'लामाे समय पढाएँ, अब साहित्य सेवा'

शनिबार, ०१ चैत २०७६, १२ : ०८ शुक्रवार
'लामाे समय पढाएँ, अब साहित्य सेवा'

‘ऐना’ उपन्यासको लागि मदनपुरस्कार प्राप्त साहित्यकार रामलाल जोशीको अगुवाईमा  फागुन १४ देखि सात दिनसम्म सुदूरपश्चिम विश्व साहित्य महोत्सव आयोजना भयो। कार्यक्रममा तीन सयभन्दा बढी लेखक र ५२ वटा सत्रमा छलफल भए। नौ बुँदे घोषणापत्र जारी गर्दै अर्काे वर्ष विश्व नारी महोत्सव आयोजना गर्ने गरी समापन भयो। महोत्सवमा केन्द्रित भएर शुक्रवारकर्मी प्रजु पन्तले गरेको कुराकानीः

मलाई लाग्छ ७ दिने विश्व नेपाली साहित्य महोत्सव सुदूरपश्चिममा भएको प्रथम पटक हो, सम्मेलन आयोजना गर्नुको कारण बताइदिनुस् न ?
विश्व नेपाली साहित्य महोत्सव सुदूर पश्चिममा मात्र होइन सत्यमोहन जोशी, लोकेन्द्रबहादुर चन्द, मोदनाथ प्रश्रित र वासुदेव त्रिपाठीको शब्दमै भन्ने हो भने यो नेपालमै भएको पहिलो सम्मेलन हो। नेपाली भाषाको माउथलोमा बोलाएर संसारभरिका नेपाली भाषी श्रष्टाहरुलाई एउटै डोरीमा जोड्ने र सुदूर पश्चिमको साहित्य, यहाँका प्रतिभा र समग्र पहिचान विश्वसँग जोड्ने उद्देश्य हो यसको।

हिजोआज साहित्यिक सम्मेलन आयोजना गर्ने लहर नै आएको छ। यो महोत्सव पनि अन्यजस्तै हो कि, केही फरक छ ?
यो कुरा मलाईभन्दा पनि महोत्सवमा आउनु भएका अतिथि र सहभागीहरुलाई सोधे राम्रो जवाफ आउँथ्यो भन्ने लाग्छ। अरु फेस्टिबल सानै हुन्, हामीले गरेको फेस्टिबल नै सबकुछ हो म भन्दिनँ तर अरुभन्दा फरक उद्देश्य र भिन्न स्वरुपको भने अवश्य हो।

महोत्सवमा के–के विषयमा बहस भए ?
धेरै र विविध विषयमाथि छलफल र बहस भए। साहित्य, कला, गीत, सङ्गीत, दर्शन, संस्कृति, इतिहास, सम्पदा, राजनीति, विकासका मुद्दा, गीत–गजल–कविता आदि गरी जम्मा ५२ ओटा सेसनमा छलफल र बहस चले।

महोत्सवमा भएका बहसहरुलाई दस्तावेजीकरण पनि गरिन्छ कि ?
अवश्य गरिनेछ। हामीले सबै सेसनको अडियो र भिडियो  बनाएका छाैँ। युट्युबमा राख्यौँ र राख्दैछौँ। विभिन्न विषयमा बोल्ने वक्ताहरुसङ्ग सहजीकरण गर्ने सहजकर्ताका साथसाथै  डकुमेन्टेसन निर्माणकै लागि टिपोटकर्ता पनि राखेका थियौँ। हामी यसको डकुमेन्टेसन गर्छौं।

महोत्सवमा सहभागीहरुको उपस्थिति कस्तो पाउनुभयो त ?
देशभित्र र देशबाहिरबाट उल्लेख्य उपस्थिति रह्यो। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न स्थानबाट साहित्यकारहरु आउनु भयो। देशबाहिरबाट दार्जिलिङ, सिक्किम, कालिम्पोङ, सिलिगुडी, असम, मणिपुर, मेघालय, उत्तराखण्ड, बर्मा, अमेरिका, बेलायत गरी संसारभरिबाट नेपाली भाषी साहित्यकारहरु सहभागी हुनुभयो। विभिन्न विषयमा बोल्ने वक्ताहरुका विचार र बहस सुन्नका लागि पनि सातै दिन उल्लेख्य दर्शक–श्रोताहरु देखिनुभयो। जेहोस्, सोचेभन्दा बढी नै सहभागिता रह्यो जस्तो लाग्छ।

महोत्सव आयोजना किन हुनुपर्छ जस्तो लाग्यो ?
यस्ता महोत्सवहरुले नेपाली भाषा–साहित्यको विकासका लागि निकै महत्वपूर्ण हुन्छन्। साहित्यको विगत, वर्तमान र भविष्यका बारेमा गहन छलफल र निचोड निस्किन्छन्। वर्तमानमा साहित्य लेखनको अवस्था, भावि दिनमा लेखकले अँगाल्नु पर्ने कदमका बारेमा दिशानिर्देश गर्छन्। पठन संस्कृतिको विकास हुन्छ। लेखकहरुका विचार आदान प्रदान आदिले साहित्यको विकासमा टेवा पु¥याउँछ। यसका लागि सचेत वर्गले महोत्सव आयोजना गर्नु त परिगयो नि !

