‘छोरी हक्की छे तर झडङ्ग रिसाउँछे’

मङ्गलबार, २८ माघ २०७६, १० : ५९ शुक्रवार
‘छोरी हक्की छे तर झडङ्ग रिसाउँछे’ तस्बिरः कृष्पा श्रेष्ठ

पुराना लोकगायक हरिबहादुर राउत उनको प्रतिभाका कारणले भन्दा पछिल्लो समय गायिका आस्था राउतका बुबाका रुपमा परिचित हुन थालेका छन्। गएको माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनालाई लिएर आस्थालाई अभद्र व्यवहारसम्बन्धी मुद्दा लागिरहेको छ। लोकगायक राउतसँग घटना घटेपछिको समय, लोकसंगीतको हालको अवस्थाबारे केन्द्रित रही शुक्रवारकर्मी प्रजु पन्तले गरेको अन्तरंगः

आराम हुनुहुन्छ ?
हजुर, आराम छु।

माघ १ गतेदेखि त बिराम भयो होला नि ?
अँ, खासै त हैन तर असहज महसुस त भइहाल्छ नि !

आस्थाजी सिक्कम जानुअघि विमानस्थलमा लफडा भयो। उहाँले फेसबुक लाइभमा नेपाल प्रहरीलाई गाली पनि गर्नुभयो र सामाजिक सञ्जालमा टीकाटिप्पणी भए त्यतिबेला आस्थाजीलाई के भनेर सम्झाउनुभयो  ?
मैले पनि खासमा मिडियाबाटै थाहा पाएँ। इस्यु त राम्रो हो तर केही अमर्यादित शब्द बोलिन्। पब्लिक फिगर भएपछि यस्ता शब्द बोल्न हुँदैनथ्यो। सुरुमा छोरीले कसरी त्यस्तो शब्द बोल्ने अवस्थामा पुगी भन्ने मनमा आयो। छोरीलाई यसबारे सोधेँ पनि। उनले भनेपछि कारण सही भए पनि अमर्यादित शब्द बोल्नु हुँदैनथ्यो भन्ने लाग्यो।

त्यसमाथि ४ गते पक्राउ पुर्जी नै जारी भएपछि त तनाब भयो होला नि ?
त्यो त हुने नै भयो। आस्थाले पनि तुरुन्तै माफी पनि मागी। मान्छेबाट गल्ती हुन्छ। त्यही कुराले इस्यु बनाएपछि स्वाभाविक रुपमा उसको बाबु हुँ, तनाब त हुने नै भयो। तर त्यतिविघ्न चैँ भएन। 

पहिलो फेसबुक लाइभको प्रतिक्रियापछि तपाईंलाई के लाग्यो ? आस्थाजीसँग कुरा भयो ?
खासै कुरा त भएन क्यारे ! बोली र गोली त गएपछि गयो गयो। गल्ती भयो भन्ने महसुस उनले गरिन्। बोल्न नहुने शब्द बोलिन् भन्ने लाग्यो। इस्यु ठीकै थियो तर शब्द चयनमा ध्यान दिइनन्। रिसको बेला वेद पढिन्न भन्ने नै भएको होला। कति संयमता अपनाउन सकिन्छ भन्ने कुरा हो। आक्रोशमा आउने वातावरणमा किन भयो होला भन्ने लाग्यो मलाई त।

छोरी नआइञ्जेलको अवस्था कस्तो रह्यो ?
हल्का तनाबै रह्यो भनौँ। मिडिया, मानवअधिकार लगायत वकिलहरुले तटस्थ रुपमा हेरेर धेरै सहयोग गर्नुभयो। गल्ती त भएकै हो। फुटेज लिक भएपछि छोरीको मात्र हैन, महिला प्रहरीको पनि गल्ती रैछ भन्ने कुरा आयो। छोरी नआइञ्जेल माहोल हेर्दैमा बित्यो।
पक्राउ पुर्जी नै जारी भएपछि प्रहरीले नेपाल सिमानामा प्रवेश गर्नेबित्तिक्कै जताबाट पनि पक्राउ गर्न

