पोखरामा अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल

सोमबार, २६ फागुन २०७६, १२ : ५९ शुक्रवार
पोखरामा अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल

पोखरामा चौथो संस्करणको अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल आयोजना हुने भएको छ। पोखरा फिल्म सोसाइटीले आयोजना गर्ने महोत्सव पोखरा थिएटरमा आगामी चैत १ र २ गते चल्नेछ। महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २० देखि ४० फिल्म प्रदर्शन गर्नेे तयारी भएको पोखरा फिल्म सोसाइटीका अध्यक्ष जितेश प्रधानले जानकारी दिए। फेस्टिबलका लागि अनलाइनमार्फत फिल्म दर्ता गर्न आह्वान गरिएको थियो। यसरी गरिएको आह्वानमा ५६ देशका ५ सय ६५ वटा फिल्मले फेस्टिबलका लागि आवेदन दिएका छन्।

महोत्सवमा प्रदर्शन हुने ३ मिनेटदेखि डेढ घण्टासम्मका फिल्मले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न कला, संस्कृति, जनजीवन, परम्परा, खेलकुद, जैविक विविधता र पर्यावरणलाई झल्काउनेछन्। महोत्सवका लागि वृत्तचित्र, लघु चलचित्र, कथानक चलचित्र, प्रयोगात्मक चलचित्र, एनिमेसन चलचित्र छनोट हुनेछन्। यसरी प्रदर्शन भएका फिल्ममार्फत फिल्म क्षेत्रमा लाग्ने व्यक्तिले नयाँ कुरा सिक्न, बुझ्न र जान्न पाउने अध्यक्ष प्रधानले दाबी गरे। फिल्मप्रेमी दर्शकले फेस्टिबल निःशुल्क हेर्न पाउनेछन्। फिल्म नगरीको परिचय बनाएको पोखरामा फिल्म फेस्टिबलको माहोल बनाउनका लागि आफूहरुले फेस्टिबल निरन्तर आयोजना गर्दै आएको आयोजकको भनाइ छ।

Leave A Comment