निर्देशकविहीन फिल्म, हिरोइनको आरोपः पैसा खाएर भाग्यो

बिहिबार, २४ माघ २०७५, ०६ : ०३ भोला अधिकारी
निर्देशकविहीन फिल्म, हिरोइनको आरोपः पैसा खाएर भाग्यो

निर्देशक बिनाको पनि फिल्म हुन्छ र ? सामान्य दर्शकले पनि भन्न सक्छ, ‘हुँदैन ।’ तर अहिले नेपाली फिल्म जगतमा एउटा फिल्म निर्देशकविहीन देखिएको छ । त्यो हो, अभिनेत्री दीपशिखा खड्काले निर्माण गरेको फिल्म ‘प्रेमलीला’ । यो फिल्मको गीत र ट्रेलर कतै पनि निर्देशकको नाम देखिँदैन । 

किन थाहा छ ? किनभने यस फिल्मका लागि निर्देशक भनेर अनुबन्धित भएका फिल्म निर्देशक जनक पाण्डे सुटिङको बीचैमा निर्देशनको जिम्मेवारीबाट बाहिरिए । अहिले हिरोइन–निर्देशक बीचको यो लफडा फिल्म क्षेत्रमा छताछुल्ल भइसकेको छ । दीपशिखा स्वयम्ले स्टाटस लेखेर निर्देशक फिल्मबाट बाहिरिनुको कारण खुलाएकी छन् । 

किन बाहिरिए निर्देशक ? 
कुनै समय अभिनेत्री खड्का र निर्देशक पाण्डे अत्यन्तै मिल्ने साथी थिए । यतिसम्म कि दीपशिखा जनकको डेरासम्म आउनेजाने गर्थिन् । यही क्रममा उनीहरुबीच फिल्म बनाउने कुरा भयो– ‘प्रेमलीला’ । दीपशिखाको दाबीलाई मान्ने हो भने दुवैले आधाआधा पैसा हाल्ने सहमति भयो । त्यही सहमतिअनुरुप फिल्मको सुटिङ सुरु भयो । 

‘मैले कलाकारको पेमेन्ट उहाँलाई पहिले नै दिइसकेकी थिएँ तर उहाँले कलाकारलाई दिनु भएनछ,’ अभिनेत्री खड्काको आरोप छ, ‘काम गर्ने क्रममा कलाकारले आफ्नो पारिश्रमिक माग्न थाले । मैले कसैले पैसा पाएको छैन भन्ने गुनासो गरेका छन् त भन्ने सोध्दा उहाँले हुन्छ म दिन्छु भन्नुभयो तर कसैलाई दिनुभएन । त्यसपछि मैले पैसाको हिसाब मागेँ । पैसाको हिसाब माग्दा उहाँले निकाल्न सक्नुभएन । हिसाब निकाल्न नसकेपछि म एक्लै भएँ । उहाँ फिल्म छाडेर जानुभयो ।’ 

पाण्डे फिल्मबाट बाहिरिएपछि दुई महिना फिल्मको सुटिङ रोकिएको थियो । ‘त्यसपछि मैले आफैँ सबै समस्या ह्यान्डिल गरेर सुटिङ सकेँ,’ दीपशिखा भन्छिन्, ‘बारम्बार मैले निर्देशक र उनकी श्रीमतीलाई फोन गर्दा पनि फोन नउठाएपछि मैले म्यासेज गरेकी थिएँ । उहाँ बस्ने फ्लाटमा पोस्ट प्रोडक्सन हुँदादेखि नै गएकी थिएँ । पटक–पटक जाँदा ढोेकामा ताल्चा लागेको थियो । ताल्चा धेरै समयसम्म लाएको देखेपछि मैले त्यहाँ वरपर सोध्दा डेढ महिनाअघि नै डेरा सरेको पाएँ । अहिले उहाँ कता हुनुहुन्छ अत्तोपत्तो छैन ।’

लामो समय सम्पर्कमा नआएपछि दीपशिखाले निर्देशककी श्रीमतीलाई पुलिस केस गर्ने चेतावनीसहित म्यासेज पठाइछिन् । ‘त्यसपछि उहाँले हैसियतको कुरा गर्दै अनेकथरी लेखेर म्यासेज पठाउनुभयो । अनि अति भएपछि फेसबुकमा स्टाटस लेखेकी हुँ,’ दीपशिखाको भनाइ छ । 

