धोकेबाज महिला

शुक्रबार, २३ फागुन २०७६, ११ : ४७ प्रकाश जंग थापा
धोकेबाज महिला

महिला र पुरुषबीचको सम्बन्धमा पूर्णविराम लागेको, ब्रेकअप भएको अथवा डिभोर्स भएको अवस्थामा प्रायः पुरुषलाई नै दोष लगाइन्छ र महिलालाई निर्दोष सावित गरिन्छ। भनाइको तात्पर्य, पुरुषलाई धोकेबाज र महिलालाई वफादारको रुपमा चित्रण गरिन्छ। सन् २०११ मा ‘आर्काइभ अफ सेक्सुअल बिहेभियर’ जर्नलमा छापिएको अध्ययनअनुसार २३ प्रतिशत पुरुषले प्रेमिका अथवा जीवनसाथीलाई धोका दिएको पाइयो। त्यसैगरी १९ प्रतिशत महिलाले प्रेमी अथवा जीवनसाथीलाई धोका दिएको पाइयो। यस तथ्याङ्कअनुसार सम्बन्धमा महिला पनि उत्तिकै धोकेबाज हुन सक्ने पुष्टि हुन्छ। आखिर महिला किन धोकेबाज हुन्छन् त ? विभिन्न वैज्ञानिक शोध र अध्ययनअनुसार महिला धोकेबाज हुनुका पछाडि निम्न कारण हुन सक्छन्ः

यौन दुर्बलता
मनोचिकित्सक एम. ग्यारी न्युम्यानले पाँच सयजना समूहको सम्बन्धप्रति वफादार र धोकेबाज महिलामा अनुसन्धान सञ्चालन गरेका थिए। त्यस अनुसन्धानमा ती महिलाको यौन आवृत्ति हेरिएको थियो। त्यस अनुसन्धानअनुसार सम्बन्धप्रति वफादार महिलाले प्रत्येक महिना दसपटक यौन सम्पर्क राखेको पाइयो। त्यसैगरी सम्बन्धप्रति बेइमानी, धोकेबाज महिलाले प्रत्येक महिना पाँचपटक यौन सम्पर्क राखेको पाइयो। यस तथ्याङ्कअनुसार यौन दुर्बलता अथवा अनियमित यौन सम्पर्कका कारण महिला धोकेबाज हुने स्पष्ट हुन्छ।

सशक्त संवादको अभाव
एम. ग्यारी न्युम्यानले पाँच सयजना वफादार र धोकेबाज महिलामा सञ्चालन गरेको अनुसन्धानमा महिलाको संवाद कौशल एवं संवाद अवधि पनि हेरिएको थियो। अध्ययनअनुसार सम्बन्धप्रति वफादार महिलाले आफ्नो पुरुष साथी, प्रेमी अथवा श्रीमान्सँग प्रत्येक दिन ३० देखि ६० मिनेट संवाद गरेको पाइयो। त्यसैगरी सम्बन्धप्रति बेइमानी अथवा धोकेबाज महिलाले आफ्नो पुरुष साथी, प्रेमी अथवा श्रीमान्सँग प्रत्येक दिन पाँच मिनेटभन्दा कम समय अवधि संवाद गरेको पाइयो। यस तथ्याङ्कअनुसार सशक्त संवादको अभावमा महिला धोकेबाज हुने स्पष्ट हुन्छ।

सम्बन्धमा खुसी हुन नसक्नु
अमेरिकी मानवशास्त्री एवं मानव व्यवहार अनुसन्धानकर्ता हेलेन फिसरको एउटा अध्ययनले ३४ प्रतिशत धोकेबाज महिला प्रेमीसँगको सम्बन्धमा खुसी रहेको देखाएको छ। अर्को शब्दमा भन्नुपर्दा, सोही अध्ययनले ६६ प्रतिशत महिला प्रेमीसँगको सम्बन्धमा खुसी हुन नसकेको देखाएको छ। यस तथ्याङ्कअनुसार सम्बन्धमा खुसी हुन नसक्दा महिला धोकेबाज हुने स्पष्ट हुन्छ।

