कामना फिल्म अवार्ड : पुरस्कृत कलाकारै आएनन् अवार्डमा

शनिबार, २६ पुष २०७६, १२ : ५७ भोला अधिकारी
कामना फिल्म अवार्ड : पुरस्कृत कलाकारै आएनन् अवार्डमा

शनिबार सानेपाको हेरिटेज गार्डेनमा फिल्मसम्बन्धी पुरानो पुरस्कार ‘कामना फिल्म अवार्ड’को पाँचौँ संस्करण आयोजना भइरहेको थियो। चिसो मौसम। सिमसिम पानी परिरहेको थियो। केही कलाकार भिज्दै भए पनि कार्यक्रममा सहभागी हुन आएका थिए। कार्यक्रमस्थल खचाखचै थियो।

आयोजकले सार्वजनिक गरेको विजेताहरुको सूची अन्य फिल्मी अवार्डभन्दा राम्रो थियो। लाजै नमानी पुरस्कृत गर्ने गलत प्रवृत्ति चिरेको देखियो जुरीहरुले। तर जब मञ्चबाट भटाभट अवार्ड विजेताहरुको नाम घोषणा भयो, कमै कलाकार मात्र मञ्चमा पुगे अवार्ड लिन।

कतिपय कलाकार आफूले पुरस्कार पाउने या नपाउने पक्कापक्की गरेर मात्रै कार्यक्रममा जाने गर्छन्। तर कामना फिल्म अवार्डमा पुरस्कृतै हुने कलाकार गइदिएनन्। पुरस्कृत हुने कलाकारको नाम एकपछि अर्को घोषणा गर्दा मञ्चमा नआएपछि कार्यक्रम खल्लो त हुने नै भयो।

२०७५ मा रिलिज भएका फिल्ममध्ये ‘प्रसाद’ उत्कृष्ट फिल्म घोषित भयो। अभिनेता  विपिन कार्की यही फिल्मबाट उत्कृष्ट अभिनेता घोषित भए तर उनी मञ्चमा गएनन् अवार्ड लिन। उनी कार्यक्रम हलमा उपस्थितै थिएनन्।

‘प्रसाद’ फिल्मबाटै नम्रता श्रेष्ठ उत्कृष्ट अभिनेत्री  घोषित भइन् तर उनी पनि थिइनन् कार्यक्रममा। उनको अवार्ड उनका भाइले लिए। ‘साइँली’ फिल्मबाट सहअभिनेताको अवार्ड पाएका दयाहाङ राई पनि देखिएनन्। प्रायः अवार्ड कार्यक्रममा देखिइरहने प्रियंका कार्कीले ‘नाइँ नभन्नू ल ५’बाट सहअभिनेत्रीको अवार्ड पाउँदा उनी मञ्चमा गइनन्। उनी पनि कार्यक्रममा आएकै थिइनन्।

विपिनले हजुरबाको निधन भएकाले कार्यक्रममा उपस्थित हुन नसकेको बताए। नम्रता विदेशमा थिइन् भने अन्य कलाकार सम्पर्कमा आउनै चाहेनन्।

मनोनयमा परेका पनि गएनन्
अवार्ड कार्यक्रममा मनोनयनमा परेका कलाकारसमेत उपस्थित हुँदै आएका थिए। यो कार्यक्रममा भने मनोनयमा परेकाहरु समेत आइदिएनन्। मनोनयनमा परेका निर्देशक विकास आचार्य, नवअभिनेत्रीको मनोनयनमा परेकी सुपुष्पा भट्ट, छक्का पञ्जा ३ बाट सर्वोउत्कृष्ट अभिनेत्रीको मनोनयमा परेकी घोषित भएकी दीपिका प्रसाईं पनि कार्यक्रममा गइनन्। ‘राम कहानी’ फिल्मबाट उत्कृष्ट हाँस्य कलाकारको मनोनयमा परेका विल्सन विक्रम राई, ‘भिलेन’ फिल्मबाट उत्कृष्ट अभिनेताको मनोनयनमा परेका निखिल उप्रेती पनि अवार्ड कार्यक्रममा देखिएनन्।

सर्वोत्कृष्ट निर्देशकको मनोनयमा परेका आचार्यले दुई वर्षदेखि आफू कुनै पनि पुरस्कार घोषणा कार्यक्रममा नजाने गरेको बताए। उनको भनाइमा मनपरि बाँडिने फिल्मी अवार्डले दिक्क बनाएको छनक देखियो।