सक्थ्यो। तर छोरीलाई हामी आफैँ लिएर आउँछौँ भनेर भन्न जानुभएछ नि ?
पुलिसले वारेन्ट जारी गरेपछि छोरीले पनि प्रशासनले बोलाएको बेलामा आउँछु भनी। नहुनु पर्ने घटना भयो। घटना घटिहाल्यो। पछि पुलिस प्रशासनमा हामीले आफैँ लिएर आउँछौँ भन्यौँ। उहाँहरुले पनि मान्नु भयो। पक्राउ नै गर्नपर्ने ठूलै घटना पनि त भएको थिएन नि !

आस्थाजीको आमा सावित्रीजीले के भन्नुभयो ?
उसलाई पनि चिन्ता त लाग्यो नि !

के गर्ने भनेर वकिलहरुसँग कन्सल्ट पनि गर्नुभयो होला नि ?
त्यतिबेला त गरेनौँ। फेस गरौँ भन्ने भयो। आवश्यक परे पछि लिने कुरा भएको थियो। प्रहरी जवानले उजुरी हाल्दा हामीले पनि उजुरी गर्न सक्थ्यौँ तर प्रशासनलाई सहयोग गर्ने निर्णय ग-यौँ। आस्थाकी आमा सावित्री र मैले आस्थासँग कुराकानी गरेर फेस गर्ने निर्णय गरेका हौँ। 

कहिलेकाहीँ छोराछोरीले गल्ती गर्दा बाआमालाई तनाब हुने है ?
(हाँस्दै) तनाब त भइहाल्छ नि ! हामी अरुलाई दोष लगाउने पक्षमा थिएनौँ। जाहेरी दिने महिला प्रहरी पनि हाम्री छोरीजस्तै हो। हाम्री छोरी कुरा घुमाएर बोल्न जान्दिन। उसलाई सिधै बोल्नुपर्छ। छोरीको हक्की स्वभाव हो। म छोरीको त्यो बानीलाई रेस्पेक्ट गर्छु। महिला भएर लुत्रुक्क पर्नुपर्छ भन्ने छैन। तर विमानस्थलमा केही अमर्यादित शब्द बोलेको हो। हामीले स्वीकारेका छौँ। म आफैँले दुवै तर्फबाट माफी मागेको छु। गल्ती त दुवैबाट भएको हो। हामीले पनि जाहेरी दिन सक्थ्यौँ तर दिएनौँ।

किन ?
बदला लिनैपर्छ छैन। आस्थाले गाएको गीत छ नि, ‘घटीबढी जोख्नु छैन तुलो, बदलाको घडीभन्दा क्षमा गर्नु ठूलो’। यही भावानाले प्रेरित भएको हो।

हिरासतमा राख्न मन नलागेर अस्पताल राख्नुभएको ?
हैन। भएको के भने ऊ महिनावारी भएकी थिई। सायद कामले थाकेकी पनि थिई। अनि उसलाई पेट दुखिरहेको थियो। हामीले प्रहरीलाई यो कुरा भन्यौँ अनि उहाँहरुले अस्पताल राख्नसक्नु हुन्छ भनेपछि ब्लुक्रस अस्पतालमा राख्यौँ।

अहिले पनि रेस्ट गरिरहनुभएको छ कि ?
हैन, धरानको कार्यक्रममा गइसकी। केही गल्ती गरेको भए पो ! फेस गर्दै जाने पो हो त ! सधैँ लुत्रुक्क परेर हुन्छ ?

