रङको मनोविज्ञान

मङ्गलबार, ०७ असोज २०७६, १२ : २७ शुक्रवार
रङको मनोविज्ञान

गोपाल ढकाल, मनोविद्

रङले आँखाको तृप्ति मात्रै हैन मनमा गहिरो प्रभाव पार्छ। रङको मद्दतले मस्तिष्कको गतिविधिलाई बढाएर व्यक्तिको दैनिक क्रियाकलापमा सुधार ल्याउन सकिन्छ। रङले व्यक्तिको मन, मस्तिष्क, भावना र व्यवहारमा सकारात्मक वा नकारात्मक असर पु-याउन सक्छ। व्यक्तिले कुन रङको पहिरन गर्छ, कुन रङ बढी मन पराउँछ भन्ने कुराको आधारमा व्यक्तिको व्यक्तित्व, मनोदशा व्यवसाय, रुचि तथा काम गर्ने क्षमतालगायतको विषयमा आँकलन गर्न सकिन्छ।

विशेष गरी पुरुषको तुलनामा महिला रङप्रति बढी संवेदनशील हुन्छन्। बालबालिकाले चित्र बनाउँदा कुन रङको बढी प्रयोग गर्छन् भन्ने आधारमा उसको मनोविज्ञान आँकलन गर्न सकिन्छ। एक अध्ययनअनुसार ३५ प्रतिशत अमेरिकनलाई निलो रङ मन पर्छ। व्यक्तिको विचार, व्यवहार, धारणा  तथा भावना, मानसिक स्थिति, भोक, किनमेल, रक्तचाप, यौन चाहनाजस्ता विषयमा रङले असर पारेको हुन्छ। अध्ययनअनुसार कुनै सामग्री किन्दा ८५ प्रतिशत सामग्री रङको आधारमा छनोट गरिन्छ।

व्यक्तिको मन, मस्तिष्क, भावना र व्यवहारमा पार्ने असर नै रङको मनेविज्ञान हो। रङको मनोविज्ञानअनुसार कलर थेरापी गरिन्छ। भावनात्मक मानसिक समस्यामा परेका व्यक्तिलाई रङको माध्यमबाट गरिने उपचार नै कलर थेरापी हो। मानसिक समस्या भएका व्यक्तिलाई संकेत, विशेषता तथा अर्थअनुसारका रङ देखाएर कलर थेरापि गरिन्छ । रङले व्यक्तिको मस्तिष्क रसायनमै प्रभाव पार्ने भएकाले त्यहीअनुसारको मनोवैज्ञानिक भाव प्रकट हुन्छ।

जीवन विभिन्न रङको समिश्रण हो। जीवनमा धेरै रङ हुन्छन्। सबै रङको आफ्नै महत्वपूर्ण भूमिका हुन्छ। व्यक्तिको लिंग, उमेर, धर्म, संस्कृति, परम्परा र भूगोल, परिवेशजस्ता कारणले रङको अर्थ फरक–फरक हुन सक्छ।

रातो
रातो रङलाई उत्तेजना, जोस, उत्साहलगायतको प्रतीकका रुपमा लिइन्छ। मेनोवैज्ञानिक रुपमा हेर्ने हो भने रातो रङ मन पराउने व्यक्ति उत्तेजित हुने, परिवर्तनकारी हुने, अन्याय तथा अत्याचार सहन नसक्ने, जोखिम मोल्न चाहने, निडर स्वभावका हुन्छन्। रातो रङ शक्ति तथा ऊर्जाको प्रतीक हो।

रातो रङ चम्किलो हुने भएकाले टाढैबाट देख्न सकिन्छ। त्यसैले ट्राफिक लाइटमा रोक्ने संकेतको रुपमा रातो रङको प्रयोग हुन्छ। रातो रङलाई खतराको संकेतको रुपमा लिइन्छ। खेलमा रातो झण्डाको प्रयोग गर्नु चेतावनी तथा दण्डको संकेत हो।

यो रङ मन पराउने व्यक्तिको स्वभाव तातो, सक्रिय, आक्रामक, क्रोधी, महत्वाकांक्षी, स्वार्थी  भन्ने बुझाउँछ। यो ध्यान आकर्षित गर्न प्रयोग हुने रङ हो। मनोवैज्ञानिक रुपमा हेर्ने हो भने लामो समयसम्म रातो रङ हेरिरहँदा व्यक्तिको पल्स र दबाब बढ्छ। यो रङ मन पराउने व्यक्ति स्वार्थी, उत्तेजित तथा कठोरताको समेत संकेत हो। त्यसैले ठूलो भीड तथा आन्दोलनमा रातो रङका पोषाक तथा झण्डा देखाउँदा व्यक्ति उत्तेजित हुन्छन्। आन्दोलन शान्त पार्न यस्ता रङ देखाउनु हुन्न। रातो रङलाई नेतृत्वको रङ पनि भनिन्छ। महिलाले सामान्यतः सुन्दरता प्रस्टरुपमा झल्काउने हुँदा यो रङ लगाउँछन्। रातो रङले भोक बढाउने भएकाले खाद्यपरिकारमा रातो रङको बढी प्रयोग गरिन्छ।

