समृद्धि राई 
केही दिनअघि लेन मिचेकोमा ट्राफिक प्रहरीको कारवाहीमा परेको थिएँ ।  लाइसेन्स ट्राफिक प्रहरीले लगेको थियो । बुधबार काठमाडौंबाहिर जानुपर्ने भएकाले म लाइसेन्सको कक्षा लिन बग्गीखाना गएँ । 
कक्षा ११ बजेको थियो तर मलाई कार्यालयभित्र जान दिइएन । गेटमा बसेकी महिला ट्राफिक प्रहरीले रोकिन् । उनले ‘यो सरकारी कार्यालय हो, तपाईंको घर हैन । कुर्ता सुरुवाल लगाएर आए भित्र जान पाइन्छ’ भनिन् । 

मैले आफू धेरै इमर्जेन्सीमा परेको, आजै लाइसेन्स लैजानुपर्ने भएकाले छाडिदिनुस् भनेर धेरै रिक्वेस्ट गरेँ तर उनले पहिले पनि यसरी नै छोटो लुगा लगाएकी केटीलाई भित्र जान दिँदा आफूले धेरै गाली खाएको भन्दै भित्र जान दिइनन् । 

मैले आफ्नो लुगा छोटो र उच्छृङ्खल नभएको भनेर ती महिला प्रहरीसँग धेरै तर्क गरेँ तर मेरो तर्कमा उनी सहमत भइनन् । त्यो समयमा मैले हाकिमसँग कुरा गराउन पनि निकै अनुरोध गरेँ तर उनले मेरो कुरा सुनिनन् । बरु आरके दुवाल नाम गरेका अर्का पुरुष प्रहरीलाई बोलाइन् । उनले पनि यस्तो लुगा लगाएर भित्र जान नमिल्ने भने ।

जति कोसिस गरे पनि भित्र जान नसकेपछि फर्किएर १ बजेको कक्षाका लागि पहिले लगाएको लुगामा रेनकोटको ट्राउजर लगाएँ । त्यो पनि पार्किङ लटमा रोकेर लगाएकी थिएँ । त्यही समयमा मैले पुरुषहरु मस्तसँग हाफ पाइन्ट लगाएर भित्र–बाहिर गरिरहेको देखेँ र भिडियो खिच्न थालेँ ।  भिडियो खिचेको देखेर फेरि उही दुलाल गाली गर्न आइपुगे र मेरो मोबाइल बन्द गरिदिए अनि हाकिम भए ठाउँमा पु¥याए । 
एसपी समझदार रहेछन् । उनलाई मैले आफ्नो फेसबुक पोस्ट पनि देखाएँ । मेरो लुगा देखेर उनले सामान्य हो भने । उनै एसपीले कुनै नयाँ ड्रेस कोड नआएको पनि खुलाए । 

मलाई धेरै रिस उठेको थियो तर एसपीको मीठो बोलीका कारण जति गर्नुपथ्र्यो त्यति विरोध गरिनँ तर मसँग उनीहरुका लागि कोसेली छ, मैले खिचेको भिडियो । त्यो म सामाजिक सञ्जालमा राख्ने तयारीमा छु किनभने मजस्तै अन्य केटीहरुले यस्तो समस्या भोग्न नपरोस् । 

ती ट्राफिक प्रहरीका कारण मैले धेरै मानसिक र शारीरिक थकान बेहोर्नुप¥यो ।  मेरो दिनभरिको काम चौपट भयो । उनीहरुलाई यतिसम्म थाहा हुनुपथ्र्यो कि म पनि पढेलेखेकी केटी हुँ । मेरो ज्यानको सुरक्षा म गर्नसक्छु । कत्तिको कपडा लगाउँदा के हुन्छ, के हुँदैन राम्रोसँग जान्दछु । यस मामिलामा म सचेत छु ।
 

Leave A Comment