यस्ता महोत्सवले समाजलाई केही फरक पार्छ र ?
अवश्य पार्छ। नयाँ जागरण, नयाँ संस्कार र नयाँ संस्कृतिको विकासका लागि साहित्य महोत्सवहरु कोसेढुङ्गा साबित हुन्छन् भन्ने मलाई लाग्छ।

तीन सय विशिष्ट लेखक, ५२ वटा विभिन्न विषयमा छलफल भए भन्नुभएको छ। कत्तिको समावेशी गर्न सकेँ जस्तो लाग्छ ?
विषयवस्तु र मुद्दाका हिसाबले विविधता रह्यो। साहित्यका विभिन्न विधा, इतिहास, दर्शन, सम्पदा, संस्कृति, राजनीति, समाज र किनारीकृत समुदायका मुद्दाहरुमाथि बहस भए। थारु, मधेसी, दलित र आदिबासीका र महिलाका मुद्दाहरुमाथि तिनै समुदायका वक्ताहरुले बहस गरे। सोचेजति समावेशी हुन नसके पनि समावेसी बनाउने प्रयास ग-यौँ। आगामी दिनमा पूर्णतया समावेशी बनाउने प्रयास हुनेछ।

कार्यक्रम गर्न कत्तिको गाह्रो भयो त ?
फागुन १४ देखि २० सम्म सात दिन आयोजना भएको यो साहित्य महोत्सव एउटा विरलै घटना हो। यत्ति लामो समयसम्म भएको यो महोत्सवमा सातै दिनसम्म दर्शकहरुको त्यस्तै सहभागिता, त्यस्तै आकर्षण र त्यस्तै कौतुहलमय नै रह्यो। बिना बिघ्नबाधा अभूतपूर्वरुपमा महोत्सव सफल रह्यो।

यत्रो भव्य कार्यक्रम गर्न खर्च कसरी जुटाउनु भयो नि ?
भाषा, साहित्य, संस्कृति र आफ्नो पहिचानको लागि काम गर्नु मुख्यतः सरकारकै दायित्व हो तर त्यो चेत नभएर हो वा आवश्यक नठानेर हो सरकार यस्ता बौद्धिक बहस, छलफल र कार्यक्रम गर्नु आफ्नो कर्तव्य ठान्दैन। फलस्वरूप यो क्षेत्रमा काम गर्ने लेखक, कवि र श्रष्टाहरुले नै गर्नुपर्ने अवस्था छ। अरु अनावश्यक कार्यका लागि सरकारले करोडौं खर्च गर्छ तर यी र यस्ता बौद्धिक कार्यक्रमहरुमा सरकार पूर्णतः उदासिन छ। केही सहयोगी व्यक्ति, संघसंस्था, स्थानीय निकाय, प्रदेश सरकार आदिसँग धेरै अनुनय–विनय गरेपछि सहयोग पायौँ।

पुरस्कार पनि दिनुभयो ? रकम कसरी जुटाउनु भयो त ?
सम्मान र पुरस्कार त विशिष्ट श्रष्टाहरुलाई दियौं। सुदूरपश्चिम साहित्य समाजले हरेक वर्ष प्रदान गर्ने केही पुरस्कार र सम्मानहरु छन्। त्यसको अक्षयकोष बनाएका छौँ। त्यसैबाट सम्मान गर्छौं।

यस्ता महोसत्वको हिसाब पारदर्शी हुन्न भनिन्छ नि ?
यसमा करोडौं लगानी छैन। कसैले बजेट छुट्ट्याइदिएको छैन। सानो सानो सहयोग जुटाएर गरिएको कार्यक्रम हो। यसमा कसले कति सहयोग ग-यो, कति खर्छ भयो, सबै हिसाब–किताब दुरुस्त हुन्छ संस्थामा। आउने सहयोग आइसकेपछि र तिर्नुपर्ने तिरिसकेपछि सबै हिसाब किताब सार्वजनिक गर्छौं।

तपाई प्राध्यापन पनि गर्नुहुन्छ साहित्यिक काममा पनि उत्तिकै खटिनुहुन्छ। कसरी समय मिलाउनुहुन्छ ?
मैले लामो समय पढाएँ। अहिले छोडेको छु। रुचि, कर्तव्यबोध र जिम्मेवारीबोध भएपछि समय मिलाउन सकिन्छ।

सरकारले पुस्तकमा भन्सार महसुल लगाएपछि आन्दोलनहरु भएका छन्। कसरी हेर्नुभएको छ ?
पुस्तकमाथि कर लगाएको कुरा बहस र विवादकै विषय छ। किताब, साहित्य र  ज्ञान विज्ञानलाई व्यापार व्यवसायका रुपमा लिइन्छ भने कर स्वाभाविक छ तर हाम्रो जस्तो पठन संस्कृतिको जग नबसेको र साहित्य, ज्ञान र विज्ञान भर्खर बिक्न थालेको अवस्थामा सरकारले प्रोत्साहन गर्नुको सट्टा कर लगाएर साहित्य, कला र ज्ञानविज्ञानको पठनमा दुरुत्साहन गर्नु राम्रो होइन।

Leave A Comment