डरपोक संगीतकारको उदय

शुक्रबार, ०५ असोज २०७५, ०७ : १३ प्रकाश जंग थापा
डरपोक संगीतकारको उदय

सन् १९७३ मे २५ तारिखका दिन भर्जिन कम्पनीले आफ्नो पहिलो चारवटा एल्बम रिलिज गरेको थियो । जसमध्ये माइक वल्डफिल्डको ‘ट्युबलर बेल्स’ एउटा थियो । नौ महिना लगाएर कम्पोज गरिएको यो एल्बम अरुभन्दा निकै अलग थियो । २० वटा इन्स्ट्रुमेन्टको प्रयोगले एल्बम सुन्दर बनेको थियो । भर्जिन ग्रुपका संस्थपक रिचर्ड ब्रान्सन एल्बमप्रति निकै आशावादी थिए । समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाए पनि आम संगीतप्रेमीबाट भने प्रतिक्रिया आउन बाँकी नै थियो । रिचर्ड कुनै पनि हालतमा एल्बम हिट बनाउन चाहन्थे । त्यसका लागि उचित मार्केटिङ एवं प्रोमोसनको आवश्यकता पथ्र्यो ।

उनी विभिन्न रेडियो स्टेसन धाए तर कसैले पनि गीत बजाउन रुचि देखाएनन् । कारण ? त्यो समय तीन मिनेटको रेडियो संगीत बढी रुचाइन्थ्यो । ‘ट्युबलर बेल्स’ ४५ मिनेट अवधिको थियो । यतिमात्र हैन, एल्बममा शब्दसमेत प्रयोग गरिएको थिएन । केवल धुन मात्र थियो । एल्बम रिलिज भएको दुई हप्ता बितिसक्दा पनि बजारमा बिक्री हुन सकेन । श्रोताको ध्यान खिच्न केही नयाँ कदम चाल्नुको विकल्प थिएन । 


रिचर्डले ‘स्टुडेन्ट’ म्यागेजिन चलाउँदा जोन पिललाई चिनेका थिए । जोन एक रेडियो कार्यक्रम संचालक थिए । उनको कार्यक्रमको श्रोता अत्यधिक थियो । उनीबाट सहयोग लिन सकिनेमा रिर्चड विश्वस्त थिए । त्यसैकारण रिचर्डले एल्बम लन्च कार्यक्रममा जोनलाई निम्त्याए ।

भेटमा ‘ट्युबलर  बेल्स’ को धुन प्ले गरेर सुनाए । एल्बमको संगीतले जोनलाई प्रभावित ग¥यो । त्यस भेटको एक हप्तापछि उनले आफ्नो लोकप्रिय कार्यक्रम ‘दि जोन पिल सो’मा सोही नयाँ एल्बमलाई स्थान दिने निर्णय गरे । कार्यक्रमको सुरुवातमा उनले भने, ‘आज म विभिन्न थरिका संगीत सुनाउने छैन । मात्र एउटा सुनाउने छु । यस संगीतका सर्जक युवा संगीतकार माइक वल्डफिल्ड हुन् । यो उनको प्रथम रेकर्ड एल्बम हो, जसको नाम ‘ट्युबलर बेल्स’ भनिन्छ । मैले जीवनमा यत्तिको गुणस्तरीय संगीत सुनेको छैन । यो एउटा नयाँ रेकर्ड कम्पनी भर्जिनले रिलिज गरेको हो । प्रिय श्रोतावृन्द यहाँहरुले यो संगीत भुल्न सक्नु हुने छैन ।’ 


यति भनेपछि एल्बम प्ले गरियो । पूरै कार्यक्रमभर पूरै सिंगो संगीत प्ले गरिसकेपछि उनले कार्यक्रममा आफ्नो रिभ्यु पनि दिए । जोन सेलिब्रिटी भएका कारण हजारौं व्यक्तिले एकै पटक कार्यक्रममार्फत एल्बमको बारेमा थाहा पाए । एल्बमको राम्रो बजारीकरण भयो । रेकर्ड स्टोरमा अर्डरको लागि फोनको घण्टी पनि बज्न थाल्यो ।


एल्बमलाई थप उचाइ दिन एउटा कन्सर्ट आयोजना गरिने भयो । कन्सर्ट जुन २५ तारिखमा तोकियो । यसलाई मेघा इभेन्ट बनाउन कुनै कसर छोडिएन । राष्ट्रिय प्रेस र मिडियालाई पनि आमन्त्रित गरियो । कन्र्सटमा अरु नाम चलेका संगीतका हस्तीहरु मिक टेलर, स्टिभ हिलेज र ह्याट फिल्डले पनि साथ दिने भए । यस कारण पनि कन्सर्ट छुटाउनै नसकिने सांगीतिक मेलामा परिणत भयो ।

सम्पूर्ण तयारी पूरा गरिए पनि कन्र्सटका मुख्य पर्फमर माइक भने मानसिक रुपमा तयारी थिएनन् । उनमा एक प्रकारको बेचैनी थियो । त्यसैले उनी रिचर्डलाई भेट्न गए । उनले कन्सर्टमा भाग लिन नसक्ने र लाइभ स्टेज पर्फम नगर्ने मनशाय व्यक्त गरे । माइक हठी स्वभावका थिए । आफ्नो निर्णय फेर्ने खालका थिएनन् ।

