आकर्षक कसरी बन्ने?

बिहिबार, ०७ कार्तिक २०७६, ११ : ४२ प्रकाश जंग थापा
आकर्षक कसरी बन्ने?

जीवन अर्थपूर्ण बनाउन सम्बन्ध अत्यावश्यक हुन्छ। सम्बन्ध बिना जीवनमा न गति लिन सकिन्छ न छलाङ्ग मार्न। सम्बन्धमा रहनुका केही उद्देश्यहरू हुन्छन्। व्यक्तिअनुसार यो फरक हुन सक्छ। कोही प्रेम पाउन सम्बन्धमा रहन्छन् त कोही शारीरिक आवश्यकता पूरा गर्न। कोही जीवनमा उत्साह थप्न त कोही समानुभूति भाव सेयर गर्न। कोही भने जीवनसाथी पाउन, वैवाहिक जीवनमा बाँधिन, बालबच्चा जन्माउन र परिवार निर्माण गर्नुलाई प्रमुख उद्देश्य राख्छन्। यी सम्पूर्ण उद्देश्य प्राप्तिका लागि सर्वप्रथम आकर्षक हुन सक्नुपर्छ। महिला र पुरुषबीच आकर्षण हुनुपर्छ अनि मात्र सम्बन्धको सिलसिला सुचारु हुन सक्छ। सम्बन्धको जरा फैलिन आकर्षण अनिवार्य रहे पनि सबै मानिस आकर्षक हुन सकिरहेका छैनन्।

आकर्षक नहुनुमा शारीरिक कुरुपताको दोष मात्र हुँदैन। अनौठा व्यवहार देखाउनाले पनि आकर्षण कम हुने हैन। यस मामिलामा मुख्यतः मुख्यधारको संस्कृति कस्तो छ, त्यसले निर्धारण गर्छ।

मुख्यधारको संस्कृति
समाजले समूहमा जीउन प्रेरित गर्छ। समाजले एक्लोपनमा जीउनुलाई स्वाभाविक रुपमा लिदैन। भगवानले सबैका लागि आदर्श व्यक्तित्व जन्माएको छ। महिलाले एउटा आदर्श पुरुष पाउनै पर्छ। पुरुषले पनि एउटा आदर्श महिला पाउनै पर्छ। अन्यथा जीवन जीउन सकिँदैन, खुसी हुन सकिँदैन। सन्तुष्ट रहनु त झन् परको कुरो ! यस्तैयस्तै धारणाहरू समाजमा व्याप्त छन्। यसको नकारात्मक प्रभाव समाजमा रहने हरेक व्यक्तिमा देख्न सकिन्छ। के महिला के पुरुष, आफ्नो जीवन परिपूर्ण बनाइदिने व्यक्ति भेट्नुलाई प्रेमको रुपमा परिभाषित गर्छन्। जुन सरासर गलत हो। स्वस्थ सम्बन्धमा यस्तो धारणा लागु नभए पनि हरेक महिला र पुरुष आफ्नो आदर्श जोडी खोज्न तल्लिन रहन्छन्।

त्यसैगरी कुनै महिला वा पुरुषको समयमा बिहे हुन सकेन भने गलत अर्थ लाग्ने गर्छ। कतिपय अवस्थामा पुरुषत्वमाथि नै प्रश्न खडा गरिन्छ। यो भनेको आत्मस्वाभिमानमा ठेस लाग्नु हो। आफ्ना लागि भन्दा पनि समाजको लागि बिहे गरिदिनु पर्ने परिस्थिति सिर्जना हुन्छ। यस्तोमा हर कोही चाँडो भन्दा चाँडो आदर्श व्यक्ति पाउन चाहन्छ। कोही नभेटे एक प्रकारको रिक्तता अनुभूत गर्छ। यही रिक्तता हटाउन कुनै एक व्यक्तिको आवश्यकता रहेको ठान्छ। यही रिक्तता पूर्तिका लागि उसले कुनै कसर बाँकी राख्दैन। कुनै एक आकर्षक व्यक्ति देख्न हुन्न, सम्बन्ध जोड्न चाहिहाल्छ। यस्तो व्यवहारले आकर्षण घटाउने काम गर्छ। अन्ततः सम्बन्ध सुरु हुनुअगावै तुहिने सम्भावना बढेर जान्छ।

