जुन देशमा प्रधानमन्त्री झुक्किन्छन्

शुक्रबार, १० साउन २०७६, ११ : २५ शिशिर वैद्य
जुन देशमा प्रधानमन्त्री झुक्किन्छन्

देश कता जाँदैछ ? सम्पन्नता र समृद्धितिर कि अधोगतितिर ? कामकाज, चालचलन त समृद्धि आउला जस्तो छैन। सरकारले गरेका निर्णय, पारित गरेका ऐन, विधेयक कसका निम्ति हुन् ?

सरकारले गरेका कामले नेपालमै केही गरिखान खोज्नेको पक्षमा देखिन्न। दुई चार अर्बपति, आठ–दश व्यापारी, दलाल र डनको हितमा देखिएको छ, सरकार अनि सांसद।

आमजनताका प्रतिनिधि भएर काम गर्नुहोला भन्ने ठानेर नै मतदाताले चुनेका हुन् सांसद। त्यही संसद्ले चुन्यो सरकार। चुनावी बाचा हेर्दा आम नागरिकको हित नै मेरो हित हो भन्ने देखिएको थियो तर सत्तामा पुगेपछि जनहित हैन मनहित हावी देखियो। नेता, मतदाता समान हौं भन्ने लाग्नु गणतान्त्रिक मुलुकमा स्वाभाविकै हो ! तर तपाईंहरुको व्यवहारले मतदाता रैति अनि नेता मालिक देखिए।

राजा–महाराजाको विरुद्ध, जमिन्दारहरुका विरुद्ध, मालिकहरुका विरुद्ध रैतिहरुले बगाएको रगत अझै आलै छ। हिजो निरंकुशताका विरुद्ध उठेका हात, लम्किएका पाइला, बलिदानका निमित्त उद्यत युवा रगत अझै सेलाएको छैन।

गरिखाने वर्गबाट उठेर नेतृत्व आज ठगी खानेहरुको पक्षपोषक बनेको जनजनले देखेकै छन्। गणतन्त्र आएपछि देशको रुपान्तरण हुन्छ भन्ने ठानेका थिए आम नागरिकले। तर देशको सट्टा नेताहरु नै रुपान्तरित भए। हिजो कुम मिलाएर, एउटै थालमा खाएर गणतन्त्र ल्याउन नाङ्गै खुट्टा दौडिएका थिए नेता र जनता। आज नागरिक नाङ्गै खुट्टा सडकमा छन्। नेतागण हेलिकप्टरमा, वातानुकूलित गाडीमा उही गणतन्त्रका सहयात्रीलाई हिलो छ्याप्दै, धुलो उडाउँदै हुँइकिइरहेका छन्।

वातानुकूलित गाडीका कालो सिसाले नेतृत्वको रुपान्तरित कालो अनुहार छेकेको भान परिरहेको होला तर छेकिएको छैन। झन् देखिएको छ। एउटा कालो, अँध्यारो र अग्लो पर्खाल बनेको छ।

ती पर्खालको भित्री भागमा समृद्धिका नाराहरु ठूला–ठूला अक्षरले लेखिएको होला। जुन आम नागरिकले देख्दैनन्। आम नागरिकले देख्ने त मैलो, धुले वातावरण, हिलो बाटो, अँध्यारा गल्ली, पानी नपाएर तिर्खाएका घाँटी, तटबन्ध नबनेर बगेका खेत, पुल नबनेर तुइनमा झुण्डिएका स्कुले बालबालिका, औषधि नपाएर छट्पटाएका लाचार बिरामी, पुस्तक नपाएर पढ्न नपाएका विद्यार्थी, चिकित्सक नभएर उपचार नपाएका रोगी, विषादिले भरिपूर्ण आयातित तरकारी, मल नपाएर छटपटिएका किसान, वर्षौंसम्म बन्न नसकेका र बन्न नपाउँदै भत्किएका पुल, मिचिएका सीमा, खाडी जान विमान स्थलमा लाइन लागेका युवा हुन्।

यही देखिएको र भोगिएको दृश्यहरु, दैनिकीहरुले देश समृद्धितिर उन्मुख छ भनेर कसरी पत्याउने ? समृद्धितिर लम्कन त आयोजना समयमै पूरा हुनु प-यो। निर्णयहरु जनतामुखी हुनु प-यो। भ्रष्टाचारी भटाभट कार्बाहीमा पर्नु प-यो।

तर खै त ? कुन आयोजना तोकिएको समयमा पूरा भयो ? कुन भ्रष्टाचारीलाई कानुनले पाता कस्यो ? पाता कसिनुपर्नेहरु नै उल्टो बालुवाटारको छत्रछाँयामा सुरक्षित छन्।

जुन देशमा प्रधानमन्त्री झुक्किन्छन्, झुक्याइन्छन्, मन्त्रीलाई सचिवले झूटो ब्रिफिङ गर्छन्, त्यो देश कसरी समृद्धितिर अघि बढ्छ ? के यहाँहरु कर्मचारीतन्त्रका कठपुतली हो उनीहरुले जे भने त्यसैलाई ठीक ठानेर निर्णय गर्न, भाषण गर्न ? यहाँका निकटतम घेरामा रहने स्वकीयहरु के जागिर खान र माकफुईं देखाउन मात्रै बसेका हुन् ?

