दसैंको कमाइ : दसैंले धानेको कलाकारको खर्च

शनिबार, १८ असोज २०७६, ०२ : ३३ भोला अधिकारी
दसैंको कमाइ : दसैंले धानेको कलाकारको खर्च

जब राम्रो कमाइ तब दसैं। यस्तै त हो गायक–गायिकाका लागि। चाडपर्व आए लगत्तै परिवारसँग भेटघाट र रमाइलोतिर भन्दा पनि उनीहरु कमाइ धमाइतिरै व्यस्त हुन्छन्। झन् दसैंमा त कहाँ टीका थाप्दै हिँड्न फुर्सद हुन्छ र उनीहरुलाई। कोही विदेशतिर हुर्रिन्छन्, कोही स्वदेशमै भए पनि मेला पर्वमा व्यस्त हुन्छन्।

यो दसैंमा पनि चल्तीका गायक–गायिकाको सेड्युलमा टीका लगाउन जाने ठाउँले भन्दा गीत गाउन जाने ठाउँले भरिएको छ। गायक कृष्ण काफ्ले दसैंमा क्यानडा उडेका छन्। उनले एक महिना क्यानडामा हुने विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्नेछन्। 

बरु यतै पातलै हुन्छन् कार्यक्रम दसैंमा। विदेशमा रहेका नेपालीले दसैं मनाउन आयोजना गरिने कार्यक्रमले अधिकांश गायक–गायिका विदेशतिरै बढी व्यस्त हुँदैछन्।

दसैंमा सुगम पोखरेल, शिव परियार, प्रमोद खरेल, राजेश पायल राई, कमल खत्री, आस्था राउत, दुर्गेश थापा, प्रकाश सपुत, पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मालगायतको माग बढी हुने गरेको छ।

घटस्थापना लागेसँगै आस्था राउत अस्ट्रेलिया उडिसकेकी छिन्। भ्वाइस अफ नेपालको जज भएलगत्तै स्टेजमा उनको डिमान्ड बढेको छ। उनी दसैंभर अस्ट्रेलियाका विभिन्न स्थानमा आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागी हुनेछिन्।

यसपटक गायक शिव परियारले झापादेखि जनकपुरसम्म टीकाको अघिल्लो दिनसम्म ११ वटा कन्सर्ट गर्नेछन्।
प्रायः दसैंमा विदेशतिरै हुने उनले यो वर्ष भने नेपालमै दसैं मनाउने योजना रहेको बताए।
‘कहिलेकाहीँ त घरमा पनि त समय दिनुप-यो,’ उनले शुक्रवारसँग भने, ‘यो पालि विदेश गइएन।’

गायक तथा संगीतकार राजनराज शिवाकोटीको दसैंको टीका अगाडिको मिति प्याक भइसक्यो। उनी पनि स्वदेशतिरै व्यस्त हुने भएकाले दसैंमा टीका यतै लगाउने भएका छन्।

गायिका प्रीति आले दसैंको टीकाको अघिल्लो दिनसम्म प्याक छिन्। काठमाडाैंबाट सुरु भएको दसैं कन्सर्ट २० गतेसम्म चल्नेछ। उनी त्यसैमा सहभागी हुँदैछिन् ।

‘पानी परेकाले धेरै कार्यक्रम क्यान्सिल भइरहेका छन्।  कतै बाटो बिग्रेर जान सकिएन,’ उनले भनिन्। २१ गते भने उनले खाली राखेकी छिन्।

‘२१ गतेका लागि भने मैले समय कतै दिएको छैन। यस दिन म घर जान्छु’ उनले भनिन् ‘परिवारसँग दसैं मनाउन नपाएको ३,४ वर्ष भइसक्यो। पोहोरसाल क्यानडामा थिएँ। यसपटक घरमै बस्ने हो।’

गायक कुलेन्द्र विश्वकर्मा यतै व्यस्त हुने भएकाले दसैंको टीकाको दिन भने टीका लगाउन भ्याउने भएका छन्। उनी कास्कीमा हुने कार्यक्रममा सहभागी भएर घर जाने योजनामा छन्।

‘सालको पात टपरी हुने’ बोलको गीत चलेसँगै उनको माग ह्वात्तै बढेको थियो। पोहोर साल उनी अमेरिकामा थिए।

तीजे गीत ‘हामी पनि नाच्नुपर्छ’ चले लगत्तै गायक दुर्गेश थापाको माग अलि बढी छ यो वर्ष। तर यो पालि उनी विदेशतिर भने हुन्नन्। नेपालमै आयोजना हुने कन्सर्टमा सहभागी भएर दसैं मनाउने उनले बताए।

दसैंको कमाइ
दसैंमा कलाकारको राम्रै आम्दानी हुने गरेको छ। शिव परियारले एक शो बराबर ७० हजार लिने गरेका छन्। गायक राजनराजले काठमाडाैं बाहिर ५० देखि एक लाखसम्म लिने गरेको बताए। क्यानडा पुगेका गायक कृष्ण काफ्लेले आफूले लिने पारिश्रमिक खुलाएनन्। नेपालमा अरुले लिने पारिश्रमिक बराबरै लिने गरेको उनले बताए। विदेशमा हुने कार्यक्रमका लागि २ लाखसम्म लिने गरेको उनले बताए।

मेलिना राईले ४० हजारभन्दा माथि लिने गरेकी छन्। विदेशमा भने छुट्टै रेट हुने गरेको उनको भनाइ छ। गायिका प्रिति आलेको कार्यक्रमको रेट पनि उस्तै रहेछ।

गायिका टीका प्रसाईंले आपसी समझदारीमा पारिश्रमिक लिने गरेको बताइन्। कुलेन्द्रको रेट स्वदेशमा  ५० हजारदेखि एक लाख रहेछ।

दसैंले धान्छ खर्च
चाड पर्वमा आयोजना हुने कार्यक्रमले गायक–गायिकाको जीवन यापन सहज बनाउने गरेको छ। विदेशमा आयोजना हुने कार्यक्रमका कारण उनीहरुको खर्च मज्जाले धानिने गरेको देखियो।

गायक परियार पहिलाभन्दा अहिले कन्सर्टको संख्या बढेकाले कलाकारलाई आर्थिक रुपमा सहज भएको बताए। गीत चलेको गायक गायिकाहरुको कमाइ राम्रै हुने उनले बताए।

नयाँ वर्ष, तीज र दसैं तिहारमा देश तथा विदेशमा धेरै कन्सर्ट हुने गर्दछ। यस्तो कार्यक्रममा कलाकारहरुको डिमाण्ड बढी हुने गर्दछ। यसबाट चलेका कलाकारले राम्रै आम्दानी गर्ने गरेका छन्।

Leave A Comment