माननीयको ‘मुक्का’

शनिबार, १८ माघ २०७६, ११ : ४५ मनोज घर्तीमगर
माननीयको ‘मुक्का’

माघ ४ गते हुने तय भएको खेलका लागि एन्फा मनाङको टोली १ गते नै पोखरा आइसकेको थियो। जानआउन ४ दिन बाटोमै लाग्ने हुँदा खेल सारेपछि फेरि मनाङ फर्कन सम्भव थिएन। खेलको मिति सरेपछि मनाङका खेलाडीको व्यवस्थापनमा समस्या भयो। खेलाडीको समस्याबारे गण्डकी प्रदेश सभा सदस्यका हैसियतले राजिव उर्फ दीपक मनाङेले चासो राखेका थिए। ३ दिनपछि माघ ७ गते पोखराको भण्डारढिकमा मुख्यमन्त्री कप उद्घाटन तयारी हुँदै थियो। दिउँसो १ बजे उद्घाटन हुने तय भए पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आउन ढिलाइ भइरहेको थियो। ठिक यतिबेलै सांसद राजिव गुरुङ उर्फ दीपक मनाङे भने पहिल्यै त्यहाँ पुगेका थिए। मैदानमा पुगेलगत्तै राजिवले सिधै गएर खेलाडी र व्यवस्थापन विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङसँग भनाभन गरे। भनाभनको विषयले चर्को रूप लिएपछि राजिवले मिलनलाई झापड हाने। मिलनलाई झापड हानेर उनी स्टेजमा नगई प्याराफिटबाटै फर्किए।

एन्फा अध्यक्षमाथि प्रदेश सांसदले झापड हानेपछि सञ्चार माध्यममा त्यसले ठूलै स्थान पायो। जसका कारण दुवैले माघ ८ गते पत्रकार सम्मेलन गरेर घटनाबारे आ–आफ्ना भनाइ राखे। पत्रकार सम्मेलनमा मिलनले माननीयले आफूलाई दुव्र्यवहार गरेको र आफू संयमित भएर विवादलाई उग्र हुन नदिएको दाबी गरेका थिए। मिलनले आफूलाई माननीयले मुक्का र किक हानेको बताए। ‘उनीहरु त्यही इन्टेनसनले आएका थिए। भिडियो पनि खिच्दै थिए। झगडा गर्दै मलाई माननीयले मुक्का र किक हान्नुभयो। मैले पनि सक्थेँ प्रतिवाद गर्न, तर माननीय भएको कारणले गरिनँ। आयोजक पनि भएकाले म केही बोलिनँ’ उनले भने। बुधबार दिउँसो ४ बजे जिरो किलोमिटरको न्यू एरा होटलमा सांसद राजिव गुरुङले पत्रकार सम्मेलन गरे। सांसद गुरुङले घटनाबारे प्रष्ट्याउँदै भने ‘त्यो ठगलाई नहानेर के फुल माला लगाउने ? तपाईं भन्नुस त ल। झापट हानेकै हो।’

झापड प्रकरणले गण्डकी प्रदेश मात्रै होइन देशभर यो साता चर्चा पायो। मंगलबार पिटाइ खाएका मिलन त्यही दिन बेलुका जिल्ला प्रहरी कार्यालय कास्कीमा ठाडो उजुरी लिएर पुगे। प्रहरीले ठाडो उजुरीका आधारमा पक्राउ गर्न र मुद्दा चलाउन नमिल्ने बताएपछि उनले बुधबार जाहेरी दिए। जाहेरीका आधारमा बिहीबार प्रहरीले राजिवलाई पक्राउ ग-यो।

