सफलताको मापक अरुको खुसी

शुक्रबार, ०६ असार २०७६, ०६ : ३३ शुक्रवार
सफलताको मापक अरुको खुसी

गुल्मी जिल्लाको रूरू गाउँपालिका वडा नं १ मा जन्मिएका सुधन ज्ञवाली मोटिभेटर हुन् । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेका ज्ञवाली विभिन्न सञ्चार माध्यममा काम गर्दै अहिले ‘मोटिभेसन क्लास’ लिन मुलुकका विभिन्न जिल्ला र विदेश पनि पुग्छन् । उनले मुलुकका ७५ जिल्ला र २० भन्दा बढी देश पुगेर सयौं मोटिभेसन क्लास लिइसकेका छन् । मानिसहरुमा नैराश्यता आइरहेका बेला कसरी सकारात्मक भाव जगाउन सकिन्छ त ? ज्ञवालीको अनुभवलगायतका विषयमा शुक्रवार साप्ताहिकका लागि गरिएको कुराकानी :

यहाँको करिअर सुरुवात कसरी भयो ?
विद्यालय तहमा बोल्ने वक्तृत्वकलामा भाग लिने हुनाले मलाई रेडियोमा कार्यक्रम चलाउन उत्सुकता थियो । बुटवलको न्यू होराइजन उच्च माविमा प्लस टु को परीक्षा दिएर बसेको थिएँ । त्यो खाली समयमा बुटवल एफएममा काम सुरु गरेँ । त्यसपछि मिडियामा करिअर बनाउँदै रेडियो नेपाललगायत टेलिभिजनमा पनि काम गरेँ । त्यसपछि क्रमशः मिडियासँगै मोटिभेसन क्लास लिने काम अघि बढाएँ ।

कसरी मिडिया र मोटिभेटरको रुपमा काम गर्न आउनु भयो ?
मिडिया पर्सन वा मोटिभेटर नै बन्छु भन्ने त थिएन । विद्यालय तहमा पनि बोल्न असाध्यै मन पथ्र्यो । २०४८ सालको चुनावताका नेताको भाषणबाट म प्रभावित भएको थिएँ । त्यतिबेला तत्कालीन नेकपा मालेका महासचिव मदन भण्डारी गुल्मी जानु भएको थियो । उहाँले बोल्दा माइक्रोफोन समाएपछि बोली भित्रबाट आफैँ आउँछ कि जस्तो लाग्थ्यो । म पनि बोल्न पाएँ भनेर उत्सुक हुन्थँे । यत्रो जनतालाई मोटिभेसन गरेर ताली पाउन पाए भनेर माइक्रो फोनप्रतिको मोह त्यति बेलादेखि नै थियो । त्यही भएर रेडियोबाट बोल्न इच्छा जाहेर भएको थियो ।

अहिले केमा व्यस्त हुनुहुन्छ ?
मोटिभेसन क्लास लिन्छु । स्टाफ कलेज जाउलाखेल, सशस्त्र प्रहरी स्टाफ कलेज, कर्पोरेट क्षेत्रका बैंक, इन्सोरेन्स, व्यावसायिक घराना, नेपाल पुलिस एकेडेमीलगायतका विभिन्न ठाउँ, मुलुकका विभिन्न जिल्ला र विदेशमा पनि इथिक्स, इन्टिग्रिटी, मोटिभेसनल क्लासहरु लिँदै आएको छु । अहिले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीज्यूको स्वकीय प्रेस विज्ञको रुपमा पनि काम गर्छु ।

यहाँले देश÷विदेशमा मोटिभेसन क्लास लिइरहनु भएको छ ? यो क्षेत्रमा आउने प्रेरणा कसरी जाग्यो ?
कुनै योजनाले यो क्षेत्रमा प्रवेश गरेको होइन । मिडिया क्षेत्रमा काम गर्दा वाक कला बढ्दै गयो । बुटवल एफएमपछि रेडियो नेपालमा आएर डेस्क एडिटरको रुपमा काम गरेँ । त्यसले अवसर सिर्जना भयो । सबैले तेरो आवाज राम्रो क्लियर छ भनेर हौसला दिनुहुन्थ्यो । सबैले सुनेको प्रविण गिरी, गोपाल बस्नेत, कोमल वली जस्ता धेरै व्यक्तिहरुको आवाजबाट म प्रभावित थिएँ । त्यसपछि तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीसँग प्रेस कोअर्डिनेटरको भूमिकामा काम गर्ने अवसर पाएँ । उहाँसँग काम गर्दा विकास साझेदार विश्व स्वास्थ्य संगठनसँग काम गर्ने अवसर मिल्यो ।