आकर्षण बढाउने विधि
जो कोही व्यक्ति आकर्षणको केन्द्र बन्न चाहन्छ। सबैको ध्यान आफूतर्फ खिच्न लालायित हुन्छ। के यो सम्भव होला ? एकदम सम्भव छ। तपाईँप्रति कुनै व्यक्ति आकर्षित हुन सक्दैन वा चाहँदैन भने त्यो तपाईँको कमजोरी हो न कि अरुको। आकर्षणको स्तर बढाउन, आकर्षक व्यक्तित्व विकास गर्न निम्न विधि अवलम्बन गर्न सकिन्छ।

(क) विपरीत लिङ्गीप्रति आशक्ति नराख्ने
विपरीत लिङ्गीप्रति आकर्षित हुनु अस्वाभाविक होइन। यसो भन्दैमा विपरीत लिङ्गी देख्नेबित्तिकै हुरुक्कै हुने प्रवृत्ति भने सामान्य रुपमा लिन सकिँदैन। यो प्रवृत्ति महिला र पुरुष दुबैमा देख्न सकिन्छ। कोही मन परेको खण्डमा उसलाई पछ्याउने, अनावश्यक फोन गर्ने, फोन नउठे म्यासेज गर्ने, फोन लगायत सामाजिक संजालमा ब्लक गरे पनि बाटो कुरेर बस्ने, घरमै भेट्न आइपुग्ने जस्ता गतिविधिहरू सम्बन्धमा स्वीकार्य हुनै सक्दैनन्। आफ्नो पार्टनर, प्रेमी अथवा प्रेमिका हो भन्दैमा हक जमाउन खोज्नु, हरपल नजिक रहने इच्छा जाहेर गर्नु, हरेक दिन संवाद गर्ने अवसर खोज्नु, आशक्ति राख्नु सम्बन्धको लागि हानिकारक सावित हुन्छ। सम्बन्ध अस्थिर बन्दै जान्छ। एकअर्कामा विकर्षण थपिँदै जान्छ। परिणाम स्वरुप सम्बन्धमा पूर्णविराम लाग्छ। त्यसैले सम्बन्धमा रहेपछि आफू र आफ्नो पार्टनरबीच निश्चित दुरी कायम गर्नोस्। गोपनीयताको उचित सम्मान गर्नोस्। कसैको प्रेमी प्रेमिका भएको नाताले हरेक गुप्त जानकारी राख्ने अधिकार खोज्नु बचपना हो। कतिपयले यस्तो सोच पनि पाल्ने गर्छन्– ऊ मेरो जीवनमा आएन भने ? म अपुरो हुन्छु। ऊ मेरो जीवनबाट अलग भयो भने ? मेरो जीवन भरिपूर्ण हुँदैन। जीवनको खुसी नै खोसिन्छ। यस्ता भ्रमको पर्दा सधैँको निम्ति हटाउने कोसिस गर्नोस्। मनको मैलो पखाल्न ढिला नगर्नोस्। जीवनमा खुसी र भरिपूर्ण हुन कोही आवश्यक नरहने कुरा बोध गर्नोस्। संक्षेपमा भन्नु पर्दा विपरीत लिङ्गीप्रतिको आशक्ति पूर्ण रुपमा हटाउनुस्।