दुई दिनमै छुटे मनाङे
बिहीबार पक्राउ परेका राजिवले प्रहरी र सरकारी वकिलको कार्यालयमा पनि अखिल नेपाल फुटबल संघ कास्की शाखा अध्यक्षलाई आफूले झापड हानेको बयान दिएका थिए। उनले खेलाडीलाई खाने, बस्ने व्यवस्था नगरेका कारण झापड हानेको पत्रकार, प्रहरी र सरकारी वकिलसँग पनि स्वीकारे। घटनाबारे साविती दिए पनि प्रदेशसभा सदस्य राजिव गुरुङ (दीपक मनाङे) ६ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। मिलनको उजुरीका आधारमा बिहीबार पक्राउ परेका मनाङेलाई आइतबार जिल्ला प्रशासन कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अभद्र व्यवहारको मुद्दा पेश गरेको थियो। राजिवविरुद्ध मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीत कसुर गरेको आरोप थियो। यो कसुरमा १ वर्षसम्म कैद सजाय र १० हजार रुपैयाँ जरिवाना वा दुवै हुने व्यवस्था छ। तर, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले ६ हजार धरौटीमा छाड्न आदेश दिएका हुन्।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले यस्तो मुद्दामा कति पनि सजाय दिन नपर्ने वा बढीमा छ महिना जरिवाना वा १० हजार रुपैयाँसम्म जरिवाना र दुवै सजाय तोक्न सक्ने कानुनी अधिकार रहेको बताए। एक वर्षभन्दा कम सजाय हुने मुद्दामा प्रमुख जिल्ला अधिकारीले फैसला गर्न सक्ने कानुनी अधिकार छ। यसलाई फैसला भनिए पनि निर्णयका नामबाट जारी गरिन्छ। राजिव गुरुङमाथिको मुद्दा छिटो टुंग्याउन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दबाब दिएका कारण छिटो छाडिएको स्रोतको दाबी छ। एन्फा कास्की अध्यक्ष मिलन गुरुङले मनाङेले आफूमाथि कुटपिट गरेको भनी प्रहरीसमक्ष किटानी जाहेरी दिएका थिए। जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख रमेशकुमार केसीलाई मनाङे छुटाउन मुख्यमन्त्री गुरुङले पटक–पटक दबाब दिएका थिए। दबाबकै कारण सिडिओ केसीले मनाङेलाई दुई दिन थुनामा राखेर अनुसन्धान सक्न प्रहरीलाई निर्देशन दिएका थिए। मनाङेलाई छुटाउन नेकपाका पूर्व एमाले समूह एक भएर लागिपरेको प्रहरी स्रोतको दाबी छ। दुई दिन हिरासतमा बसेका राजिवले छुटेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै हिरासतमा बस्दा मज्जा लागेको बताए। सात दिनसम्म खेलाडीसँगै बसेर ट्रेनिङ गरेकोले हिरासतमा आराम मिलेको उनले सुनाए। ‘दुई दिन मज्जाले सुतेँ, अब रक्सीसक्सी खानुपर्ला !’ उनले फिस्स हाँस्दै भने।

राजिव मनाङ प्रदेश सभाका निर्वाचित सांसद हुन्। तत्कालीन एमालेको समर्थनमा स्वतन्त्र सांसदको रुपमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनी नेकपामा प्रवेश गरेका छन्। गुण्डा नाइकेको परिचय बनाएका उनी पटक–पटक जेल परेका थिए।

मनाङेको विगत
आपराधिक पृष्ठभूमिका सांसद दीपक मनाङेको मुद्दा अहिले पनि अदालतमा विचाराधीन छन्। अदालतमा मुद्दा विचाराधीन हुँदाहुँदै अर्को अपराधको मुद्दा मनाङेले सामना गरेपछि मुख्यमन्त्रीको दबाबमा छिट्टै मुक्ति पाए।  ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको थियो। आक्रमणमा मनाङे समूहले चक्रेको हात नै छिनाएको थियो। मिलनको हात काटेको घटनामा उनलाई दोषी ठहर गरी जेल सजाय दिइएको थियो। फरार सूचीमा रहेका उनलाई गत वर्ष मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि सपथ लिनुपूर्व प्रहरीले पक्राउ गरी जेल पठाएको थियो।

मनाङेको आपराधिक गतिविधिको प्रमुख क्षेत्र ठमेल थियो। त्यहीँबाट उनले गुण्डाहरू जन्माए। ठमेलमा डिस्को खोलेर रात्रिकालीन व्यवसायमा हात हालेका मनाङेले बिस्तारै ठमेल, दरबारमार्ग, नयाँ बानेश्वर, कालिमाटीलगायतका क्षेत्रमा आफ्नो प्रभाव बढाएका थिए। उनीमाथि संगठित अपराध, ज्यान मार्ने उद्योग र अवैध सम्पत्ति आर्जन गरेको मुद्दा पनि लागेको थियो। अवैध सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतले उनीसँग दुई करोड ९० लाख रुपैयाँ धरौटी मागेको थियो। धरौटी बुझाउन नसकेपछि उनी तीन महिना जेल बसेका थिए। उनी पटक–पटक गरी अहिलेसम्म सातपटक जेल गएका छन्। जसमध्ये चारपटक सार्वजनिक अपराध र तीनपटक ज्यान मार्ने उद्योगअन्तर्गत जेल गएका थिए।