आस्थाजीले धरौटीमा रिहा हुँदा पुलिसको प्रशंसा गर्नुभयो क्यारे ! अलि डराउनुभएको हो कि ?
हैन, किन डराउनु ? हिरासतमा कस्तो भयो भन्ने प्रश्नमा जे भएको थियो, त्यही भनेकी हो उसले।

हुन त बुबाआमाले छोराछोरीको व्यवहारमा गलत लाग्दैन तर पनि छोरीको स्वभाव कस्तो हो भन्ने लाग्छ ?
मेरी छोरी हक्की छे, झडङ्ग रिसाउँछे। उसलाई नराम्रो किसिमले नभनेसम्म केही प्रतिक्रिया हुँदैन। तर निदाएको बाघलाई जिस्काएपछि के हुन्छ ? आफ्नै संसारमा बस्ने मान्छे हो। अन्याय सहन्न। ऊ प्रतिवाद गरिहाल्छे।

कसरी बनाउनुभयो यस्तो ?
त्यो निडर बनाउने काम हाम्रो हो। नम्रता सहितको निडरता। गायिकाहरुमा स्पष्टसँग कुरा राख्न सक्ने मान्छे हो भन्ने मलाई लाग्छ। हामीले अनुशासन सहितको स्वतन्त्र बनाएको हो।

आस्थाजी जन्मदाको क्षण भन्दिनु न ?
कसरी बयान गरुँ ? एकदमै खुसी थिएँ। जे जन्मे पनि एउटै सन्तान जन्माउने योजना थियो। अर्काे जन्माएनौँ पनि।

आफैँ पनि लोकगायक तर गायिका आस्था राउतका बाबु भनेर अहिलेको पुस्तामा चिनिनुहुन्छ। कस्तो लाग्छ ?
मेरो पुस्ताले मेरी छोरी भनेर चिन्छ, उसको पुस्ताले आस्थाको बुबा भनेर चिन्छ। असल छोरीको बाउ भनेर चिनिदा कसलाई खुसी लाग्दैन होला र ?

तपाईं चाहिँ गायन क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
२०३२ सालमा स्वरपरीक्षा पास गरेँ। त्यतिबेला जम्मा १४ वर्षको थिएँ म। रेडियो नेपालमा विशिष्ट दर्जा थियो। ६ महिनामा एकपटक गीत रेकर्ड गर्ने चलन थियो। 

संघर्षका सुरुवाती क्षण कस्तो रह्यो ?
मैले पछि फर्केर हेर्नु परेन। दोलखाको सदरमुकाममा नै हाम्रो घर थियो। बुबा प्रधानपञ्च भएर पनि होला खासै गाह्रो भएन। गाउँदै जान असहज भएन। कृषि चुन उद्योगमा असिस्टेन्ट म्यानेजर थिएँ । आर्थिक हिसाबले पनि गाह्रो भएन हौ मलाई त ! २० वर्ष काम गरेँ त्यहाँ।

रेडियो नेपालमा पहिलोचोटि आफ्नै गीत सुन्दा कस्तो महसुस भयो ?
एकदमै पो रमाइन्थ्यो त ! म जस्तो कोही छैन जस्तो लाग्ने नि ! त्यतिबेला तीनै प्रहरमा मेरो गीत बज्थ्यो। एकदमै खुसी लाग्थ्यो। 

तपाईंकी जीवनसाथी सावित्रीजी पनि गीत लेख्नुहुन्छ क्यारे ! लभ म्यारीज गर्नुभएको हो ?
(हाँस्दै) लभ–एरेन्ज भन्छ होला।

तीनै जना संगीत क्षेत्रमा है ! घरमा त पूरै सांगीतिक माहोल छ होला नि ?
सावित्रीले त पछि लेख्न थालेकी हुन्। उनले छोरी र मेरालागि मात्र लेखिन्। उनी खासमा एसओएस स्कुलमा पढाउँछिन्। मैले गीत लेखेपछि उनलाई देखाउँछु। उनले केही थपथाप गर्नुपर्ने भए गर्छिन्। हामी बाउछोरीले गाउने गीत पनि के गाउने के नगाउने भन्ने निर्णय हामी घरबाटै गर्छौँ। एक हिसाबले भन्ने हो भने देशमा सेन्सरबोर्ड छैन, हाम्रो घरमा चाहिँ छ।

