आस्था राउत धरौटीमा रिहा

शनिबार, १८ माघ २०७६, ०१ : २७ शुक्रवार
आस्था राउत धरौटीमा रिहा

प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको कसुरमा प्रहरी हिरासतमा पुगेकी गायीका आस्था राउत ४ हजार धरौटीमा माघ १४ गते रिहा भइन्। उनलाई धरौटीमा छाड्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश दिएको हो।

भएको के थियो ?
माघ १ गते सिक्कममा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा गायिका आस्था राउत पुगेकी थिइन्। चेकजाँच गर्ने बेला प्रहरी जवान रमिता श्रेष्ठ र आस्थाबीच भनाभन भएको थियो। विमानस्थलको घटनापछि राउतले फेसबुकमा भिडियो लाइभमार्फत प्रहरीले दुव्र्यवहार गरेकोमा चित्त नबुझेको भन्दै तथानाम गाली गरेकी थिइन्।

‘यो नेपाल प्रहरीको जरामा नै गन्ध छ,’ उनको आक्रोश लाइभमा पोखिएको थियो, ‘जरा नै कुहिएको छ। प्रहरीको युनिफर्म लगाएको भरमा सर्वसाधारणलाई धम्काउन मिल्दैन। प्रहरीको माथिल्लो पोस्टमा बस्नेहरुले सिपाही, हवल्दारलाई संस्कार दिनुहोला।’

उनले ठूला पोस्टका अधिकृतहरुलाई मात्र हजुर नभनी बाहिर अन्यलाई पनि हजुर भन्न सिकाउनुपर्ने आग्रह गरेकी थिइन्। उनले भनेकी थिइन्, ‘तँ भनेको हामी सहँदैनौँ। घरकै बाबुआमाले त अहिलेसम्म ‘तँ’ भनेका छैनन्।’

उनले जनतालाई सम्मान गर्न आग्रह गरेकी थिइन्। सम्मान चाहिनेले अरुलाई पनि सम्मान गर्नुपर्ने बताउँदै गल्तीबिना कसैलाई तँ भनेर सिकाउने काम नगर्न सचेत गराएकी थिइन्।

उनले अलि बढी नै आक्रोशित भएर दुव्र्यवहार गर्ने प्रहरीको तल्लो तहका कर्मचारीहरुलाई नालीको किराजस्तो भनेकी थिइन्।

उनको लाइभ सकिएलगत्तै प्रशंसकहरुले कडा शब्द र अपशव्दमा आक्रोश पोखिएको भन्दै गायिका राउतमाथि नै खनिएका थिए। उनीहरुले आफ्नो भनाइ र गराई एकै ठाउँमा उस्तै देखाएको भन्दै प्रहरीमाथि आफ्नो आक्रोश पोख्दा औकात पनि देखाएको भन्दै गाली खाइन्।

प्रशंसकहरुको गाली ओइरिएपछि आस्थाले सामाजिक सञ्जालमा गाली गर्नेहरुप्रति लक्षित गर्दै टिप्पणी गरेकी थिइन्। ‘डण्ठा बोक्नेलाई डण्ठे, बन्दुक बोक्नेलाई बन्दुके, गाउनेलाई गाइने र नाच्नेलाई नर्तकी भनेजस्तै आफूले बोलीचालीको शब्द प्रयोग गरेको’ बताएकी थिइन्।

उनको यो प्रकरणलगत्तै सामाजिक सञ्जालमा पक्ष र विपक्षमा मत राख्ने क्रम बढ्दै जान थाल्यो। त्यसको जवाफमा उनले स्पष्टीकरण दिँदै भनेकी थिइन्, ‘मैले त्यस्तो अपराध गरेको हैन। पहिला कुरा बुझ्नुस् अनि मात्र लेख्नुस्। हावाको भरमा गाली गरेको होइन।’

उनले ‘तपाईंको दिदी बहिनीलाई भएको भए के गर्नुहुन्थ्यो ? मेरो आँसुले तिमीहरूलाई पोल्नेछ’ भन्दै धम्क्याउनसमेत भ्याएकी थिइन्।

आस्थाले निरन्तर फेसबुक र ट्वीटरमा आफ्ना कुरा राखिरहेकी थिइन्। प्रशंसकहरुले नराम्रो शब्द बोलेको भन्दै चर्काे आलोचना गरेपछि उनले माफी पनि मागिन्। उनले ‘रिसको आवेगमा वेद पढिँदैन, मलाई पनि त्यस्तै भयो’ भन्दै आफ्ना केही शब्दहरुका लागि क्षमा चाहान्छु।’

प्रशासनको कामहरुप्रति सधैँ नै रेस्पेक्ट रहेको तर सर्वसाधारणहरुसँग बोल्दा तुच्छ व्यवहार नगरियोस् भन्ने आशयले आफ्ना धारणा राखिएको उनको भनाइ थियो।

राउतको पहिलो भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जाहेरी दिएकी थिइन् भने चार दिनपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। सांगीतिक कार्यक्रमका लागि सिक्किममा रहेकी उनलाई प्रहरीले फरार सुचीमा राखेको थियो।

सिक्किमबाटै आस्थाले निकटस्थहरुलाई आफू फरार नभएको र जनवरी २६ सम्म कार्यक्रम भएकाले व्यस्त हुने र फर्कनेबित्तिकै नेपाल प्रहरीलाई त्यस दिनको घटनाको अनुसन्धानमा सघाउने बताएकी थिइन्।  

‘प्रहरी साथी नै हुन्’: राउत
आइतबार सिक्किमबाट फर्कीएकी आस्था सोमबार बिहान अभिभावकसहित महानगरीय प्रहरी परिसर टेकु पुगेकी थिइन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि कानुनी रुपमा जे हुन्छ, सहर्ष स्वीकार गर्न तयार रहेको प्रतिक्रिया दिएकी थिइन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जनकराज दाहालले  अनुसन्धानकै क्रममा रहेकोले धरौटीमा छाड्ने आदेश दिएका थिए।

रिहापछि राउतले भनिन्, ‘मैले प्रहरीलाई जुन रुपमा बुझेकी थिएँ, त्यो होइन रहेछ। प्रहरी साँच्चै जनताको साथी भएको अनुभूति भयो। गल्ती मबाटै भएको थियो। उहाँहरुले मलाई कुनै नराम्रो व्यवहार गर्नुभएन।’
यो घटना सबैका लागि पाठ भएको बताउँदै आफ्नोतर्फबाट प्रहरीलाई पूर्ण सहयोग रहने र आगामी फागुन १४ मा सिडियो कार्यालयमा हाजिर हुने बताएकी छन्।

Leave A Comment