गत निर्वाचन अघि तत्कालीन नेकपा एमालेका अध्यक्ष (हाल प्रधानमन्त्री एवं नेकपा अध्यक्ष) केपी शर्मा ओलीको हातबाट टीका लगाएर उनी कांग्रेसबाट एमाले प्रवेश गरे। निर्वाचनमा उनलाई एमालेले मनाङबाट प्रदेशसभामा प्रत्यक्षतर्फ टिकट दिने तयारी गरे पनि विरोध भएपछि टिकट दिएन। स्वतन्त्र उम्मेदवारी दिएका मनाङे तत्कालीन एमालेकै समर्थनमा निर्वाचित भए। निर्वाचित भएपछि प्रहरीको ‘मोस्ट वान्टेड’मा परेका मनाङे फरार भए। त्यसको केही समयपछि अदालतमा आत्मसमर्पण गरेर जेल गए। जेलबाट छुटेपछि प्रदेश सभाको सपथ लिएका मनाङे नेकपामा प्रवेश गरेका थिए।

झापड खाने मिलन थुनामै
राजिव गुरुङ उर्फ दीपक मनाङेविरुद्ध उजुरी दिएको भोलिपल्ट जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलनविरुद्ध पनि उजुरी प-यो। विवादास्पद छविका उनीविरुद्ध ठगीको उजुरी परेको थियो। हरिभक्त आचार्यले मिलनविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा बिहीबार बेलुका जाहेरी दिएका थिए। आचार्यले ओम गौरा जोस्टेल होटेलमा गएको भदौमा ३४ जनालाई मिलनको जिम्मामा खाने र बस्ने व्यवस्था मिलाएका थिए। साफ यु १८ च्याम्पियनसिपका बेला तयारी टोली आचार्यको होटलमा बसेको थियो। मिलनले २ लाखको चेक दिए पनि नसाटिएको जाहेरीमा उल्लेख छ। बैंकिङ कसुरमा पक्राउ परेका मिलनलाई अनुसन्धानका लागि ७ दिन थुनामा राख्न अनुमति दिइएको छ। उच्च अदालतका न्यायाधीशद्वय विनोदमोहन आचार्य र सुवास पौडेलको संयुक्त इजलासले ७ दिन म्याद थपेको हो। बैंकिङ कसुर मुद्दामा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ भने पीडितलाई रकम दिलाउने र ३ महिना जेल सजाय हुनसक्छ। म्याद थपपछि मिलनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए।

मिलन पक्राउ परेपछि उनले गरेर विभिन्न कर्तुत बाहिर आउन थालेका छन्। सांसदको मुक्का खाएको २ दिनअघि अर्थात् आइतबार मिलनले पोखरा क्रिएटिभ अवार्ड हाउसका रामकृष्ण पौडेललाई हातपात गरेका थिए। बक्यौता रकमको विषयलाई लिएर भनाभन हुँदा मिलनले हातपात मात्रै गरेनन् ढुंगासमेत हान्न खोज्दा एक व्यक्तिले उनलाई सम्हालेको सिसिटिभीको भिडियो बाहिरिएको छ। यसबारे बुझ्न खोज्दा पोखरा क्रिएटिभ अवार्ड हाउसका रामकृष्ण पौडेल बोल्न चाहेनन्। पोखरा क्रिएटिभ हाउस मात्रै होइन एन्फा अध्यक्ष मिलनले अन्य व्यवसायीलाई पनि रकम दिन बाँकी रहेको खुल्दै आएको छ। अभद्र स्वभावका मिलनले साग खेलकुदका समयमा पनि स्वयं सेवकहरुलाई अपशब्दसमेत बोलेका थिए। यसबाहेक गुरुङले साग गेममै प्रदेश सांसद तथा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङसँग विवाद गरेको भिडियो पनि सार्वजनिक भएको थियो। यस्तै, पोखरा कप आयोजना गर्दा विभिन्न होटलमा खेलाडी राखेको खर्च गुरुङले अहिलेसम्म पनि नबुझाएको खुलेको छ।

Leave A Comment