 डब्लुएचओ, युनिसेफलगायतका संस्थाले मोटिभेसन र विल पावर ठूलो कुरा हो । यसले जित्न सक्छ भन्दा रैछन् । जब मोटिभेटरका केही क्लास लिएँ । मलाई पनि यो क्षेत्रमा लाग्नुपर्छ भन्ने प्रेरणा आयो । सधैँभरि एउटा कोठामा बसेर अन्तर्वार्ता लिएको र समाचार पढेको मान्छेलाई दर्शकसँग साक्षात्कार गरेर मोटिभेसन गर्न आनन्द आयो । त्यसपछि मोटिभेसनका लागि अध्ययन गर्ने, मोटिभेसन स्पिच हेर्ने, मोटिभेसन बुकहरु अध्ययन गरेँ । सफल व्यवसायी, राजनीतिज्ञको जीवनी र सफलताका कथा पढेँ । नेसनल मण्डेलादेखि महाथिर मोहम्मद, लिकवानदेखि बाराक ओबामाका कथा, स्टिभ जब्सदेखि विलग्रेटका सफलता, कर्पोरेट क्षेत्रमा प्रभुत्व जमाएका मान्छेको स्टोरी र स्पिचबाट सिकेर मान्छेलाई मोटिभेट गर्न सकिन्छ भन्ने प्रेरणा जाग्यो ।

मोटिभेसन कसरी गर्ने त ?
हरेक व्यक्तिलाई सकारात्मक बन्नुपर्छ भन्ने थाहा हुन्छ । सानो हुँदादेखि नै स्कुलमा नैतिक शिक्षा पढाइन्छ । अरुलाई राम्रो गर । ठूलो मान्छेलाई आदार गर । सानालाई माया गर । तिमी नैतिकवान् बन भनेर किताबमा पढ्यौ । तर, कसरी नैतिकवान् बन्ने भन्ने ध्यान दिएनौं । कहाँबाट बन्ने भनेर प्रयोगमा ल्याएनौं । जब मान्छेलाई अनुभूति दिलाउन सकिन्छ । त्यहाँबाट मोटिभेसन सुरु हुन्छ । मैले कसैलाई सहयोग गर्न पाएँ भने मेरो कारणले कसैलाई राम्रो भयो वा तपाईंको कारण यस्तो भयो भनेर कसैले तारिफ ग¥यो भने त्यो दिनको आनन्द फरक हुन्छ । तपाईंलाई सेवा वा सहयोग गरेका कुराले प्रशन्नता अनुभूति हुन्छ । कसैलाई कुनै चिन्ताबाट बाहिर निकाल्नु, काममा सघाउनु, कुनै संस्थामा काम गर्दा त्यो संस्थामाथि उठ्यो भने व्यक्तिगत जीवनमा कसरी फाइदा हुन्छ, यी यावत् विषयमा प्रशिक्षण दिएर, सेन्सेटाइज गरेर सम्बन्धित व्यक्तिलाई अनुभूति दिलाएर बानी, व्यवहार, आचरण, सोच्ने शैलीमा परिवर्तन ल्याएर मोटिभेसन गरिन्छ ।  

यहाँले व्यावसायिक क्षेत्रमा मोटिभेसन क्लास लिँदै आउनुभएको, यसले व्यावसायिक सफलतामा टेवा पुर्याएको छ त ?
सबैभन्दा पहिलो कुरा व्यावसायिक सफलताका लागि आफ्ना सेवाग्राही र कस्टुमरले के चाहन्छ भन्ने कुरा बुझ्नु जरुरी छ । दोस्रो, आफूले काम गर्ने संस्थाको ग्रोथ हुँदा के फाइदा हुन्छ भनेर सोच्नुपर्छ । मानौं तपाईं बैंकको जागिरे हो । जागिरे भएर होइन, बैंकमा लाइन लागेर कस्टुमर भएर हेर्नुहोस् । तपाईं कष्टुमर भएर सेवा लिँदा जे आवश्यकता हुन्छ, तपाईं जागिरे भएर त्यो कष्टुमरलाई जे चाहेको छ त्यो दिन सक्नुभयो भने सफलता मिल्छ । सबै व्यवसायमा यो लागू हुन्छ । 

समाजमा धेरै मानिसहरुमा नैराश्यता देखिन्छ, कसरी सकारात्मक भाव जगाउने छ ?
मान्छेमा नैराश्यता कसरी आयो भन्नेमा हामी जानुपर्छ । सकारात्मक भावमा परिणत गर्नुपर्छ । मान्छे जब निराश हुन्छ, उसले भनेको पाउँदैन । निराश भएपछि गन्तव्यमा पुग्दैन । ‘आफूले चाहेको कुरा प्राप्त गर्न नसकेपछि  कसैको कारण, मेरो भाग्य छैन, मैले जति गरे पनि हुँदैन भन्ने जस्ता विषयले उसमा प्रभाव जमाउँछ । जब उसलाई बुझाउन सकिन्छ । तिमी जीवनको ओनर हौ, मालिक हौ । तिमीले गर्न सक्छौ भनेर उत्साहित गर्नुपर्छ । एउटा ढोका बन्द हुँदा दशतिरका ढोका खुल्ला हुन्छन् । एउटा ढोका मात्र नहेर । एउटा ढोका मात्र हे¥यौ भने तिम्रो जीवन निरस हुन्छ । तर, तिमीले हरेक क्षेत्रका समस्याभित्र सकारात्मक कथा पनि जन्मिएका हुन्छन् । त्यो सकारात्मक विषयलाई समातेर तिमी राम्रो बन्न सक्छौ’ भन्ने यस्ता विभिन्न प्रसंगबाट निराश भएको व्यक्तिलाई सकारात्मक पक्षमा ल्याउन सकिन्छ ।

