तिहार अर्थात यमपञ्चक

मङ्गलबार, १२ कार्तिक २०७६, १० : १० शुक्रवार
तिहार अर्थात यमपञ्चक

तिहारलाई दीपावली नामले समेत चिनिन्छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्लद्वितीयासम्म पाँच दिन तिहार मनाइन्छ। वास्तवमा तीन दिन मनाइने भएकाले तिहार भनिएको हो। त्रिरात्र शब्दको अपभ्रंश भएर तिहार शब्द बनेको पाइन्छ। तिहारमा काग तिहार, कुकुर तिहार, गाईतिहार, गोरुतिहार, भाइतिहार पर्छन्।

तिहारमा मनोरञ्जन, नाचगान तथा मिठा परिकार खानुका साथै जुवातास खेल्ने,पिङ खेल्नेजस्तो मनोरञ्जन गर्ने चलन छ।

यमपञ्चकको पाँच दिनसम्म घर,आँगन, गाउँटोल सफा गरी यमपञ्चक पूजा गर्नाले व्यक्तिको अकालमा मृत्यु नहुने  विश्वास छ। घर आँगन तथा ढोका सजाउनका लागि सयपत्री र मखमलीकै फूल तथा माला अग्रपङ्तिमा आउँछन्।

तिहार पाँच दिन मनाइने भएकाले तिहारलाई यमपञ्चक भनिन्छ। पौराणिक कालमा तिहार तीन दिन मनाएको पाइन्छ। पौराणिक कालमा लक्ष्मीपूजा, गोबर्धन पूजा, भाइटीका मनाउने चलन  पाइन्थ्यो। पछि काग र कुकुर तिहार थपिएका हुन्। मानव सर्वश्रेष्ठ प्राणी भएकाले पशुपक्षी तथा जनावरलाई खानपान गर्न दिने उल्लेख भए पनि काग तथा कुकुर तिहारका बारेमा शास्त्रमा उल्लेख नभएको धर्मशास्त्री बताउँछन्। पञ्चाङ्गमा यमपञ्चको बारेमा उल्लेख भए पनि धर्मशास्त्र ग्रन्थमा यमपञ्चकको उल्लेख पाइन्न।

तिहारको पाँच दिन पाँचवटै प्रतीकको पूजा–आराधना गर्ने परम्परा छ। देव, गाई, घोडा, ब्राह्मण, स्त्रीको निराजन गर्ने विषय निर्णय सिन्धुमा पाइन्छ।

यमपञ्चक अर्थात् तिहारको पहिलो दिन कागको पूजा गरी खान दिइन्छ। कागलाई खानदिने भएरु काग तिहारलाई काक बलि समेत भनिन्छ। नेपाली पञ्चाङ्गहरुमा कागलाई (भात, तरकारी, रोटी खान दिने परम्परा उल्लेख छ। कागलाई पक्षीको प्रतिनिधिका रुपमा लिइन्छ। कागलाई यमदूतका रुपमा समेत सु–सन्देश प्रवाह गरोस् भन्ने उद्देश्यले पूजा गरिन्छ।

यमपञ्चकको दोस्रो दिन कुकुर तिहार पर्छ। कात्तिककृष्ण–चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ। कुकुर तिहारलाई नरकचतुर्दशी र श्वपूजाजस्ता नामले चिनिन्छ। यो दिन कुकुरको पूजा गरी कुकुरलाई टीका–माला लगाइदिएर भात–रोटीजस्ता परिकार खान दिइन्छ। पशुको प्रतिनिधिका रुपमा रहेको कुकुर मानवको आज्ञापालक तथा सहयोगीको रुपमा लिइन्छ।

कागलाई समेत सयपत्रीका थुँगा चढाउने चलन छ भने कुकुरलाई त सयपत्रीको फूलको मालानै लगाइदिने चलन छ।

तिहारको तेस्रो दिन गाईको पूजा–आराधना गरिन्छ। हिन्दू परम्पराअनुसार लक्ष्मीको प्रतीकको रुपमा गाईको पूजा गरिन्छ। यो औँसीको दिनमा पर्छ। जसलाई लक्ष्मी पूजा भनिन्छ। यसदिन धन दौलतकी प्रतीकका रुपमा लक्ष्मीको पूजा गरिन्छ। यो दिन विशेषगरी साँझमा झिलिमिली बत्ती बालिन्छ।

तिहारको चौथो दिन गोबर्धन पूजा पर्छ। यो दिन गोरुको पूजा गरी तेल, टीका लगाइदिएर चामलको रोटी, पीठो गोरुलाई खान दिने चलन छ। गोबर्धन पूजालाई गोरु पूजा भन्ने गरिन्छ। नेवारी समुदायमा गोरु पूजाकै दिन म्ह (आत्मा) पूजा गर्ने चलन छ। पाँचौँ दिनमा भाइटीका भैहाल्यो।

Leave A Comment