कार्यक्षेत्रमा उच्चस्तरीय सफलता
अहिलेको विश्वमा पुरुषको मात्र होइन, महिलाको पनि कार्यक्षेत्रमा ठूलो भूमिका हुन्छ। ‘युनिभर्सिटी अफ वासिङ्टन’ को अध्ययनले जुन महिलाको वार्षिक आम्दानी ७५ हजार डलर हुन्छ, उनीहरु वार्षिक आम्दानी ३० हजार डलरभन्दा कम आम्दानी गर्ने महिलाको तुलनामा १.५ गुणाले बढी धोकेबाज हुन्छन्। यस तथ्याङ्कअनुसार महिलाले कार्यक्षेत्रमा जति धेरै सफलता पाउँछन्, उति नै धेरै धोकेबाज हुन सक्ने सम्भावना रहेको स्पष्ट हुन्छ।

धोकेबाज महिलाका सङ्केत
विवाह र परिवार थेरापिस्ट, ‘च्याटिङ अर चिटिङ’ पुस्तकका लेखिका सेरी मायर्सका अनुसार धोकेबाज महिला निम्न सङ्केत देखाउने गर्छन् र सोही सङ्केतका आधारमा आफ्नो महिला साथी, प्रेमिका वा श्रीमती धोकेबाज रहेको नरहेको बुझ्न सकिन्छः

कम्प्युटर वा फोनमा अत्यधिक समय व्यतीत गर्नुस्
डिजिटल युगमा कम्प्युटर वा फोनको प्रयोगबाट अलग हुन सकिँदैन। त्यसैले यस गतिविधिलाई अस्वाभाविक मान्न सकिँदैन तर यसो भन्दैमा त्यसको अत्यधिक प्रयोग हुनु बिग्रँदै गरेको सम्बन्धको सूचक हुन सक्छ। मानौँ तपाईंको प्रेमिका साथमा छिन्, पहिलेभन्दा लामो अवधिसम्म फोन चलाउँछिन् र बारम्बार मुस्कुराउँछिन् भने तपाईंको प्रेमिकाको जीवनमा कुनै विशेष व्यक्तिको आगमन भइसकेको छ भन्ने अर्थ लाग्छ। त्यसैगरी मानौँ तपाईंकी प्रेमिका फोनमा कुराकानी गर्दैछिन् र त्यही समय तपाईं त्यहाँ उपस्थित हुनु भयो। यस्तो अवस्थामा तपाईंको प्रेमिकाले बोलीको लवज वा वर्णक्रम परिवर्तन गर्छिन् अथवा फोन अचानक काट्छिन् भने तपाईंबाट प्रेमिकाले केही लुकाउँदैछिन् भन्ने अर्थ लाग्छ।

व्यक्तिगत ठाउँ र समयको माग राख्नुस्ः
तपाईंको प्रेमिकाले अरु पुरुषसँग सम्बन्ध बढाएको अवस्थामा तपाईंको सम्पर्कमा रहन चाहँदैन। सकेसम्म टाढिन चाहन्छे। भेटका लागि आग्रह गरे कुनै न कुनै बहानामा भेट्न अस्वीकृति जनाउँछिन्। कहिलेकाहीँ भेट हुँदा फोनका लागि अतिरिक्त सुरक्षा विधि अपनाउँछे। तपाईंलाई उनको फोन प्रयोग गर्ने अनुमति हुँदैन। तपाईंकी प्रेमिकाले यस्तो गतिविधि देखाउँछे भने तपाईं धोकामा हुनुहुन्छ।

