भत्कदै परिवार

शुक्रबार, २१ मङि्सर २०७५, ०३ : ५८ पुष्पा थपलिया
भत्कदै परिवार

दुई वर्षअघि प्रेमविवाह गरेका काठमाडौं बौद्धका २० वर्षीय अमृत र १७ वर्षीया अमृता (परिवर्तित नाम) अहिले सम्बन्ध विच्छेदको लागि काठमाडौं जिल्ला अदालत धाइरहेका छन् । परिवारको असहमति भए पनि दुवैले सँगै जिउने कसम खाँदै विवाह गरेका थिए  तर सम्बन्ध २ वर्षमै तीतो भयो ।

यो जोडी त्यत्ति सहजै जोडिएको थिएन । एकले अर्कालाई नपाउने शंका बढेसँगै आत्महत्याको प्रयाससमेत गरेका थिए ।

नौ कक्षामा पढ्दै गर्दा नै अमृताको भेट अमृतसँग भएको थियो । सुरुमा अमृताले खासै वास्ता गरिनन् तर अमृतले पिछा छोडेनन् । अमृता नपाए मर्छु भनेर उनले तीनतले घरको छतबाट समेत हामफाले । संयोगवश उनी घाइते मात्रै भए ।

बिस्तारै अमृतालाई अमृत मन पर्न थाल्यो । परिवारले दुवै जनाको सम्बन्ध चाल पाए । अमृत बाहुन परे, अमृता दलित समुदायकी । परिवार अवरोध बन्यो । अमृताले विष पिएर झण्डै आत्महत्या गरिन् तर ज्यान जोगियो । यत्ति हुँदा पनि परिवार नमानेपछि दुवैले भागेर विवाह गरे ।

समयक्रममा दुवैको सम्बन्ध तिक्त हुन थाल्यो । केटाले अनेक शंका गर्न थालेको आरोप अमृताको थियो । अन्य युवतीसँगको अमृतको सम्बन्धको खुलासा पनि हुन थाल्यो । श्रीमान् कुटपिटमै उत्रिएपछि अमृता छुट्टिने निर्णयमा पुगिन् र यसरी फिल्मी शैलीमा सुरु भएको प्रेम दुई वर्ष नपुग्दै दर्दनाक रुपमा अन्त्यसमेत भयो ।

यो त भयो कच्चा उमेरमा विवाह गर्दाको परिणाम । उमेर पुगेरै सहमतिमा विवाह गर्नेहरु पनि सम्बन्ध टुटाउन अदालत धाउनेहरुको संख्या पनि कम छैन । यस्तै एक जोडी भेटियो काठमाडौं जिल्ला अदालतमा ।
काठमाडौं कोटेश्वरकी ३० वर्षीया मीनकुमारी (परिवर्तित नाम)  श्रीमान्सँग सम्बन्ध विच्छेद गर्न अदालत आइरहेकी थिइन् । उनले १५ वर्षको उमेरमा विवाह गरेकी थिइन् । १५ वर्ष वैवाहिक जीवन राम्रै चल्यो । श्रीमान नशामा रमाउन थालेपछि सहन सकिनन् र कानुनी रुपमै छुट्टिने निर्णयमा पुगिन् ।

‘उसको बानी सुधार्न निकै कोसिस गरें,’ उनले भनिन्, ‘सुधारगृहमा समेत लगेर राखेँ तर ऊ सुध्रिएन ।’ 
मनकुमारीका दुई छोरा छन् । छोराहरु हुर्कंदै जाँदा बाबुकै बाटोमा हिँड्लान् भन्ने चिन्तासमेत रहेछ उनमा ।
सम्बन्ध विच्छेदको मूल कारण घरेलु हिंसाको सिकार वा श्रीमान्ले अर्को विवाह गर्नु देखिएको अधिवक्ता आरसी गौतम बताउँछन् ।

यसैगरी श्रीमान् वैदेशिक रोजगारीबाट फर्किएर आउँदा श्रीमतीको मन अन्तै साटिएका कारणसमेत सम्बन्ध विच्छेदका मुद्दा बढिरहेको उनले बताए ।

पुरुषका पनि निवेदन 
पहिले सम्बन्ध विच्छेदका लागि अदालत आउनेमा महिलाको संख्या बढी थियो । पुरुषको संख्या नगन्य । कारण, कानुन महिलामैत्री थियो । श्रीमती राजी नभएसम्म जति गरे पनि सम्बन्ध विच्छेद हुन नसक्ने अवस्था थियो । मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै मुलुकी संहिता आएलगत्तै पुरुषले पनि सम्बन्ध विच्छेद गर्न सक्ने कानुनी दायरा फराकिलो बन्यो । यससँगै सम्बन्ध टुटाउन अदालत आउने पुरुषको संख्या ह्वात्तै बढ्यो ।