यहाँको मोटिभेसन क्लासले के प्रभाव पारिरहेको छ त ?
मोटिभेसन क्लासले धेरै मान्छेको जीवनशैली, सोच्ने शैलीमा परिवर्तन आएको छ । डिप्रेसनको सिकार भएका मान्छे ठिक ठाउँमा आएर सहज ढंगले जीवन परिवर्तन गरेका धेरै उदाहरण छन् । धेरैले ऊर्जाको रुपमा लिएर बाहिर निस्केर प्रगति गरेका छन् ।

करिअर बनाउँदै गरेका युवायुवतीलाई यहाँको सुझाव ?
सर्वप्रथम तपाईं निराश वा जीवनका नकारात्मक पक्षलाई बन्द गर्नुहोस् । आशावादी हुनुहोस्, राम्रा कुरालाई आत्मसाथ गर्नुहोस् । तपाईं के गर्न चाहनु हुन्छ ? म केका लागि जन्मिएको हुँ ? म को हुँ ? यी यातव् विषयमा आफूले चिन्तन गर्नुहोस् । जबसम्म आफूलाई चिन्नुहुन्न निरन्तर लागिरहनुहोस् । तपाईंले पनि यस्तो सपना निर्माण गर्नुहोस् । जसले निद्राहरुलाई अल्छी, थकान, कमजोरीलाई गौण विषय बनाएर त्यसमाथि विजय गर्न सकोस् । एउटा गन्तव्य पहिचान गरेर सपना देखेर लक्ष्य लिएर अघि बढ्यो भने युवा पुस्ताले धेरै गर्न सक्छ । जबसम्म गरिँदैन तबसम्म असम्भव जस्तै लाग्छ । जब गरिन्छ त्यो सफल हुन्छ । संसारमा असम्भव भन्ने कुरा केही छैन । यस्ता प्रेरणादायी कुरालाई आत्मसात गरेर म आफैँमा सम्भव छु, हर कुरा सम्भब छ । त्यसमा लगन, मिहिनेत र इफोर्ट लगाउनुपर्छ । प्यासन र धैर्यता लिएर उर्जावान् समयलाई सदुपयोग गर्नुपर्छ भन्ने सुझाव छ ।

पेशागत सफलताका लागि के कुरामा ध्यान दिनुपर्छ ?
इमानदारिता सबैभन्दा ठूलो कुरा हो । कुनै पनि कुरामा सम्झौता नगरी इमानदारिता र इन्टीग्रिटीका साथ आफ्नो मर्यादामा रहेर काम गर्नुपर्छ ।  

आर्थिक रुपमा सम्पन्न भएका व्यक्तिको जीवन पनि सफल र सन्तुष्ट देखिँदैन किन ?
हाम्रो समाजको वास्तविक सत्यता त्यो हो । हरेक व्यक्तिले आफ्नो सफलता पद, पैसासँग जोडेर तुलना गरिरहेका छन् । त्यस्तो होइन । उसको सफलता तब मात्र नापिन्छ । उसका कारण कति मान्छे लाभान्वित भए । उसका कारण कति मान्छे सन्तुष्ट छन् ? देश, समाज र परिवारले के पायो ? सकारात्मक ऊर्जा प्राप्त भयो कि ? त्यहाँबाट मापन गर्ने हो भने ती मान्छे निराश हुनुपर्दैन । हामीकहाँ सफलताको मापनले कति पैसा कमाएको छ, कति ठूलो पदमा पुग्यो । जबसम्म यी कुरालाई सफलताको सूत्र मानिन्छ तबसम्म मान्छे सफल हुँदैन । सफलता त्यहाँ हुन्छ, मेरो कारण कति मान्छे हर्षित छन् ।  आफ्नो कारण कतिले पेटभर खान पाए ? कतिले रोजगार पाए ? समाजमा के योगदान पुग्यो ? त्यो दिन बल्ल सफलता नापिन्छ । आफ्ना कारण कसलाई के फाइदा पुग्यो भनेर खोज्यो भने सफलताको परिभाषा भेटिन्छ । 

कस्तो व्यक्तिलाई सफल ठान्नुहुन्छ ?
जसले समाजका लागि परिवर्तनको ठूलो भूमिका निर्वाह गरेको छ । सकारात्मक परिवर्तनमा इँटा थपेको छ । 
सफलताका लागि के आवश्यक हुन्छ ?
‘स्किल र विल पावरले मान्छेलाई सफल बनाउँछ । विल पावर भयो भने स्किल सिक्न सकिन्छ ।  

Leave A Comment