छतमा जन्मिएको ‘डेक्स्ट्रस’

सोमबार, २४ साउन २०७३, ०१ : २५ हिमाल लम्साल , Kathmandu
छतमा जन्मिएको ‘डेक्स्ट्रस’

ब्यान्ड फर्म गर्दा उनीहरूसँग न ड्रमसेट थियो, न गिटार, न ज्याक, न क्युब नै । उनीहरूसँग थियो त केवल संगीतको भोक । त्यही भोकले नै सांगीतिक बाटोमा डो¥याउन थाल्यो उनीहरूलाई । उनीहरू चाबहिल, मैजुबहालदेखि संगीत सिक्न कहिले बौद्ध त कहिले स्वयम्भूसम्म पुग्थे ।
चिनेजानेका दाइहरूले कहिलेकाहीँ गिटार र ड्रमसेट बजाउन दिन्थे । कहिलेकाहीँ त्यसै फर्किन्थे । टोलका अग्रजहरूसँग मागेर म्युजिक इन्स्टुमेन्ट घरमै लैजान्थे । घरको छतमा गिटार र ड्रमसेट दिल खोलेर बजाउँथे ।
सनी सुनाम, हिमजीत रानामगर र प्रीतम निर्वाणको संगीत यात्रा घरको छतबाटै सुरु भएको हो । एउटै उमेरका दौतरी मिलेर सन् २००५ मा ‘डेक्स्ट्रस ब्यान्ड’ नाम जुराए । ‘त्यतिबेला हामीले छतमा अभ्यास गर्दा छिमेकीहरू दंग पर्थे,’ ती दिन सम्झदै ब्यान्डका मेन भोकलिस्ट सनी सुनामले भने, ‘ती क्षणहरू निकै रोमाञ्चक थिए । त्यही क्षणले नै त यहाँसम्म ल्यायो ।’
‘त्यो बेला धेरै समय लगाएर डिक्स्नरी हेरेर नाम जुराएका थियौँ,’ सनीले थपे, ‘साथीहरूले धेरै नाम ल्याएका थिए । तर, ती नाम मन परेनन् । अनि, सहमतिमा नै डेक्स्ट्रस राखेका हौँ ।’
अहिले डेक्स्ट्रस ब्यान्डको मेन भोकलिस्ट तथा गिटारिस्ट सनी सुनाम, पर्कसनिस्ट प्रीतम निर्वाण, गिटारिस्ट हिमजीत रानामगर र बेस गिटारिस्टको जिम्मेवारी सन्तोष आचार्यले सम्हालेका छन् ।
‘मेरो परिवारका सदस्य नै सांगीतिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । त्यसैले संगीत क्षेत्रमा लाग्न कुनै रोकावट भएन,’ सनीले भने, ‘युवामा हुने जोश र उत्साहले यस क्षेत्रमा डो¥याएको हो ।’
गिटारिस्ट हिमजीत रानामगरले डेक्स्ट्रस ब्यान्डले रेस्टुरेन्ट, बार, पब र क्लबमा नियमित प्रस्तुति गर्ने मौका पाएको बताए । ‘हयात, सोल्टी, याक एन्ड यति होटलमा पर्फमेन्स गर्ने गरेका छौँ,’ हिमजीतले भने । ब्यान्डले साताको तीन दिन नियमित प्रस्तुति दिने गर्छ । बुुधवार ठमेलको रिफमा, शुक्रवार लाजिम्पाटको त्रिसरामा र शनिवार त्रिपुरेश्वरको कर्मा लाउन्जमा प्रस्तुति दिदैँ आएको छ । ‘दाइहरूसँग इन्स्टुमेन्ट मागेरै संगीत अभ्यास सुरु गरेका हौँ,’ पर्कसनिस्ट प्रीतम निर्वाणले भने, ‘संगीत क्षेत्रमा लागेर सन्तुष्ट छौँ ।’
‘हाम्रो जानर त पप र रक हो । तर, व्यावसायिक गीत गाउनै पर्छ,’ प्रीतमले भने, ‘दर्शकको डिमान्डअनुसार अन्य मिक्स्ड गीत पनि गाउँदै आएका छौँ ।’ ब्यान्डले उपत्यका बाहिर पोखरा, झापा, विराटनगर, वीरगञ्ज, त्रिशुली र भैरहवामा प्रस्तुति दिइसकेको छ । ‘जतिसक्यो धेरैभन्दा धेरै दर्शकलाई मनोरञ्जन दिन चाहन्छौँ,’ हिमजीतले भने, ‘दर्शक–स्रोताले खोजेजस्तै गीत प्रस्तुत गर्न खोज्छौँ ।’
ब्यान्डले ‘मनका कुराहरू तिमीलाई भन्नु थियो’ बोलको पप गीत तीन वर्षअघि बजारमा ल्याएको सनीले बताए । यो गीत युट्युबमा ५० हजार पटक हेरिसकिएको छ । ‘म त तिम्रै हुँ’ फिल्ममा ‘सोच यो मेरो’ मा स्वर दिएका छन् । त्यसै गरी सनीले ‘मुखौटा’ फिल्मको ‘चाहेर पनि’ गीतमा कम्पोज तथा लिरिक्स दिएका छन् । यो गीतमा प्रतिभा सुनामले स्वर दिएकी छन् । ब्यान्डका तीन सदस्य सनी, प्रीतम र हिमजीतले संस्कृति इन्टरनेसनलमा संगीतको कक्षा लिने गरेका छन् ।

Leave A Comment