आस्थाजीलाई मन परेको तर तपाईंहरुले गाउन नदिएको कुनै गीत छ त ?
सबै कुरा जन्मदै सिकेर आइन्न। केही आइटम गीत छन्। नाम त नभनौँ। अफर आएका थिए। हामीले घरमा सल्लाह गरेरै नगाउन भनेका हौँ। अहिले बजारमा हिट भइरहेका छन्। आफ्नो छुट्टै परिचय बनाउनुपर्छ तर अफर आयो भन्दैमा जस्तो गीत पनि गाउनुपर्छ भन्ने छैन।

कस्ता गीतमा सेन्सर गर्नुहुन्छ ?
समाजलाई पाच्य नहुने गीत। मायाप्रेमका भए पनि शिष्ट भाषामा पनि गर्न सकिन्छ तर यहाँ कतिपय चर्चित भएका गीतका शब्द चयन राम्रो नलागेपछि सेन्सर गर्छौँ।

आस्थाजीले सेन्सर भो भन्नुहुन्छ कि हुन्न ?
हामीले यस्तो गर्नुपर्छ भन्नेपछि उसले किन भनेर सोध्छे। कारण दिएपछि मान्छे। उसले जागरणका गीतहरु गाउने हो। मायाप्रीतिका कुरा पनि धार बोकेका हुनुप¥यो नि ! अराजक नै त हुन भएन।

आफूलाई अफर आएको गीत अरुले गाउँदा चर्चित भएपछि गायकलाई त पछुतो लाग्छ होला नि, किन सेन्सर गर्नुभएको ?
नारायणगोपालले थोरै नै गीत गाउनुभयो तर उहाँका गीत सदावहार छन्। उहाँ स्वरसम्राट हुनुभयो। अफर आउँदैमा गाउनैपर्छ भन्ने पनि छैन।

आफूले गाउने गीत र छोरी पुस्ताले गाएका गीत सुन्दा कस्तो लाग्छ ?
अहिले त धेरै फरक छ नि ! उसको पुस्ता र मेरो पुस्ताको माग नै फरक छ। उसको गीत पनि राम्रो लाग्छ। आफ्नो पनि रामै्र लाग्छ। मैले गाएका सबै गीत पनि वाउ भन्ने छैनन् नि ! उसका पनि त्यस्तै हो। छोरीको र मेरो गीतको मात्रै तुलना नगरी छोरीको पुस्ता र मेरो पुस्ताको गीतमा छोरीको पुस्ताको गीतहरु अजरअम्मर छैनन् भन्न चाहिँ सकिन्छ।

किन यस्तो भएको ?
खै, स्रोत सकिदै जाने होला ! नयाँ किसिमको सिर्जना नभएको हो कि !

नारायणगोपाल, धर्मराज थापाका गीतमा सुन्दा पनि आनन्द लाग्ने छन्। अहिलेको त्यस्तो देखिन्न है ?
त्यो त हो। पहिलेका गीत लामो समयसम्म चल्थे। अहिलेका भने बर्खे भेलजस्ता छन्। कि कलाकारलाई चिनाउँछन् गीतले कि गीत आएकै थाहा हुन्न।

किन होला ?
कलाकारले पनि त्यस्तै ल्याएर होला। माग पनि नहुने। पहिला जत्तिको केही गीत छन्, हुँदै नभएका त होइनन् तर राम्रा गीतसंगीत पहिलेको तुलानामा कम आएकै हो। 

गीतसंगीतको भविष्य कस्तो देख्नुहुन्छ ? सबै प्रकारका गीतमा मन नछुने धेरै आएका हुन् ?
अरु क्षेत्रको त मैले के भनौँ र ! लोकगीत चाहिँ सुधार्नुपर्ने देख्छु। अधिकांश फिल्मका गीतहरु लोकभाषा भएका चलिरहेका हुन्छन्। मुखमा बस्न सक्ने ट्याप्प टिप्न सक्ने हुन्छन् ती। त्यो भएर पनि राम्रो भएको होला। लोकगीत जति अरुको भविष्य कमै हुन्छ।

