‘मैले त गेष्टलाई नै चड्काइदिएँ’

मङ्गलबार, २७ फागुन २०७६, ०१ : २६ शुक्रवार
‘मैले त गेष्टलाई नै चड्काइदिएँ’

काठमाडौंको तिनकुनेमा रहेको ‘कान्तिपुर दोहोरीसाँझ’बाट नाइट लाइफ सुरुवात गरेकी गायिका हुन्, आशा केसी।  ‘मर्ने भइयो जाडोले’, ‘खिस्स हाँस्ने छोरो’, ‘पीताम्बर’ लगायत दर्जनौँ लोक गीतमा आवाज दिइसकेकी उनीसँग भोला अधिकारीले गरेको रात्रिकालीन कुराकानी:

कहिलेदेखि दोहोरीसाँझमा गाउन थाल्नुभयो ?
बहत्तरसालको भूकम्पपछि गीत गाउन थालेकी हुँ। अहिले पनि गाइरहेकी छु।

दोहोरीसाँझमा कसरी गीत गाउछु भन्ने लाग्यो ?
खासमा म एउटा गीत निकाल्न भनेर काठमाडाैं आएकी थिएँ। एकजना साथीले काठमाडौंमा दोहोरी गाउन पनि पाइन्छ। पैसा पनि हुन्छ टिप्सबाट पनि कमाइ राम्रै हुन्छ भन्यो।  अनि पहिलोपल्ट तीन कुनेको कान्तिपुर दोहोरीसाँझमा काम गरेँ। त्यो दोहोरीसाँझमा करिब डेढ दुई वर्ष जति गाएँ।

सुरुमै गाउन दिए त ? गाह्रो भएन ?
गाह्रो भयो नि। पश्चिमेली गीत गाउन अलि अलि आउँथ्यो काँठे भाकाका गीत खासै आउँदैनथ्यो। गीत गाउँदागाउँदै माइक नै खोसिदिएको धेरै उदाहरण छन्। मलाई काँठे भाकाका गीत त्यत्ति छोप्न आउँदैनथ्यो। अहिले अलिअलि जान्ने भएँ। अहिले धेरैवटा प्रतियोगितामा भाग लिइसकेकी छु।

अहिलेसम्म कतिवटा रोधिघरमा काम गर्नुभयो ?
तीन चारवटा दोहोरीसाँझमा काम गरिसकेँ।  पहिलो कान्तिपुर, दोस्रो नयाँ बानेश्वरको ‘मायालु’ तेस्रोमा सैलुङ र अहिले सुन्धारा गरेर चारवटा जति भयो।

किन काम गर्ने ठाउँ फेरिरहनु भएको नि ?
अब जहाँ सुविधा हुन्छ त्यतै जाने त हो नि। काम गर्दा टिम पनि राम्रो हुनुप-यो। काम गर्दा सहज पनि हेर्ने हो। कतिपय हेपेर बोल्ने जस्ता विभिन्न कारणले गर्दा नै फेर्नु परेको अर्को कुरा आर्थिक नै हो। मैले कान्तिपुरमा डेढ वर्ष काम गरेकी हुँ। जहाँ मेरो पारिश्रमिक पैंतालीस सय थियो। त्यसले त काठमाडौंमा के नै गर्न सकिन्थ्यो। त्यसपछि सरेर म कान्तिपुर आएँ अलिक बढी पैसा भएका कारण दुई वर्ष जति काम गरँे। जहाँ सहज हुन्छ त्यतातिरै त हो जाने। त्यो बेलामा नयाँ थिएँ। पैसा थिएन। अहिले त धेरैले चिन्नुहुन्छ काम त आइहाल्छ नि।

गेष्टहरु कत्तिका इमान्दार हुन्छन् ?
सुरुमा त साधु नै हुन्छन्। पिउँदै गएपछि त के–के बोल्छन् बोल्छन्। खाएपछि सबैको होस् नै हराएझैँ भई मनपरि नै बोल्ने खाल्का हुन्छन्। कहिले केटी मिलाइदेऊ भन्ने कहिले के गर्ने। मेरो निकै झगडा परिसकेको छ।

गेष्टलाई नि कुट्नुभयो ?
मलाई रिस उठेपछि बजाइदिइ हाल्छु। सहन सक्नेसम्म सहने हो अति भएपछि बजाइदिने हो।

भनेपछि रिस त कडा रहेछ। अहिलेसम्म कतिजनालाई पिट्नुभयो ?
त्यस्तै तीन चारजनालाई पिटेकी छु। एउटा त दोहोरी क्षेत्रमा चलेको मान्छे नै हुनुहुन्छ। उहाँको नियत खराब रहेछ। म स्टेजबाट झरेर काउन्टरमा गइरहेकी थिएँ, ओर्लिने बित्तिकै मेरो कम्मरमा समातेर उचाल्न खोज्नुभयो, मेरो पालो हिर्काइदिएँ। 

त्यस्तै अर्को एउटा घटना भएको छ। ‘मायालु दोहोरीसाँझमा’ काम गर्दा प्रहरी चौकीसमेत जानुपरेको छ। एकजना मेरो साथी भन्दा पनि आइरहने गेष्ट हो। पहिला सँगै दोहोरीसाँझमा काम गरेको साथी पनि हो। तलबाट माथि दोहोरीसाँझमा आएर मलाई कागजको डल्लो बनाएर स्टेजमा हानिरहेको थियो। मैले वास्तै गरेकी थिइनँ, काममा ध्यान दिइरहेकी थिएँ। मलाई हानेको कागजको डल्लोले अर्को एकजना सहकर्मीलाई लाग्यो अनि उठेर गएर त्यहीँ बजाइदिएँ।

दोहोरीसाँझ भनेको रमाइलो गर्न आएको मान्छे रमाइलो गर्ने हो। नाइटमा गाउने मान्छेलाई खराब नियतले हेर्ने अनि उल्टै समाउन आउने। अर्को पनि यस्तै खराब बानी भएकालाई बजाइदिएकी छु।

Leave A Comment