दुखाइको मनोवैज्ञानिक उपचार

बुधबार, ०१ भदौ २०७३, ११ : १४ कञ्चन रावत , Kathmandu
दुखाइको मनोवैज्ञानिक उपचार

शरीरका विभिन्न भागमा हुने दुखाइ एउटा अनुभूति हो । दुखाइ हामी सबैले निरन्तर महसुस गर्दै आइरहेका छौँ । दुखाइबाट हुने पीडाबाट हामी सबै उम्कन चाहन्छौँ । तर, दुखाइको सही उपचारको अभावमा यसको पीडाबाट उम्कने हाम्रो चाहना सजिलै पूरा हुन सकिरहेको हुँदैन । हिजोआज कुर्सीमा बसेर निरन्तर काम गर्नेहरूमा ‘मेकानिकल पेन’ भनिने ब्याक पेनको समस्या धेरै नै देखापर्न थालेको छ । चिकित्सकहरूले यसलाई सामान्य समस्याको सूचीमा राख्ने गरेका छन् । तर, जो यो दुखाइको पीडाबाट गुज्रिरहेको हुन्छ उसलाई भने निरन्तर ढाड तथा कम्मर दुखिरहने भएकाले उसले बसेर काम गर्न सकिरहेको हुँदैन । यस्तो अवस्थामा दुखाइ कम गर्ने औषधि तथा ‘फिजिकल थेरापी’ले मात्रै काम गर्दैन । क्रोनिक पेन हुनेहरूका लागि मनोपरामर्श गरेर उपचार गर्नुपर्ने हुन्छ ।  
दुखाइ शरीरका विभिन्न भागमा हुने भए तापनि दुखाइको अनुभूति मस्तिष्कले गर्ने हो । दुखाइ विभिन्न प्रकारको हुन्छ । पोलेको जस्तो महसुस हुने, चसचस घोच्ने, शरीर तातो भएजस्तो लाग्ने, चिसो हुने आदि । जब दुखाइ हुन्छ दिमागले शरीरका तन्तुहरूलाई खतरा छ भन्ने थाहा पाउँछ र त्यो खतरालाई हटाउने कार्य गर्न थाल्दछ । तर, यही कार्य गर्नुलाई दिमागले फेरि खतराको रूपमा लिन्छ । यस कारण यो खतरा होइन यो निको पार्न हो भनेर दिमागलाई बुझाउने विधि मनोपरामर्शमार्फत गर्न सकिन्छ ।
दिमागलाई दुखाइबारे बुझउनु एकदमै जरुरी छ । दुखाइ शरीरका विभिन्न भागमा सरिरहेको हुन्छ । यो अचानक जुनसुकै बेला पनि हुन सक्छ । हाम्रो विचार, भावना, मूल्यमान्यताले पनि दुखाइको पीडा तलमाथि हुन्छ भन्ने दिमागलाई बुझाउनुपर्ने हुन्छ । दुर्घटनामा परेर, लडेर, नसा च्यापिएर दुखाइ  भएको हो  भने त्यसलाई  तीव्र  खालको दुखाइ (एक्युट पेन) भनिन्छ । तीव्र खालको दुखाइमा शरीरका कोशिकामा  क्षति भएकोे हुन्छ । यस्तो दुखाइलाई औषधि तथा थेरापी गरेर निको पार्न सकिन्छ । बिस्तारै दैनिक क्रियाकलापमा फर्किन सकिन्छ ।
यदि दुखाइ तीन महिनाभन्दा लामो समयसम्म रहन्छ भने त्यसलाई कडा खालको दुखाइ क्रोनिक पेन भनिन्छ । यस खालको दुखाइमा कोशिकाहरूमा चोटपटक नलागेको हुन सक्छ । एक्स रे गर्दा नदेखिन सक्छ । तर, पनि पीडा भइरहेको हुन्छ । अस्टे«लियामा कडा खालको दुखाइको ठुलो समस्या छ । त्यहाँ हरेक पाँच व्यक्तिमध्ये एकजनामा यो समस्या रहेको अध्ययन पत्ता लागेको छ ।
