४० पारि, कलेजकाे तयारी

सोमबार, २३ असार २०७६, ०१ : २५ रीना माेक्तान
४० पारि, कलेजकाे तयारी

एसइईको रिजल्ट आएकै दिन अभिनेत्री करिश्मा मानन्धरलाई फोन घुमाइयो। फोन उठाएर सुरुमै भनिन्, ‘फोन तातियो, पछि गर्नुस् है !’ उनको मोबाइल बजेको बज्यै गरेर हैरान भएकी रहिछन्। भोलिपल्ट फोन गर्दा तीन दिनपछि समय मिल्यो। एसइई अनुभव साट्न उनले घरमा बोलाइन्।

सामान्यतः नियमित रुपमा पढ्ने उमेर घर्किएपछि उनले विद्यालय स्तरीय शिक्षा शुरु गरेकी थिइन्। सात कक्षा नपढी पढाई छाडेर फिल्म उद्योगमा छिरेकी उनले फिल्म उद्योगमा व्यस्तता कम हुन थालेपछि कक्षा ८ बाट पुनः पढाइ शुरु गरिन्। त्रिवेणी विद्यालयबाट एसइईमा सहभागी उनले राम्रै अङ्क ल्याएर एसइई उत्तीर्ण भइन्।

उनको गोदावरीस्थित घरमा पुग्दा निकै भिडभाड थियो। उनी खुसी थिइन्। मिडियासँगै शुभेच्छुकहरुबाट घेरिएकी उनले बल्लतल्ल समय निकालिन्, ‘शुक्रवार’सँग एसइई अनुभव बाँड्न। अनुभव उनकै शब्दमाः

रिजल्ट आउने दिन बिहानदेखि कुरिरहेकी थिएँ। रिजल्ट असार १२ मा आउँछ भन्ने हल्ला थियो। बिहानैबाट रिजल्ट कुरेर बसेँ।  रिजल्ट कुर्दा अलि कस्तो–कस्तो तनाव भएको थियो। फेसबुकमा अपडेट भइरहेँ। मोबाइल पनि हेर्दै थिएँ। पास हुन्छु भन्ने पक्का  थियो तैपनि डर त लाग्ने रहेछ।

साथीहरु घरमा आउन थालेपछि थाहा पाइहालेँ, रिजल्ट आएछ। साथी गोविन्द (कोरियोग्राफर गोविन्द राई) मेरो स्कुल त्रिवेणी पब्लिक स्कुलसँग नजिक छ। मैले थाहा पाउनुअघि नै म पास भएँ भनेर उसले थाह पाइसकेको थियो। रिजल्ट थाहा पाएपछि ऊ मेरो घर आयो। सोचेको भन्दा राम्रो नम्बर आएछ।

म निकै खुशी भएँ। घरमा विनोदजी पनि खुशी हुनुभयो। छोरीले पनि फोन गरिन्। उनले त लामो स्टाटस नै लेखेकी थिइन्, एकदम राम्रो ! 

आफूलाई चेपुवामा राखेर एसइईको तयारी कहिल्यै गरिनँ तर तयारीका लागि कुनै कसर छाडेकी थिइनँ। तयारीका लागि एक महिनाअघिदेखि स्कुल जान छाडेँ। प्राक्टिस पेपरबाट गरेँ। त्यो ३० दिनको प्याकेजवाला पेपर हुन्थ्यो। सबै विषयको प्रत्येक दिन अभ्यास गर्थें। इक्जाम दिएपछि रिजल्टको पर्खाइ थियो।

रिजल्ट आएको दिनभर मोबाइलको घण्टी बज्यो। २/३ दिनसम्म पनि घण्टी बजिरह्यो। त्यही दिन जोमसोमदेखि शुभचिन्तकले मलाई फोन गर्नुभयो। मैले राजनीति र सिनेमा क्षेत्रबाट कहिल्यै नचिनेको व्यक्तिले पनि फोन गरेर बधाई दिँदा खुसी लाग्यो। सबैलाई मेरो परीक्षाको चासो रहेछ।