निरास भएका व्यक्तिमा रातै रङ लगाएर, यसैमा घुलमिल गराएर कलर थेरापीजस्तो उपचार विधि अपनाइन्छ। यो रङ डिप्रेसन रोगीका लागि उपयुक्त हुन्छ। गाडी, घरलगायतको रङ रातो हुनु उपयुक्त हुन्छ। बढी उत्तेजित हुने व्यक्तिले भने शान्त राख्न हरियो रङ प्रयोग गर्नुपर्छ।

गुलाफी
गुलाफी रङको मनोवैज्ञानिक अर्थ हुन्छ रोमान्स। यो रङ मन पराउनेको स्वभाव सामान्यतः रोमान्सकारी हुन्छ। यो रङलाई प्रेमको प्रतीकको रुपमा लिइन्छ। विशेषगरी टिनएजरले गुलाफी रङ मन पराउँछन्। टिनएजरमा मानसिक रुपमा यौनमय प्रेमभाव, मायाभाव प्रकट हुने भएकाले विशेषगरी उनीहरुले यो रङ मन पराउँछन्।

यो रङलाई महिला रङ पनि भनिन्छ। यो रङ मन पराउने व्यक्ति सरल स्वभावका हुन्छन्। यो रङको प्रयोग गरेर माया प्रेमभावको सम्बन्ध बढाउन सकिन्छ। आत्मविश्वास बढाउन सकिन्छ। दया, माया तथा कोमलता बढाउन पनि यो रङको प्रयोग गर्नु उपयुक्त हुन्छ। प्रेम भाव प्रकट गर्न गुलाफी रङका उपहार दिनु उपयुक्त हुन्छ। यसरी कलर थेरापीका लागि पनि यो रङको प्रयोग गर्न सकिन्छ।

सेतो
हिन्दु परम्पराअनुसार आफन्तको मृत्यु हुँदा सेतो कपडा लगाएर क्रिया बस्ने चलन छ। सेतो कपडा शुद्ध तथा पवित्र हुन्छ भन्ने मान्यतास्वरुप यो रङ चलेको हो। मनोवैज्ञानिक रुपमा सेतो रङले शान्त बनाउने, पवित्र हुने, शुद्धता, आनन्दित र निष्ठाको को अर्थ लाग्छ। सेतो रङले नकारात्मक विचारबाट छुट्कारा दिलाउँछ। मन शान्त बनाउँछ। मनस्थिति स्थिर बनाउँछ। शुद्ध मनोभाव, पुण्यकर्म, सत्य कार्य, पवित्रता, तथा आध्यात्मिकताका लागि सेतो रङको प्रयोग गर्नु पर्छ।

कालो
कालो रङ निरासाको प्रतीक हो। कालो रङ मन पराउने व्यक्ति निरास स्वभावका हुन्छन्। डिप्रेसन भएका व्यक्ति विशेषगरी कालो रङ रोज्छन्। कालो रङलाई पूर्वीय धार्मिक अर्थमा असुभ, अशुद्धका रुपमा लिइन्छ।

व्यक्तिलाई अत्याचारी, क्रोधी, दानव्य, देखाउन चलचित्रमा पनि पात्रलाई कालो वस्त्र लगाइदिने, आँखामा कालो गाजल लगाइदिने, गरेको देखिन्छ। 

धेरै व्यक्तिलाई लाग्न सक्छ,‘कालो रङसँग जोडिएका विषय नकारात्मक हुन्छ।’ तर यो धारण सवै अवस्थामा लागु हुन्न। कालो कपडा पहिरिने व्यक्ति वजनशील हुने धारणा छ। कालो रङ मन पर्ने व्यक्ति रहस्यमय हुन्छन्। कालो रङको कपडा छनौट गर्ने व्यक्तिले अनैतिक रुपमा अरुको ध्यान आकर्षित गर्न खोज्छन्, भन्ने धारणा छ।

