चर्चभित्र गल्फ कोर्स

शनिबार, ३२ साउन २०७६, १२ : २४ शुक्रवार
चर्चभित्र गल्फ कोर्स

हिजोआज बेलायतका चर्चहरु खाली हुन थालेका छन्। कारण ? त्यहाँका क्रिस्चियनहरुलाई चर्च जानु र धर्ममा विश्वास गर्नु वाहियात लाग्न थालेको छ। त्यसैले त ठूल्ठूला चर्च भवनहरुमा कम मानिसहरु जान थालेका छन्। उसो भए चर्च भर्ने नयाँ तरिका के हुन्छ होला ?

नयाँ तरिकाका रुपमा चर्चका धर्माधिकारीहरुले सानो गल्फ कोर्स अपनाएका छन्। चर्चभित्र गल्फ कोर्स बनाइएकोमा विवाद पनि उत्तिकै उत्पन्न भएको छ।

दक्षिणी इङ्ल्यान्डमा रहेको रोचेस्टर क्याथड्रल सन् ६०४ मा निर्माण भएको थियो। यहाँ आउने सर्वसाधारणलाई आकर्षण गर्ने माध्यमका रुपमा यसलाई प्रयोग गरिएको बताइएको छ।

यसलाई आउँदो केही सातासम्म राखिने धर्माधिकारीहरुको भनाइ छ। चर्चजस्तो कुरा हिजोआज बोरिङ ठाउँमा परिणत हुन थालेको छ। यहाँ मानिसहरुलाई ल्याउनका लागि, तिनको चर्चालाई कायम राखिरहनका लागि यस्ता क्रियाकलाप आवश्यक पर्ने क्याथड्रलका अधिकारीहरुको धारणा छ। यसका बाबजुद पनि केही सर्वसाधारणमा भने यसप्रति रोष छ।

‘गल्फ मलाई मनपर्छ,’ ६ वर्षे ओस्कारले भने, ‘यो खेल्न त कठिन छ तर मलाई मन पर्छ। यही बहानामा म चर्च पनि आइपुग्छु।’

७० वर्षका पिटर स्कोली धेरैपछि चर्च आउँदा आश्चर्य व्यक्त गरे। उनले भने, ‘हेर्नुस्, इङ्ल्यान्ड र वेल्सभरिमा मध्यकालमा बनाइएका २७ वटा यस्ता क्याथड्रल (चर्च)हरु जस्ताको त्यस्तै छन्। यिनमा रत्ति फरक आएको छैन। यी ज्यूँका त्यूँ उभिएको देख्दा हाम्रा यी सम्पदाप्रति गर्व लागेर आउँछ।’

तर मानिसहरु आउन कम हुँदै जाँदा यिनको संरक्षणप्रति सर्वसाधारणको चासो घट्ला भन्ने चिन्ता पनि उनलाई उत्तिकै छ। त्यसैले यस्ता आकर्षणका कार्यक्रम बनाएर सर्वसाधारणको ध्यानाकर्षण गर्नु उचित रहेको पिटरकी पत्नी ब्रिजिड एलेनले बताइन्।

Leave A Comment