रिजल्ट आएपछि दुई दिनसम्म त पार्टी नै भयो। अब साथीहरुलाई ट्रिट दिन बाँकी छ। मेरा साथीहरु त सबै बच्चा नै भए। उनीहरु सबै मेरा लागि प्रिय छन्। अब मलाई म्यानेज्मेन्ट पढ्ने मन छ। म घर नजिकैको कलेज पढ्ने सोच्दैछु। स्कुल तीन घण्टा ड्राइभ गरेर धाइयो। यसपालि त्यो समय कटौती गर्दैछु। तीन घण्टा ड्राइभ गर्ने समय म अर्को काममा दिन्छु।

पढेर नाटक गरेको भन्थे
पढाइ शुरु गरेपछि मिश्रित प्रतिक्रिया पाएँ। कतिले तिमी एउटा इन्सपिरेसन भयौ भन्नुभयो। कतिपयले पढेर के गर्ने हो र ? किन पढ्नु प-यो पनि भन्नुहुन्थ्यो। तर, म जे सोच्छु त्यो गर्ने मान्छे हुँ। नकारात्मक प्रतिक्रियालाई शिक्षाको रुपमा लिन्छु, ए मैले यस्तो गर्नुपर्ने रहेछ, अबदेखि सुधार्छु आफैँलाई भनेर।

तीन वर्ष निरन्तर स्कुल गएर पढेको देख्दा, कतिले के नाटक गरेको पनि भन्थे। तर, अरुको लागि हेर्दा नाटक भए पनि मेरो लागि त्यो रियालिटी थियो। दुःख थियो। राति अबेरसम्म सुत्दिन थिएँ। बिहान चाँडै उठेर पढ्नु पथ्र्याे। खाना पनि स्कुल छुटेर ४/५ बजे खानुपथ्र्यो।

बिहान ५ बजे उठ्थेँ, ८ः४५ मा घरबाट स्कुल हिँड्थेँ। घर टाढा गोदावरीमा छ। ९ बजे स्कुल पुग्थेँ। ९ बजेबाट ४ बजेसम्म स्कुलमा पढ्थेँ। त्यसपछि घर फर्कने, घरमा खाना खाने, सुत्नुअघि पढ्ने काम हुन्थ्यो। पढाइका लागि धेरै मिहिनेत गर्नुप-यो।

अबको लक्ष्य
अहिले स्कुल मिस गरिरहेकी छु। त्यो बेला एक दिन बिदा हुँदा पनि खुशी हुन्थेँ। अहिले सबै साथीहरु यस्तै भनिरहेका छन्। एकदिन आउनु परेन भने कति खुशी लाग्छ। अहिले भने स्कूल जाउँजाउँ लाग्छ।

मलाई पहिलादेखि नै लाग्थ्यो, मैले पढ्न छोडेर गलत गरिरहेकी छु। सात कक्षामा पढाइ छोडेकी थिएँ। त्यतिखेर म काममै व्यस्त भएँ। मैले पछाडि फर्केर हेर्ने मौका नै पाइरहेकी थिइनँ। अहिले समय पाएँ, फेरि मैले पढाइ थालेँ।

कुनै पनि मानिसमा कुनै न कुनै गुण हुन्छ। चाहे त्यो साक्षर होस् या नहोस्। एउटा गुणले उसलाई कुनै न कुनै क्षेत्रमा सफल बनाउन सक्छ तर त्यो मानिसमा शब्दको कमी हुन्छ। मैले त्यो अनुभव गरेकी थिएँ। मभित्र शब्दको कमी थियो। म कतिपय कुरा व्यक्त गर्न सक्दिनँ थिएँ।

