नेपाली फिल्मका दर्शकका लागि प्यारो र परिचित नाम हो, राजेश हमाल । २५ वर्षअघि फिल्म ‘युगदेखि युगसम्म’ बाट अभिनय क्षेत्रमा उनको प्रवेश भएको थियो । दर्जनौँ फिल्ममा अभिनय गरेका उनले थुपै्र अवार्ड र सम्मान प्राप्त गरेका छन् । उनीबारे नेपाली फिल्म जगत्मा सुनिने कुराका आधारमा अनिल यादवले उनलाई आठ अभियोग लगाएका छन्, जसको सफाइ उनले यसरी दिएः
१ शैक्षिक योग्यता कमजोर भएका कलाकारहरूको भीडमा तपाईं जत्तिको शिक्षित व्यक्तिको प्रवेश सुखद थियो । तर, तपाईंले नेपाली फिल्ममा कुनै तात्विक भिन्नता ल्याउने खालको काम गर्नुभएन ।
हरेक चिजमा समयअनुकूल भिन्नता आउने हो । तपाईं एउटा कालखण्डमा हुनुहुन्छ र त्यो कालखण्डमा सबै चिज परिवर्तन गर्छु भनेर लाग्नुभयो भने जे भइरहेको छ, त्यसको निरन्तरता पनि दिन सक्नुहुन्न । त्यसैले कुनै पनि व्यक्ति कुनै कालखण्डमा आउँछ भने उसले त्यसलाई आमूल परिवर्तन गरेर ‘क्रान्तिकारी भिन्नता ल्याउँछु’ भन्दा पनि त्यसलाई नै निरन्तरता दिएर ‘अर्को बिन्दुमा पुर्याउँछु’ भन्ने सोच्नुपर्छ । त्यो बिन्दुमा पुगेपछि समयअनुसार स्वतःस्फुर्त परिवर्तन भइहाल्छ । यो अनुपातमा हेर्दा त मैले निरन्तरता पनि दिएको छु र एउटा बिन्दुमा पुगेपछि फिल्महरू परिवर्तन पनि भइरहेका छन् । फिल्मले आफ्नो समय, भावना र ‘स्पिरिट’लाई सम्बोधन गर्ने हो । जबर्जस्ती परिवर्तन ल्याउन खोजियो भने त्यो समयको भावना र स्पिरिटसँग मेल खाँदैन ।
२ तपाईंको करिअर अभिनयको बलमा होइन, लामो कपाल र गठिलो शरीरका बलमा बन्यो ।
त्यो त एउटा व्यक्ति निरन्तर हिसाबले लामो समयसम्म एउटा क्षेत्रमा टिकेपछि धेरै मान्छेलाई खुलदुली हुन्छ । जो तपाईंका प्रशंसक हुन्छन्, उनीहरू त निर्धक्क हुन्छन् । यो व्यक्ति किन चलिरहेको छ, किन मन पराइएको छ भन्नेमा उनीहरूलाई कुनै दुविधा हुँदैन । तर, खोट खोज्ने, टीकाटिप्पणी गर्नेले चाहिँ ‘कसरी चल्यो यो व्यक्ति ?’ भन्ने प्रश्न उब्जाउँछन् । मेरा विषयमा ‘यो अग्लो हुनाले चल्यो’ भने । मजत्तिकै अग्लो व्यक्ति आइसकेपछि ‘ए अग्लो भएर होइन रहेछ, लामो कपालले चल्यो’ भने । सबैले लामो कपाल पाल्न थालेपछि फेरि ‘त्यो पनि होइन रहेछ’ भनियो । यी सब नकारात्मक पक्ष खोज्नेहरूले गर्ने टिप्पणी हुन् जस्तो लाग्छ ।
३ तपाईं फिल्म समीक्षकहरूलाई रुचाउनुहुन्न । आफ्ना कमजोरी र त्रुटि औँल्याइदिनेदेखि तपाईंलाई रिस उठ्छ ।
