कर्पोरेट टिप्स : २५ वर्षीय सिइओको सफलताको ९ सूत्र

शुक्रबार, २७ बैशाख २०७६, ०४ : ४४ शुक्रवार
कर्पोरेट टिप्स : २५ वर्षीय सिइओको सफलताको ९ सूत्र

चार वर्षको विद्यालय शिक्षा बाँकी रहँदै १८ वर्षको उमेरमै ब्रायन ओगंले कलेजको अध्ययन सकाए । र उनले साथीहरुसँग मिलेर कम्पनी खोले । उनको कम्पनीको सुरुवातमै ३२ मिलियनभन्दा बढी अर्थात् करिब पौने ४ अर्ब नेपाली रुपैयाँ बराबरको कोषको पु‌ंजी निर्माण भयो । म्याक डोनाल्ड्स र पेप्सीजस्ता कम्पनी लगायतका ग्राहकको ताँती लाग्न थाल्यो ।

यतिखेर उनै पच्चिस वर्षीय युवा कार्यकारी प्रमुख तथा ‘कीप’ नामक मोबाइल विज्ञापन एपका सहसंस्थापक सफलताको शिखरमा छन् । उनले अन्यलाई पनि सफलताको बाटो हिँड्न केही सूत्र बताए । उनले आफ्नो पुस्तक ‘द चिट कोड’ मा सफल हुने ७० उपाय सुझाए । जसमध्ये महत्वपूर्ण ८ सुझाव यहाँ उल्लेख छ ।

१. कामको वर्गीकरण गर्न सिक्नुस्
व्यक्तिगत समस्या तथा तनाव छ भने यसलाई घरमै मात्र सीमित गरिदिनुपर्छ । आफ्नो ब्याइफ्रेन्डले धोका दियो, क्रेडिट कार्ड चोरी भयो, मिल्ने साथीका कारण नै ब्याइफेन्डसँगको सम्बन्ध टुट्यो भने पनि यसको असर आफ्नो काममा पर्न दिनुहुन्न । यस्तो व्यवहार गर्नु ताकि यो घटना भएकै थिएन । 

२. भय मुक्त
‘डर तथा भयसँग विनाहिचकिचाहट जुध्न सकेमा उत्कृष्ट बन्न सकिन्छ । के गर्न सकिन्न भन्ने चिन्तै लिनुहुन्न । जे प्राप्त भएको छ त्यसको उचित कदर गर्दै अगाडि बढ्नुपर्छ ।
यदि एउटा अत्यन्तै महŒवपूर्ण बैठक या अन्तर्वार्तामा भाग लिँदै हो भने के गर्ने ? ओगं सुझाउँछन्, ‘सबैभन्दा नराम्रो अन्तर्वार्ता भए के हुन सक्छ भनेर केही समय घोरिनुहोस् ।’

३. असल चरित्रमा ध्यान 
व्यवसाय भनेको नितान्त व्यक्तिगत हुन्छ । लक्ष्यले व्यक्तिलाई यस्तो प्रभाव पार्नुपर्छ कि उनीहरु योजनामा भन्दा पनि व्यक्तिमा लगानी गर्न चाहोस् । 

४. सबल पक्षबारे जानकारी 
व्यक्ति को हो र जीवनमा के गर्छन् भन्ने कुरो ठूलो होइन । व्यक्ति आफ्ना लागि सर्वशक्तिमान हुन्छन् । र त्यसबाट नै आफूले अरुले भन्दा धेरै राम्रो गर्न सकिन्छ । यदि व्यक्तिले आफ्नो कार्यक्षमताको प्रयोग गर्दैनन् भने प्रगति हुन गाह्रो हुन्छ । 
ओगं सुझाउँछन् ‘केही समय घोत्लिनुहोस् र पहिचान गर्नुस् कि तपाईं के कुरामा अब्बल हुनुहुन्छ या तपाईं आफ्नो नजिकको साथीसँग पनि यसबारे छलफल गर्न सक्नुहुन्छ ।’