शरीरका कोशिकाहरू स्वस्थ भइसकेपछि पनि हाम्रो मस्तिष्कले दुखाइको अनुभूति उत्पादन गरिरहेको हुन्छ । त्यो वास्तवमा मनोवैज्ञानिक दुखाइ मात्र हो । यदि तीन महिनाभन्दा बढी समय लगातार दुखाइ रहेको छ भने त्यो मस्तिष्कले ग्रहण गर्ने दुखाइ या मस्तिष्कमा रहेका संवेदनशील स्नायु प्रणालीको प्रतिक्रिया मात्र हो । यो  मस्तिष्कको एउटा जटिल प्रक्रिया हो ।
औषधि सेवनले दुखाइ कम गर्न सहयोग पुगे पनि कतिपय अवस्थामा त्यो अल्पकालीन हुन्छ । लामो समयसम्म दुखाइ कम गर्ने औषधि सेवन गर्नाले त्यसको साइड इफेक्ट हुने डर पनि उत्तिकै हुन्छ । त्यसैले दुखाइ कम गर्न वा निको पार्न औषधिको मात्र भर नपरेर मनोपरामर्शमार्फत उपचार गर्ने विधि अपनाउँदा त्यसैले धेरै नै सकारात्मक परिणाम ल्याउँछ ।
दुखाइले मानिसको जीवनमा ठूलो प्रभाव पारेको हुन्छ । यसले मानिसको भावना र तनावमा पनि ठूलो प्रभाव पारेको हुन्छ । दुखाइसँग सम्बन्धित  कथाव्यथाबारे सोधखोज गर्नाले पनि दुखाइलाई बुझ्न सहयोग गर्छ । पीडा सुरु भएको समयलाई याद गर्ने र पुरानो घटनालाई फेरि फर्केर हेर्दा मनिसले दुखाइलाई जीवनमा भोगेको दुःखद घटना र त्यसमा अनुभूति गरेको पीडा बीचको सम्बन्धलाई चित्रण गरिरहेको पाइन्छ । दुखाइ भनेको मस्तिष्कबाट आउँछ । मनोवैज्ञानिक विधिबाट दुखाइको समग्र वा बृहत् अवलोकन गरेर यसको उपचार गर्न सकिन्छ ।
ठूलो चोटपटकमा धेरै दुख्ने र सानो चोटपटकमा थोरै दुख्ने भन्ने पनि हुँदैन । टाउकोमा सानो चोट लागे पनि मानिस आफूलाई धेरै पीडा भएको महसुस गर्दैै आत्तिरहेको हुन्छ । तर, हातको औँला नै छिन्ने गरी काट्दा पनि त्यति धेरै नआत्तिएको पनि हुन सक्छ । चोटपटक लागेको छ तर कत्तिको लागेको छ, कति गहिरो चोट छ भन्ने कुराको ज्ञान नहँुदा पनि दुखाइको मात्रा बढेर जान्छ । दुखाइको अनुभूति दिमागले नै गर्ने हो । तर, शरीरका विभिन्न भागमा हुने सबै पीडा दिमागमा थुप्रिन थाल्यो भने त्यसलाई औषधि सेवनले निको पार्न सकिँदैन । दुखाइको उपचारमा संलग्न चिकित्सकहरू पनि तपाईंको पीडा दिमागमा अडिएर बस्यो भने पूर्ण रूपमा निको हुन गाह्रो हुने बताउँछन् । त्यसैले पीडा तथा दुखाइको मनोवैज्ञानिक उपचार गर्नेतर्फ पनि ध्यान दिँदा यसबाट बेलैमा छुटकारा पाउन सकिन्छ ।

 

Leave A Comment