भदौ १ पछि पुरुषले सम्बन्ध विच्छेदको निवेदन दिनेक्रम बढेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार होम शर्मा बताउँछन् । उनका अनुसार पहिलाको तुलनामा निवेदन दिने पुरुषको संख्या १५ प्रतिशत बढेको छ ।

बिहेको एक महिनामै मुद्दा 
श्रेस्तेदार शर्माका अनुसार नियमित रूपमा आउने सम्बन्ध विच्छेदका मुद्दामध्ये कतिपय त विवाहको पहिलो महिनामा नै समेत आउने गरेका छन् । यस्तो मुद्दा देख्दा अचम्म लाग्ने उनले बताए ।
किशोरावस्थामा हतारिएर विवाह गर्नेहरू कतिपयले विवाहको एक महिनामै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्ने गरेको शर्माले बताए । 

सम्बन्ध विच्छेदका लागि आउनेमा धेरैे कम उमेरमा परिवारको सहमतिबेगर विवाह गरेका जोडीको संख्या बढी रहेको श्रेस्तेदार शर्मा बताउँछन् । 

वैदेशिक रोजगारको प्रभाव
वैदेशिक रोजगारमा गएकाहरू पनि सम्बन्ध विच्छेदका लागि तुलनात्मक रूपमा बढी आएको पाइन्छ । विदेश दुई वर्ष बस्ने, छुट्टिमा घर आउँदा बिहे गर्ने र फेरि दुई वर्षपछि फर्किएर डिभोर्स गर्नेको संख्या बढिरहेको अधिवक्ता राजेन्द्र शर्माले बताए । 

उनका अनुसार, छोटो समयमै श्रीमान्बाट छुट्टिँदा उनीहरुको मन अन्तै साटिने र श्रीमान्अगाडि नै बिहे गर्ने चलन बढेको छ । 

महिनामै सयौं सम्बन्ध विच्छेद
अदालतको तथ्यांक अनुसार हरेक वर्ष सम्बन्ध विच्छेदका घटना बढिरहेको छ । सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन अनुसार, गएको १ वर्षमा १२ हजार ४ सय ३७ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । जसमा ९ हजार ७ वटा फैसला भए । 

सम्बन्ध विच्छेदको मुद्दा दर्ता हुनेमा मागी विवाह गर्ने भन्दा  प्रेम विवाह गर्नेको संख्या बढी रहेको अदालतको तथ्यांकमा छ । काठमाडौं जिल्ला अदालतका अनुसार पछिल्लो १ वर्षको अवधिमा सम्बन्ध विच्छेद भएका ९ सय मुद्दामध्ये ५२ जना मात्रै सगोल परिवारमा बसेका छन् । 

सम्बन्ध विच्छेद गर्नै झन्झट
श्रीमान्–श्रीमतीको मन डिभोर्स गर्नमा सहमत छ, सबै कुरा पनि मिलिसकेको छ तर डिभोर्सको प्रक्रिया देख्दा चित्त दुखेको बताउँछिन्, अदालतमै भेटिएकी सोनु केसी । 

‘म र मेरो श्रीमान्को सहमतिमै डिभोर्स हुन लागेको हो । हामी छुट्टिन चाहन्छौं र नयाँ जीवन सुरु गर्न पनि रेडी छौं,’ उनले भनिन्, ‘तर हाम्रो मन नमिलेका कारण मात्रै छुट्टिन पाउँदैनौं रे !’ 

सोनुका अनुसार दुवैबीच त्यस्तो ठूलो समस्या आएको हैन । केवल मन अन्तै साटियो । उनको मन अफिसमा सँगै काम गर्नेसँग साटियो । श्रीमान्को मन पनि अन्तै पुगेछ । त्यसैले दुवै सम्बन्ध तोड्न राजी भए ।

तर डिभोर्स गर्ने बेलाको कागजमा खान नदिएको, शारीरिक तथा मानसिक यातना दिएको आदिआदि भनेर लेखिदिने गरेको देखेपछि उनलाई चित्त बुझेन । 

‘विवाहपछि श्रीमान्ले कुनै दुःख दिएका छैनन् तर मन अन्तै साटियो, अब सँगै के बस्नु ?’ उनले भनिन्, ‘मन मिलेन तर  हुँदै नभएको यातना दिए, खान लाउन दिएनन् भनेर कसरी भन्नु ?’
 

Leave A Comment