‘अवार्ड कार्यक्रममा जान छोडेको दुई वर्ष जति भइसक्यो,’ उनले स्पष्टीकरण दिँदै भने, ‘अब म कतै पनि जादिनँ। जुरीले गरेको अवार्ड नराम्रो भन्न मिल्दैन तर पनि अवार्ड कार्यक्रममा जानै मन लाग्दैन।’

नायिका भट्टले निमन्त्रणा कार्ड नै ढिला आएकाले कार्यक्रममा उपस्थित हुन नसकेको बताइन्। ‘कल त पहिलादेखि नै आइरहेको थियो तर निमन्त्रणा ढिला पाएका कारण तयारी नै गर्न पाइनँ,’ उनले कारण खुलाइन्।

कामना फिल्म अवार्डमा तपाईंलाई देखिएन नि भन्दा नायिका दीपिका प्रसाइँले एकछिन है भन्दै फोन काटिन्। उत्कृष्ट हाँस्य कलाकारको मनोनयनमा परेका विल्सनले कार्यक्रमको बेला जापानमा भएकाले जान नपाएको बताए।

हमालदेखि भुवनसम्म सहभागी
कार्यक्रममा मनोनयमा समेत नपरेका पुराना पुस्ताका राजेश हमाल, भुवन केसीदेखि नयाँ पुस्ताका पल शाहसम्म सहभागी थिए। केही कलाकार आफ्नो विधाको पुरस्कृतको नाम घोषणा भएलगत्तै कार्यक्रमबाट बाहिरिए।

‘कथा काठमाडौँ’बाट खलनायकको अवार्ड प्रमोद अग्रहरीले लिन मञ्चमा जाँदा अर्का खलनायक प्रशान्त ताम्राकार अवार्ड कार्यक्रमबाट बाहिरिएका थिए।

जसले अवज्ञा गरेनन्
‘राम कहानी’बाट उत्कृष्ट अभिनेत्रीको नोमिनेसनमा परेकी नायिका पूजा शर्मा कार्यक्रममा सहभागी थिइन्। झमझम् परेको पानीमा भिज्दै भए पनि उनी कार्यक्रममा सहभागी भइन्।

‘मलाई सञ्चो थिएन, तैपनि सहभागी भएँ,’ उनले भनिन्, ‘कलाकारकै लागि भनेर अवार्ड गरिन्छ। उपस्थित नहुँदा नराम्रो लाग्छ नि !’

अर्का अभिनेता पल शाह पनि रातो ज्याकेट लगाएर हलमा लमकलमक लम्किदै आएका थिए। शनिबार नै काठममाडौँ उत्रिएकी सुहाना थापा कार्यक्रममा सहभागी भइन्। उनले डेब्यु फिल्म ‘ए मेरो हजुर ३’बाट नवअभिनेत्रीको अवार्ड पनि पाइन्।

स्वस्तिमा खड्का आधा घण्टाजति कार्यक्रममा बसेर बाहिरिइन्। उनले पब्लिक च्वाइस अवार्ड पाएकी थिइन्। पुरस्कार घोषणाअगाडि नै कार्यक्रम हलबाट बाहिरिएकाले उनी मञ्चमा भने जान पाइनन्।

पुराना कलाकारको भिड
कार्यक्रममा पुराना कलाकारको भने बाक्लो उपस्थिति देखिएको थियो। नीर शाह, धीरेन शाक्य, बसुन्धरा भुषाल, गायक आनन्द कार्की, शम्भुजित बास्कोटा, रेजिना उप्रेती लगायतका कलाकार कार्यक्रममा सहभागी भए।

राजेश र भुवनको दोस्ती
अवार्ड कार्यक्रममा सहभागी अभिनेता राजेश हमाल र भुवन केसी निकैबेर गफिएका थिए। उनीहरुको कुनै समय मित्रता टुटेको समाचार बजारमा आएको थियो। तर कार्यक्रममा दुवैले आफूहरुबीच उम्दा मित्रता रहेको देखाएका थिए।

हमाल र धीरेन बोलेनन्
एउटै डायसमा बसे पनि अभिनेता हमाल र धीरेन शाक्य भने बोलेनन्। राजेश, भुवन र नीर शाह गफिदा धीरेन भने चुपचाप थिए।

राजेश र धीरेनले ‘भीष्म प्रतिज्ञा’, ‘अर्जुन’, ‘सिमाना’ लगायतका फिल्ममा सँगै अभिनय गरेका थिए। एक कार्यक्रममा धीरेनले राजेशलाई चिन्दिनँ भनेका थिए। कार्यक्रमको माहोलले राजेशको रिस अझै नमरेको देखियो।

Leave A Comment