ट्याक्सी अपहरण गरेर लगे

मङ्गलबार, ०३ भदौ २०७६, १० : ४६ शुक्रवार
ट्याक्सी अपहरण गरेर लगे

नवराज खतिवडा, नाइट ट्याक्सी, बा२ज ४८२४

ट्याक्सी चलाउन थाल्नुभएको कति भयो ?
१० वर्ष भयो।

१० वर्षको अवधिमा के कस्ता समस्या भोग्नुभयो ?
अहिले पनि नाइट ट्याक्सी नै चलाउने हो। पहिला पनि नाइट ट्याक्सी नै चलाएको थिएँ। समस्या धेरै झेलियो भनी साध्य छैन। काठमाडाैंमा जति दुःख कतै पाइएन। नाइटमा ट्याक्सी चलाउँदा यात्रुबाट पनि असुरक्षित, राज्यबाट पनि हेपाहा प्रवृत्ति भएको छ। एम्बुलेन्सको काम गर्दा पनि सरकारले लुटेराजस्तो व्यवहार देखाउँछन्।

प्रशासनबाट समस्या भयो भन्नुभयो, के समस्या भयो ?
रात्रिकालीन समयमा हाम्रो सुरक्षा नै छैन। हामीले जुन हिसाबले ट्याक्सी चलाइरहेका हुन्छौँ। त्यहाँ उनीहरुले देखाउने व्यवहार नै मन पर्दैन। प्रहरीबाट पनि हेपिनु परेको छ। हाम्रो कुरा नसुनी प्रहरीले अर्कोपक्षको बारेमा बोलिदिने गरेको घटना धेरै छन्। एकपटक गौशालाको ओरालोमा ट्याक्सी साइड लगाएर मस्त निद्रामा सुतिरहेको थिएँ। एकजना बर्दीका प्रहरी बन्दुक भिरेका थिए। उनले ट्याक्सी खाली हो भनी सोधे मैले खाली हो भनेँ।

रातिको १ बजे पानी परिरहेको थियो। ती प्रहरीले गौशाला ओरालाको डान्सबारबाट केही यात्रु छन्। घरमा पु-याइदे भन्नुभयो र उहाँ आफ्नो ड्यूटीतिर लाग्नुभयो।  मैले हुन्छ भनेँ।

मैले विचार गरेँ उहाँहरुकै आफन्त होला भनेर। उताबाट ६ जना मातेर झुल परेका मेरो ट्याक्सीमा आएर चढ्न आँटे। मेरो ट्याक्सीमा ४ जनाभन्दा बढी चढाउन मिल्दैन भनेँ। उनले ठूलो कुरा नगर भन्दै सबै यात्रुलाई टयाक्सीमा चढाए।

ट्याक्सीको टायर पञ्चर भयो। एकछिन है भन्दाभन्दै तिनीहरुले ट्याक्सीलाई लात्तैलात्ताले हाने। त्यति गरेर चित्त नबुझी ट्याक्सी अपहरण शैलीमा उनीहरुले आफैँ कुदाएर लगे।

कसरी बाध्य पारियो भनी धम्की आयो ?
प्रहरीले हामीलाई नै दोषी देखायो। मेरो गाडी अपहरण शैलीमा लगेका मान्छे डान्सबारका साहु रहेछन्। उनीहरु सायद प्रहरीकै आफन्त या को हुन् चिनिनँ। उताबाट मिलापत्र गर्नका लागि दबाब दिएकै कारण बाध्य भएर मिलापत्रमा हस्ताक्षर गरेको हुँ। धम्की पनि भन्नु प-यो। मैले सार्वजनिक केस लगाउन खोजेको थिएँ। जसले मेरो गाडी अपहरण शैलीमा मलाई कुटपिट गरेर लगे।

उनीहरुले के पावर लगाए मलाई थाहा भएन। मैले सार्वजनिक केस हाल्ने तयारी गर्दा  प्रहरी प्रशासन भित्रबाटै  तिमीले यो केस लड्न सक्दैनौं। यस्तो कुरा नआँटेको बेस भनेर उल्टै मलाई थर्काइयो। यस कारण मेरो पक्षमा प्रशासनबाट असहयोग भएको महसुस भयो र मैले ट्याक्सी बनाइदिने कुरामै मिलापत्रमा साइन गर्न बाध्य भएँ।

ट्याक्सीमा चढेर म नेता हुँ , यस्तो हुँ उस्तो हुँ भनेर धाक लाउने भेटियो कि भेटिएन ?
किन नभेट्नु नि ? भेटिन्छन्। हालसालैको कुरा हो। कमलादीमा एकजना मातेको मान्छे मेरो ट्याक्सी नजिक आए। कमलादीकै एक डान्सबारबाट बाहिर निस्केर ट्याक्सी खोजिरहेका थिए। उनी रक्सी पिएर अडिन नसक्ने अवस्थामा थिए। तिमीहरुलाई मैले एकै छिनमा के गर्नुपर्छ गर्न सक्छु। म  धादिङको मेयर हो चिन्दैनस् भनेर थर्काउन खोजे।

उनी हामी माथि आइलाग्न आँटे। हामीले तत्काल दरबारमार्गको प्रहरी चौकीमा फोन ग-यौँ  र प्रहरी आएर लिएर गयो। त्यसपछि के–के भयो कुन्नी थाहा भएन।

प्रस्तुति : भोला अधिकारी

Leave A Comment