मस्तिष्क सक्रिय राख्ने खाना

बुधबार, १६ पुष २०७६, ०१ : ११ उपेन्द्र खड्का
मस्तिष्क सक्रिय राख्ने खाना

शारीरिक मात्रै हैन मानसिक स्वास्थ्यका लागि खानपानले निकै प्रभाव पार्छ। मनोचिकित्सक डा. कपिलदेव उपाध्याय खानपानले व्यक्तिको मन र मस्तिष्कमा प्रभाव पार्ने बताउँछन्। पोषिलो तथा सन्तुलितरुपमा खाएको खानाले मस्तिष्क स्वस्थ रहन्छ। प्रोटिन, भिटामिन, बोसो, कार्बोहाइड्रेड, खनिज पदार्थ, पानीजस्ता तत्व व्यक्तिको शरीरका लागि अत्यन्त आवश्यक हुन्छ।

खानपानले तनाव
असन्तुलित खानपानको कारण डिप्रेसन, सिजोफेनिया, डिमेन्सिया, अल्जाइमर्स, हाइपर एक्टिभिटि डिसअर्डरजस्ता मानसिक रोगको जोखिम हुने मनोविद् गोपाल ढकाल बताउँछन्।

व्यक्तिकोे मानसिक अवस्था (मुड) अनुसार खानपानको छनोट हुने मनोचिकित्सक बताउँछन्। मुड सकारात्मक भएको अवस्थामा फलफूल, हरियोे सागसब्जीको रुचि हुने तर मुड नकारात्मक भएको अवस्थामा गुलियो पदार्थ, आइसक्रिम, चटपटे, अमिलो, चिल्लो, चकलेटजस्ता खानपानको छनोट हुने ढकालको तर्क छ।

कतिपय खाद्यपदार्थ यस्ता हुन्छन् जसले मस्तिष्कलाई उत्तेजित बनाउँछ। पोषणविद् केपी लम्सालका अनुसार अत्यधिक मात्रामा अल्कोहल, चुरोट सेवन, कफी, चिनी सेवनले मस्तिष्क रसायनको उत्पादन वृद्धि भई मस्तिष्कै उत्तेजित हुन्छ। ‘नियमित आवश्यकता भन्दा बढी चिया, कफी पिउनाले मस्तिष्कका स्नायु प्रणाली बढी सक्रिय हुन्छन्,’ पोषणविद् लम्सालले भने, ‘कफीमा हुने क्याफिन तत्वको कारण निद्रा नलाग्ने समस्या निम्तिन्छ।’ निरन्तर निद्रा बिग्रिएको तथा पटक–पटक मस्तिष्क उत्तेजित हुँदा मस्तिष्कमा क्षति पुग्ने भएकाले मानसिक समस्या उत्पन्न हुन्छ। कफीको असरले रिंगटा लाग्ने शरीर सुख्खा हुने जस्ता समस्या उत्पन्न हुन सक्छन्। रेडबुलले पनि मस्तिष्कमा असर गर्ने लम्सालले बताए।

पोषणविद्का अनुसार व्यक्तिमा गुलियोको कमी, पोषणको कमी भएको खण्डमा निद्रा नलाग्ने, थकान बढी लाग्ने, फ्रि रेडिकलको उत्पादन बढ्नेजस्तो जोखिम हुन्छ। यस्तो तत्वले मस्तिष्कका कोषिकालाई हानि पु-याउने भएकाले यस्तो खानपान सन्तुलित रुपमा गर्नुपर्छ।

चिकित्सकका अनुसार प्रशोधन गरिएर बनाइएका खाना शारीरिक तथा मानसिक स्वास्थ्यको हिसाबले उचित हुन्नन्। प्राकृतिकरुपमा पाइने फलफूलजस्ता साकाहारी खानाले मस्तिष्क स्वस्थ रहन सहयोग पुग्छ। जाँड, रक्सी, अमिलो तथा सडेगलेका तामसी किसिमका खानपानले मस्तिष्कलाई असर गर्छ। माछा, मासुजस्ता राजसी भोजनले त्यति फाइदा गर्दैन। त्यसैले राजसी, तामसी भोजनको तुलनामा सात्विक भोजन नै मानसिक स्वास्थ्यका लागि उचित हुने मनोविद् ढकाल बताउँछन्।

