मलामीको मलाल !

शनिबार, २४ फागुन २०७६, ११ : २४ शुक्रवार
मलामीको मलाल !

गएको माघ २९ मा सडक दुर्घटनामा निधन भएकी अभिनेत्री महिमा सिलवालको मृत्युले ग्ल्यामरको चमकदमकयुक्त चलचित्र क्षेत्रको कमजोरी मात्र होइन, यसको स्वार्थी चरित्रलाई समेत उदाङ्ग पारिदिएको छ। उनको सत्गत्का लागि ६ जना पनि मलामी नजुट्नु उदेकलाग्दो अवस्था हो।

छ वर्षअघि ‘कार्बाही’ फिल्मबाट चलचित्र उद्योगमा छिरेकी महिमाले कम नाम सुनिएका वा सुन्दै फ्लप फिल्ममा अभिनय गरेकी थिइन्। ‘अप्रिल फुल’, ‘चियर्स’, ‘नो स्मोकिङ’, ‘ढुङ्गे युग’जस्ता फिल्मले मूलधारका मिडियामा कहिल्यै ठाउँ पाएनन्। मात्र उनको मृत्युमा मूलधारले उनलाई सम्झियो, त्यो पनि दुर्घटनाका कारण !

महिमाको गुमनाम मृत्युले एक साथ कयौँ पत्रहरु उद्घाटित गरिदिएको छ। पहिलो पत्र त स–साना सहरबाट कसरी फिल्म उद्योगमा नाम कमाउने उद्देश्यका साथ स्वप्नदर्शीहरु राजधानी आइपुग्छन्, तिनको सपनाको कसरी लामो समयसम्म दोहन भइरहन्छ, एउटा समयपछि गुमनाम जीवन बिताएर त्यसै हराउँछन् भन्ने उदाहरण हुन्, उनी।

दोस्रो पत्र चाहिँ, फिल्म उद्योगले आफ्नै क्षेत्रमा आधा दशक संघर्ष गरेको अनुहारका लागि उपेक्षाजनक व्यवहारको उद्घाटन नै हो। त्यसो त चमकदमकपूर्ण व्यापारका पछाडि सधैँ एउटा अँध्यारो पाटो पनि हुन्छ। त्यही चमकले गाउँगाउँका स्वप्नदर्शीलाई आकर्षित गरेको हुन्छ र ती स्वप्नदर्शी बत्तीमा झ्याउँकिरी लोभिएजस्तै लोभिन्छन् र आगोमा होमिन्छन्। लामो समयको संघर्षले तिनलाई न कुनै गतिलो स्थान दिलाउँछ, न त आर्थिक हैसियत नै सशक्त बनाउन सक्छन्। यस्तो अवस्थामा उनीहरु सधैँ पीडितको पीडित नै रहन्छन्।

तेस्रो पत्र, मानौँ यस्ता स्वप्नदर्शी केही कथं सफल भइहाले पनि छोटो समयावधिका लागि सफल हुन्छन्। त्यो छोटो सफलताले उनीहरुलाई नाम र दाम त देला तर ती दुवै कुरालाई चिरस्थायी बनाउन नसक्दा तनाव, अवशाद र मनोविकृतिको शिकार बन्न पुग्छन्। जसका कारण उनीहरु लागु औषधको आदि बन्न पुग्छन् र चाँडै नै उनीहरु नकारात्मक समाचारको पाटो बन्न पुग्छन्। कतिपयले त छोटो–मीठो पैसा कमाउने लोभ पनि संवरण गर्न पुग्छन् र बेइज्जतीको माला लगाउन पुग्छन्। जसका कारण पूरै उद्योग बदनाम बन्न पुग्छ। यस्ता व्यक्तिलाई चाँडै नै उद्योगले साथ छाडिदिन्छ र बिजोगमाथि बिजोगको अवस्था त्यस्ता व्यक्तिले झेल्नुपर्ने अवस्था आउँछ।

चौथो पत्र, अधिकांश कलाकारले आफ्नो आर्थिक पाटोलाई सम्हाल्न सक्तैनन्। किनभने तिनीहरु कलाका लागि हत्ते गरिरहेका हुन्छन्। त्यसैले उनीहरुको पाटोमा आर्थिक पक्ष भने कमजोर नै हुन्छन्। केही सीमित समयका लागि पैसा आए पनि त्यो पैसालाई नियमित आम्दानीको बाटो बनाउन सक्तैनन्। एक समय चर्चामा रहँदाका बेला जम्मा भएको पैसालाई विभिन्न मार्केटमा लगानी गर्ने, लगानीको विविधीकरणमा जोड दिनेजस्ता कार्यमा ध्यान जान नसक्दा उत्तराद्र्धको जीवन सकसपूर्ण, बेइज्जतीपूर्ण र दयनीय बन्न पुगेका कयौँ उदाहरणहरु छन्।

सोही कारण पनि जीवनको अन्तिम अवस्थामा मलामी समेत नपाइने अवस्था अहिलेका कलाकारले भोग्नु परेको वास्तविकता हो।

पछिल्लो समय नेपालीहरुको बसोबास संसारका विभिन्न मुलुकमा छ। कतिपय मनकारीहरुको सहयोगका कारण आर्थिक दुरवस्था भोगिरहेका कतिपय रोगी कलाकारहरुको उपचारका लागि रकम जुटाउने कार्य पनि उत्तिकै भइरहेको छ। चलचित्र निर्माण गर्दा एक समय चर्चा र रकम दुवै बटुलेका फिल्म निर्माता केशव भट्टराईको निधनपछि उनको परिवार पूरै सडकमा आइपुग्ने अवस्थाले पनि एकातर्फ जीवनभर फिल्मको पछाडि दौडनेहरुको दयनीयतालाई उजागर गरेको छ भने अर्कोतर्फ त्यस्ता उद्योगप्रेमीको दीर्घकालीन सोचको अभाव पनि देखाउँछ।

तसर्थ, एउटा कलाकार वा फिल्मकर्मी बन्नु जोखिमपूर्ण यात्रा हो। यो यात्रामा अघि बढ्नका लागि अन्य सर्वसाधारणझैँ कलाकार र फिल्मकर्मीले पनि आफ्नो फाइनान्सियल लिट्रेसी (अर्थ–ज्ञान)को दायरालाई फराकिलो बनाउनै पर्छ। छोटो अवधिमा आउने आम्दानीलाई लगानी विविधीकरणमा लगाउने, सुरक्षित लगानीको बाटो अपनाउनेजस्ता कुरामा ध्यान दिन अति आवश्यक हुन्छ। तर यस्तो काम कसले गर्ने ?

यस्तो काम भने बेलाबेलामा चलचित्र विकास बोर्ड, चलचित्र कलाकार संघ, चलचित्र संघ लगायतका सम्पूर्ण संघसंस्थाले नियमित रुपमा विज्ञहरुमार्फत् कार्यशाला सञ्चालन गरी जोखिमपूर्ण भविष्यलाई सुरक्षित आर्थिक भविष्य निर्माण कसरी गर्न सकिन्छ भनी सिकाउन जरुरी छ।

Leave A Comment