दीपशिखाले जनकलाई निकालेको भन्दा पनि आफैँ छाडेर गएको बताएकी छन् तर उनी निकटस्थ श्रोतको दाबी छ, दीपशिखाले जनकलाई ‘लात’ हानेर फिल्मको जिम्मेवारीबाट निकालेकी हुन् । फिल्मको कुनै पनि सामग्रीमा उनको नाम नदेखिनुले प्रस्ट पार्छ, उनी निकालिएकै हुन् । फिल्मको सामग्रीमा निर्देशकको नाम नराखिए पनि मौखिक रुपमा दीपशिखा फिल्मको निर्देशक आफैँ भएको प्रतिक्रिया दिँदै हिँडिरहेकी छन् । 

लफडामा तानिइन् निर्देशककी श्रीमती 
दीपशिखा र निर्देशकको यो झगडामा यतिबेला निर्देशककी श्रीमती पनि तानिएकी छन् । दीपशिखा स्वयम्ले अघिल्लो साता फेसबुकमा एक आक्रोशपूर्ण स्टाटस लेख्दै निर्देशक श्रीमतीको भनाई राखेकी छन् । ‘पैसा नहुनेले किन फिल्म बनाको त ?’

भन्दै जनककी श्रीमतीले आफूमाथि प्रश्न गरेको उनको स्टाटसमा उल्लेख छ । ‘मेरो टिमको सबैलाई जानकारी छ जनक पाण्डे आफूले पनि लगानी गर्ने शर्तमा फिल्म गरेको हो । सुटिङको क्रममा एक रुपैयाँ पनि निकाल्न नसकेर उल्टै मबाट लिएको पैसाको पनि हिसाब किताब देखाउन नसकी भागेको हो,’ उनले स्टाटसमा उल्लेख गरेकी छन्,  ‘मैले बारबार फोन सम्पर्क गरेँ, फेसबुकमा म्यासेज गरेँ कुनै जवाफ आएन । त्यसपछि रिसले गाली गरेर म्यासेज गरेँ, पुलिस केस गर्ने धम्की दिएँ तर पनि केही सीप लागेन । अन्तिममा मेरी दिदीले १५ लाख दिनुभयो । त्यतिले पनि नपुगेपछि मैले आफ्नो सुन र गाडी बेचेर सुटिङ सकेँ ।’

उनले आफू विवश भएका कारण यस्तो गर्नुपरेको फेसबुकमा लेखेकी छन् । निर्देशककी श्रीमतीतर्फ इंगित गर्दै उनले भनेकी छन्, ‘घरमा पैसा माग्न सकिनँ तर मैले इज्जत फालिनँ । कसैको पैसा खाइनँ । फिल्मलाई पूर्ण रुप दिएँ । अझै २०÷२२ लाखको खर्च छ । जति सक्छु त्यति गर्छु तर मेरो औकातको कुरा गर्ने हैसियत तिमीहरु जस्तो भिखारीसँग छैन । चेतना भया, जनक पाण्डे !’

दीपशिखाले व्यक्त गरेको यो आक्रोस यतिबेला सर्वत्र चर्चामा छ । उनको यस्तो स्टाटस आएपछि पनि निर्देशक पाण्डे मौन छन् । मिडियाको सम्पर्कमा पनि आउन चाहिरहेका छैनन् । उनी फेसबुकमा पनि एक्टिभ देखिदैनन् । उनी निकटस्थ साथीहरुसँग सम्पर्क गर्दा उनीहरुले पनि आफ्नो सम्पर्कमा नरहेको प्रतिक्रिया दिए । 

यस विषयमा निर्देशकको पाण्डेको प्रतिक्रिया लिन शुक्रवारकर्मीले दिनभरजसो उनको मोबाइलमा फोन डायल गर्यो । तर उनको फोन उठ्न सकेन । 

निर्देशकबिना नै फिल्म रिलिज
दीपशिखाले शुक्रवारसँगको कुराकानीमा आफूले निर्देशकबिना फिल्म चलाउने बताएकी छन् । ‘मैले हराएको निर्देशक कहाँबाट खोजेर ल्याउँ ?’ उनले भनिन्, ‘मैले निर्देशकलाई कति पटक खोजिसके बेपत्ता नै भएपछि मेरो केही सीप लागेन । मैले मेरो ग्रुपको नाम फाइजिल फिल्मस् प्रोडक्सनलाई नै निर्देशक बनाउने सोचेकी छु । सेन्सरको लागि मैले यसरी नै कुरा गरेकी छु ।’ 
उनले फिल्म निर्देशकका कारणभन्दा पनि कलाकारको अभिनय र मेकिङका कारण चल्ने बताइन् । ‘जसरी पनि सेन्सर पास गराएर फिल्म त चलाउनु पर्ने नै छ,’ उनले भनिन्, ‘अब निर्देशक नै नभए पनि फिल्म रोकिन्छ भन्ने मलाई लाग्दैन ।’
 

Leave A Comment