शरीरमा पोषणको असन्तुलनका कारण व्यक्ति चाँडै रिसाउने, झर्किने, मनै उथलपुथल हुनेजस्ता मानसिक लक्षण देखा पर्न सक्नेतर्फ मनोचिकित्सक सजग गराउँछन्। धेरै चिल्ला र प्रशोधन गरिएका खानाले व्यक्तिको मस्तिष्कमा खराब गरी डिप्रेसनको जोखिम हुने जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेतीले बताइन्।

त्यसो त डा. उपाध्यायले मानिसको साकाहारी खानपान गर्ने शारीरिक बनावट तथा पाचन प्रणाली देखिएकाले मानिसले साकाहारी भोजन गर्नु नै उपयुक्त हुने बताए। उनले दाँतको बनावट पनि साकाहारी भोजनकै लागि देखिएको बताए। ‘केनाइन टुथ मात्रै तिखा भएकाले मासु खान काम लाग्ने देखिन्छ।’

पोषणविद् लम्साल भने मासुमा बोसो, प्रोटिन, मिनरल्स, खनिज, लवणजस्ता तत्व प्रत्यक्षरुपमा पाइने भएकाले पोषणका हिसाबले मासु खानु आवश्यक हुने बताउँछन्। ‘शारीरिक तथा मानसिक वृद्धिविकासका लागि मासु आवश्यक हुन्छ,’ लम्साल भन्छन्।

दैनिक तीन सय ग्राम जति मासु खानु उपयुक्त हुने चिकित्सक बताउँछन्। प्राकृतिक चिकित्सकका अनुसार आध्यात्म गर्ने व्यक्तिको शारीरिकभन्दा मानसिक परिश्रम बढी हुँदा मासु नपच्ने भएकाले यस्ता व्यक्तिले साकाहारी भोजन नै गर्नु ठिक हुन्छ।

सक्रिय मस्तिष्कका सूत्र
सन्तुलित रुपमा काजु, बदाम, ओखरजस्ता ड्राइ फुड खानाले मस्तिष्क स्वस्थ तथा सक्रिय रहने डा. उपाध्यायले बताउँछन्।

भिटामिन ‘बी–१२’, हार्मोनको कमीजस्ता कारणले मस्तिष्क अस्वस्थ हुने भएकाले सन्तुलित खानपान र समय–समयमा उपबास बस्न चिकित्सकको सुझाव छ।  सखरखण्ड, ग्रिनटीजस्ता खानपानले पनि व्यक्तिको मन शान्त रहन सहयोेग पुग्छ।

कतिपय खाद्यपदार्थले मस्तिष्कका न्युरोन कोषिका नष्ट भएर मस्तिष्कमा अनावश्यक पदार्थ जम्ने भएकाले खानपानमा ध्यान दिन आवश्यक हुन्छ। सही खानपानले व्यक्तिको भावना सकारात्मकतर्फ जाने भए पनि असन्तुलित खानपानले व्यक्तिको मनै उथलपुथल हुन सक्नेतर्फ मनोचिकित्सक सजग गराउँछन्। असन्तुलित खानपानले व्यक्तिको निद्रामा समस्या उत्पन्न हुन्छ। जसले डिप्रेसन, एन्जाइटीजस्ता मानसिक रोगको जोखिम हुने मनोचिकित्सक बताउँछन्। पोषणयुक्त खानपानले भने मस्तिष्क रसायन स्वस्थ भई मस्तिष्कमा राम्रोसँग रक्तसञ्चार हुने भएकाले मस्तिष्क सक्रिय हुने मनोचिकित्सक बताउँछन्।

