बादलका प्रिय १० सुर

बुधबार, १९ साउन २०७३, १० : ०४ शुक्रवार , Kathmandu
बादलका प्रिय १० सुर

पछिल्लो समय पाश्र्वगायनमा जमिरहेका गायक हुन्, बादल लिम्बू । नेपाली आइडल २०६९ का विजेतासमेत रहेका उनले आफूलाई मन पर्ने अरूका पाँच र आफ्ना पाँच गीतबारे शुक्रवारलाई सुनाएका छन्ः
अरूका पाँच
माई हार्ट विल गो अन
फिल्म ‘टाइटानिक’को यो अंग्रेजी गीत मलाई असाध्यै मन पर्छ । हरेक मान्छेको जीवनमा इमोसन भन्ने कुरा अवश्य हुन्छ । त्यसैले संसारलाई यो गीतले छोएजस्तै मलाई नि छोएको छ ।
लग जा गले
भारतीय गायिका लत्ता मंगेशकरको यो हिन्दी गीतमा स्वर, संगीत र शब्द तीनटैको तालमेल मिलेको छ । साह्रै मीठो लाग्छ । गीत सुन्दा साँच्चिकै संगीतले मान्छेको मनमा हलचल ल्याउँछ भन्ने कुरामा सहमत बनाउँछ । सुनिरहँु लाग्छ ।
प्रिय तिमो सम्झना
गायक सुरेश कुमारको यो गीत पनि मलाई प्रिय लाग्छ । माया गर्ने मान्छे विदेशिनु पर्दाको पीडा गीतले झल्काउँछ । मेरो बाबा विदेश जाँदाको समय याद गराउँछ यो गीतले मलाई ।
जीवन साथी तिमीलाई
भारतीय गायिका सञ्जीवनीले गाएको यो नेपाली गीत निकै मीठो लाग्छ । साँचो प्रेम गर्नेहरूको हृदयलाई पढेर बनाएको गीत जस्तो लाग्छ । यथार्थ, लाग्छ । मेरो दाइले भाउजुलाई यही गीत गाएर फकाउनुभएको थियो । दाइभाउजुको प्रेम गर्दाको समय याद गराउँछ यो गीतले ।
ऋतुहरूमा तिमी
गायक अरुण थापाको धेरै मन पर्ने गीतमध्ये यो एउटा हो । गीतको शब्द, संगीत दुवैले छुन्छ । साँचो प्रेम गर्नेहरूलाई गीत यथार्थपूर्ण लाग्छ ।

आफ्ना पाँच
डुब्दै गएँ म
फिल्म ‘पुन्टे परेड’को यो गीतमा ताराप्रकाश लिम्बूको संगीत र नरेश भट्टराईको शब्द छ । पहिलो पल्ट पाश्र्व गायनमा ब्रेक पाएको गीत हो यो । धेरैले रुचाइदिनुभयो । मलाई पनि मन पर्छ ।
के यो माया हो
फिल्म ‘छेस्को’का लागि गाएको गीत हो यो । आफैँ संगीत गर्दा स्वरमा झन् न्याय दिन सकिँदो रहेछ । त्यसैले पनि मलाई प्रिय लाग्छ ।
मैले जसको हातमा
फिल्म ‘अलविदा’मा गाएको गीत हो यो । मन छुने गीतमध्ये पर्छ यो ।

हराएँ म तिम्रो यादमा
फिल्म ‘होमवर्क’को गीत हो यो । ताराप्रकाश लिम्बूको संगीत रहेको यही गीतले मलाई धेरै दर्शक÷स्रोतामाझ चिनायो ।
के साह्रो हौ
भद्रकुमारी राईको शब्द रहेको यो गीतमा मेरो आफ्नै संगीत छ । मौलिकता झल्काउने खालको गीत छ । नयाँ पुस्ताका लागि गाएको छु । निकै मेहनत गरेको छु, त्यसैले प्रिय लाग्छ ।

 

Leave A Comment