मतभिन्नता उत्पन्न हुँदा सम्बन्धको अन्त्यका विषयलाई प्रवेश गराउनुस्
सम्बन्धमा स–साना मतभेद वा मतभिन्नता सिर्जना हुनु सामान्य हो। यस्तो परिस्थितिमा तपाईंको प्रेमिका सम्बन्ध सुधारमा गम्भीर नभएर झन् थोरै नकारात्मक हुन्छिन् भने उनी सम्बन्धलाई अन्त्य गर्न चाहन्छिन् भन्ने बुझिन्छ। त्यसैगरी कतिपय अवस्थामा मतभेद हुँदा उनी भन्ने गर्छिन्, ‘हाम्रो सम्बन्ध अन्त्य भए के गर्नुहुन्छ ? यदि हाम्रो सम्बन्ध अगाडि बढ्न सकेन भने तपाईंलाई साथीको रुपमा प्रेम गर्नेछु।’ जब तपाईंको प्रेमिकामार्फत यस्ता भनाइ बारम्बार आउँछन्, उनी तपाईंलाई धोका दिँदैछिन् भन्ने बुझिन्छ।

अरु पुरूषसँगको सम्बन्धबारे रक्षात्मक हुनुस्,
मानौँ तपाईंले आफ्नो प्रेमिका वा महिला साथी अरु पुरुषसँग निकट रहेको अनुभूत गर्नुभयो। यस्तोमा तपाईंले त्यस पुरूषसँगको सम्बन्धबारे सोध्नुभयो तर उनी रक्षात्मक भइन्, छोटो स्पष्टीकरण वा अनावश्यक रुपमा अतिरिक्त वर्णन गर्न थालिन् भने उनी धोका दिने पक्षमा छिन् भन्ने बुझिन्छ।

शारीरिक सुन्दरता, रुपरङ र पोशाकप्रति अति नै सचेत रहनुस्
हरेक महिला सुन्दर र आकर्षक देखिन चाहन्छिन्। तपाईंकी प्रेमिका वा महिला साथी शारीरिक सुन्दरता र रुपरङप्रति अति नै सचेत हुन्छिन्, जिम हलमा भर्ना हुन्छिन्, चल्तीका फेसन अनुसरण गर्न लालायित हुन्छिन्, नयाँ–नयाँ डिजाइनका पोशाक खरिदमा पैसा खर्च गर्छिन् र अत्यधिक मेकअप (श्रृङ्गार) गर्छिन् भने उनी कुनै नयाँ पुरुषलाई आकर्षित गर्ने योजनामा छिन् भन्ने बुझिन्छ।

तपाईंको रुप र स्वभावप्रति आलोचनात्मक हुनुस्
कुनै पनि महिला तपाईंको रुप र स्वभाव देखेरै तपाईंप्रति आकर्षित हुन्छिन् र अन्ततः प्रेमिका वा महिला साथी हुन्छिन्। अब तिनै प्रेमिका वा महिला साथी तपाईंको त्यही रुप र स्वभावप्रति आलोचनात्मक हुन्छिन् भने उनी अरु पुरुषसँग नजिक हुन खोज्दैछिन् भन्ने बुझिन्छ।

यौनप्रति रुचि र उत्साहमा घटबढः
तपाईंकी प्रेमिका वा महिला साथीले तपाईंप्रति देखाउने यौनिक गतिविधि दुई किसिमका हुन सक्छन्। एक, तपाईंसँग शारीरिक घनिष्ठता अथवा यौनका लागि सहजै उपलब्ध नभइदिनु, स्नेही नहुनु तथा भावनात्मक सम्बन्ध मजबुत नहुनु। दुई, अचानक कामुक भइदिनु, ओछ्यानमा नयाँ यौन सम्पर्क गर्ने तरिका परीक्षण गर्न अग्रसर हुनु। यदि तपाईंकी प्रेमिका वा महिला साथीले यी दुईमध्ये कुनै एक यौनिक गतिविधि देखाउँछिन् भने उनको धोखा दिने मनोभाव छ भन्ने बुझिन्छ।