ओमेगा–३ को कमीले समेत व्यक्तिको स्मरण शक्ति कम हुन्छ। आलसको तेल, आलसको अचार, सनफ्लावर, मेवा, ओखर, साल्मण्ड माछाजस्ता खाद्यपदार्थ सन्तुलितरुपमा खानाले डिप्रेसनजस्तो मानसिक रोग लाग्नबाट बच्न सकिने ढकालले बताए। ‘अध्ययन अनुसार ओमेगा–३ को कमीले डिप्रेसनको समस्या देखियो,’ मनोविद् ढकालले भने, ‘यसले  सेरोटोनिनजस्तो मस्तिष्क रसायन उत्पादन गर्न साहयोगी भूमिका खेल्छ।’

पोषणविद्का अनुसार खनिज पदार्थमा पाइने म्याग्नेसियम, आयोडिन, जिंक, आइरनजस्ता तत्व (मिनरल्स) मस्तिष्क स्वस्थ राख्नका लागि आवश्यक हुन्छ। शरीरमा म्याग्नेसियमको कमी भएको खण्डमा व्यक्तिको स्मरण शक्तिमा कमी आई डिप्रेसन तथा तनावको अवस्था सृजना हुन पुग्छ। सुकेका स्याउ, आँप, काजु, बदाम, पिनटजस्ता खाद्यपदार्थमा म्याग्नेसियम तत्व पाइने भएकाले यस्ता खाद्यपदार्थ सन्तुलितरुपमा खाई डिप्रेसनको समस्याबाट बच्न सकिने मनोचिकित्सक बताउँछन्।

पोषणविद्का अनुसार जिंकले व्यक्तिको डर चिन्ता हटाएर नैरास्यताबाट मुक्ति दिलाउनुका साथै मनको सन्तुलन गर्न सहयोग गर्छ। फर्सी, दाल, नट्स, राजमा, बदाम, मटरजस्ता गेडागुडी तथा खाद्यपदार्थमा जिंक तत्व पाइन्छ।

आयोडिनको कमी भएको अवस्थामा मस्तिष्कको कार्यक्षमतामा समस्या उत्पन्न हुन्छ। आयोडिनको कमीले थाइरोइड ग्रन्थीको कमी हुने भएकाले डिप्रेसन, एन्जाइटीजस्ता मानसिक रोगको जोखिम हुने ढकालले बताए। यसले थकित हुने, चिटचिटाहट हुनेजस्ता समस्या हुन्छ। ‘आयोडिनलाई आधुनिक भिटामिन–डी पनि भनिन्छ,’ मनोविद् ढकालले भने, ‘जुन स्वस्थ मस्तिष्कका लागि आवश्यक छ।’ अण्डा, कलेजो, कोदो, केरा, सेतो सिमी, मासु, गेडागुडीजस्ता आइरनयुक्त खाद्यपदार्थ सन्तुलितरुपमा खानाले मस्तिष्क स्वस्थ रहन्छ।

विशेषगरी ‘भिटामिन बी–वान’, ‘बी– सिक्स’, ‘बी– नाइन’, तथा ‘भिटामिन बी– टुबेल’ स्वस्थ मस्तिष्कका लागि आवश्यक हुन्छ। यस्ता भिटामिनले मस्तिष्कका कोषिका सुक्नबाट बच्ने भएकाले डिमेन्सिया जस्तो मानसिक समस्या हुनबाट बच्न सकिने मनोचिकित्सक बताउँछन्। माछा, मासु, अण्डा, चिज, दूध, दहीजस्ता खाद्यतत्वमा ‘भिटामिन बी’ पाइने भएकाले मानसिक स्वास्थ्यका लागि यस्ता खाद्यपदार्थ खान डा. उपाध्यायको सुझाव छ।

माछालाई ब्रेन फुडका नामले समेत चिनिन्छ। माछाले मस्तिष्क स्वस्थ रहन सहयोग पु¥याउँछ। ‘भिटामिन–बी’ले अक्सिटोसिन, सेरोटोनिन, नरइपिनेफ्रिन, डोपामिनजस्ता खुसी दिने मस्तिष्क रसायन उत्पादनमा सहयोग गर्छ। ‘आमाले बच्चालाई आनन्दले स्तनपान गराउँदा पनि आमामा खुसीका हार्मोन निष्कासन हुन्छन्,’ डा. उपाध्यायले भने, ‘इन्डर्फिन, अक्सिटोसिन, डोपामिनजस्ता हार्मोनले खुसी दिन्छन्।’
त्यसैगरी ‘भिटामिन–सी’ ले मस्तिष्क स्वस्थ राख्न सहयोग गर्छ। ‘भिटामिन–सी ले एड्रिनेल हार्मोन उत्पादन गर्छ,’ ढकालले भने, ‘यो हार्मोनले रोगप्रतिरोधात्मक क्षमताको विकास गर्ने भएकाले तनावबाट बच्न सकिन्छ।’ त्यसैले कागती, इस्टवेरी, मेवा, किवी, अमला, भुइँकटहर, ब्रो काउली, भेडे खुर्सानीजस्ता तरकारी तथा फलफूल खान उनको सुझाव छ।