यो सरासर गलत हो । किनकि, मेरो त्रुटि औँल्याउन मलाई अरू चाहिँदैचाहिँदैन । मेरो त्रुटि औँल्याउने सबैभन्दा पहिलो व्यक्ति म आफैँ हुँ । सायद म नै एउटा यस्तो व्यक्ति हुँला, जो सफलताको शिखरमा पुग्दा पनि आफूले गरेको कामप्रति सन्तुष्ट छैन भन्छ । मैले धेरै फिल्ममा आफूले गरेको कामप्रति असन्तुष्टि जनाएको छु । यस्तो एकदमै कमले गर्छन् यहाँ । त्यसैले म आफैँ नै मेरो सबैभन्दा ठूलो समीक्षक हुँ । म अरूले औँल्याउने कमी–कमजोरी र त्रुटिमा प्रतिक्रिया नै जनाउँदिनँ । आफैँ आफ्नाबारे गुनासो गरिरहेको हुन्छु भने अर्काको गुनासोलाई त एकदम सहज रूपले लिने नै भएँ । त्यसकारण समीक्षकहरूले धेरै आलोचना गर्दा पनि म साह्रै थोरै ‘रिएक्ट’ गर्छु । पहिले त गर्दै गर्दिनँ, गरेँ भने पनि असाध्यै थोरै गर्छु ।
४ राजेश हमालको एउटा युग थियो । हाल त्यो सकिएको छ । तर, तपाईं त्यसलाई स्वीकार गर्नुहुन्न ।
कुनै पनि मान्छेको युग र समयको रफ्तार भिन्दाभिन्दै हुन्छ भनेर नस्विकार्ने को होला ? जीवन त स्वयं अनन्तकालसम्म जाँदैन, यसको अन्त्य आउँछ भने करिअर त धेरै सानो कुरा हो । एउटा मान्छे एउटा पेशामा २५–३० वर्ष काम गरिसकेपछि ‘रिटार्यड’ हुन्छ । तर, म त अझै पनि काम गरिरहेको छु, सक्रिय छु । मलाई लागेको छैन– मेरो कलाकारिता निखारिएको छ, मैले गर्नुपर्ने योगदान पूरा भइसक्यो । म सोच्छु– अझै धेरै गर्न बाँकी नै छ । त्यसैले म मेरो युग सकिएको छैन भन्छु । तर, एउटा न एउटा कालखण्डमा गएर मान्छेको युग अवश्य सकिन्छ ।
५ तपाईंको अभिनयको ढर्रा सधैँ एउटै भयो । तपाईंले ‘मेनस्ट्रिम’बाहेक अन्य फिल्ममा हातै हाल्नुभएन ।
यो सत्य हो । म धेरै वर्षसम्म मेनस्ट्रिम फिल्मकै कलाकार भएँ । मेरो विधा नै त्यही रह्यो । किनकि, त्यसले नै ‘कमर्सियल भ्यालू’ दिन्थ्यो । त्यसले नै दर्शक तान्थ्यो । त्यसकारण निर्माताले मलाई लिएर फरक खालको फिल्म गरेर पैसाको जोखिम मोल्न चाहेनन् । जुन रूपमा दर्शकले रुचाइरहेका थिए, मलाई त्यही रूपमा उतारियो । फेरि, त्यो समयमा दर्शक कलाकारले गरेको अभिनय मात्र नहेरेर उसको छवि पनि फिल्ममा झल्कियोस् भन्ने चाहन्थे । चाहे पुलिसको भूमिका गरूँ, चाहे कुल्लीको गरूँ, मजदुरको गरूँ या किसानको गरूँ, त्यो पात्रसँगसँगै त्यसमा राजेश हमालको व्यक्तित्व पनि झल्किनुपर्छ भन्ने मान्यता हुन्थ्यो, कमर्सियल फिल्ममा । हामीकहाँ मात्र होइन, भारतमा पनि त्यही नै हो । त्यहाँका सन् १९७०–८० का दशकका फिल्म हेर्दा त्यहाँ पनि चरित्रसँगसँगै कलाकारको स्टार व्यक्तित्व देखिन्थ्यो । यति हुँदाहुँदै पनि एउटा कलाकारलाई आफ्नो सम्पूर्ण व्यक्तित्व बिर्सेर अर्कै किसिमको चरित्र गरौँ भन्ने चाहना चाहिँ हुन्छ । वास्तवमा मेरो आफ्नो स्वाद दर्शकको स्वादभन्दा फरक पनि छ । तर, पनि मैले दर्शककै स्वादलाई बढी महŒव दिएर आफ्नो कलाकारितालाई अघि बढाएँ ।
६ तपाईंमा ‘म विशिष्ट हुँ’ भन्ने घमण्ड छ । त्यसैका कारण तपाईं धेरै सहकर्मी कलाकारसँग घुलमिल गर्नुहुन्न । सुटिङ स्पटमा पनि एक्लै बस्न रुचाउनुहुन्छ ।