समय समयमा तेस्रो व्यक्तिको उल्लेख गर्नुः
सम्बन्धमा विचार आदनप्रदान हुनु राम्रो हो। यद्यपि तपाईंकी प्रेमिका वा महिला साथीले एकै पटक दुई व्यक्तिलाई प्रेम गर्न सकिने वा नसकिने भनेर जिज्ञासा राखिन् र तपाईंको विचार जान्न चाहन्छिन् भने त्यो राम्रो सङ्केत होइन। उनी अरु पुरुषप्रति पनि उत्तिकै आकर्षित हुँदैछिन् र सम्बन्ध जोड्न चाहन्छिन् भन्ने बुझिन्छ।

अरु पुरुष साथीसँग आकर्षण बढ्दै गएको र तपाईंलाई त्यसको अनुभूति हुनुः
तपाईंकी प्रेमिका वा महिला साथीले अरु पुरुषसँग सम्बन्ध राखेको अवस्थामा निम्न व्यवहार देखाउने गर्छिन्। एक, तपाईं र प्रेमिका एकसाथ हुँदा त्यस पुरुष साथीको आगमनसँगै तपाईंको प्रेमिकाले गर्ने गतिविधि वा व्यवहार परिवर्तन हुनु। दुई, तपाईंसँग संवाद गर्दा प्रेमिकाले त्यस पुरुष साथीको अत्यधिक आलोचना गर्नु ताकि तपाईंमा प्रेमिकाप्रति कत्ति पनि शंका उत्पन्न नहोस्।

महिलालाई कसरी वफादार बनाउने ?
महिला साथी, प्रेमिका अथवा श्रीमतीलाई सम्बन्धमा वफादार बनाउने प्रक्रियामा सर्वप्रथम महिला धोकेबाज हुनुको मुख्य कारणहरू केलाउनुपर्ने हुन्छ। यति मात्र होइन, महिलाले धोका दिँदै गर्दा देखाउने सङ्केतहरूबारे पनि सचेत रहनुपर्ने हुन्छ। अनि त्यसपश्चात् निम्न विधि अवलम्बन गर्न सकिन्छः

(क) नियमित यौन: सम्बन्धमा यौनको भूमिका महत्वपूर्ण रहन्छ। महिला वास्तविक पुरुष अर्थात् असली मर्दप्रति नै आकर्षित हुन्छन् र सम्बन्धमा रहन्छन्। उनीहरु सम्बन्धमा बसेपछि यौन प्रचुरता चाहन्छन्। उच्च स्तरको यौन प्रदर्शन अपेक्षा राखेका हुन्छन्। त्यसैले महिला साथी, प्रेमिका अथवा श्रीमतीसँग नियमित यौन सम्पर्क राख्नु बुद्धिमानी रहन्छ। यौन सम्पर्क राख्ने भन्दैमा मुडअनुसार त्यसतर्फ अग्रसर हुनु फलप्रद हुन सक्दैन। महिला साथीको पनि मनोभाव बुझ्न सक्नुपर्छ। यौन सम्पर्क राख्ने वातावरण सिर्जना भए यौनमा विविधता ल्याउने कोसिस गर्नुपर्छ। एउटै शैली तथा अवस्थाको यौनले महिलाले अपेक्षित यौन सुख पाउँदैनन्। फलस्वरुप अर्को पटकको यौन गतिविधिमा अनिच्छुक हुन्छिन्।