‘भिटामिन–डी’ को कमीले हुने डिप्रेसन, सिजोफेनिया, डिमेन्सियाजस्ता मानसिक समस्याको जोखिमबाट बच्न दैनिक एक घण्टा सूर्यको प्रकाशमा बस्नुपर्छ। माछा, अण्डाजस्ता खाद्यपदार्थबाट ‘भिटामिन ‘डी’ प्राप्त गर्न सकिन्छ।

‘एन्टी अक्सिडेन्ट’ पोषण तत्वले शरीरलाई ‘फ्रि रेडिकल’बाट बचाउन सहयोग गर्छ। जसले मस्तिष्क स्वस्थ रहन सहयोग गर्छ। मटर, गाजर, अंगुर, प्याज, आँपजस्ता फलफूल र सागसब्जीमा ‘एन्टि अक्सिडेन्ट’ पाइने पोषणविद् बताउँछन्।

पोषणविद्का अनुसार ‘एमिनो एसिड’ ले मस्तिष्क स्वस्थ राख्न सहयोग गर्छ। योे एसिडको तत्वले प्रोटिन उत्पादन गर्न सहयोग गर्छ। अण्डा, समुद्री खाना, गेडागुडीलगायतमा ‘एमिनो एसिड’ पाइन्छ। यसले मस्तिष्क रसायनको उत्पादन गर्छ। पोेषणविद् लम्सालले भने, ‘प्रोटिन शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक तत्व हो।’

त्यसैगरी मस्तिष्कलाई स्वस्थ राखेर व्यक्तिमा खुसी प्रदान गर्ने अर्को तत्व हो, ‘माइक्रो बायोटिक्स’। पूर्वीय सभ्यताअनुसार घरबाट टाढा जाँदा वा शुभ साइतका अवसरमा सगुनका रुपमा दही खाने परम्परा छ। दहीमा पाइने ‘माइक्रो बायोटिक्स’ तत्वले मन खुसी राख्न सहयोग गर्ने ढकाल बताउँछन्।  

अल्कोहल घातक
त्यसैगरी अल्कोहलको सेवन ठिक हैन। चिकित्सकका अनुसार अल्कोहलले मस्तिष्ककोे ‘इनिभिशन’ नै कम हुने भएकाले अल्कोहल सेवन गर्ने व्यक्तिमा डर हट्नुुका साथै क्षणिक उत्तेजना ल्याउँछ। अल्कोहल धेरै पिउनाले मस्तिष्कका कोषिका नै निष्क्रिय भएर व्यक्ति लठ्ठिँदै जाँदा मस्तिष्कमा असर गर्ने चिकित्सक बताउँछन्। अल्कोहल सेवनले मस्तिष्काघातको जोखिम त्यत्तिकै हुन्छ।

तनावले कर्टिशोल हार्मोन बढी निस्कँदा मस्तिष्कलाई नकारात्मक असर गर्ने भएकाले तनावको उचित व्यवस्थापन गर्न मनोचिकित्सकको सुझाव छ। त्यति मात्रै हैन शारीरिक व्यायाम, ध्यान, योगा, आराम गर्नुपर्ने डा. उप्रेतीको सुझाव छ। राम्रोसँग ननिदाउनाले मस्तिष्कमा समस्या उत्पन्न हुने भएकाले रातिमा कम्तीमा सात/आठ घण्टा राम्रोसँग निदाउनु पर्छ।

Leave A Comment