(ख) शतप्रतिशत विश्वसनीय रहने
प्रायः व्यक्ति आकर्षक देखिन विभिन्न रणनीति अपनाउने गर्छ। यस्तोमा तडकभडक र तामझामलाई अधिक प्राथमिकता दिन्छ। देखावटीमा विश्वास गर्छ। यही क्रममा आफ्नो वास्तविक व्यक्तित्व लुकाउँछ। यद्यपि यस खालको रणनीतिले अपेक्षित आकर्षण भने बढाउन सक्दैन। अवास्तविक व्यक्तित्व अनुशरण गरेर, स्वभाव देखाएर केही आकर्षक हुन सकिएला। मनले चाहेको व्यक्ति आफूतिर आकर्षित पनि होला। यसरी प्राप्त आकर्षण दीर्घकालीन भने हुँदैन। मानौँ तपाईँ कुनै महिलाप्रति आकर्षित हुनु भयो। एकतर्फी आकर्षणको जगमा टेकेर सम्बन्ध सुरुवात गर्नु काल्पनिक कुरा हो। ती महिला पनि तपाईँप्रति उत्तिकै उत्साहित र आकर्षित हुनुपर्छ। मानौँ महिला स्टाइलिस्ट एवं बौद्धिक पुरुष चाहन्छे। अब तपाईँ ती महिला पाउने चाहमा स्टाइलिस्ट र बौद्धिक भएको नाटक गर्न थाल्नुभयो भने ? ती महिला केही समय अत्यधिक आकर्षित हुन सक्छे। जब ती महिलालाई तपाईँको असलियत थाह हुन्छ, तपाईँले उनलाई धोका दिएको महसुस गर्छे। विश्वसनीयता गुम्न पुग्छ। तपाईँलाई घृणाको नजरले हेर्छे। अनि दुई सेकेन्ड पनि नसोची तपाईँबाट टाढिन पुग्छे। वास्तविकता नहुने स्थानमा विश्वसनीयता हुँदैन। विश्वसनीयता नहुने स्थानमा आकर्षण हुँदैन। आकर्षणको अभावमा सम्बन्ध स्थापित हुने सम्भावना हुँदैन। त्यसैले विपरीत लिङ्गीको ध्यान आफूतर्फ खिच्न सुरुवात चरणमै वास्तविक व्यक्तित्व देखाउनुस्। यसो गर्नाले तपाईँको विश्वसनीयता हराउँदैन। जसकारण आकर्षणको स्तरमा कुनै पनि गडबड हुँदैन र सम्बन्ध लामो समयसम्म कायम राख्न सकिन्छ।

(ग) समृद्ध जीवन निर्माण गर्ने
यहाँ समृद्ध जीवनको अर्थ मजबुत आर्थिक पाटो भन्ने मात्र बुझिँदैन। धेरै पक्षहरु समावेश गरिनुपर्छ। जस्तै करिअर, परिवार, साथीभाइ साथै स्वास्थ्य पनि उत्तिकै सशक्त हुनु आवश्यक छ। जब यी यावत् पक्ष मजबुत हुन्छ जीवन समृद्ध रहेको मान्न सकिन्छ। जुन व्यक्तिको जीवन समृद्ध छ, उसप्रति जो कोही आकर्षित हुन पुग्छ। सम्बन्ध जोड्ने हरेक अवसर र माध्यमको खोजी गर्छ। यसर्थ आकर्षक व्यक्तित्व विकास गर्नको निमित्त समृद्ध जीवन निर्माण कार्यमा प्रयत्नरत हुनुस्। यसका लागि जीवनको उद्देश्य पहिल्याउनु, रुचिकर विषय पत्ता लगाउनु महत्वपूर्ण मानिन्छ। कुनै एक क्षेत्रमा करिअर, भविष्य निर्माण गर्नोस्। भविष्य नहुनेसँग कोही आकर्षित हुँदैन। त्यसैगरी उत्कृष्ट साथी सङ्गतमा रहनुस्। कुलतबाट टाढै रहनुस्। स्वास्थ्यमा ख्याल गर्नोस्। नराम्रो सङ्गतमा रहेका, कुलतको दलदलमा फसेका र अस्वस्थ व्यक्तिसँग कोही आकर्षित हुन सक्दैन। त्यसैगरी खुसी परिवार, सन्तुष्ट परिवार निर्माण कार्यप्रति सचेत रहनुस्। जुन परिवार सन्तुलित छ, जुन परिवारमा खुसी र आत्मसन्तुष्टि प्राप्त हुन सक्ने वातावरण छ, त्यही परिवारसँग हरकोही नाता जोड्न आकर्षित हुन्छ। सम्बन्धलाई सफल तुल्याउन खुसी र सुखी परिवार परिकल्पनामा जोड दिनुस्। यिनै प्रकृतिको सक्रियतामा समृद्ध जीवन निर्माण कार्य सम्पन्न हुन्छ। फलस्वरुप अत्यधिक आकर्षण सँगसँगै सम्बन्ध स्थापित गर्नमा सहयोग मिल्छ।

Leave A Comment