तर, अहिले स्कुल सकेँ। अब १२ पनि सक्छु। अझै ममा शब्दहरु आउनेछन्। अहिले म ५०/६० प्रतिशतले आफूलाई धनी मान्छु, शब्दका हिसाबले। र, अब अझै सबै शब्दहरु आफूभित्र कमाउँछु भन्ने लक्ष्य छ।

पढाइलाई उमेरले छेक्दैन
केही कुरालाई उमेरले छेक्दैन। पढाइलाई पनि छेक्दैन। तपाईंले कहिलेकाहीँ सुन्नु भएको होला, ७० वर्षमा कसैले बिहे ग-यो रे ! त्यो पनि उसको एउटा इच्छापूर्तिको निम्ति। सायद स्याहार गर्ने मान्छे नभएपछि सहाराको निम्ति बिहे गरेको हुनुपर्छ। अब मलाई ७० वर्षमा चाइनिज पढ्न मन लाग्यो रे ! मैले त चाइनिज पढ्न पाउनु प-यो नि ! ७० वर्षको भयो भनेर तपाईंले सिक्न नपाउने भन्ने छैन नि ! मनदेखि आएको चाहनामा लागिपर्नु पर्छ। त्यसरी नै पढाइमा लागिपरेँ।

विनोदले मलाई पढाइमा मात्र होइन हरेक कुरामा साथ दिनुहुन्छ। चाहे उहाँलाई गर्न मन नलागेको भए पनि। अस्ति डिस्को गएकी थिएँ। उहाँ मलाई बाहिर दुई बजेसम्म कुरिरहनु भएको थियो। मलाई पोखरामा कसैलाई बर्थ डे विस गर्न जान मन लाग्यो भने ‘विनोद लेट्स गो भनेपछि, हि विल ड्राइभ फर मी।’ उहाँ मेरो राम्रो सहयोगी हो। भनिन्छ नि, हरेक सफल पुरुषको पछाडि महिलाको हात हुन्छ। यहाँ उल्टो छ। मेरो सफलताको पछाडि विनोदको हात छ।

मैले जीवनमा कहिल्यै धेरै योजना बनाएर अघि बढिनँ। गर्दै जान्छु, अनि लक्ष्यमा पुग्दै जान्छु। हाम्रो स्कुलमा फोन चलाउने अनुमति छैन। मेरो आमा ६३ वर्षकी हुनुहुन्छ। आमा अनि छोरीलाई कुरा गर्न अनुमति मागेर फोन गर्थें। शिक्षकहरुले अनुमति पनि दिनुहुन्थ्यो। कहिलेकाहीँ साथीहरुसँग सेल्फी खिच्थेँ। सामाजिक सञ्जालमा पोस्ट पनि गरेँ।

छ महिना एक्लै पढेँ
सुरु–सुरुमा त त्यहाँको स्कुलको विद्यार्थीको छुट्टी भइसकेपछि म पढ्न स्कुलभित्र छिर्थें। एक्लै पढ्थेँ। छ महिना एक्लै पढियो। बिस्तारै विद्यार्थीहरुलाई थाहा भयो, म त्यहाँ पढ्छु। कति त बाहिर कुरेर पनि बस्थे मलाई हेर्न। ८ कक्षादेखि साथीहरुसँगै पढ्न थालेँ। पछि त उनीहरु मेरो साथी भइहाले। पहिला त शिक्षक र विद्यार्थी मलाई देखेर अड मान्नु हुन्थ्यो। कति साथी पढ्नलाई असहज मान्नु हुन्थ्यो। एक हप्तापछि त हामी मिल्न थाल्यौँ।

पढाइले गर्दा ममा अपूरोपन थियो। त्यो पूर्ति गर्नका लागि मैले स्कुल ज्वाइन गरेँ। तीन वर्ष लगातार पढेँ। आज पास पनि भएँ। मान्छेले पढाइ मात्र होइन, गर्न मन लागेको, सिक्न मन लागेको हरेक कुरा असजिलो नमानी गर्नुपर्छ।

Leave A Comment