जुम्ल्याहाहरुको कीर्तिमान

मङ्गलबार, २८ माघ २०७६, ०१ : ०७ शुक्रवार
जुम्ल्याहाहरुको कीर्तिमान

गएको साता श्रीलंकामा जुम्ल्याहाहरुको विश्वकीर्तिमानी भेला आयोजना गर्न लागिएको थियो तर सोचेजस्तो भेला नभएपछि यो कीर्तिमान असफल हुन पुगेको छ।

स्थानीय आयोजकहरुले राजधानी कोलम्बोको रङ्गशालामा अघिल्लो कीर्तिमान भङ्ग गर्नका लागि कार्यक्रम आयोजना गर्न खोजेका थिए। अघिल्लो पटक ताइवानले जुम्ल्याहाहरुको गिनिज वल्र्ड रेकर्ड बनाएका थिए। सन् १९९९ मा उनीहरुले ३ हजार ९ सय ६१ जुम्ल्याहा, ३७ तिम्ल्याहा र चार चम्ल्याहा समूह भेला पारेका थिए।

कीर्तिमान बनाउनका लागि सोचेभन्दा बढी मानिसहरु भेला भएको जनाइएको छ। यति धेरै मानिस आए कि तिनको व्यवस्थापन र जन्मदर्ता जाँच गर्नै व्यवस्थापनले सकेन। जसका कारण गिनिज वल्र्ड रेकर्ड बन्नबाट चुक्यो।

एक साथ छ हजारभन्दा बढी भेला भएको आयोजकले जनाएका छन्। कीर्तिमानका लागि तीन महिनादेखि ८९ वर्ष उमेर समूहका मानिसहरु चार घण्टाभन्दा बढी दर्ताका लागि बिताएका थिए।

यस पटक कीर्तिमान बनाउन नसकिए पनि अर्को पटक कडा नियमका बाबजुद प्रयास गर्ने आयोजकले बताएका छन्। कीर्तिमानकै लागि भनेर कयौँ जुम्ल्याहाहरु घण्टौको यात्रा गरेर आएका थिए।

जसमध्ये सेनाका दुई जना जनरल जयन्त र पुरेका सेनेभिरत्नेसमेत यसमा सहभागी थिए। जयन्तले भने, ‘हाम्रो शक्ति के हो भन्ने कुरा यहीँ आएर मैले चाल पाएँ, त्यसैले यो कीर्तिमान बन्नै पर्छ।’

श्रीलंकाको उत्तरी भेग जाफ्नाबाट चार सय किलोमिटर यात्रा गरेर आएका जुम्ल्याहामध्ये एक सयन्थमले भने, ‘१० घण्टामा रेल यात्रा गरेर त आइयो तर कीर्तिमान बनाउन सकिएन, दुःख लाग्यो।’

Leave A Comment