काँठ क्षेत्रको भाका अलि ओझेलमा परेको देखिन्छ नि ?
हो, शहरीकरणले अरु नै गीतसंगीत बढी बज्न थाले। काँठ क्षेत्रको भाका ओझेलमा परेकै हो।

भनेपछि अडियन्सअनुसार गीत बन्ने हुन् ?
हो नि ! संस्कृति जोगाउने हिसाबले बनेका गीतहरु टिपिकल शब्दमा जान्छन्। व्यावसायिक गीतमा त्यस्तो हुन्न। अडियन्सले जस्तो सुन्छन् उस्तै बन्छन्।

लोकगायक धर्मराज थापाले धेरै लोकगीत संकलन गर्नुभयो तर अहिले त कोही फिल्डमा जाँदैन नि ?
अब प्योर खोजेर पाइन्न पनि। शुद्ध दुध खानेलाई बाच्छो भएर जन्मनुपर्छ भन्ने जस्तो भयो। पहिला गाउँघरका स्थानीय भाका हुन्थे। अहिले अवस्था त्यस्तो छैन। कोठामा बसेर बन्छन् धेरै गीत। अनि अब त गाउँमा पनि टिपिकल्ली आफँै गाउने चलन हराइसक्यो। यसैको असर पनि होला।

थोरै छोरीकै कुरामा जाऊँ... आस्थाजी कोसँग बढी मिल्नुहुन्छ ?
दुवैसँग उस्तै हो। गीतसंगीतको माहोलको कुरा मसँग र अरु कुरामा आमासँग सल्लाह हुन्छ।

छोरी बाहिर जाँदा कतिको मिस गर्नुहुन्छ ?
पहिला पहिला अत्ति मिस हुन्थ्यो। अहिले त हुन्न। ऊ घरमा नभएपछि उसको कोठामा हेर्छु। ठूलो सुटकेस घरमा देखियो भने छोरी देशमै रहिछ भन्ने लाग्छ। ठूलो रैन्छ भने बाहिरी देश गएकी रहिछ भन्ने हुन्छ।

संवाद कत्तिको हुन्छ ?
संवाद त भएकै हुन्छ नि ! जता जाँदा पनि घरमा भनेकै हुन्छे तर धेरै बाहिर गइरहने भएको हुँदा कता गएकी हो बिर्सन्छु म त अनि कोठा चियाउँछु।

आस्थाजीले बोलेका कुराहरु समाचार बनिरहेका हुन्छन्। कहिलेकाहीँ अलि नबोले हुन्थ्यो जस्तो लाग्दैन ?
लाग्दैन। हक्की स्वभावकी छ। केटा र केटीमा केही फरक पाउँदिन। लागेको कुरा भनिहाल्छे। हाँसीमजाकमा भनेका कुराले के चित्त दुखाउनु ?

हाम्रो समाजमा छोरीको विवाह गर्न पनि सामाजिक दबाब नै पर्छ क्यारे ?
अँ, विवाह गर्नैपर्छ भन्ने पनि छैन। जातभात भन्ने कुरा हाम्रोमा हुँदैन। उसले मन पराएको मान्छेसँग विवाह गर्न ऊ स्वतन्त्र छे। हामीसँगै सल्लाहै गरे के फरक पर्छ र भन्ने लाग्छ।

गीतसंगीतमा लागेर मात्रै जीविका चलाउन गाह्रै छ भनिन्छ। छोरीले अरु काम पनि गर्दिए भन्ने लाग्छ होला है ?
अँ, मास्टर्स पढ्दैछे क्यारे ! अर्थाेपार्जनमा त समस्या छैन आजसम्म। उसैले केही सोचेकी होला।

Leave A Comment