वरिष्ठ पत्रकार किशोर नेपालका शब्द सापटी लिन चाहन्छु– हामीले गणतन्त्र त ल्यायौं तर यहाँहरुले ती हिजोका राजतन्त्रका अवशेषहरु, मालिकतन्त्रका चाकरहरुलाई नै गणतन्त्र सुम्पिदिनु भयो। लौ चलाओ गणतन्त्र भनेर। चाकरहरुलाई गणतन्त्र जिम्मा लगाएर रुपान्तरण कसरी हुन्छ ? ती चाकरहरु त हिजो जसरी काम गरिरहेका थिए, त्यसरी नै गरिरहेका छन्। रुपान्तरणको खाका तयार पार्ने जिम्मा त नागरिकले नेताहरुलाई दिएका हुन्। खोई त रुपान्तरण ? खोई परिर्वतन ?

जुन देशमा प्रधानमन्त्री झुक्किन्छन्, झुक्याइन्छन्, मन्त्रीलाई सचिवले झूटो ब्रिफिङ गर्छन्, त्यो देश कसरी समृद्धितिर अघि बढ्छ ? के यहाँहरु कर्मचारीतन्त्रका कठपुतली हो उनीहरुले जे भने त्यसैलाई ठीक ठानेर निर्णय गर्न, भाषण गर्न ? यहाँका निकटतम घेरामा रहने स्वकीयहरु के जागिर खान र माकफुईं देखाउन मात्रै बसेका हुन् ?

नेताज्यू, तपाईंको राजमा विज्ञहरु तपाईंलाई सल्लाह दिने वृत्तमा बस्न चाहँदैनन्। राजदूतहरु परराष्ट्रका कर्मचारीसँग काम गर्न नसकेर राजिनामा दिन्छन्। यो समृद्धिको सूचक पक्कै होइन। यसरी त देश भड्खालोमा पर्ने पक्का छ।

तपाईंका अर्थविज्ञ अनपढ्, अशिक्षित, कुल्ली, ज्यामी, रिक्सा, ठेला चलाउनेहरुलाई करको दायरामा ल्याउन खोज्छ। बैंकबाट मात्र कारोबार गर भन्छ। देशका अधिकांश उद्योग आयातित कच्चा पदार्थमा आधारित छ।

अर्थविज्ञ आयातित सामानले बनेका सामानमा विदेशी वस्तुसरह भन्सार र अन्तशुल्क लगाउने निर्णय गर्छ। सिमेन्ट, डण्डी, वाइन, जुस, कागजदेखि बिस्कुट, चाउचाउ सबै त आयातित सामानकै भरमा बन्ने गरेको छ। के उत्पादन हुन्छ यहाँ ?

वातावरण प्रदूषित भयो भनेर प्रदूषण मापकयन्त्र शहरभरि जडान गर्न सक्ने स्थानीय निकाय प्रदूषणको प्रमुख कारण खाल्डाखुल्डी परेको सडकको मर्मत गर्दैन। जुन जनताको दुहाई दिएर थाक्दैनन् तिनै जनता अहिले चिच्याएर प्रश्न गरिरहेछन्– सरकार के गर्न खोज्दैछ ? कसले चलाइरहेछ ?

देश संघीयतामा गएको वर्ष दिन नाघिसक्यो, प्रदेश सरकार गठन भइसके तर खोई प्रदेश स्तरीय प्रहरी संरचना ? लोकसेवा ? प्रादेशिक राज्यको परिकल्पना गर्ने, तीन तहको सरकार गठन भयो भन्ने अनि सम्पूर्ण अधिकार आफैँमा राखेर कस्तो संघीय राज्यको कल्पना गरेको हो ?

कि नेताहरु झुक्किए ? देश संघीयतामा गएको नै बिर्सिएझैँ देखिन्छ। नेता  झुक्किए पनि जनता झुक्किएका छैनन्। जनता सचेत छन्, त्यसैले त चिन्तित छन्।

Leave A Comment