पहेँलो
धार्मिक रुपमा यस रङले शान्त, त्यागी, संन्यासीको अर्थ लाग्छ। त्यागीको अर्थ लाग्ने भएकैले संन्यासीले पहेँलो रङ प्रयोग गर्छन्। यो रङ मन पराउने व्यक्ति मिलनसार तथा असल स्वभावका हुन्छन्। यो रङले मस्तिष्कको गतिविधिलाई बढाउँछ। नयाँ विचार भाव उत्पन्न गर्न मद्दत गर्छ। स्मरण शक्ति बढाउन, कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न मद्दत गर्छ। मस्तिष्क शान्त राख्छ। यो रङ व्यक्ति विवेकसँग सम्बन्धित रङ हो। यसलाई मस्तिष्कको रङ भन्न सकिन्छ। त्यसैले यो रङ प्रयोग गरेको अवस्थामा व्यक्ति तिक्ष्ण क्षमताको हुन्छ।

खैरो (ग्रे)
कालो र सेतोको बीचको रङका रुपमा खैरो रङलाई लिइन्छ। यसलाई यथार्थवादका रुपमा लिइन्छ। यो तटस्थ रङ हो। यो रङको प्रयोग गर्नु रहस्यमय हुन्छ। यो रङ मनपराउने व्यक्ति सम्झौता गर्न चाहने स्वभावका हुन्छन्।

हरियो
यो रङ प्रकृतिसँग जोडिने रङ हो। हरियो रङको अर्थ शान्त, स्वस्थ, सफा सुखदायक भावनासँग, जोडेर हेर्ने गरिन्छ। यो रङ उर्वरताको प्रतीक हो। खेलमा पनि ग्रिन कार्ड देखाउनु पुरस्कार तथा उपलब्धिसँग जोडिएको हुन्छ। यो रङ मन पराउने व्यक्ति तार्किक तथा सोचनशील, जीवनमा सही काम गर्न खोज्ने स्वभावका हुन्छन्। यस्ता व्यक्ति बौद्धिक हुन्छन्। व्यक्तिलाई शान्त राख्न यो रङको प्रयोग गरी कलर थेरापी गरिन्छ।

निलो
निलो रङको मनोवैज्ञानिक अर्थ शान्त तथा शान्तिसँग जोडिएको हुन्छ। यो रङ मन पराउने व्यक्ति शान्त स्वभावका हुन्छन्। व्यक्ति गहिरो रुपमा क्षमतावान् हुन्छन्। स्वर्ग, दया, विश्वासी, आशिष र इमानदारितालाई प्रगाढ बनाउने प्रतीकका रुपमा निलो रङलाई लिइन्छ। यस्ता रङ मन पराउने व्यक्ति मनोवैज्ञानिक रुपमा नम्र तथा आनन्दमयी मन पराउँछन् भन्ने बुझ्न सकिन्छ।

यो रङ मन पराउने व्यक्ति भम्भीरता, स्थिरता, बौद्धिक, विश्वासी, विचारशील, विवेकशील स्वभावका हुन्छन्। यो रङले तनाव कम गर्ने, मन शान्त बनाउने, नकारात्मक मनस्थितिलाई हटाउने भएकाले  निरास भएका व्यक्तिलाई यो रङको प्रयोग गरेर मनोवैज्ञानिक रुपमा कलर थेरापी उपचार गरिन्छ।

सुन्तला रङ (ओरेन्ज)
सुन्तला रङ (ओरन्ज) ले व्यत्तिलाई ऊर्जावान् बनाउने, ध्यान आकर्षित गर्न मद्दत गर्ने, सकारात्मक सोचको विकास गर्न सहयोग पु-याउने, स्वस्थ तथा दीर्घायु बनाउन मद्दत पु-याउँछ। त्यसैले व्यक्तिलाई उत्साहित बनाउन सुन्तला रङको प्रयोग गरी कलर थेरापी उपचार विधि अपनाउन सकिन्छ।

बैजनी रङ
बैजनी रङको अर्थ रचानात्मकता हुन्छ। यो रङ मन पराउने स्वभावका व्यक्ति बौद्धिक क्षमतावान्, ज्ञानी, परिपक्व, कल्पनाशील, विवेकी स्वभावका हुन्छन्। बैजनी रङले मस्तिष्कलाई उत्तेजित गर्ने भएकाले बौद्धिक कार्यमा संलग्न व्यक्तिले यो रङको पोशाक, घरको कोठामा यो रङको प्रयोग गर्नेजस्तो मनोवैज्ञानिक उपाय अपनाउनु उपयुक्त हुन्छ। साथै मनोवैज्ञानिकको सल्लाहमा कलर थेरापी गरेर बौद्धिक क्षमता बढाउन सकिन्छ।
(ढकालले उपेन्द्र खड्कासँग गरेको कुराकानीमा आधारित)

Leave A Comment