(ख) सशक्त संवाद: सम्बन्ध सधैँ सुमधुर नहुन सक्छ। विभिन्न उतारचढाव र जटिलताहरु उत्पन्न हुन सक्छन्। यस्तोमा एकले अर्कालाई दोषारोपण गर्नु, अवमूल्यन गर्नु मुर्खता हो। त्यसैले ती यावत् उतारचढाव र जटिलताहरू समाधान गर्न सशक्त संवाद गर्नुपर्ने हुन्छ। यसका लागि सुनाउने भन्दा पनि धेरै सुन्ने बानीको विकास गर्नोस्। प्रेमिका अथवा श्रीमतीलाई के–कस्ता समस्या आइपरेका छन्, ती सबै सुन्ने गर्नोस्। भावना र अभिप्राय बुझ्ने कोसिस गर्नोस्। जब तपाईं प्रेमिका अथवा श्रीमतीलाई गम्भीरतापूर्वक सुन्नुहुन्छ, उसले प्रेम अनुभूत गर्छ र धोका दिँदैन।

(ग) खुसीको स्तर बढाउने: हरेक महिलाको निश्चित अपेक्षा, आवश्यकता हुन्छन्। ती अपेक्षा, आवश्यकता पूर्ति नभएको खण्डमा दुःखी हुन्छन्। सम्बन्धमा खुसी हुन सक्दैनन्। त्यसैले महिला साथी, प्रेमिका अथवा श्रीमतीको अपेक्षा, आवश्यकता बुझ्ने कोसिस गर्नोस्। अनि क्षमताले भ्याएसम्म ती अपेक्षा, आवश्यकता पूर्ति गर्नोस्। यद्यपि त्यसो गर्न नसकेको अवस्थामा केही समय प्रतिक्षा गर्न आग्रह गर्नोस्। त्यसैगरी प्रेमिकाको व्यक्तित्व प्रकार पहिचान गर्नोस्। सहमतता हो कि कर्तव्यनिष्ठ, बहिर्मुखी हो कि विषाक्त वा खुला मस्तिष्कको व्यक्तित्व प्रकार हो, त्यो पहिचान गरेर सोहीअनुरुप व्यवहार गर्नोस्। त्यसैगरी प्रेमिकाको प्राथमिक प्रेम भाषा पहिचान गर्न प्रयासरत हुनोस्। गुणवत्ता समय हो कि प्रशंसा, शारीरिक स्पर्श हो कि सेवा उन्मुख कार्य वा उपहार ग्रहण गर्नु हो, त्यो पहिचान गरेर सोहीअनुरुप प्रेम व्यक्त गर्नोस्। यसो गर्नाले सम्बन्धमा खुसीको स्तर बढ्छ र प्रेमिका अथवा श्रीमतीले धोका दिने सम्भावना न्यून रहन्छ।

(घ) व्यक्तिगत तथा व्यावसायिक स्तर बढाउनेः महिला सामाजिक एवं आर्थिक सुरक्षाको सुनिश्चितता चाहन्छन्। अन्यथा कुनै पनि बेला धोका दिन सक्छन्। सामाजिक र आर्थिक सुरक्षाको सुनिश्चितताका लागि व्यक्तिगत तथा व्यावसायिक स्तर बढाउनुपर्ने हुन्छ। यसका लागि व्यक्तित्व विकास कार्यमा संलग्न हुनोस्। करिअर निर्माण, व्यावसायिक सफलता र आर्थिक हैसियत बढाउन कठोर मिहिनेत गर्नोस्। कुनै पनि हालतमा तपाईंको व्यक्तिगत, व्यावसायिक र आर्थिक हैसियत प्रेमिका अथवा श्रीमतीको भन्दा अत्यधिक कम हुनु हुँदैन। कहिल्यै पनि प्रेमिका अथवा श्रीमतीमा निर्भर नहुनुस्। केही जानी प्रेमिका अथवा श्रीमतीको हैसियत तपाईंको भन्दा उच्च रहे त्यसमा दुःखी होइन खुसी हुनोस्।
यसो गर्नाले सम्बन्ध मजबुत हुँदै जान्छ र प्रेमिका अथवा श्रीमतीबाट सम्बन्धमा धोका हुँदैन।

Leave A Comment