५. अलग राख्ने कोसिस 
अनावश्यक ईमेल, सन्देश या सामाजिक सञ्जालमा व्यक्त हुने कतिपय पोष्ट, टिप्पणी तथा धारणाले समस्या पार्छ । यो बुझ्न आवश्यक छ । बुझे हुन्छ यस्तो समस्यामा पर्ने कोही एक्लो हुन्न । 
त्यस्ता धेरै अनावश्यक जानकारीले क्षणिक स्मरण शक्तिमा ह्रास, उच्च मानसिक तनाव या खराब स्वास्थ्यलगायतका समस्या निम्ताइरहेको हुन्छ । जति बेला पनि सबैसँग सम्पर्कमा रहिरहनुपर्छ भन्ने हुँदैन । आफ्नो कामको समयमा उनीहरुबाट अलग्गै रहनुपर्छ । 

६. अरुसँग तुलना नगर्ने
आफूभन्दा उपल्लो तह या पदको मानिससँग आफूलाई तुलना गर्ने बानी छ भने त्यो राम्रो हैन । यो बानी समयको बर्बादी मात्रै हो । त्यसमा हार निश्चित छ र पराजित मानसिकताको दलदलमा फस्ने पक्का छ । त्यसको साटो आफूलाई कसरी सुधार्ने भन्नेमा आफ्नो ध्यानकेन्द्रित गर्नुपर्छ । दिनदिनै राम्रो बन्न सके जिन्दगीको दौडमा सफलता निश्चित छ । 

७. आफूलाई उत्कृष्ट व्यक्तिको रुपमा उभ्याउन कोसिस 
आफ्नै कतिपय कुरा मन परे पनि, नपरे पनि आफूलाई कसरी प्रस्तुत गर्ने गरिन्छ भन्ने कुराले ठूलो अर्थ राख्छ । ब्राण्डको प्रस्तुतिअनुसार जस्तो देखिन्छ या यसले अनुभूति गराउँछ, त्यतिकै मात्रामा यो राम्रो हुन जरुरी छ । कसरी आफ्नो ब्रान्डलाई प्रस्तुत गर्न सकिन्छ भन्ने कुराले मात्रै हुँदैन । यसका लागि यसबारे कत्तिको संवेदनशील हुने र हाकिमसँग आफ्नो काम कसरी प्रस्तुत गर्ने भन्ने कुराको ठूलो महत्व हुन्छ । 

८. बाहिरी संसारको बारेमा बुझ्ने
सधै‌ कम्प्युटरको स्क्रिनमा बसेर संसार र माहोल बुझ्न नसकिने भएकाले त्यसबाट बाहिर निस्कनै पर्छ । विभिन्न व्यक्तिलाई भेटेर नयाँ अनुभव बटुल्नुको विकल्प छैन । आफ्नै गुणमा सहज तरिकाले बस्न त पक्कै सहज होला । तर दुनियाँ बुझ्नका लागि बाहिरको यात्रा गर्नैपर्छ । जब बाहिर निस्किन्छ नि, तब संसारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ र सँगै चेतनाको स्तर उकासिन्छ ।

 ९. संग्रहालयको भ्रमण 
जीवन र भविष्यबारे अभिप्रेरित हुन कला र इतिहासबारे जानकारी राख्नैपर्छ । मानव जातिको सबैभन्दा ठूलो सम्पत्ति नै संग्रहालय हो । तिनीहरु मानव जातिको महानता र गहिराइसम्मको अध्ययन गर्नका लागि नै निर्माण गरिएको हुन्छ । 
उनी भन्छन्, ‘तपाईंले पनि भ्रमण गर्नु भयो भने यसबाट निकै प्रेरणा लिन सक्नुहुनेछ ।’
अनुवाद : जनक मगर

Leave A Comment