‘नाच्दानाच्दै उज्यालो भएको पत्तै पाइएन’

मङ्गलबार, २८ माघ २०७६, ०१ : ५१ शुक्रवार
‘नाच्दानाच्दै उज्यालो भएको पत्तै पाइएन’

‘ब्याटल’ दोहोरी तथा ‘चुइगम पराग’, ‘कुखुराको भाले’ जस्ता थुप्रै गीतमा आवाज भरेकी गायिका हुन्, प्रीति आले। उनै आलेले शुक्रवारकर्मी भोला अधिकारीसँग गरेको रात्रिकालीन अनुभवः

तपाईंलाई नाइट लाइफ कत्तिको मन पर्छ ?
मलाई त नाइट लाइफ एकदमै मन पर्छ। केही समय अगाडिसम्म त मेरो बास नै दोहोरीसाँझ, डिस्कोमै हुन्थ्यो। पछिल्लो समयमा पहिलाको तुलनामा कम छ। पहिला काम पनि हुन्थ्यो दुईचारजना साथीहरु बटुल्यो रातभरि हिँडेर दोहोरीसाँझ र डिस्कोमा खुब रमाइलो गरियो। अहिले पनि कम त छैन।

पहिलोपटक डिस्को जाँदा कस्तो लाग्थ्यो ?
पहिला–पहिला त डर लाग्थ्यो। के होला कसो होला भनेर। पछि पछि बानी हुन थाल्यो। केही होइन रहेछ भन्ने लाग्न थालेपछि त हिँडिरहन थालियो। म पहिलोपटक गजलबार छिरेकी हुँ। मलाई गजलहरु एकदमै मन पर्ने भएकाले धेरै जसो गजलबार जाने गर्थेँ।

विदेश जाँदा पनि दोहोरीसाँझ डिस्को गइरहनुन्थ्यो रे ?
विदेशमा त भन्नै पर्दैन। विदेशमा मात्र होइन स्वदेशमा पनि धेरै रमाइलो गर्ने मान्छे हो म। विदेशमा प्रायः डिस्को, दोहोरीसाँझमा त गइरहेकै हुन्छु। विदेशमा भ्याएसम्म नाइट लाइफ एकदमै जाने गर्छु। पहिला फुर्सदिलो हुँदा एकदमै गइन्थ्यो। अहिले व्यस्त हुँदा पनि जान छोडेकी भने छैन। नाइट लाइफ  एकदमै रमाइलो लाग्ने भएकै कारण पनि नाइटका दोहोरीसाँझ, गजलबार, डिस्कोलगायतका क्षेत्रमा म पुगिरहेकै हुन्छु। नेपालमा भन्दा बढी विदेशमा जाने गरेकी छु। किनभने नेपालमा कम मात्रामा बस्छु। अहिले अलिक व्यस्त भएका कारण होला नेपालमा भन्दा विदेश नै हो नाइट लाइफ इन्जोय गर्ने ठाउँ।

नेपालमा कता जानुहुन्छ ?
नेपालमा त म सबै भन्दा धेरै घुम्ने भनेको पोखरा हो किनभने कार्यक्रममा जाने आउने पोइन्ट भएका कारण पनि पोखराको बसाइ बढी भएको छ। पोखरामा एउटा रुपाहिल दोहोरीसाँझ छ। त्यो आफ्नै साथीको भएका कारण पनि प्रायः  गइरहेकी हुन्छु। केही दिन अगाडि पनि थिएँ। अर्को कुरा हामी दोहोरीसाँझ राति एघार बजेतिर बन्द भएपछि साथीहरु बटुलिएर डिस्को हिँड्छौँ।

काठमाडाैंमा कतै जानुहुन्न ?
काठमाडौंमा पनि जान्छु। ठमेल दरबारमार्गका डिस्को त नजाने कुरै भएन। तर पहिलाको तुलनामा अहिले अलिक कम जान्छु। आफूलाई नाच्न मन लाग्ने भएका कारण डिस्को नगइ त चित्तै बुझ्दैन। अहिले काठमाडांैको बसाइ एकदमै कम भएको छ। महोत्सवका कारण हिँडेको हिँडै छु। तपाईंलाई नढाटी भन्नुपर्दा काठमाडौंमा यो महिना त २ दिन मात्रै बस्न पाएँ। नत्र काठमाडौं बाहिरै छु।

अल्कोहल कत्तिको पिउनुहुन्छ नि ?
मात्ने गरी त पिउँदिन। डिस्को गएपछि एक बोतल वियर पिउने गरेकी छु। दोहोरीसाँझमा पनि त्यस्तै नै हो। नाच्न, रमाइलो गर्न गएको मान्छे नपिई निस्कँदा त के मज्जा भयो र हैन। पिइन्छ हल्का साथीहरुसँग रमाइलोका लागि। पहिला–पहिला वाइन खान्थेँ। अर्को कुरा आफूलाई मातेको मन पर्दैन। ठिक्क लेवलमा पिएको राम्रै लाग्छ मलाई। मेरा साथीले पनि मात्ने गरी खाएको जस्तो लाग्दैन। थोरै खाने हो धेरै इन्जोय गर्ने हो।

तपाईंसँग नाइटमा हिँड्ने कलाकार साथीहरु को–को हुनुहुन्छ ?
म  त भइहालेँ। त्यसपछि ज्योति मगर कहिलेकाहीँ दुर्गेश थापा। जो डिस्कोमा गएर डान्स गरिरहेका हुन्छौँ। अरु कलाकारिता भन्दा बाहिरका साथीहरु हुनुहुन्छ।

डिस्कोमा नाच्दानाच्दै उज्यालो भएको कुनै अनुभव छ ?
(हा... हा... हा...)  किन नहुनु। यो घटना केही दिन अघिको मात्रै हो। पोखराको दोहोरीसाँझ (रुपा हिल) मा बेलुका ११ बजे दोहोरीसाँझमा  रमाइलो गरियो। अनि गायिका ज्योति मगर म लगायतका साथी बटुलेर डिस्को गयौँ। डिस्कोमा नाच्दानाच्दै उज्यालो भएको पत्तै भएन। हामी रुममा फर्किँदा त मान्छेहरु मर्निङ वाकमा पो हिँड्दै रहेछन्। अनि मैले घडी हेरेको त बिहानको पाँच बजिसकेको रहेछ।  

तपाईंलाई धेरै नै डान्स गर्न मन लाग्ने रहेछ। डान्सबार गइयो कि गएन ?
डान्सबार त गइनँ। मलाई डान्सबारतिर जाने नाच्ने भन्ने दिमागमै आएन। त्यहाँ छोरी मान्छे भन्दा केटा मान्छे धेरै जाने गरेका हुन्छन् भन्ने सुनेकी छु। केटी मान्छे कम नै जान्छन् होला। मलाई त्यस्तो लाग्छ।

Leave A Comment