यो मिथ्या आरोप हो । तपाईंले खै कसको सन्दर्भमा यसो भन्नुभयो । तर, आम समाजको सन्दर्भमा म त्यस्तो छैन । मेरा निम्ति बाटोमा हिँड्ने सामान्य व्यक्तिदेखि राष्ट्रपतिसम्म सबै बराबर हुन् । म सबैलाई उत्तिकै सम्मान गर्छु । एउटा व्यक्तिलाई दिने कदर, चाहे त्यो सडकमा हिँडेको होस्, चाहे त्यो कारमा गुडेको होस्, मेरा लागि समान हुन्छ । यही कारण पनि मैले नेपाली आम जनजीवनलाई प्रतिनिधित्व गर्ने खालका पात्रहरू निर्वाह गर्न सकेँ । म विशुद्ध आम मान्छेको नजिक भएँ । जहाँसम्म सहकर्मी कलाकारहरूको कुरा छ, सबैका आ–आफ्ना रुचि हुन्छन्, स्वाद हुन्छन्, इच्छा हुन्छन् । हामी सबै कलाकार भए पनि हाम्रो जीवनशैली बेग्लै हुन्छ, मन पराउने विषय बेग्लै हुन्छन् । त्यसैले सामाजिक रूपमा बाँधिनैपर्छ भन्ने छैन । तर, व्यावसायिक ढंगमा भने सबैसँग मेरो राम्रो सम्बन्ध छ ।
७ तपाईं धेरै ‘रिटेक’ दिन रुचाउनुहुन्न । जसकारण आवश्यक पर्दा पनि निर्देशकहरू तपाईंसँग रिटेक लिन डराउँछन् ।
यो पनि गलत आरोप हो । हो, म धेरै रिहर्सल गर्न रुचाउँदिनँ । किनभने, रिहर्सल गर्दा कलाकारले दिनुपर्ने वास्तविक भावना निख्रिसकेको हुन्छ भन्ने ठान्छु । वास्तविक टेक दिँदा चाहिँ त्यो बनावटी लाग्न सक्ला । त्यसैले म रिहर्सल गरिहाले पनि गहिराइमा पुगेर गर्दिनँ । कहिलेकाहीँ मेरा सहकर्मी कलाकार पनि अचम्म मान्छन् । किनकि, म रिहर्सल अर्कै तरिकाले गरिरहेको हुन्छु । र, अर्को कुरा, मलाई के लाग्छ भने तपाईंले पहिलो टेकमा जे दिनुहुन्छ, त्यो फेरि दोहो¥याउनुप¥यो भने पहिलेकै कपी हुँदै जान्छ । ‘फिलिङ’ गायब हुन्छ । कलाकारिता भनेको फिलिङको कुरा हो । यति भन्दैमा म निर्देशकले भनेको मान्दिनँ भन्ने हाइन । म नयाँ÷पुराना सबै निर्देशकलाई उत्तिकै कदर गर्छु । त्यसैले निर्देशकले चाहेजति टेक दिन सधैँ तयार हुन्छु ।
८ तपाईंलाई नाच्न आउँदैन । तपाईंले कहिल्यै नृत्य सिक्नुभएन र सिक्न चाहनुभएन । तपाईं नयाँ कुरा सिक्नै चाहनुहुन्न ।
म डान्सर भएर कलाकार भएको होइन । कलाकारितामा रुचि भएर कलाकार भएको हुँ । नेपाली फिल्ममा डान्स गर्नुपर्ने, फाइट गर्नुपर्ने भएकाले गरेको हुँ । व्यावसायिक फिल्ममा आवश्यक पर्ने नृत्य त मैले गरेँ जस्तो लाग्छ । त्यसैले त दर्शकले मलाई यत्रो लामो समयसम्म हेरे, रुचाए । अर्को कुरा, म पोख्त डान्सर होइन । तर, फिल्ममा आवश्यक ‘स्टेप’ दिन सधैँ मेहनत गर्थें । डान्स इन्स्टिच्युटमै गएर चाहिँ सिक्न पाइनँ । रिहर्सल गर्थें । जहाँसम्म म नयाँ कुरा सिक्न चाहन्नँ भन्ने कुरा छ, त्यो त हुँदै होइन । नयाँ कुरा सिक्नै चाहेन भने त व्यक्तिको जीवन अगाडि बढ्नै सक्दैन । समयलाई अँगाल्दै गइएन भने त जीवन गतिशील हुँदै हुँदैन ।
Leave A Comment