अन्तिम घडीमा उनको यस्तो अप्रत्यासित निर्णयले रिचर्डलाई निराश बनायो । माइकलाई जसैगरी भए पनि स्टेजमा जान मनाउनुपर्ने भयो । यस्तो अवस्थामा रिचर्ड चलाख हुनुपथ्र्यो । उनले माइकलाई छोटो ड्राइभमा लगे । क्विन एलिजाबेथ हलमा पुगेपछि कारको गति कम गरे । त्यहाँ माइकको पोस्टर टाँगिएको थियो । कन्सर्टका लागि मानिसको भीड जम्मा हुँदै थियो । यति बेलासम्म पनि माइक स्टेजमा जान नसक्ने कुरा गर्दै थिए । त्यसपछि रिचर्डले कार रोकेर  भने, ‘तिमी कार कुदाउन चाहन्छौ ?’ माइक ड्राइभर सिटमा बसे । यसपछि उनले वेस्टमिनिस्टर ब्रिज हुँदै ब्रेजवाटर रोडतिर कार मोडे । केही क्षणपछि कार एउटा चर्च नजिकै रोकियो । त्यो त्यही ठाउँ थियो, जहाँ रिचर्डले पहिला ‘स्टुडेन्ट’ म्यागेजिन सम्पादन गर्थे ।

रिचर्डले भने, ‘माइक तिमी यो कार उपहारको रुपमा लिन चाहन्छौ ?’
माइकले अचम्म माने र भने, ‘यो कार त तिम्रो बिहेको उपहार हो । म कसरी लिन सक्छु ?’
रिचर्डले प्रस्ट पार्दै भने, ‘तिमीले यो उपहार पाउन एउटा काम गर्नुपर्ने हुन्छ । तिमी बेलुका क्विन एलिजावेथ हलमा गएर निर्धक्क साथ स्टेज प्रस्तुति देऊ अनि यो कार तिम्रो हुने छ ।’ एक छिनको मौनतापछि माइक सर्त मान्न राजी भए ।

रिचर्डले आफ्नो बेन्टले कार माइकलाई उपहार दिएको कुरा आफ्नी पत्नी र आमा–बुबालाई भनेका थिएनन् । परिवारलाई कुनै आपत्ति नहुने कुरामा उनी विश्वस्त थिए । त्यतिबेला माइकलाई स्टेजमा उभ्याउनु कारको मूल्यभन्दा महङ्खवपूर्ण थियो । माइकको प्रस्तुतिले एल्बम सेल्समा ठूलो योगदान पुग्ने र उनी सफल भए आफू कुनै पनि ब्रान्डको कार खरिद गर्न सक्ने हैसियतमा पुग्ने कुरामा रिचर्ड  ढुक्क थिए ।

कन्सर्ट सफलतापूर्वक सम्पन्न भयो । उपस्थित सबैले प्रस्तुति रुचाए । संगीतले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । कन्सर्ट चलुञ्जेल चुइँक्क आवाज सुनिएन । प्रस्तुतिको अन्त्यमा सबैले उभिएर बबाल प्रस्तुतिका लागि थपडी बजाएर स्वागत गरे । त्यही रात सयौं एल्बम बिक्री भयो । उपस्थित दर्शकको उत्साहप्रद प्रतिक्रिया र एल्बम किन्न मान्छेको भीड देखेर माइक चकित परे । उनी पे्रससामु बोल्न लजाउनुका साथै डराएका पनि थिए । प्रस्तुतिपश्चात उनले आफू बलात्कृत भएको भनी आफ्नो अनुभूति दिए । उनी उपहारस्वरुप पाएको बेन्टले कार लिएर त्यहाँबाट गायब भए । त्यसपछि उनी धेरै वर्षसम्म स्टेजमा जान अस्वीकार गरिरहे ।

कन्र्सट पछि ‘वर्ड अफ माउथ’ फैलियो । १४ जुलाईमा एल्बम चार्टको २३ नम्बरमा पुग्न सफल भयो । अगस्ट महिनामा त एल्बमले प्रथम स्थान नै ओगट्न सफल भयो । ‘ट्युबलर बेल्स’ एल्बम १३ लाखभन्दा बढी बिक्री हुन सफल भयो । सन् १९७४ मा यस एल्बमले बेस्ट इन्स्ट्रुमेन्टल कम्पोजिसन विधामा ग्रामी अवार्ड पाउन सफल भयो ।  एल्बमको व्यावसायिक सफलताले भर्जिन गु्रप अझ बढाउन ठूलो भूमिका खेल्यो । भर्जिन कम्पनी मात्र हैन माइक पनि एउटा ठूलो ब्रान्डको रुपमा स्थापित हुन पुगे । त्यसपछिको १५ वर्षसम्म उनले जति पनि नयाँ एल्बम रिलिज गरे, सबै टप टेनमा परे । यसरी रिचर्डले अरुलाई पनि बनाए, आफू पनि बने । 

जो आफू मात्र बन्छ, ऊ लामो दौडमा परसम्म पुग्न सक्तैन । जो अरुलाई बनाउँदै आफू पनि बन्छ, उसको सम्भावना निकै लामो धावक बन्ने हुन्छ । सम्भावना बोकेकालाई जोड बल गरौँ, सहयोग गरौँ, उनीहरुलाई हुर्काऔँ । उनीहरुले हामीलाई पछि बनाउँछन्, हुर्काउँछन् र हामीलाई सहयोग गर्छन् ।
 

Leave A Comment